+
+

काठमाडौंका दुई न्यायाधीश न्याय परिषदको विस्तृत छानबिनमा

काठमाडौं जिल्ला अदालतबाट भएका पछिल्ला केही फैसला विवादमा तानिएपछि न्याय निरुपणमा संलग्न न्यायाधीशमाथि आचरणगत रुपमा समेत अनुसन्धान सुरु भएको छ ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०७८ चैत २७ गते २०:४६

२७ चैत, काठमाडौं । न्यायपरिषदले जिल्ला अदालत काठमाडौंका दुई न्यायाधीशको कार्यसम्पादन र आचरण जोडिएका विषयमा विस्तृत छानबिन थालेको छ ।

विभिन्न मुद्दाको फैसलाका क्रममा गरेको त्रुटि र राखेको बदनियतसम्बन्धी उजुरीबाट सुरु भएको छानबिन अरु विषयमा पनि प्रवेश गरेको परिषद उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

‘सवारी ज्यान मुद्दामा न्यायाधीश सूर्यप्रसाद अधिकारीले जे जस्तो फैसला गर्नुभयो, त्यसले न्यायको याचना गर्ने पीडितमाथि ठूलो अन्याय भएको देखियो’ न्याय परिषद स्रोतले भन्यो, ‘त्यो फैसलालाई हामी गम्भीरतापूर्वक हेर्दैछौं ।’

न्यायपालिकाको शुद्धीकरणका लागि कानून व्यवसायीहरुको संगठन नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत केन्द्रित आन्दोलन नै गर्‍यो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोगको एउटा आरोप न्यायमा विचलन ल्याएको भन्नेसमेत थियो ।

यसरी खबरदारी हुँदासमेत काठमाडौं जिल्ला अदालतबाट भएका दुई फैसला चरम विवादमा परे । अहिले न्यायपरिषदले ती फैसलामाथि अध्ययन गरिरहेको छ ।

न्याय परिषद स्रोतका अनुसार, अपहरण तथा शरीर बन्धक मुद्दामा दुर्गाबहादुर नाम गरेका व्यक्तिलाई सफाइ दिएको अर्को मुद्दामा न्यायाधीश अम्बिकाप्रसाद निरौला पनि त्यसैगरी अनुसन्धानको दायरामा परेका छन् ।

छानबिनको डरले उनले फैसलाको पूर्णपाठ लेखनमा समेत ढिलाइ गरेका थिए । उनीमाथि आचरणगत लगायतका गम्भीर उजुरीमाथि छानबिन भइरहेको परिषद स्रोतले बतायो ।

अम्बिकाप्रसाद निरौला : अपराधी उम्काउन मनमौजी फैसला

विवादास्पद आदेश र फैसलाका कारण जिल्ला अदालत काठमाडौंबाट सर्वोच्च अदालतमा तानिएका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले पर्याप्त आधार र प्रमाण भेटिँदा समेत अपहरण मुद्दाका आरोपितलाई सफाइ दिएको भेटिएको छ ।

न्यायाधीश निरौलाको इजलासले आठ महिनादेखि थुनामा रहेका सोले कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई अर्कै व्यक्ति भन्दै २०७८ असोजमा सफाइ दिएको हो । आफ्नो राय विवादमा परेपछि उनले छ महिनादेखि फैसलाको पूर्णपाठ पनि लेखेका थिएनन् ।

केही दिनअघि जिल्ला अदालतमा बुझाएको फैसलाको पूर्णपाठ न्याय परिषदले झिकाएर अध्ययन गरिरहेको छ । निरौला विरुद्ध अन्य कतिपय मुद्दामा समेत प्रभावित भएर न्याय सम्पादन गरेको उजुरी परिषदमा छ ।

अपहरणकारीलाई उन्मुक्ति

चर्चित अपहरणकारी अमर टण्डनको समूहले १ पुस २०६५ मा बालाजुस्थित भ्यालीकोल्ड स्टोरका सञ्चालक बाबुराजा रावललाई अपहरण गरी महाराजगञ्जस्थित एउटा घरमा राखेको थियो । मारुती गाडीमा हालेर ४/५ जनाको समूहले मुखमा पट्टी बाँधेर १ करोड ५० लाख रुपैयाँ फिरौती असुलेको थियो ।

फिरौती बुझाएर छुटेपछि मात्रै प्रहरी उनलाई राखिएको महाराजगञ्जस्थित घरमा पुगेको थियो । बाबुराजालाई बन्धक बनाउँदा बुढाथोकी घर कुरुवा बसेका थिए । फिरौती रकम बुझेपछि प्रहरी आइपुग्नुअघि नै उनी भागेका थिए ।

रावललाई अपहरण गर्न प्रयोग भएको भ्यान प्रहरीले कान्ति बाल अस्पतालको पार्किङबाट बरामद गरेको थियो । घटनाको अनुसन्धान गरेको प्रहरीको अपराध महाशाखाले २०६६ पुस अन्तिमतिर अपहरणमा संलग्न टण्डन समूहका प्रह्लाद महत, विष्णु जिसी, टासी गुरुङ र विकास कार्कीसहित ५ जनालाई पक्राउ गर्‍यो ।

काठमाडौं प्रहरी परिसरले उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलायो । ठेगाना नखुलेका कारण मिसिलमा बुढाथोकीको नाम उल्लेख भएन । तर, आरोपीले बयानमा उनको नाम लिए । पाँच जना दोषी ठहर भएर जेल गए । बुढाथोकी भने भारतमा पहिचान बदलेर बसेका थिए ।

सीआईबीले पुराना घटनाका फरार प्रतिवादीमाथि अनुसन्धान गर्ने क्रममा गत वर्ष बुढाथोकी भारतमा बसिरहेको सूचना पायो । त्यही आधारमा दार्जिलिङ पुगेको ब्यूरोका एक प्रहरी नायब उपरीक्षक (डीएसपी) नेतृत्वको टोलीले कपडा पसल चलाएर बसिरहेका उनलाई पक्राउ गरेको थियो ।

पहिले काठमाडौं प्रहरीबाट मुद्दा चलेकाले बुढाथोकीलाई त्यहाँ पठाइयो । काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो । अदालतमा बुढाथोकीको बयान भयो ।

उनले अदालतमा आफू दुर्गाबहादुर बुढाथोकी नभइ प्रकाश क्षेत्री भएको बताए । उनको दाबी अनुसार, उनका बाबु शिवा क्षेत्री र आमा तारा क्षेत्री हुन् । जिल्ला अदालतमा बयानका क्रममा सोधिएको १७ वटा प्रश्नमा उनले आफू दुर्गाबहादुर बुढाथोकी भएको स्वीकार गर्दैनन् र प्रकाश क्षेत्री भएको दाबी गरिरहन्छन् ।

न्यायाधीश निरौलाको इजलासले तत्काल प्राप्त प्रमाणले सोले कुमार भनेर चिनिने दुर्गाबहादुर बुढाथोकी निर्दोष भएको निक्यौल गर्ने आधार नभएको भन्दै उनलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको थियो ।

आदेशमा भनिएको छ, ‘तत्काल प्राप्त प्रमाणबाट बुढाथोकी कसुरदार होइनन् भन्ने नदेखिएको र पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू ।’

तिनै न्यायाधीश निरौलाले ५ असोज २०७८ बुढाथोकीलाई निर्दोष ठहर गर्दै सफाइ दिए । निर्दोष ठहर गर्दा दुई आधार लिएको देखिन्छ । एक, दुर्गाबहादुर नेपालको कुन स्थानमा बस्ने हो भन्ने प्रमाण पेश नभएको । अर्को, थुनामा रहेका दुर्गाबहादुर नेपालको नागरिक हो भन्ने प्रमाण पेश नभएको ।

कुनै पनि व्यक्तिलाई पक्राउ गरेपछि प्रहरीले पक्राउ पर्ने व्यक्ति सम्बन्धित आरोपित नै हो भन्ने सुनिश्चित गर्नुपर्छ । अपहरण तथा शरीर बन्धक मुद्दामा आरोपित बुढाथोकीले जिल्ला अदालतको इजलासमा नै त्यो व्यक्ति आफू होइन भन्ने बयान गरिरहेको थिए ।

न्यायाधीश निरौलाले आदेशमा लेखेका छन्, ‘अभियोगपत्रमा उल्लेखित तीन पुस्तेसहितको वतन मेरो होइन भनी कसुरमा इन्कार रही व्यहोरा लेखाएको देखिन्छ ।’ त्यो विषयलाई ‘नोटिस’मा लिएपनि उनले व्यक्तिको पहिचान सुनिश्चित गर्न कुनै आदेश दिएनन् ।

‘पक्राउ परेको कुनै व्यक्तिले म फलानो होइन भन्छ भने सबभन्दा पहिले उसको पहिचान सुनिश्चित गर्नुपर्छ । नागरिकको आधारभूत मौलिक हक जोडिएको विषय निर्क्यौल नगरी विषयवस्तुमा प्रवेश गरिनु त कार्यक्षमतामाथिकै प्रश्न समेत हो’ अधिवक्तासमेत रहेकी राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले त्यतिबेला अनलाइनखबरसँग भनेकी थिइन, ‘इजलासमा रहेका न्यायाधीशलाई त अनुसन्धान कमजोर भएमा समेत यहाँ यहाँ स्पष्ट भएन, खुलाउनुस् भन्ने अधिकार रहन्छ । त्यो पाटो नै नहेरी मुद्दामा प्रवेश गर्नु आधारभूत रुपमा नै गलत भयो ।’

जिल्ला न्यायाधीश निरौलाले सर्लाहीको हरिवन नगरपालिका–५ बस्ने दुर्गाबहादुर बुढाथोकी भनिएको व्यक्ति उही हो भन्ने कागजात पेश नभएको बरु भारतमा बस्ने प्रकाश क्षेत्री हो भन्ने पुष्टि भएको र त्यससँग सम्बन्धित कयौं प्रमाणहरु इजलासमा पेश भएको भन्दै बास्तविक दुर्गाबहादुरलाई निर्दोष ठहर गरेको हो ।

उनी दुर्गाबहादुर नै भएको भनी सरकारी वकिलले पेश गरेको प्रमाण र दावीलाई न्यायाधीश निरौलाले स्वीकार गरेनन् ।

‘प्रतिवादीकै स्पष्ट पहिचान विना निजको कसूरमा संलग्नता प्रमाणित हुनसक्ने कुराको कल्पनासमेत गर्न सकिँदैन’ फैसलामा भनिएको छ, ‘केही गरी निरपराध व्यक्ति अदालतबाट कसूरदार ठहर हुन गए निजलाई हुन सक्ने अपुरणीय क्षतिको कल्पना पनि गर्न सकिदैन । अनुमानको भरमा शरीर बन्धक तथा अपहरण गर्नेजस्तो गम्भीर फौजदारी कसुरदार ठहर गर्न मिल्ने स्थिति देखिन आएन । प्रतिवादीले अभियोग दावीबाट सफाइ पाउने ठहर्छ ।’

यसरी उनले एउटै विषयवस्तुमा गरेको फरक फरक ब्याखाले न्यायको मान्यतामा स्थिरता देखिएन । न्यायपरिषदका स्रोतका अनुसार पहिचानमा प्रश्न उठेपछि त्यो प्रश्नको निर्क्यौल हुनुपर्ने थियो त्यो भएन । यसमा सुरुमा थुनामा पठाउने र पछि कैफियत गरी उनलाई छुटाउने काम गरेको हुनसक्ने विश्वासिलो आधार देखिन्छ ।

सूर्यप्रसाद अधिकारी : मदिरा सेवन गरेर ‘हत्या’ गर्नेलाई छ महिना कैद

जिल्ला अदालत काठमाडौंले मदिरा सेवन गरेर चलाएको सवारी चालकको ठक्करबाट एक महिलाको मृत्यु भएको घटनामा आरोपितलाई ६ महिना कैद सजाय सुनाएको छ । विवादास्पद फैसला गरेलगत्तै न्यायाधीश सूर्यप्रसाद अधिकारी छानबिनका लागि न्यायपरिषदमा तानिएका छन् ।

मादक पदार्थ सेवन गरी पृथ्वी मल्लले हाँकेको कारको ठक्करबाट २०७६ मंसिरमा बुढानिलकण्ठमा लिला देवकोटाको मृत्यु भएको थियो । जिल्ला अदालतले आरोपितलाई १ हजार रुपैया जरिवाना गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मल्लमाथि १० वर्ष कैद र जरिवानाको मागदावी गरेको थियो ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले मल्लमाथि ‘सवारी ज्यान’ मुद्दामा चारवटा अतिरिक्त प्रमाण पेश गर्दै उनीमाथि अधिकतम सजाय हुनुपर्ने माग गरेको थियो ।

पहिलो, मल्लसंग सवारी चालक अनुमतीपत्र थिएन । दोस्रो, उनले मदिरा सेवन गरेर कार हाँकेका थिए । तेस्रो, कार बिग्रेको भनी दावी गरेपनि उनले हाँकेको गाडी तिब्र गतिमा थियो ।

तर, न्यायाधीश सूर्यप्रसाद अधिकारीले सवारी चालक पृथ्वी मल्ललाई प्रतिकुल हुने प्रमाणहरु हेरेनन् र त्यसको व्याख्या गरेनन् । मल्लले जे दावी गरेका थिए, त्यसैलाई स्वीकार गरे ।

आफ्नो फैसलामाथि न्यायपरिषदले छानबिन गर्ने निश्चित भएपछि उनले त्यसको पूर्णपाठ लेख्न ढिलाइ गरेका थिए । परिषदको निर्देशनपछि उनले काठमाडौं जिल्ला अदालतमा फैसलाको पूर्णपाठ बुझाएका हुन् ।

आरोपित पृथ्वी मल्ल अमेरिकामा बस्थे । सवारी दुर्घटना हुनुभन्दा एक साताअघि २३ मंसिर २०७६ मा मात्रै उनी नेपाल आएका थिए । २७ मंसिरमा उनले चलाएको कार अनियन्त्रित भइ बुढानीलकण्ठको सडकमा बिजुलीको पोल र देवकोटालाई ठक्कर दिएको थियो । देवकोटाको अस्पताल लैजादै गर्दा बाटोमै निधन भएको थियो ।

मल्लले सवारीसाधन चलाएका बेला उनीसँग नेपाली सवारी चालक अनुमतीपत्र थिएन । तिब्र गतिको गाडी अर्कोतर्फ उक्लेर पोलमा ठोक्किएपछि फेरी मोटरसाइकल अनि फुटपाथमा हिँडिरहेकी देवकोटालाई ठक्कर दिएको थियो । उनले मदिरा सेवन गरेर गाडी हाँकेका थिए ।

त्यो दिनको घटनाक्रमले मल्लको गतिविधि सामान्य र स्वभाविक थिएन भन्ने देखिन्छ । घटनाको दिन उनी नक्साल नारायणचौरस्थित जिम हलमा गएका थिए । त्यहाबाट बालुवाटार रेष्टुरेन्टमा खाना खाएर फेरि घुमेर राति क्लब गएर विहान साढे ५ बजे घर जाने क्रममा थिए ।

पृथ्वी मल्लको साथमा रहेकी करिश मास्केको बयान अनुसार, त्यो दिन रातभर उनीहरु ठमेल गएर बियर खाए, क्लब गए, रिसोर्टमा गई खाना अर्डर गरी प्याक गर्न लगाई घर फर्केका थिए । उनीहरु गएको रेष्टुरेन्टको सुरक्षा गार्डको बयान अनुसार त्यो रात अत्याधिक मदिरा सेवन गरेका थिए । उनले बाटोको साइडको अर्कोपट्टि पोलमा कार जोताएका थिए । प्रहरी प्रतिवेदन अनुसार, सडकपेटीमा टायरको डाम ४० फिट परसम्म थियो ।

तर, फैसला भन्छ, ‘यान्त्रिक त्रुटि’

काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यप्रसाद अधिकारीले कारमा यान्त्रिक त्रुटि भई दुर्घटना भएको निष्कर्ष निकालेर सवारी चालक मल्ललाई ६ महिना कैद सजाय हुने फैसला गरेका छन् । सवारी चालक मल्लमाथि जे जे आरोप थिए, तिनमाथि मिहिन विश्लेषण नगरी उनले फैसला लेखेका छन् । अनि मल्लले आफू अनुकुल हुने जे जे दावी गरे, त्यसलाई स्वीकार गरेर मल्ललाई कम सजाय गरेको देखिन्छ ।

जिल्ला अदालतको आदेशले थुनामा गएका मल्ल ३१ असार २०७७ मा सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्माको इजलासले पाँच लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्ने आदेशका कारण छुटे । रञ्जन कोइरालाको कैद मिनाहाको समयमा भएको यो आदेशले न्यायाधीशद्वयलाई विवादमा तानेको थियो ।

स्वास्थ्य परीक्षणका क्रममा उनले मदिरा सेवन गरी सवारीसाधन चलाएको पुष्टि भएको थियो । सवारीसाधन अनियन्त्रित अवस्थामा रहेको, तीव्र गतिमा कुदाइएको र सोही रफ्तारको कारण व्यक्तिको ज्यान गएको भनी आरोपपत्रमा उल्लेख थियो । घटनामा संलग्न मल्लले ब्रेक नलागेको र स्टेरिङ फेल भएको दावी गरेपनि गाडीको यान्त्रिक प्रतिवेदन अनुसार, ब्रेक ठीकै थियो ।

न्यायाधीश अधिकारीको इजलासले गाडी फुटपाथमाथि गएर दुर्घटना भएको नभई अर्को लेनमा भएको उल्लेख गरेका छन् । उनले त्यो फैसला गर्दा गाडीले पोलमा ठक्कर दिएको र त्यसपछि फेरि मोटरसाइकललाई हानेर फुटपाथमा हिँडिरहेकी लीला देवकोटालाई ठक्कर दिएको तथ्यको विवेचना गरिएको छैन ।

न्यायाधीशले गाडीको स्टार्ट बन्द भएको र पछि गियर परिवर्तन गर्दा दुर्घटना भएको भन्ने पृथ्वी मल्लाको दावीलाई सदर गरेका छन् । फैसलामा न्यायाधीशले कारको गति १५/२० किलोमिटरमात्रै रहेको भन्ने व्याख्या गरेका छन् ।

न्यायाधीश अधिकारीले मल्लले पेश गरेको सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय अनुमतिपत्र दावी गरेका छन् । जब कि त्यो अनुमतिपत्रमाथि नै प्रश्न उठेको थियो । विदेशी सवारीचालक अनुमतिपत्र भएपनि नेपालबाट फेरि अनुमतिपत्र नलिई सवारी हाक्न पाइदैन ।

घटनापछि कारबाट निस्केर केटीहरु भागेका थिए । घटनामा संलग्न मल्लले ब्रेक नलागेको र स्टेरिङ फेल भएको दावी गरेपनि घटनापछि गरिएको गाडीको यान्त्रिक परीक्षण प्रतिवेदन अनुसार, ब्रेक ठीकै थियो ।

सवारीचालक मल्लले मदिरा सेवन गरी गाडी हाँकेका थिए कि थिएनन् भन्ने पाटोमा समेत फैसला मौन छ । घटनामा संलग्न पृथ्वी मल्लको दावी अनुसार, उनले मदिरा सेवन गरेका थिएनन् । उनले आफ्नो स्वास्थ्य परीक्षण प्रतिवेदन पनि झुटो हो भनी दावी गरेका थिए ।

न्यायाधीशले स्वास्थ्य परीक्षण प्रतिवेदन होइन, डाक्टरले बकपत्रमा गरेको अनुमानका भरमा मल्लले मदिरा सेवन गरेको निष्कर्ष निकालेका छन् । बकपत्रमा डाक्टरले ‘रगत परीक्षण नगरेकोले बाहिर हेर्दा रक्सी खाए जस्तो देखिएको’ भनी बकपत्र गरेका थिए ।

फैसलाको प्रारम्भिक अध्ययन गरेका अर्का एक न्यायाधीशका अनुसार, जिल्ला न्यायाधीश अधिकारीले आरोपित मल्लका लागि अनुकुल हुने प्रमाण र तथ्यहरुमा मात्रै टेकेर फैसला गरेको देखिन्छ । सवारीचालक मल्ललाई ज्यान मुद्दामा कठोर सजाय गर्ने पर्याप्त आधार रहेको उनी बताउँछन् ।

सवारीचालक अनुमतिपत्र नभएको र मादक पदार्थ सेवन गरेकाले उनको संलग्नता र कसुरको मात्रा गम्भीर थियो । त्यही पाटोलाई गलत सावित गरेर न्यायाधीशले गाडीमा यान्त्रिक गडबडी भएको, चालकले मदिरा सेवन गरेको पुष्टि नहुने निष्कर्षसहित मल्ललाई ६ महिनामात्रै कैद सजाय तोकेका थिए ।

लेखकको बारेमा
कृष्ण ज्ञवाली

न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?