+
+

सुदूरपश्चिममा गठबन्धनभित्र भागबण्डा मिलाउन सकस

जनक विष्ट जनक विष्ट
२०७८ चैत २९ गते १४:३४

२९ चैत, धनगढी । सत्तारुढ गठबन्धनलाई स्थानीय तह निर्वाचनका लागि ससुदूरपश्चिम प्रदेशमा भागबण्डा मिलाउन कठिन देखिएको छ ।

प्रदेशका नौ जिल्लाका स्थानीय तहमा भागवण्डा कसरी मिलाउने भन्नेमा प्रदेशस्तरका नेताहरु छलफलमा छन्, तर निर्णय गर्न सकेका छैनन् । हालसम्म कुनै पनि जिल्लाबाट सहमतिको निर्णय पनि आएको छैन ।

सत्ता गठबन्धनमा मुख्य गरी नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच भागवण्डा मिल्न सकेको छैन ।

१३ स्थानीय तह रहेको कैलालीमा सत्तारुढ गठबन्धनको २७ चैतमा बसेको थियो । बैठकमा सहभागी नेपाली कांग्रेस कैलालीका सचिव केशव मिश्रकाअनुसार प्रमुख तीन दलको आ–आफ्नै अडानका कारण पुनः बस्ने गरी बैठक टुङ्गिएको थियो ।

‘बैठकमा एकीकृत समाजवादीले तत्कालीन समयमा एमालेले जितेका सातमध्ये पाँच वटा स्थानीय तह आफूलाई दिनुपर्ने प्रस्ताव राख्यो, माओवादी केन्द्रले पनि २०७४ सालमा जितेका दुईवटा पालिका नछाड्ने दाबी गरेको छ,’ मिश्रले अनलाइनखबरसँग भने, ‘हामीले पनि आफ्नो प्रभाव भएको पालिका पाउनुपर्ने माग गरेका छौँ ।’ उनका अनुसार गठबन्धनको अर्को बैठक बुधबार बस्ने सहमति भएको छ ।

एकीकृत समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश सचिव दिनेशचन्द्र सुवेदी भने तालमेलको विषय अहिले छलफलकै चरणमा रहेको भन्दै पछि सहमति हुने बताउँछन् ।

‘केन्द्रीय सर्कुलरअनुसार स्थानीय तहको निर्वाचनमा कसरी तालमेल गर्न सकिन्छ भन्ने विषयमा हामीहरु निरन्तर छलफलमा छौं । भागबण्डा नमिलेको भन्ने चाहिँ होइन । सबै कुरा मिलिहाल्छ’, सुवेदीले अनलाइनखबरसँग भने ।

नेकपा माओवादी केन्द्रका प्रदेश समिति अध्यक्ष हरि चौधरी नेपाली कांग्रेसले आफ्नो पार्टीभित्र भागवण्डा मिलाउन नसक्दा तालमेलको निर्णय गर्ने कुरा पेचिलो बनेको तर छिट्टै सहमति जुट्ने बताउँछन् ।

‘हामी छलफलमै छौं, तर त्यति सुखमय भने छैन । कांग्रेसमै अलि चर्को भएका कारण उहाँहरुले पनि जसरी हुुनुपर्ने हो त्यसरी छलफल अगाडि बढाउन सक्नुुभएको छैन,’ चौधरीले अनलाइनखबरसँग भने ।

नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर कांग्रेसका कारण गठबन्धनमा कुनै अवरोध नभएको बताए । उनले सत्तारुढ गठबन्धन आन्तरिक परामर्शमा रहेकाले चाडै निर्णय हुने दावी गरे ।

‘गठबन्धन गरेर जाने भन्ने विषयमा केन्द्रदेखि तलसम्म सहमति भइसकेको छ । हाम्रो पार्टीभित्र कुनै समस्या छैन,’ बलायरले अनलाइनखबरसँग भने, ‘गठबन्धनमा आन्तरिक विचार, विमर्श भइरहकाले चाँडै तालमेलबारे निर्णय हुन्छ, गछौँ ।’

८८ वटा स्थानीय तह रहेको सुदूरपश्चिम प्रदेशमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३९, नेपाली कांग्रेसले ३८, माओवादी केन्द्रले १० र नेपाल लोकतान्त्रिक फोरमले एक स्थानीय तह जितेको थियो । पार्टी विभाजनपछि भने नेकपा एमालेले ७ वटा स्थानीय तह गुमाएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?