+
+

कस्तो छ अदालती विवाहको प्रक्रिया ?

सम्झना विक सम्झना विक
२०७९ वैशाख ५ गते १३:२३

५ वैशाख, काठमाडौं । अभिनेत्री रेखा थापाले केही समयअघि जाजरकोटका बलराम शाहीसँग अदालती विवाह गरिन् । उनले गोप्य राख्ने कोशिश गरेपनि उनीहरुले विवाह गरेको खबर सञ्चारमाध्यमबाट बाहिरियो । रेखाको यो दोस्रो विवाह हो ।

सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष निकिता पौडेल पनि विवाह बन्धनमा बाँधिए । उनीहरुले पनि पहिले अदालती विवाह गरेर पछि सामाजिक परम्पराअनुसार विवाह गरेका थिए ।

यस्तै अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले केही वर्षअघि विवाह गरे । उनीहरुले पनि सामाजिक परम्परा अनुसार धुमधामले विवाह गर्नुअघि ललितपुर जिल्ला अदालतमा पुगेर पहिले विवाह दर्ता गराएका थिए ।

यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय अदालती विवाह गर्ने जोडीको संख्या बढ्दो छ । सामाजिक परम्परा अनुसार विवाह गरेपनि त्यसअघि वा पछि अदालतमा गएर दर्ता गर्नेहरुको संख्या बढिरहेको तथ्यांकले देखाउँछ ।

हालको समयमा अदालतमा विवाह गर्ने जोडी बढ्दै गएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहाल बताउँछन् । काठमाडौं जिल्ला अदालतमा आर्थिक वर्ष २०७७÷०७८ मा ६६१ जनाले विवाह गरेका थिए भने चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा मात्रै यस्तो विवाह गर्नेको संख्या १ हजार ३७२ रहेको छ ।

कहिलेबाट सुरु भयो अदालती विवाह ?

१ भदौ २०७५ भन्दा अघि दर्ता विवाह जिल्ला प्रशासन कार्यलयमा हुने गर्दथ्यो । नयाँ मुलुकी देवानी संहिता लागू भएपछि भने यस्तो विवाह अदालतबाट हुन थालेको हो ।

किन आवश्यक छ दर्ता (अदालती) विवाह ?

संसारभर नै अदालतले दिएको प्रमाणपत्रलाई विश्वसनीय मानिन्छ । अदालती विवाहको मान्यता विश्वका सबै देशमा हुन्छ ।

पछिल्लो समय विभिन्न उद्देश्यका लागि विदेशिने नेपालीहरुको संख्या बर्सेनि बढ्दो छ । विदेशमा सहज हुने भएकाले पनि अदालतमा आएर विवाह दर्ता गराउनेहरुको संख्या बढेको हुनसक्ने सूचना अधिकारी दाहाल बताउँछन् । कतिपयको भने अदालतमै आएर विवाह गर्ने चाहना हुने गरेको उनी बताउँछन् ।

कसरी गर्न सकिन्छ दर्ता (अदालती) विवाह ?

दुवै नेपाली नागरिक भएको अवस्थामा

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दाहालका अनुसार सर्वप्रथम अदालतमा गएर विवाह गरिपाउँ भनेर निवदेन पेश गर्नुपर्छ । निवदेनको कागजातमा केटा–केटीको स्थानीय ठेगाना रहेको स्थानीय तहबाट अविवाहित रहेको भन्ने सिफारिस पत्र चाहिन्छ ।

यदि काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरिंदैछ, तर दुवैको स्थायी ठेगाना यहाँ होइन भने निवदेन दिनुभन्दा १५ दिनअघि काठमाडौं जिल्लाभित्रको कुनै ठाउँमा बसोबास गरेको छ भन्ने सिफारिस वडा कार्यालयबाट लिएर आउनुपर्छ । यसका साथै विवाहका लागि दुई जना साक्षी पनि आवश्यक पर्ने दाहाल बताउँछन् ।

सबै कागजात जुटाइसकेपछि सक्कल नागरिकता प्रमाणपत्रसहित इजलासमा पेश गर्नुपर्छ । श्रेस्तेदारले प्रमाणपत्र दिएपछि अदालती विवाह सम्पन्न हुन्छ ।

विदेशी नागरिकसँग विवाह गर्दा

विवाह गर्न लागेको जोडीमध्ये एक जना विदेशी नागरिक भए नेपाली नागरिकले स्थायी ठेगानाको स्थानीय तहबाट अविवाहित रहेको रिफारिस आवश्यक पर्छ । यस्तै विदेशी नागरिकको हकमा भने सम्बन्धित देशको विवाह सम्बन्धी कानुनलाई नेपालीमा अनुवाद गरेर ल्याउनुपर्छ ।

त्यसपछि सम्बन्धित देशको राजदूतावासबाट अविवाहित रहेको सिफारिस ल्याउनुपर्छ । सबै प्रक्रिया पूरा गरेपछि अदालतको इजलासमा पेश हुन्छ र श्रेस्तेदारले प्रमाणपत्र प्रदान गरेपछि अदालती विवाह सम्पन्न हुन्छ ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?