+
+

नीताको ‘ह्रस्वदीर्घ’ बलिउड छायाँकार कबीर लालले खिच्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १६:१९

काठमाडौं । नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’लाई बलिउडका चर्चित छायांकार कबीर लालले खिच्ने भएका छन् । निर्माण कम्पनी र छायांकार लालबीच आइतबार भर्चुअल माध्यममार्फत लिखित सम्झौता भएको छ ।

भारतको कन्नड मूलका छायांकार लालले बलिउड स्टारहरु सलमान खान, शाहरुख खान, अनिल कपुर, टाइगर श्राफ, ऋतिक रोशन लगायतका फिल्म छायांकन गरिसकेका छन् । उनले खिचेको पछिल्लो फिल्म ‘हिरोपन्ती २’ हो, जुन २९ अप्रिलमा रिलिजको तयारीमा छ ।

निर्मात्री नीता ढुंगानाले नेपाली र हिन्दी दुवै भाषामा फिल्म छायांकन गर्नुपरेकाले छायांकार लाललाई अनुबन्धित गरिएको बताइन् । ‘दुवै भाषामा बनाउनुपर्ने र भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं । उहाँलाई लिनु हाम्रो सपना थियो,’ नीताले अनलाइनखबरलाई भनिन् ।

उनका अनुसार फिल्मको बजेटमा वृद्धि भएर ११ करोड रुपैयाँ पुगेको छ । सुरुवातमा चार करोड बजेट हुने भनिएपनि भारतीय कास्ट एण्ड क्रु नै सहभागी हुने भएकाले बजेटको आकार बढेको हो । नीता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्दैछ ।

‘भारतको बजार ठूलो भएकाले पनि हामीले यति महँगो बजेटमा फिल्म बनाउन लागेका हौं । लगानी उठ्ने कुरामा हामी निश्चित छौं,’ नीताले भनिन्, ‘क्वालिटीमा सम्झौता हुनेछैन ।’ फिल्मको लागि केही चर्चित भारतीय कलाकारलाई समेत अनबुन्धित गर्ने तयारी भइरहेको उनले जानकारी दिइन् ।

स्रोतका अनुसार लाललाई ५० लाख भारुमा अनुबन्धित गरिएको हो, तर नीताले यसबारे खुलाउन चाहिनन् । फिल्मको हिन्दी संस्करणको चाँडै औपचारिक घोषणा हुने र शीर्षक पनि तय गरिने तयारी भएको छ ।

कन्नड फिल्म ‘कर्तव्य’बाट छायांकन करिअर सुरु गरेका उनले अनिल कपुरको त्रिमूर्तिबाट हिन्दी फिल्ममा काम थालेका थिए । राकेश रोशनको कहो ना प्यार है, अनिल कपुरको ताल, सञ्जय दत्त र मनीषा कोइरालाको खौफ, सलमान खानको युवराज, टाइगर श्राफको हिरोपन्ती-२ लगायत ३४ हिन्दी फिल्म छायांकन गरेका छन् ।

‘ह्रस्वदीर्घ’मा नेपालबाट भने नीता स्वयंसहित सलोन बस्नेत र हरिहर अधिकारी फाइनल छन् । आगामी साउनदेखि पहिलो चरणको छायांकन सुरु हुने र दशैंपछि बाँकी छायांकन सम्पन्न गर्ने जनाइएको छ । फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?