+
+
विशेष स्टोरी :

‘ग्याँस सिलिन्डर विस्फोटका दोषी उद्योगी होइनन्’

कृष्णभक्त श्रेष्ठ, प्रोप्राइटर, उग्रचण्डी ग्याँस कृष्णभक्त श्रेष्ठ, प्रोप्राइटर, उग्रचण्डी ग्याँस
२०७८ चैत २८ गते २०:२२

म कृष्णभक्त श्रेष्ठ काभ्रेपलाञ्चोक जिल्लाको नालामा रहेको उग्रचण्डी ग्याँस उद्योगको प्रोप्राइटर हुँ । अघिल्लो आइतबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसे ८ स्थित लामा टोलमा भएको ग्याँस विस्फोटको घटनाले मलाई दुःखी बनाएको छ ।

तीन जना बालबालिकाको ज्यान जानेगरी भएको घटनामा मेरो उद्योगले उत्पादन गर्ने ‘लोकप्रिय’ ग्याँसको सिलिन्डर परेको मैले पनि सुने । मैले सुनेसम्म आगोको भंगालोमा परेपछि ग्याँस सिलिन्डर विस्फोट भएको हो । ग्याँसको सिलिन्डर आफैं विस्फोट हुँदैन । यसलाई निश्चित तापक्रमसम्म नपडि्कने गरी बनाइएको हुन्छ ।

हामीले नेपाल सरकारबाट नेपाल गुणस्तर मापदण्ड लिएर मात्रै ग्याँस बजारमा पठाउने हो । तर, निश्चितभन्दा बढी तापक्रममा सिलिण्डर पर्‍यो भने त्यो विस्फोट हुन्छ नै । सिन्धुपाल्चोकको दुर्घटनाको कारण पनि आगलागी हो, सिलिन्डर होइन । मैले मेरो उद्योगबाट पठाएको सर्भेयरले भने अनुसार आगलागीमा परेर सिलिन्डर पडि्कएको हो ।

पहिले कुनै कारणले घरमा आगो लाग्यो । त्यो आगोमा सिलिन्डर पर्‍यो, भएको यत्ति हो । दुर्घटनामा परेकाहरुप्रति हामी दुःख व्यक्त गर्छौं । यस्तो दुर्घटनामा उद्योगले हालसम्म कुनै क्षतिपूर्ति दिने व्यवस्था छैन । सर्भेयरले भन्यो भने ग्राहकको तेस्रो पक्ष बिमाबाट केही राहत मिल्न पनि सक्छ ।

बिमा प्राप्त हुनेबारे सर्भेयरले निर्णय दिने हो । बाह्रबिसेको घटनामा हाम्रै सिलिण्डरको कमजोरीका कारण विस्फोट हुनै सक्दैन । अधिकाशं दुर्घटना उद्योगका कारणभन्दा पनि त्यसलाई ‘हृयाण्डलिङ’ गर्ने व्यक्तिको कारण हुने गरेको छ । गलत तरिकाले प्रज्वलनशील प्रदार्थ प्रयोग गरियो भने दुर्घटना त हुन्छ नै त्यसको दोष उद्योगीलाई दिनु गलत हुन्छ ।

हाम्रो एसोसिएसनमा पनि दुर्घटनाका कयौं उजुरीहरु हुन्छन् । ती दुर्घटनाहरु ‘हृयाण्डलिङ’ का कारण हुने गरेको भनेर कुरा हुने गरेको छ । देशभरका खपत हुने ग्याँसका सबै सिलिन्डर जम्मा तीन ठाउँमा बन्छन् ।

वीरगञ्ज, चितवन र सिमारामा बनेको गुणस्तरीय सिलिण्डर हामीले ल्याउने हो । त्यसैलाई भरेर बजारमा पठाउने हो । यसमा हाम्रो के दोष ? बजारमा टाटाले बिक्री गरेको गाडी दुर्घटना भयो र त्यसबाट हताहत भयो भने त्यसको दोष टाटाको गाडी बेच्नेलाई त दिइदैन होइन होला नि, दोष त गाडी चलाउने चालकको हुन्छ नि । ग्याँस प्रकरणमा पनि यस्तै हो । हामीलाई दुर्घटनाको दोष दिनु हुँदैन । जसले गलत तरिकाले चलायो उही दोषी हो ।

‘हृयाण्डल’ गर्ने कै दोष हो । उद्योगबाट पठाएको सिलिन्डर सिधै उपभोक्ता भएको ठाउँमा पुग्दैन, त्यो बीचमा पनि कमजोरी भएको हुनसक्छ । हामीले डिलरलाई दिने हो, डिलरले पनि सब डिलर, सहायक डिलर, अस्थायी डिलर र खुद्रा बिक्रीको चेन बनाएको हुन्छ । अनि बल्ल ग्राहकको घरमा ग्याँस पुग्छ । त्यहाँ पनि त कमजोरी हुन सक्छ । त्यसैले हामी मात्रै होइन, ग्याँस दुर्घटनामा उद्योगहरु दोषी हुने कुरै हुन्न ।

(‘लोकप्रिय’ ब्राण्डको ग्याँस उत्पादक कम्पनी उग्रचण्डी ग्याँसका प्रोपाइटर श्रेष्ठसंग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?