+
+

अब मोबाइलबाटै स्वास्थ्य बीमा उपचार खर्च हेर्न सकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १७:५३

२४ चैत, काठमाडौं । स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी मोबाइलबाट पाउने भएका छन् ।

स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिकोत्सवको अवसरमा २५ चैतदेखि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको बताए ।

बर्सौलाका अनुसार उक्त एप्समा बिमितिको के के उपचार भयो ? कति खर्च भयो ? अब कति रकम बाँकी छ भन्नेबारेका सबै विवरण हेर्न सकिनेछ । ‘एचआईबी मोबाइल एप्लिकेसन मार्फत नागरिकलले सहज रुपमा स्वास्थ्य सेवाको बारेमा जानकारी पाउँछन् । जसले गर्दा रकम दावीमा पनि पारदर्शीता हुने देखिन्छ,’ बर्सौलाले भने ।

यस्तैगरी, शुक्रबार नै स्वास्थ्य बीमा नवीकरण गर्ने एप्लिकेसन पनि सार्वजानिक हुनेछ । उक्त एप्लिकेसनमार्फत एक पटक बीमामा आबद्ध भएका बिमितिले मोवाइलमार्फत नै नवीकरण गर्न सक्नेछन् । बर्सौलाले भने, ‘अहिलेसम्म दर्ता सहयोगीले नवीकरण गर्नुपर्ने व्यवस्था थियो । अबदेखि बिमितले घरमै बसेर पुनः नवीकरण गर्न सक्छन् ।’

२०७२ चैत २५ देखि सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्लामा विस्तार भएको छ । पाँच जनाको परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँ रकम तिर्दा एक लाख रुपैयाँसम्मको उपचार निशुल्क गर्न सक्छन् ।

परिवारमा पाँच जना भन्दा बढी सदस्य भए प्रति सदस्य ७०० रुपैयाँ थप रकम बुझाउनुपर्ने हुन्छ । बीमाको सुविधा थैलीमा पाँच जनाको परिवारको हकमा १ लाख र पाँच जनाभन्दा बढी परिवारका सदस्य भएका खण्डमा प्रति ७०० थप गर्दा २० हजारको दरले अधिकतम दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा लिन सक्छन् ।

६ वर्षमा २० प्रतिशत नागरिकमात्रै आबद्ध

हालसम्म ५३ लाख ४ हजार ७० जना अर्थात २० दशमलव ३ प्रतिशत व्यक्तिहरु मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६ वर्ष पुगेको अवसरमा शुक्रबार ‘तपाईंको स्वास्थ्य हाम्रो अठोट’ मूल नारासहित स्वास्थ्य बीमा दिवस मनाइँदै छ ।

पाँच वर्षभित्र तीन करोड नागरिकलाई समेट्ने महत्वाकांक्षी लक्ष्यसहित सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म २० प्रतिशत आबद्ध भएका छन् । जसमध्ये नवीकरण गराउनेको दर ७० प्रतिशत मात्र रहेको बोर्डको तथ्यांक छ ।

देशभर कूल बीमित परिवार १५ हजार ८ सय ५१४ अर्थात कुल परिवार संख्याको २७ दशमलब ७९ प्रतिशत मात्र छन् । कूल बीमितमध्ये ३९ दशमलब ३९ अर्थात २० लाख ८९ हजार ५९९ जनाले सेवा लिएका छन् ।

कुल बिमितमध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या चार लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २८९ रहेको बोर्डले जनाएको छ ।

त्यसैगरी, अति अशक्त अपागंता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६२९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या दुई हजार ८४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या दुई हजार ४७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६२६ बीमा आबद्ध भएका छन् ।

सरकारी स्वास्थ्य संस्थाहरुमा चिकित्सकको अभाव भएको तथा उपलब्ध चिकित्सक एवं कर्मचारीको अपनत्व नलिएको कारणले बिमित नागरिकले सेवा पाउन कठिन भएको बोर्डका कार्यकारी निर्देशक वर्सौला बताउँछन् ।

कर्मचारीको स्थायी दरवन्दी नहुदा र सर्वसाधारणलाई बीमाको विषयमा अझै बुझाउन नसक्दा नवीकरण गर्ने बिमितको संख्यामा कमी आएको उनको भनाइ छ ।

‘सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक संस्थामा व्यवस्थापन गर्न समस्या देखिएको छ । जसलाई समधान गर्न बोर्डमा जनशक्ति बढाउनु पर्नेदेखि प्रदेश तथा स्थानीय निकायले बीमाको स्वामित्व तथा अपनत्व ग्रहण गर्नुपर्छ,’ बर्सौलाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?