६ वैशाख, पोखरा । पोखरामा सत्तारुढ गठबन्धनको बैठक चलिरहँदा कास्कीका दुई सचिव भानु ढकाल र देवेन्द्र रानाभाटले एकीकृत समाजवादीसँग मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै विज्ञप्ति निकाले ।
कास्की कांग्रेस सभापति किशोरदत्त बरालकै नेतृत्वमा गठबन्धनको बैठक बसिरहँदा आएको विज्ञप्तिपछि काठमाडौंमा सत्तारुढ गठबन्धनको सोमबार बसेको पहिलो बैठक पनि बिना निष्कर्ष टुंगियो ।
पोखरा न्युरोड दीपसागर होटलमा सत्तारुढ गठबन्धनको बैठक चलिरहँदा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की सभापति बराललाई फोन गरेर भने, ‘मैले पोखरा कांग्रेसले नै पाउनुपर्छ भन्ने अडान राखेको छु, त्यहाँ पनि तपाईंहरुले अडान नछाड्नू ।’
माधवकुमार नेपालको एकमात्र जोड पोखराको मेयरमा थियो । केही दिनअघिदेखि नै पोखरामा एकीकृत समाजवादीले मेयर पाउने गरी गठबन्धन निर्णय नजिक पुगेको चर्चा थियो । सोमबार एकीकृतकै भागमा पोखराको मेयर पक्का भएको खबर बाहिरियो र पोखरामा तरंग छायो ।
कास्की कांग्रेसले रणनीति बनायो- पोखरामा कांग्रेसले नछाड्ने र केन्द्रलाई दबाव दिन २ सचिवले विज्ञप्ति निकाल्ने । विज्ञप्ति निकालेलगत्तै त्यसले केन्द्रीय गठबन्धनसम्मै धक्का दिएको रणनीति सफल भएको कास्कीका एक कांग्रेस नेताले बताए । कास्की कांग्रेसले पोखराको मेयर नछाड्ने अडान राख्ने, विज्ञप्ति निकाल्ने र काठमाडौंमा वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा कांग्रेसले मेयर नपाए विद्रोह हुने र एमालेले जित्ने अडान राखिरहेका थिए ।
पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने रामचन्द्रको अडानकै कारण गठबन्धनको बैठक टुंगोमा पुग्न नसकेको उनकै स्वीकारोक्ती छ । ‘गठबन्धनमा पोखराको विषयमा कुनै टुंगो लागेको छैन । ६ मध्ये हामीलाई १/१ वटा देउ भन्ने ३ दलको दाबी छ । मैले यो मानेको छैन,’ वरिष्ठ नेता पौडेलले सोमबार बेलुकी अनलाइनखबरसँग भने, ‘अब पोखरामा एकीकृत समाजवादीलाई दिने कुरा मैले बिल्कुलै मान्दिन भनिदिएको छु । मेरो अडान पोखरा कांग्रेसले नै पाउनुपर्छ भन्ने छ ।’
यसअघि वरिष्ठ नेता पौडेलले पदभन्दा पनि गठबन्धन ठूलो भएको र जहाँ जसले मेयर पाए पनि फरक नपर्ने बताउँदै आएका थिए । तर, पोखराको मेयर कांग्रेसले नै पाउनुपर्ने रामचन्द्रको अडानकै कारण गठबन्धन टुंगोमा पुग्न सकेन ।
‘सिद्धान्त: म गठबन्धनको पक्षमै छु । कांग्रेसभित्र एकाथरि गठबन्धन नै हुनुहुँदैन भन्नेहरु पनि छन् । प्रतिगमन रोक्न र परिवर्तनका लागि पनि यो गठबन्धन चाहिन्छ भन्ने हो,’ पौडेलले भने, ‘तर व्यावहारिक हिसाबमा पोखरा कांग्रेसले अरु पार्टीलाई छोड्न मिल्दैन भनेको छु ।’
पौडेलको स्वार्थ
भागबण्डामा जहाँ जुन पार्टीको मेयर भए पनि हुने तर चुनावमा गठबन्धन टुटाउन नहुने बताउँदै आएका रामचन्द्रले पोखरामा मेयरको अड्डी कस्नुका पछाडि स्वार्थ लुकेको कांग्रेसकै नेताहरुले बताए । वरिष्ठ नेता पौडेलका ज्वाइँ इन्जिनियर परमेश्वर पोख्रेल कांग्रेसबाट पोखराको मेयरका लागि आकांक्षी छन् ।
कांग्रेसले केन्द्रमा पठाएको १८ जना मेयरको आकांक्षीमा पोख्रेलको नाम पनि भएकाले वरिष्ठ नेता पौडेल आफ्नो ज्वाइँलाई मेयर बनाउन चाहन्छन् । ‘आफ्नो ज्वाइँलाई मेयर बनाउने वरिष्ठ नेता पौडेलको चाहना हो । पोखराको मेयर कांग्रेसका लागि पक्का भयो भने देउवासँग सल्लाह गरेर ज्वाइँको नाम पक्का गराउने योजना पौडेलको थियो,’ पौडेल पक्षकै एक नेताले भने ।
वरिष्ठ नेता पौडेलले ज्वाइँ परमेश्वरलाई यसअघि खानेपानी संस्थानको अध्यक्ष बनाएका थिए । उनी संस्थानको अध्यक्ष हुँदा जाइकासँग पोखराको खानेपानीको वृहत आयोजनाको सम्झौता भएको थियो । आफ्नै कारणले पोखरामा जाइकाले खानेपानी आयोजनाको सम्झौता गरेको पोख्रेलले बताउने गरेका छन् ।
‘मैले नेताहरुलाई प्रश्न गर्ने गरेको छु, पोखरामा सबै ठूलो काम कसले पार्यो ? त्यो खानेपानी आयोजना मेरै कारण भएको हो । त्यस्ता ठूला काम गर्न पनि म मेयर हुनपर्छ भन्ने हो,’ उनले भने, ‘रामचन्द्रको ज्वाइँ भएकाले नै आकांक्षी बनेको होइन ।’
पोख्रेल सामाजिक लोकतन्त्र अध्ययन केन्द्रका महासचिव, सेन्टर फर डेमोक्रेटिक इन्जिनियरको संस्थापक र जनसम्पर्क समिति जापानको महासचिव पनि थिए । उनी कांग्रेसको नवौं महाधिवेशनमा इन्जिनियरहरुको तर्फबाट महाधिवेशनमा भाग लिएका थिए ।
वरिष्ठ नेता पौडेलको भित्री चाहना ज्वाइँलाई नै मेयरको टिकट दिलाउने रहेको कांग्रेसकै नेताहरु बताउँछन् । नेता पौडेलकी छोरी संज्ञा पोख्रेललाई गण्डकी प्रदेश समिति सदस्यमा नियुक्ती गरिएको छ ।
सम्भावना किशोरदत्ततिर
कास्कीमा गठबन्धनको बैठक सकिएलगत्तै सोमबार साँझ कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा र केही पदाधिकारीसहितको बैठक थियो । बैठकमा पोखरा महानगर र कास्कीका सभापति पनि सहभागी थिए ।
बैठकमा कुनै पनि हालतमा पोखरा छोड्न नहुने र कांग्रेसले नै टिकट कसरी ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको थियो । यत्तिकैमा कांग्रेस गण्डकीका सभापति शुक्रराजलाई कांग्रेस सभापति शेरबहादुरको फोन आयो । ‘हामी छलफलमै थियौं । सभापति देउवाले तुरुन्त काठमाडौं आउनु भनेपछि हामी ३ भाइ (शुक्रराज शर्मा, यज्ञबहादुर थापा र किशोरदत्त बराल) काठमाडौं लागेका छौं,’ किशोरदत्तले भने, ‘पक्कै पनि पोखरा र कांग्रेसका लागि शुभसंकेत हुन सक्छ ।’
पोखरा एकीकृत समाजवादीले नपाएर कांग्रेसले नै मेयरको टिकट पाएको खण्डमा किशोरदत्तकै बढी संभावना रहेको नेताहरुले बताए ।
कास्कीमा कांग्रेसबाट सबैभन्दा बलियो उम्मेदवारका रुपमा गण्डकी प्रदेशका कानुनमन्त्रीसमेत रहेका विन्दुकमार थापालाई हेरिएको छ । ‘विन्दु थापाले नपाए, कास्कीका निवर्तमान सभापति कृष्ण केसी, उनले पनि नपाए पूर्व सचिव बाबुराम आचार्यतिर जाने भएपछि सल्लाहमै कास्की सभापति बरालले आकांक्षीमा नाम दर्ता गराएका हुन्,’ उनी निकट एक नेताले भने, ‘उनी देउवा पक्षकै नेता हुन् र अरु शीर्ष नेताको पनि शुभेच्छा छ ।’
मेयरका आकांक्षी नै रहेका गंगाधर पराजुलीले केन्द्रीय सबै नेताहरुसँग राम्रो भएको, कास्कीमा उनीप्रति धेरैको सकारात्मक समर्थन रहेका कारण पनि मेयरको सम्भावना बरालतिर सोझिएको बताए । ‘कांग्रेसका सबै समूहका केन्द्रीय नेताहरुको शुभेच्छा उहाँलाई छ । कांग्रेसले टिकट पाउँदा उहाँकै सम्भावना बढी नजिक देखियो,’ पराजुलीले भने ।
गठबन्धनको बैठकबाट आज नै सबै महानगरको टुंगो लगाउने भनिएको छ । त्योभन्दा अघि गण्डकी सभापतिसहित किशोरदत्तलाई काठमाडौं बोलाउनुका पछि उनले नै टिकट पाउन सक्ने सम्भावना पनि रहेको नेताहरुले चर्चा गरेका छन् । ‘उहाँप्रति देउवाको मात्र होइन, शेखर कोइराला, गगन थापा, विश्वप्रकाशको पनि शुभेच्छा छ,’ कास्कीका एक नेताले भने, ‘विन्दु थापाले पनि कसरत त गरिरहेकै छन् । अब अलि बढी सम्भावना बरालतिरै सोझियो ।’
मेयर कांग्रेसले पाए उपमेयर माओवादीले पाउने र माओवादीबाट सिर्जना त्रिपाठीले टिकट पाउन सक्ने चर्चा पनि पोखरामा भइरहेको छ । माओवादी मेयर दाबी गरे पनि पाउने सम्भावना कम भएकाले उपमेयरमा त्रिपाठीको सम्भावना बढी रहेको एक माओवादी नेताले बताए । पोखराको उपमेयरमा त्रिपाठीको नाम पनि सिफारिस भएको छ ।
प्रतिक्रिया 4