
१ वैशाख, काठमाडौं । विश्वकै धनी व्यक्ति एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको सबै स्वामित्व किन्ने प्रस्ताव गरेका छन् । उनले ४१ अर्ब ४० करोड अमेरिकी डलरमा ट्वीटरलाई निजी कम्पनी बनाउने प्रस्ताव गरेका हुन् ।
उनले कम्पनीका अध्यक्ष ब्रेट टेलरलाई पत्र लेखेर सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनी निजी बनाउनु पर्ने भन्दै बाँकी शेयर किन्ने प्रस्ताव गरेका हुन् ।
यसअघि नै ट्वीटरको ३ अर्ब अमेरिकी डलर बराबरको शेयर किनेका उनलाई कम्पनीले बोर्डमा बस्न प्रस्ताव गरेको थियो । ट्वीटरमा उनको स्वामित्व झण्डै १० प्रतिशत छ ।
बाँकी ९० प्रतिश शेयरका लागि उनले ४१ अर्ब ४० करोड डलर प्रस्ताव गरेका हुन् । उनले प्रतिकित्ता ५४.२ डलर दिने प्रस्ताव गरेका छन् । जुन स्टक मार्केटमा उनले दुई हप्ताअघि किनेको मुल्यभन्दा ३८ प्रतिशत धेरै हो ।
उनले आफूले राखेको प्रस्ताव राम्रो रहेको भन्दै यो प्रस्ताव स्वीकार नभए आफ्नो शेयर बेच्ने चेतावनी दिएका छन् । उनले भने, ‘यो प्रस्ताव स्वीकार्य भएन भने एक शेयरधनीका रुपमा मैले आफ्नो स्थितिमा पुनर्विचार गर्नु पर्ने हुन्छ ।’
एलनपछि बेनगार्ड ग्रुपको ट्वीटरमा ८.८ प्रतिशत शेयर छ भने संस्थापक ज्याक डोर्सीको अंश २.३ प्रतिशत मात्र छ ।
विद्युतीय गाडी उत्पादक कम्पनी टेस्लाका साथै एरोस्पेश र स्पेसएक्सका मालिक रहेका मस्कले ट्वीटरको शेयर किन्नु अघि आफूले सामाजिक सञ्जाल बनाउने बारेमा सोचिरहेको बताएका थिए ।
प्रतिक्रिया 4