+
+

काठमाडौं महानगरमा एमालेबाट विद्यासुन्दर र केशव स्थापितको दाबेदारी बलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १९:४३

१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारका लागि नेकपा एमालेभित्र चार जनाले आकांक्षा राखेका छन् । सहमति जुट्न नसकेपछि काठमाडौं महानगर कमिटीले केशव स्थापित, विद्यासुन्दर शाक्य, निर्मल देउला र इन्दिरा पन्तको नाम सिफारिस गरेको छ ।

२०७४ को चुनावबाट मेयर बनेका शाक्य र २०५४ का मेयर स्थापित एमाले केन्द्रीय सदस्य हुन् । देउला महानगर कमिटी एमाले अध्यक्ष हुन् भने पन्त सहकारी विभाग सदस्य छिन् । महानगर कमिटीले सिफारिस गरेको आकांक्षी सूचीमाथि जिल्ला कमिटीले फेरि छलफल गर्नेछ ।

जिल्ला कमिटीमा पनि सहमतिको प्रयत्न हुने एक नेताले बताए । ‘अझै दुई तीन दिन सहमतिको प्रयास गर्छौं । तर सहमति जुट्न नसकेमा प्रक्रिया अगाडि बढ्छ’, ती नेताले भने ।

एमालेले उपमहानगर र महानगरको पदाधिकारी केन्द्रीय कमिटीले टुंगो लगाउने मापदण्ड बनाएको छ । मापदण्ड अनुसार, काठमाडौं जिल्ला कमिटीले आकांक्षीहरुको नाम केन्द्रीय कमिटीमा पठाउनेछ ।

एमाले नेताहरु महानगर कमिटीले संकलन गरेको आकांक्षीहरु मध्ये शाक्य र स्थापितको दावेदारी बलियो रहेको बताउँछन् । २०४९ र ०५४ को स्थानीय निर्वाचनमा काठमाडौं महानगर–२१ बाट वडाध्यक्ष जितेका शाक्य २०७४ को चुनावबाट मेयर बनेका हुन् ।

२०७४ को चुनावमा पनि स्थापितले मेयरमा दाबी गरेका थिए । तर टिकट भने शाक्यले पाए । स्थापित शाक्यलाई जिताउने प्रमुख भूमिकामा खटिएका थिए । यसपटक भने स्थापित आफैं मेयरको उम्मेदवार बन्ने दौडमा छन् ।

स्थापित २०४९ को स्थानीय चुनावमा उपमेयरका उम्मेदवार थिए । एमालेबाट मेयरका उम्मेदवार भने राजेन्द्र श्रेष्ठ थिए । तर दुवै जना पराजित भए । ०५४ को निर्वाचनमा भने स्थापित मेयर र विदुर मैनाली उपमेयर जिते । त्यो चुनावमा एमालेले ३५ मध्ये २७ वडाध्यक्ष समेत जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?