+
+
मन्थन :

को बन्ने नेपाली केजरीवाल ?

चुनावका बेलाको क्षणिक आवेग वा रहरले मात्र ‘केजरीवाल’ बन्न सकिंदैन । वानप्रस्थ उमेरको कुण्ठा र महत्वाकांक्षाले पनि ‘केजरीवाल’ बन्न सकिंदैन । मुख्यकुरा तयारी गतिलो हुनु पर्‍यो ।

मोहन तिम्सिना मोहन तिम्सिना
२०७८ चैत २८ गते १३:००

बितेका केही महिनायता विश्व परिवेश फरक भएर गएको छ । खासगरी रुस–युक्रेन युद्धका बाछिटाले पूरै विश्वलाई प्रभावित पारेको छ । इन्धनको मूल्य वृद्धिसँगै सबै क्षेत्रमा मूल्य वृद्धि भइरहेको छ । छिमेकी मुलुक श्रीलंकाको अर्थतन्त्रको संकट यहीबेला छताछुल्ल भएको छ । अर्थतन्त्रका सूचक हेरेर स्पष्ट भन्न सकिन्छ, श्रीलंकाको नियतिबाट जोगिन नेपालले तत्काल महत्वपूर्ण नीतिगत सुधारको कदम उठाउन जरुरी छ ।

यहीबेला नेपालमा स्थानीय चुनाव हुँदैछ । यो चुनावसँगै संघीय गणतन्त्र अन्तरगतका स्थानीय सरकारहरूको पहिलो कार्यकाल पूरा हुन्छ । त्यसैले, एकातिर यो स्थानीय सरकारहरूको पहिलो कार्यकालको समीक्षाको समय हो । अर्कोतिर अर्थतन्त्रको संकट समाधानका लागि राष्ट्रिय नीति निर्माणको समय पनि हो ।

चुनावको मिति नजिकिएसँगै दलहरूको चहलपहल त बढ्न थालेको छ । यद्यपि कुनै दलले अहिलेसम्म मुलुकको अर्थतन्त्र सुधारबारे बोलेका छैनन् । संघीय गणतन्त्रको पहिलो कार्यकालको समीक्षा पनि सार्वजनिक गरेका छैनन् । प्रायः सबै दलमा एउटै कुराको चर्चा भइरहेको छ, कोसँग गठबन्धन गर्दा चुनाव जितिन्छ ?

संघीय गणतन्त्रका लागि आन्दोलन गर्ने दल अधिकांश विभाजित छन् । देश र जनताका समस्याप्रति उनीहरूको चिन्तन झन झन क्षीण हुँदै जाँदैछ । उनीहरूको ध्यान अहिले केवल आफ्नो ‘हैसियत’ जोगाउने चिन्तामा सीमित भएको छ । जनजीविकाका सवालहरू छायाँमा परेका छन् । यसले दल मात्र होइन, संघीय गणतन्त्रलाई नै बदनाम बनाएको छ ।

यहीबेला दल र नेताबाट विरक्त मानिसहरूले ‘स्वतन्त्र उम्मेदवारी अभियान’ सुरु गरेका छन् । सँगै चर्चा चल्दैछ भारतीय नेता अरविन्द केजरीवालको । नेपालमा पनि केजरीवाल जस्तै नेता जरुरी छ भन्न थालिएको छ । तर कसरी बन्ने नेपाली केजरीवाल ? को बन्ला नेपाली केजरीवाल ? यो प्रश्न भने अझै अनुत्तरीत नै छ ।

केजरीवालको करामत

भारतको ‘आम आदमी पार्टी’ का नेता अरविन्द केजरीवाल एक सरकारी कर्मचारीबाट सामाजिक अभियन्ता, ‘आम आदमी पार्टी’ को संस्थापक हुँदै आज दिल्ली राज्यको मुख्यमन्त्री बनेका छन् । उनको जन्म सन् १९६८ मा भएको हो । मेकानिकल इन्जीनियरिङमा स्नातक गरेपछि उनले केही वर्ष दिल्लीको कर कार्यालयमा सरकारी कर्मचारीको रूपमा काम गरे ।

यहीबेला उनले दिल्ली र वरिपरिका बस्तीहरूमा भुईं तहको सामाजिक आन्दोलन र सूचनाको हक आन्दोलनको अगुवाई गरे । उनकै पहलकदमीमा सन् २००५ मा भारतीय संसदबाट ‘सूचनाको हक विधेयक’ पारित भयो ।

उनको यो कार्यको सम्मानमा सन् २००६ मा उनलाई म्यागासेसे पुरस्कार दिइयो । त्यही वर्ष उनले सरकारी सेवाबाट राजीनामा दिए । सन् २०११ मा चर्चित भारतीय नागरिक अभियन्ता अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानमा सामेल भएका उनले ४४ वर्षको उमेरमा सन् २०१२ मा आम आदमी पार्टी खोले ।

सन् २०१३ को दिल्ली विधान सभा चुनावमा उनको पार्टी दिल्लीको दोस्रो ठूलो पार्टीका रूपमा देखा पर्‍यो । उनी अल्पमतको सरकारको मुख्यमन्त्री बने । तर भ्रष्टाचार विरोधी विधेयक पास गर्न नसकेपछि ४९ दिनमा राजीनामा दिए । सन् २०१५ को चुनावमा दिल्ली विधान सभाका ७० मध्ये ६७ सिट जितेर अत्यधिक बहुमतको सरकार गठन गर्दै उनी पुनः दिल्लीको मुख्यमन्त्री भए । यसपछि उनले गरेका कामले उनलाई चर्चित बनाई दियो ।

मुलतः उनले सार्वजनिक शिक्षा, स्वास्थ्य र सेवा प्रवाहको क्षेत्रमा करामत गरेर देखाए । सरकारी स्कुलको सुधार, स्वास्थ्य केन्द्रहरूको बिस्तार, विपन्न परिवारलाई खानेपानी र बिजुली लगायतको सहुलियत, सरकारी कार्यालयको चुस्त दुरुस्त सेवाप्रवाह नै उनको सरकारले गरेका खास काम हुन् ।

दिल्ली सरकारको लोकप्रियताले ७ वर्षपछि हालसालै पञ्जावमा पनि आम आदमी पार्टीको बहुमतको सरकार गठन भएको छ । यो सफलतापछि भने केजरीवाल र उनको दललाई भारतमा वैकल्पिक शक्ति बन्ने सम्भावना भएको दल मान्न थालिएको छ । यो घटनापछि नेपालमा पनि केही मानिसहरू उत्साहित भएका छन् । अब ‘नेपाली केजरीवाल’ को खोजी शुरु भएको छ । यसपालीको स्थानीय निर्वाचनमा देखापरेको ‘स्वतन्त्र उम्मेदवारी अभियान’ सायद यही खोजको एउटा पाटो हो ।

केजरीवालका सवलता

राम्रो काम गर्ने व्यक्तिबाट प्रेरणा लिनु राम्रै कुरा हो । यद्यपि केजरीवालका केही यस्ता बिषेशता छन्, जो नेपाली नेतामा छैन । पहिलो, केजरीवाल कुनै शास्त्रीय सिद्धान्तको रटान गर्दैनन् । भारतीय राजनीतिमा कम्युनिष्ट, काँग्रेस, समाजवादी, हिन्दुवादी जस्ता ठूला र पुरानो विरासत बोकेका राजनीतिक सम्प्रदाय छन् । केजरीवालले आफ्नो पार्टीलाई कुनै पुराना सम्प्रदायसँग जोडेका छैनन् ।

नेपालमा पनि ठ्याक्कै भारतमा जस्तै राजनीतिक सम्प्रदाय छन् । अर्थात्, यहाँ पनि काँग्रेस, कम्युनिष्ट, समाजवादी र हिन्दुवादी नै छन् । तर वैकल्पिक राजनीतिको कुरा गर्दा चाहिँ अवस्था ठिक विपरित छ । अर्थात, नेपालमा ज–जसले वैकल्पिक शक्ति बनाउने भनेर दावी गरे लगभग ती सबै शास्त्रीय सम्प्रदायको आडम्बर मै बाँधिएर देखा परे । यहाँ केजरीवाल जस्तो नेता र आम आदमी पार्टी जस्तो दल देखापरेकै छैन ।

दोस्रो, केजरीवालको राजनीतिको केन्द्रमा भुई तहका मानिस छन् । उनको ध्यान गरिबहरूको जीवनस्तर सुधारतिर नै लक्षित छ । यो कुरो उनको बोलीबाट होइन, व्यवहारबाट अनुभव गर्न सकिने गरी उनले काम गरेका छन् । उनी सरकारको काम, कार्यसम्पादन परिणाममा देखिनुपर्दछ भन्ने कुरामा जोड गर्दछन् ।

तर नेपालका राजनीतिक दलहरूको केन्द्रमा गरिबहरू छैनन् । यहाँका दलसँग गरिब केन्द्रित कुनै कार्य योजना छैन । राज्य संयन्त्रमा पदको लुछाचुँडी ज्यादा छ । तर सरकारको कार्यसम्पादन परिणाम मापन गर्ने अभ्यासै छैन । नेपालका नेतालाई यो कुराको कुनै मतलब पनि छैन ।

तेस्रो, पारदर्शिता र जवाफदेहिता केजरीवालको आदर्श हो । उनले सरकारी कार्यालयहरूलाई बढीभन्दा बढी जनताप्रति उत्तरदायी बनाउनेतर्फ लक्षित गरेका छन् । यसका लागि उनले पुराना झन्झटिला ऐन कानुनमा आमुल परिवर्तन गराएका छन् ।

तर नेपालका कार्यालयहरू अपारदर्शिता र गैरजवाफदेहिताका नमुना हुन् । सरकारी कार्यालयहरूको कार्य सम्पादन सुधार गर्नेतर्फ कुनै नेताले चिन्ता गर्दैन । बरु उल्टो ठेकेदार र उच्च पदस्त कर्मचारीहरूसँगको अपारदर्शी लेनदेनबाट यहाँका पार्टीहरूको मासिक खर्च र चुनाव खर्च चल्छ । यसरी नेपालमा नेताहरूले नै भ्रष्टाचारलाई संस्थागत गरेका छन् ।

पूरै भारतको बेरोजगारी समस्या कसरी समाधान हुन्छ ? वैकल्पिक शिक्षा र स्वास्थ्य नीति कस्तो हुने ? पर्यावरणीय समस्या कसरी समाधान गर्ने ? यस्ता बिषयमा पनि तत्काल केजरीवालले उत्तर दिनुपरेको छैन ।

चौथो, केजरीवालले सही उमेरमा वैकल्पिक राजनीति शुरु गरे । उनी स्वयंमा सरल र सादगी छन् । साधारण पहिरनमा कार्यालय जान्छन् । कुनै बनावटी स्वभाव देखाउँदैनन् । कथित सहयोगीहरूको ठुलो डफ्फा प्रयोग गर्दैनन् ।

तर नेपालमा वैकल्पिक राजनीति गर्ने भनिएकाहरू धेरै जसो वानप्रस्थ उमेरका छन् । जो वैकल्पिक राजनीतिको शुरुवातका लागि सही उमेर होइन । यसका अतिरिक्त नेपालका नेताहरू आडम्बरी लाग्छन् । यिनीहरूको बोली बचनदेखि पहिरन, हिंडाई, बसाई खुवाई सबै आवश्यकताभन्दा बेसी भड्किलो र भद्दा लाग्छ । ‘नेपाली केजरीवाल’ बन्न चाहने पात्रले माथिका कुरा विचार गर्नुपर्ने हुन्छ ।

केजरीवालका चुनौती

निश्चय नै केजरीवाल र उनको दलले चमत्कार गरेको छ । भारतको राजधानी जस्तो ठाउँमा एउटा बिलकुलै नयाँ दलले पुराना दलहरूको विरासत तोडिदिएको छ । स्थापनाको केही वर्षमै दुईवटा प्रान्तमा अत्यधिक बहुमतसहितको सरकार गठन गरेको छ । चुनावी वाचा अनुसारको काम गरेर देखाएको छ । यो चानचुने उपलब्धि होइन ।

तर केजरीवाल वैकल्पिक राजनीतिको रोलमोडल नै भइसके भन्ने होइन । उनको राजनीतिक यात्राका केही गम्भीर चुनौती पनि छन् । केजरीवाल अहिलेसम्म राजनीतिको ‘कम्फर्ट जोन’ मा छन् । जुन दिन उनको यो ‘कम्फर्ट जोन’ भत्किन्छ, त्यो दिन मात्र केजरीवालको वास्तविक क्षमता स्पष्ट हुन्छ ।

आफ्नो ‘कम्फर्ट जोन’ भत्किँदा पनि उनले आफ्नो कार्य सम्पादन स्तरलाई निरन्तर कायम राख्न सके भने मात्र उनलाई वैकल्पिक राजनीतिको रोलमोडल मान्न सकिन्छ । यहाँ जिज्ञासा हुन सक्छ, केजरीवालको ‘कम्फर्ट जोन’ भनेको के हो र त्यो कसरी भत्कन्छ ? यसबारे अलिकति चर्चा गरौं ।

पहिलो, केजरीवालको अगाडि भारतको विशाल अर्थतन्त्र छ । अहिलेसम्म उनले सिंगो भारतको अर्थतन्त्र कसरी उकास्ने भनेर सोच्नु परेको छैन । अर्थतन्त्रको मोडेल कस्तो बनाउने भनेर सोच्नु परेको छैन । किसानहरूको समस्याबारे सोच्नु परेको छैन । उनले भइरहेकै संरचना, बजेट र कानुनी व्यवस्थालाई सदुपयोग गरेका हुन् । अर्थतन्त्रमै तरक्की गरेका होइनन् । यो केजरीवाल राजनीतिको ‘कम्फर्ट जोन’ हो ।

तर यो दिन सधैं रहँदैन । जुन दिन उनको दलले केन्द्र (संघ) सरकारकै नेतृत्व गर्नुपर्ने हुन्छ, तब उनको ‘कम्फर्ट जोन’ भत्किन्छ । अर्थात्, त्योबेला केजरीवालले अर्थतन्त्रमै तरक्की गरेर देखाउनुपर्ने हुन्छ, त्योबेला केजरीवालले कस्तो बाटो पक्रिन्छन् ? त्यो बिषय अस्पष्ट छ । त्योबेला उनलाई शास्त्रीयताबाट मुक्त दर्शन र विचारधारा जरुरी हुनेछ । सोही अनुसारको कार्यक्रम जरूरी हुनेछ । केजरीवाल यो बिषयमा पनि सफल भए भने मात्र उनलाई वैकल्पिक राजनीतिको रोलमोडल मान्न सकिन्छ ।

दोस्रो, केजरीवालको राजनीति अहिलेसम्म राजधानी शहर र आसपासका क्षेत्रमा मात्र सफल छ । जहाँ उनी केवल सुशासनको मुद्दाले राजनीति चलाइरहेका छन् । मानवीय उद्विकास वा पहिचानका जटिल मुद्दामा उनले अल्झिनु परेको छैन । यो उनको राजनीतिको अर्को ‘कम्फर्ट जोन’ हो ।

तर यो दिन सधैं रहँदैन । भोलि उनको पार्टीको प्रभाव बिस्तार हुँदै जाँदा पहिचानका जटिल मुद्दा पनि उनकै अगाडि आउने हुन् । कुनै दिन केजरीवालले कश्मिर समस्या समाधान गर्नुपर्ने हुन सक्छ । पूर्वाेत्तर भारतका गोर्खाल्याण्ड, बोडो, आसाम जस्ता मुद्दा समाधान गर्नुपर्ने हुन सक्छ । तब उनको ‘कम्फर्ट जोन’ भत्किन्छ ।

यो बेला केजरीवालले कस्तो सोच र नीति अनुसार काम गर्लान् ? यो बिषय अस्पष्ट छ । त्यो दिन उनलाई फेरि शास्त्रीयताबाट मुक्त राजनीतिक विचाराधारा जरुरी हुनेछ । यो बिषयमा पनि केजरीवालले सही र न्यायपूर्ण कदम उठाए भने मात्र बल्ल उनलाई वैकल्पिक राजनीतिको रोलमोडल मान्न सकिन्छ ।

तेस्रो, अहिलेसम्म केजरीवालले प्रान्तीय सरकार चलाइरहेका छन् । उनले वैदेशिक मामिला सञ्चालन गर्नुपरेको छैन । जुन दिन उनी र उनको दल केन्द (संघ) सरकारसम्म पुग्छ, तब जरुर उनले वैदेशिक मामिला सञ्चालन गर्नुपर्ने हुन्छ । यो बेला पनि उनको राजनीतिको ‘कम्फर्ट जोन’ भत्किन्छ । यो बेला उनको सोच र राजनीतिक क्षमताको अर्को परीक्षा हुनेछ । त्यो बेला पनि उनले सही र न्यायपूर्ण कदम उठाउन सके भने मात्र उनलाई वैकल्पिक राजनीतिको रोलमोडल मान्न सकिन्छ ।

चौथो, अहिलेसम्म केजरीवालले विद्यमान शिक्षा नीतिलाई प्रभावकारी कार्यान्वयन गरेका मात्र हुन् । विद्यमान स्वास्थ्य नीतिलाई नै भुईं तहसम्म प्रभावकारी बिस्तार गरेका मात्र हुन् । भारत जस्तो देशमा शिक्षाको अन्तरवस्तु कस्तो हुने भनेर उनले तत्काल उत्तर दिनुपरेको छैन । भारत जस्तो देशमा स्वास्थ्य सेवाको मोडेल कस्तो हुने भन्नेबारे पनि उनले तत्काल उत्तर दिनुपरेको छैन । पूरै भारतको बेरोजगारी समस्या कसरी समाधान हुन्छ ? वैकल्पिक शिक्षा र स्वास्थ्य नीति कस्तो हुने ? पर्यावरणीय समस्या कसरी समाधान गर्ने ? यस्ता बिषयमा पनि तत्काल केजरीवालले उत्तर दिनुपरेको छैन ।

तर कुनै न कुनै दिन यी प्रश्न केजरीवालका अगाडि अवस्य आइलाग्ने छन् । तब उनको हालको ‘कम्फर्ट जोन’ भत्किन्छ । केजरीवालले माथिका सारा प्रश्नको सफल सम्बोधन गर्न सक्नुपर्छ ? के साँच्चै केजरीवालसँग माथिका प्रश्नहरूको समाधान गर्ने तयारी छ ? यदि छ भने मात्र उनी वैकल्पिक राजनीतिको रोलमोडल हुन सक्छन् ।

नेपाली सन्दर्भ

‘नेपाली केजरीवाल’ का केही फरक अवसर त छन् । तर भारतका केजरीवालको जस्तो ‘कम्फर्ट जोन’ मा बसेर राजनीति गर्ने मौका नेपालकालाई छैन । अर्थात, ‘नेपाली केजरीवाल’ ले वैकल्पिक राजनीति शुरु गर्दा प्रारम्भमै केही जटिल चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।

पहिलो, नेपाली केजरीवालले शक्ति हासिल गरे लगत्तै अर्थतन्त्रमै तरक्की गरेर देखाउनुपर्ने हुन्छ । यसको पहिलो कारण, नेपालमा प्रान्तीय स्वायत्तता कमजोर छ । जुनसुकै शक्तिले सिधै राष्ट्रिय अर्थतन्त्रकै मुद्दा सम्बोधन गर्नुपर्ने अवस्था छ । दोस्रो कारण, नेपालको अर्थतन्त्र रुग्ण र सानो छ । उत्पादन नगन्य छ । ८० प्रतिशत उपभोग्य वस्तु विदेशी बजारबाट किनेर काम चलाइएको छ । अर्थतन्त्रमा चरम व्यापार घाटा छ । राष्ट्रिय आम्दानीको ८० प्रतिशत हिस्सा चालु खर्चमै सकिन्छ ।

यहाँ भारतका केजरीवालले जस्तो विद्यमान अर्थतन्त्रभित्रै ठूलाठूला वितरणमुखी कार्यक्रम गर्न सक्ने अवस्था नै छैन । बरु अर्थतन्त्रलाई वितरणमुखी कम, उत्पादनमुखी ज्यादा बनाउन जरुरी छ । तर यसो गर्दा जनताबीचको लोकप्रियता गुम्न सक्छ । यो नेपाली केजरीवालको पहिलो चुनौती हो ।

दोस्रो, नेपालमा राजनीतिक प्रणाली, संघीयताको सीमांकन र नामांकन वा पहिचानको मुद्दा अझै हल भइसकेको छैन । राजधानी होस् वा दूर दराजको गाउँ, सबै ठाउँमा यो मुद्दा शुरुवातमै आइलाग्छ । यो यस्तो बिषय हो, जसमा शास्त्रीय विचारधारा (हिन्दुवाद, समाजवाद, उदारवाद, साम्यवाद) को आधारमा काम गर्दा तुरुन्तै त्यसले समाजमा विभाजन पैदा गर्दछ । यो बिषय उत्तरित गर्न नसक्दा पनि राजनीतिक शक्ति सिर्जना गर्न असम्भव हुन्छ । यो मुद्दामा ‘नेपाली केजरीवाल’ लाई भारतीय केजरीवालको जस्तो ‘कम्फर्ट जोन’ उपलब्ध छैन । राजनीतिक यात्राको शुरुवातमै नेपाली राजनीतिकर्मी यो मुद्दाले घेरिन्छ । यो ‘नेपाली केजरीवाल’ को दोस्रो चुनौती हो ।

तेस्रो, नेपालमा प्रान्तिय दल लगभग छैनन् । प्रान्तीय राजनीति कमजोर हुँदै गएको छ । जुन दल जति शक्तिमा आए पनि त्यसले प्रान्तिय राजनीतिमा सीमित हुने अवस्था नै छैन । कहिँनकहिँ उसले संघ (केन्द्र) सरकारका मामिलालाई सम्वोधन गर्नुपर्ने नै हुन्छ । यसले तुरुन्त त्यो दललाई वैदेशिक सम्बन्ध सञ्चालनको परीक्षामा संलग्न गराउँछ । यहाँ पनि ‘नेपाली केजरीवाल’ लाई भारतीय केजरीवाललाई जस्तो ‘कम्फर्ट जोन’ उपलब्ध छैन ।

नेपालको भूराजनीतिक जटिलता यो छ कि यहाँ चीन र भारत जस्ता महत्वाकांक्षी छिमेकी छन् । उनीहरू नेपाललाई सुक्ष्म तहमा निर्देशित गर्न चाहन्छन् । पश्चिमा महत्वाकांक्षी मुलुकहरू पनि नेपालप्रति उत्तिकै चासो राख्दछन् । वैदेशिक सम्बन्धलाई सन्तुलित गर्ने र परस्पर लाभदायी सम्बन्ध कायम गर्ने काममा ‘नेपाली केजरीवाल’ ले प्रारम्भमै तरक्की गरेर देखाउनु पर्ने हुन्छ । यो ‘नेपाली केजरीवाल’ को तेस्रो चुनौती हो ।

चौथो, नेपालको शिक्षा, स्वास्थ्य र सार्वजनिक पूर्वाधारको क्षेत्र एकातिर निजीकरण र व्यापारीकरणले थिलो थिलो भएको छ । अर्कोतिर सार्वजनिक शिक्षा र स्वास्थ्यका पूर्वाधार जीर्ण छन् । शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने थलो बनेको छ । शिक्षाको अन्तरवस्तु र स्वास्थ्य सेवाको मोडेल यान्त्रिक र परम्परावादी छ । जलवायु विपत्तिबाट प्रभावित हुने देशको सूचीमा नेपालको नाम अग्रपंक्तिमा छ । बसाई सराईको कारण पहाड खाली हुँदैछ । डोजरे विकासले पहाड चिथोरेर विजोग पारिसकेको छ । यी बिषय पनि नेपाली केजरीवालले आफ्नो राजनीतिक यात्राको प्रारम्भमै सम्बोधन गर्नुपर्ने हुन्छ ।

‘नेपाली केजरीवाल’ हरूले भारतका केजरीवालबाट सिक्नुपर्ने धेरै कुरा छन् । तर ‘केजरीवाल’ वैकल्पिक राजनीतिको एक शुरुवात हो, सबथोक होइन । यसलाई सबथोक बनाउन सोच, खोज र धैयर्ताको खाँचो छ ।

तर यी बिषयको सम्बोधन गर्नु सजिलो छैन । जस्तो कि, आवश्यकता अनुसार सार्वजनिक शिक्षा र स्वास्थ्यका पूर्वाधार सुधार गर्न शुरुवातमा पर्याप्त बजेट जुटाउन मुस्किल हुन सक्छ । सार्वजनिक शिक्षाको स्तर उठाउने, वैकल्पिक शिक्षा र स्वास्थ्य नीति बनाउने, दिगो विकास र पर्यावरण संरक्षणको क्षेत्रमा काम गर्ने कुरा त झन चुनौतीपूर्ण छन् । कारण, यसका लागि ‘नेपाली केजरीवाल’ ले विचार र स्रोत साधन दुवैले सुसज्जित हुन जरुरी हुन्छ । यो ‘नेपाली केजरीवाल’ को चौथो चुनौती हो ।

यद्यपि ‘नेपाली केजरीवाल’ का लागि यहाँ केही अवसर पनि छन् ।

पहिलो, नेपालको सीमित जनसंख्यामा नयाँ राजनीतिक सन्देशलाई छिटो सञ्चार गर्न सकिन्छ ।

दोस्रो, आन्दोलन वा अभियान नेपालमा प्रायः तुरुन्तै राष्ट्रव्यापी भएर देखापर्दछन् ।

तेस्रो, सामाजिक सद्भाव र एकता नेपालीहरू बीचमा राम्रो छ ।

चौथो, नेपाली मतदातामा छिटो छिटो विकल्प खोज्ने प्रवृत्ति छ ।

पाँचौं, काम गर्न चाहनेलाई नेपालमा प्रकृति प्रदत्त स्रोत–साधन प्रशस्त छ । माथिको सबै अवसर भारतीय केजरीवाललाई उपलब्ध थिएनन् । जुन ‘नेपाली केजरीवाल’ का अगाडि उपलब्ध छन् ।

माथिका चर्चाहरूको सारमा भन्न सकिन्छ, चुनावका बेलाको क्षणिक आवेग वा रहरले मात्र ‘केजरीवाल’ बन्न सकिंदैन । वानप्रस्थ उमेरको कुण्ठा र महत्वाकांक्षाले पनि ‘केजरीवाल’ बन्न सकिंदैन । मुख्यकुरा तयारी गतिलो हुनु पर्‍यो । तयारीको अर्थ वैचारिक, संगठन, कार्यक्रम र आन्दोलनको तयारी नै हो । बिना तयारी शुरु गरिएका कामले बेकारमा मानिसहरूलाई दुःख दिने काम मात्र हुन्छ ।

दोस्रो, अहिलेको अवस्था हेरेर यो पनि स्पष्ट भन्न सकिन्छ कि यही स्थानीय चुनाव वा यसपछिको संसदीय चुनावबाटै नेपालमा ‘केजरीवाल’ को उदय भइहाल्ने अवस्था छैन । यसले केही समय अवश्य लिनेछ ।

जसरी नागरिक आन्दोलनबाट भारतमा ‘आम आदमी पार्टी’ बन्यो, त्यसरी नै ‘स्वतन्त्र उम्मेदवारी अभियान’ले दलको रूप धारण गर्न जरुरी हुन्छ । त्यस्तो दलमा आजको विज्ञान अनुकूलको विचारधारा निर्माणको क्षेत्रमा अनुसन्धान र छलफल हुन जरुरी हुन्छ । नवीन विचारधारालाई लागु गर्ने कौशलता र धैयर्ता भएको गतिशील नेतृत्व जरुरी हुन्छ । निश्चित सामाजिक मुद्दा उठाएर आन्दोलन शुरु गर्नु जरुरी हुन्छ । यसले मात्र ‘नेपाली केजरीवाल’ जन्मने आधार तयार गर्दछ ।

अन्त्यमा, ‘नेपाली केजरीवाल’ हरूले भारतका केजरीवालबाट सिक्नुपर्ने धेरै कुरा छन् । तर ‘केजरीवाल’ वैकल्पिक राजनीतिको एक शुरुवात हो, सबथोक होइन । यसलाई सबथोक बनाउन सोच, खोज र धैयर्ताको खाँचो छ ।

लेखकको बारेमा
मोहन तिम्सिना

लेखक वैकल्पिक विचार र जैविक दर्शनको विषयमा कलम चलाउँछन् । उनको नियमित स्तम्भ 'मन्थन' प्रकाशित हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?