+
+

माओवादी नेता भन्छन् : चुनाव हारे पनि घोषणापत्र अनुसार काम गरेको छु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते २०:३३

३० चैत, दाङ । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशका चार उपमहानरपालिकाबारे प्याकेजमै सहमति हुनुपर्ने बताएको छ । लुम्बिनी प्रदेशमा नेपालगञ्ज, बुटवल, घोराही र तुलसीपुर गरी चार उपमहानगर छ । जसमध्ये घोराहीमा आफ्नो राम्रो जनमत रहेको भन्दै माओवादीले मेयरमा दाबी गरेको हो ।

माओवादीबाट मेयरमा दाङ जिल्ला इन्चार्ज जीवन गौतम दाबेदार छन् । २०७४ मा पनि मेयरको उम्मेदवार रहेका गौतम भन्छन्, ‘कांग्रेस सम्मानजनक रूपमा गठबन्धन गर्न तयार हो भने लुम्बिनीका चार उपमहानगरमध्ये घोराही माओवादीलाई दिनुपर्छ ।’

स्थानीय तह निर्वाचनको तयारी, गठबन्धनको प्रयासका सन्दर्भमा अनलाइनखबरले माओवादी केन्द्रका नेता गौतमसँग गरेको कुराकानीको सम्पादित अंश :

चुनावको तयारी कस्तो हुँदैछ ?

जनताको बीचमा जाने पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने लगायतका कार्य गरिरहेका छौं । उम्मेदवारहरूको सिफारिस लिने, त्यसमाथि छलफल गर्ने र टुङ्ग्याउने काम भइरहेको छ । हामीले पनि सकेसम्म एक पदमा एक जनाको मात्रै नाम सिफारिस गर्न प्रेरित गरिरहेका छौं ।

उम्मेदवार बनाउँदा पुरानालाई प्राथमिकता दिइएको छ कि नयाँलाई ?

पार्टीको सर्कुलरमा विशिष्ट अवस्थामा बाहेक नदोहोर्‍याउने भन्नेबाहेक अर्को कुनै मोडल बनाएका छैनौं । उम्मेदवार सिफारिस गर्ने अधिकार पार्टीले वडालाई जिम्मा दिएको छ ।

वडा कमिटीको बैठक बस्दा साथीहरूले जसलाई उपयुक्त ठान्नुहुन्छ, उसलाई नै सिफारिस गर्छ । पुराना जनप्रतिनिधिलाई नै उठाउनुपर्छ भनेर वडाले सिफारिस गर्‍यो, भने त्यही हुन्छ । नयाँ ल्याउनुपर्छ भनेर सिफारिस गर्‍यो भने सोही अनुसार हुन्छ ।

मेयरमा चाहिँ तपाईंको पनि दाबी ?

२०७४ को निर्वाचनमा पराजित भएकै दिन अर्को पटक उठ्छु भनेको थिएँ । त्योबेला भन्नु र अहिले म उपयुक्त उम्मेदवार हुनसक्छु भन्नुको पछाडि केही कारणहरु छन् । जतिबेला म उम्मेदवार भएँ र घोराहीको विकासका योजनाहरु अगाडि सारेका थिए ।

स्वास्थ्य र शिक्षाको केन्द्रका रूपमा घोराहीलाई विकास गर्नुपर्छ । घोराहीलाई शिक्षाको केन्द्र बनाउन बहु–प्रावधिक विद्यालयहरू स्थापना गरिनुपर्छ, इन्जिनियरिङ कलेज खोलिनुपर्छ । यहाँका सार्वजनिक विद्यालयहरूको रूपान्तरण गरिनुपर्छ । सबै वडामा कम्तिमा ५ बेडको अस्पताल स्थापना गरिनुपर्छ भनेर म अघिल्लो चुनावमा गएको थिएँ । त्यो बेला पराजित भएँ ।

तर, हेर्दा पनि देशभरिका माओवादीका उम्मेदवारहरूले ल्याएको मत हेर्दा चितवनलाई अपवाद मान्ने हो भने म सबैैभन्दा धेरै मत ल्याउने उम्मेदवार हुँ । त्यसैले चुनावपछि त्यतिकै बसिनँ, आफ्नो घोषणापत्र लागू गर्न केन्द्रित भएँ ।

जितेर नै लागू गर्नुपर्ने केही कुरा हुन्छ, हारेर गर्न सकिने काम पनि हुन्छ । अर्को राजनीतिक कार्यकर्ता विकासको बाहक पनि हो । त्यो हो भने जित्नु र हार्नुले यो काममा निरन्तरतामा असर गर्दैन ।

हारेपछि पनि काम गरेको छु भन्न खोज्नु भएको ?

हारेपनि चुनावी घोषणापत्र अनुसारको काम गर्न धेरै हदसम्म सफल भएँ । यो घोराहीका मतदातालाई राम्रोसँग थाहा छ । काम गरेपछि मतदाताले जिताउँछन्, त्यसैले म उपयुक्त उम्मेदवार हुनसक्छु भन्ने मेरो दाबी हो ।

कांग्रेसले स्वीकार्छ त ?

सबै केन्द्रको निर्णय कुरेर बसिराखेका छौं । किनकि एउटा पालिकाबारे सहमति गरेर हुँदैन, प्याकेजमा सहमति गरिनुपर्छ र त्यो सम्मानजनक पनि हुनुपर्छ ।

गठबन्धन हाम्रो मात्र होइन, कांग्रेसको पनि आवश्यकता हो, एकीकृत समाजवादीको पनि आवश्यकता हो । जसरी प्राप्त उपलब्धिहरू सिध्याउने गरी दुई–दुई पटक संसद विघटन भयो, त्यसविरुद्ध गठबन्धन हो ।

यो गठबन्धनलाई अझ निरन्तरता दिनुपर्छ भन्ने बाँध कांग्रेसले पनि गरेको छ, समाजवादीले पनि गरेको छ, माओवादीले पनि बोध गरेको हो । हिजो एक्लाएक्लै चुनाव लडेका हौं । एक्लै चुनाव लड्दा माओवादी सिध्यिएको त होइन, कांग्रेसले एकछत्र जितेको पनि होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?