
३० चैत, घोराही । राजनीतिक दलहरुले दाङको घोराही उपमहानगरपालिकामा आआफ्नै ढंगले शक्ति आँकलन गरेका छन् ।
आन्तरिक छलफलमा नेकपा एमालेले आफ्नो ४० हजार, नेपाली कांग्रेसले ३८ हजार, नेकपा माओवादी केन्द्रले १५ हजार, नेकपा एकीकृत समाजवादीको चार हजार र जनता समाजवादी पार्टी (जसपा) ले २५ सय मतदाता रहेको दावी गर्ने गरेका छन् ।
१३ हजार मतदाता कुनै पनि दलमा नखुलेको दलहरुको अनुमान छ । यही तथ्याङ्कलाई आधार मानेर राजनीतिक दलहरुले आसन्न चुनावको तयारी गरेका छन् । पार्टीको केन्द्रमा पनि यही अनुसारको रिपोर्टिङ गरेका छन् ।
दलहरुको आन्तरिक प्रतिस्पर्धा
तीन ठूला राजनीतिक दलहरुभित्र आकांक्षीबीच तीव्र आन्तरिक प्रतिस्पर्धा चलिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रभित्र मेयरका आकांक्षीहरु पार्टीमा केन्द्रीय हस्तक्षेपका लागि दबाव बढाउनमा समेत व्यस्त छन् ।
नेपाली कांग्रेसभित्र मेयरका आकांक्षी चार जना देखा परेका छन्-राजु खनाल, भूपबहादुर डाँगी, जानकी बस्नेत, कमल किशोर घिमिरे र शंकर डाँगी । यीमध्ये कांग्रेसले मेयर पाउँदा राजु खनाल र भूप बहादुरमध्ये एकले पाउने कांग्रेस नेताहरु बताउँछन् ।
खनाल संविधानसभाका पूर्वसदस्य हुन् भने भूपबहादुर गत स्थानीय स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित उम्मेदवार ।
खनाललाई मेयरको उम्मेदवार बनाएर आगामी संघीय चुनावको तालमेललाई समेत सुनिश्चित गर्ने कांग्रेसको प्रस्ताव छ ।
‘संघीय चुनावमा कृष्णबहादुर महरालाई कांग्रेसले सहयोग गर्नुपर्ने हो भने अहिले मेयर कांग्रेसले नै पाउनुपर्छ’, एक कांग्रेस नेताले भने । संघीय चुनावमा कृष्णबहादुर महरालाई प्रत्यक्ष निर्वाचनमा नउठाउने प्रतिवद्धता जनाएको खण्डमा माओवादी केन्द्रलाई मेयर पद छाड्न कांग्रेस तयार हुने कांग्रेस नेताहरु बताउँछन् ।
आकांक्षी नेता खनालले पनि आफूलाई मेयर पद नदिने भए प्रतिनिधिसभा सदस्यको टिकट माग गरेका छन् । ‘घोराहीको मेयर लिने हो कि संघीय चुनावमा प्रत्यक्षमा टिकट माओवादीले क्लियर गर्दा कुरा मिल्छ,’ स्थानीय नेताहरु बताउँछन् ।
तर, कांग्रेसभित्र खनाल मात्रै आकांक्षी छैनन् । अन्य आकांक्षीहरु घोराहीको मेयर पद कांग्रेसले नै लिनुपर्ने अडानमा छन् । आफूले २०७४ सालको चुनावमा अन्तरघातका कारण चुनाव हार्न पुगेको बताउने भूपबहादुर डाँगी यो पटक चुनावको तयारीमा जुटिसके । मतदाता र कार्यकर्ताहरुसँगको भेटघाटमा व्यस्त उनी घोराहीको मेयर नछाडिने बताउँछन् ।
‘हामी स्वभाविक दाबेदार हौं । गत चुनावमा पार्टीभित्रकै व्यवस्थापन नहुँदा पनि माओवादीको भन्दा साढे ५ हजार बढी मत छ । यसले गर्दा पनि कांग्रेसले घोराही उपमहानगरपालिका छोड्दैन’ डाँगीले भने । केही गरी केन्द्रले घोराही माओवादीलाई दिने गरी निर्णय गरे ‘कांग्रेसको जनता खुसी चाहिँ नरहने’ उनको भनाइ छ ।
नेकपा माओवादी केन्द्रभित्र पनि आन्तरिक प्रतिस्पर्धा छ । लुम्बिनी प्रदेशको चार वटा उपमहानगर नेपालगञ्ज, बुटवल, घोराही, तुलसीपुरमध्ये आफुहरुको घोराहीमा राम्रो जनमत रहेको भन्दै माओवादीले मेयरमा दाबी गरेको छ ।
माओवादीभित्र मेयरमा जीवन गौतम र हेमराज शर्माको दावी छ । गौतम गत स्थानीय तहको चुनावमा मेयरमा तेस्रो भएका उम्मेदवार हुन । उनी लामो समयदेखि दाङको नेतृत्वमा पनि छन् । तर, उनी नेकपा एकता केन्द्रबाट आएका कारण उनलाई मेयरमा उठाउन माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको जोडबल रहेको बताइन्छ ।
हेमराज शर्मालाई भने दाङकै नेता कृष्णबहादुर महराको समर्थन छ । शर्मा हुँदा आगामी संघीय चुनावमा आफूलाई सहज हुने महराको अपेक्षा छ ।
मेयर पाउने कि नपाउने भन्ने निश्चित नभएपनि माओवादीभित्र घोराहीको मेयरमा कसलाई उठाउने भन्ने विषयमा नारायणकाजी श्रेष्ठ गुट र कृष्ण बहादुर महरा गुटका बीचमा प्रतिस्पर्धा चलेको स्थानीय नेताहरु बताउँछन् ।
मेयरका दाबेदार जीवन गौतम भन्छन्, ‘कांग्रेस माओवादी केन्द्रलाई सम्मानजनक हिसावले गठबन्धनमा स्थान दिन तयार हो भने लुम्बिनीका चार उपमहानगरमध्ये घोराही उपमहानगरको मेयर माओवादीले पाउनुपर्छ ।’
नेकपा एमालेभित्र पनि आन्तरिक प्रतिस्पर्धा छ । एमालेबाट मेयरको प्रतिस्पर्धामा छन् हालकै मेयर नरुलाल चौधरी र उपमेयर सीता सिग्देल न्यौपाने । पार्टीले मेयर र उपमेयरमा दुबैलाई दोहोर्याउने नीति लिए पनि सिग्देलले उही पदमा नदोहोरिने अडान लिएकी छन् । अहिलेकै मेयरलाई दोहोर्याएर आफूलाई मेयरको टिकट नदिने भए संघीय सांसद पदको टिकट सुनिश्चित गरिनुपर्ने उनको शर्त छ ।
‘पार्टीले भने पनि म उपमेयरमा दोहोरिन्न । फेरि दोहोरिएर जागीर खाएझैं गर्दिन । दिए मेयरमा दिनुस्, नभए यो भन्दा माथि (संघीय सांसद) दिनुस्’ पार्टीलाई भनेको सुनाउँदै उनले भनिन् ।
घोराहीमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाले मेयरमा दाबी गरेको छैन ।
गठबन्धनलाई अन्तर्घातको त्रास
दाङको घोराही र तुलसीपुर गरी दुबै उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई अन्तर्घातको त्रास देखिन्छ । यसअघि पनि अन्तरघातकै कारण पराजित हुनु परेको बुझाइमा रहेको कांग्रेस योपटक एक ढिक्का हुने प्रयासमा छ । कांग्रेस एकढिक्का भएर पनि मेयरको टिकट पाएन र माओवादीलाई भोट हाल्नु पर्यो भने के हुन्छ ? यो प्रश्न स्वयं कांग्रेस नेताहरु गरिरहेका छन् ।
तर, माओवादी केन्द्र भने कांग्रेसले एक ढिक्का हुन नसकेको अवस्थामा माओवादीले पाउँदा आकांक्षी कसैले पनि पाएन भनेर सबै भोट माओवादी उम्मेदवारको पक्षमा खस्छ भन्ने विश्वासमा छ । तथापि, माओवादी भित्रै पनि अन्तर्घातको त्रासको सामान्य चर्चा छ । नारायाणकाजी श्रेष्ठ र कृष्णबहादुर महरालाई आफू अनुकुल व्यक्ति मेयरमा ल्याउनुपर्छ भन्ने लागेकोले एकले अर्कोलाई टिकट नपाउँदा असहयोग गर्ने हो कि भन्ने चिन्ता कतिपय नेताहरुमा देखिन्छ ।
बरु माओवादीले पाएन भने कांग्रेसको उम्मेदवारलाई माओवादीको सबै भोट खस्ने स्वयं माओवादीका कतिपय नेताहरु बताउँछन् ।
मेयर लिनका लागि संघर्ष गरिरहेका कांग्रेस र माओवादी केन्द्र अन्तर्घातको त्रासमा रहेका बेला नेकपा एमालेले भने घोराही नगरपालिकामा मेयर जित्ने आश गरेको छ ।
‘सबैभन्दा धेरै मतदाता रहेकाले सबै भोट खसाल्ने प्रयास हुन्छ’ एक नेता भन्छन्, ‘अहिलेकै मेयरलाई उठाउँदा चौधरीहरुको भोट आउँछ र कांग्रेस र माओवादी भित्रको केही भोट तान्न सक्छौं कि भन्ने लागेको छ ।’
कांग्रेस र माओवादी केन्द्रका नेताहरु पनि अघिल्लो पटक एमालेले कांग्रेसबाट पाँच हजार भन्दा बढी भोट लगेको र चौधरीहरुको जातीय भोट तानेर जीत हात पारेको स्वीकार्छन् । फेरि पनि त्यसैगरी मेयर पद जित्नेमा एमाले रहेको कांग्रेसका नेताहरु बताउँछन् ।
नयाँ मतदाता निर्णायक
निर्वाचन आयोगको विवरण अनुसार दाङको घोराही उपमहानगरपालिकामा ३४ हजार पाँच सय नयाँ मतदाता छन् ।
घोराहीमा २०७४ मा ३७ हजार सात सय ८७ पुरुष र ४० हजार छ सय ४० महिला गरी कूल ७८ हजार चार सय २७ मतदाता थिए । अहिले बढेर पुरुष ५४ हजार दुई सय २१ र महिला ५८ हजार सात सय ६ गरी एक लाख १२ हजार नौ सय २७ पुगेको छ ।
७८ हजार चार सय २७ मतदाता रहँदा एमाले उम्मेदवार चौधरी २२ हजार ३० मत ल्याएर मेयरमा विजयी भएको थियो । कांग्रेसका उम्मेदवार डाँगी १७ हजार ४८४ मत ल्याएर दोस्रो र माओवादी केन्द्रका उम्मेदवार गौतम १२ हजार ८२ मत ल्याएर तेस्रो भएका थिए ।
अहिले ३४ हजार पाँच सय नयाँ मतदाता थपिएर एक लाख १२ हजार नौ सय २७ पुग्दा जीतका लागि अघिल्लो चुनावमा भन्दा भोट निकै बढाउनुपर्ने देखिन्छ ।
एमालेले नयाँ मतदातामध्ये २० हजार एमालेको भएको दाबी गरेको छ । तर, यसको प्रष्ट आधार दिएको छैन । बरु नेकपा एकीकृत समाजवादीले एमालेको आधा मतदाता आफूहरुको पक्षमा रहेको र थपिएको समेत गरी १२ हजार बढी मतदाता आफूहरुको रहेको भनी पाँच दलीय गठबन्धनको बैठकमा दलिल पेश गरेको छ ।
नेपाली कांग्रेसले पनि २० हजार बढी मतदाता कांग्रेसको थपिएको जिकिर गरेको छ । नयाँ मतदाता, एमाले र माओवादी केन्द्रबाट समेत कांग्रेस प्रवेश गरेको कांग्रेसको तर्क छ ।
नेकपा माओवादी केन्द्रले भने आफूहरुको आठ हजार मत बढेको दाबी गरेको छ । विगतमा १२ हजार मत ल्याएको र त्यसमा ८ हजार थपिएर २० हजार मतदाता माओवादी केन्द्रको पुगेको सो पार्टीका नेताहरु बताउँछन् ।
रुकुम रोल्पाबाट बसाईं सरेर आएकाहरु, जनयुद्धका शहीद र वेपत्ता परिवारका सदस्यहरु गत चुनावमा छुटेको तर, यो पटक मतदाता नामावलीमा समेटिएकाले यो पटक पार्टीले ८ हजार मतदाता थपेको नेताहरुको तर्क छ ।
तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4