+
+
ब्लग :

जब सुहागरातमा श्रीमानले सोध्छ- आर यु भर्जिन ?

डा. अच्युतशाली घिमिरे डा. अच्युतशाली घिमिरे
२०७९ वैशाख ६ गते १२:३७
प्रतीकात्मक तस्वीर

ढोकाको आवाजले उ झस्याङ्ग हुन्छे । रातको दश बजेको हुन्छ र श्रीमान कोठामा पसेको हुन्छ । ऊ अलि ‘अनकम्फर्टेबल’ हुन्छे । हरेक क्षण ‘कम्फर्टेबल’ हुन त नारी नभएर पुरुष भएर जन्मनुपर्ने रहेछ भन्ने सोचेर अफसोस मानिराख्छे । श्रीमान सिधै एट्याच वासरुम छिर्छ । सायद श्रीमान केही मदिरा पिएर आएको हुन्छ । कोठामा त्यस्को गन्ध पसिसकेको हुन्छ ।

‘सायद मलाई पनि पिउन प्रस्ताव राखेको भए म पनि पिउँथे कि ? दुवैजना बेडरुममा बसेर पिउँदै दुःख-सुखका बात मार्न पनि त सकिन्थ्यो नि । सायद मैले मेरा सबै थकान र निद्रा पनि त भुलिदिन्थें कि ।’ ऊ मनमनै सोचिरहेकी हुन्छे । तर त्यो हुन सक्दैन ।

दश मिनेटपछि श्रीमान वासरुमबाट बाहिर निस्किन्छ, जसको आगमनको प्रतीक्षा ऊ गरिरहेकी हुन्छे । मीठो वचन बोलेर आफ्नो सहजतामा सुत्न आग्रह गर्छ भन्ने सोचेकी हुन्छे । तर श्रीमानले आफू पुरुष हुनुको घमण्डमा मायाजालको ककटेल मिसाएर प्रस्तुति दिन थाल्छ । म यस्तो उस्तो, फलानोको छोरो, यति जग्गा सम्पत्ति, दुःख गर्न नपर्ने, सिन्को भाँच्न नपर्ने जस्ता आडभरोसा जस्ता लाग्ने ललिपपयुक्त वाणीहरु फ्याँकिरहन्छ । उसले केही सोधेकी पनि हुन्न र प्रतिक्रियाविहीन नै रहन्छे ।

वसन्त ऋतुका हाँगाहरु जस्तै श्रीमान आफू नांगो हुँदै जान्छ अनि श्रीमतीका लुगा पनि केस्रा-केस्रा गर्दै छोडाउन थाल्छ । अकस्मात् श्रीमानले जब उसको कम्मरमा ट्याटु देख्छ, जुन उसको पूर्वप्रेमीको निसानी थियो । त्यसपछि श्रीमानले ट्याटुका बारेमा सोधीखोजी गर्न थाल्छ । उसले नढाँटी पूर्वसम्बन्धका सबै कुरा भन्छे । को ? कसरी ? कहाँ ? जस्ता श्रीमानका प्रश्नले त्यो सुहागरातको माहोल बिग्रिसक्छ । अन्तिम प्रश्न ‘आर यु भर्जिन ?’ यसरी सोधिन्छ जसले उनको मन मस्तिष्क हल्लाउँछ ।

डा. अच्युतशाली घिमिरे

यो माथिको कथन मागी विवाह गरेका जोडीको सुहागरातको काल्पनिक कथन हो । जहाँ भर्जिनिटीको सवाल विवाहित नारीको थाप्लोमा मात्र थोपरेर आफू चाहिं चोखो रहेको दम्भ प्रस्तुत गर्छ श्रीमान । यो धेरै घटनासँग सामीप्यमा रहेर मेल पनि खान्छ ।

‘भर्जिनिटी इज नट अ डिजिनिटी बट द ल्याक अफ अपरच्युनिटी’ यो केटाहरुको सर्कलमा एकताका निकै चर्चित भएको कथित भनाइ हो । कुमारीत्वलाई गौरवपूर्ण अवस्थाको रुपमा चित्रण गर्नुभन्दा पनि अभावका कारण यो सुरक्षित रहेको कुरा चित्रण हुनु भनेको नारी माथिको अपमान नै हो । सदियौंदेखि  पितृसत्ताले नारीको अंगमा जमाएर बसेको छ । जतिखेर उसले चाह्यो उसको वसमा हुनुपर्ने । यौन सन्तुष्टिको प्यास मेट्न जाँगर चल्दा होस् वा सन्तान जन्माउन, पुरुषले चाहेपछि नारी तम्तयार हुनुपर्ने रे । ओहो लेख्दा पनि हात नै काँप्छन् । नारीका अधिकार अन्तर्गत पर्ने भर्जिनिटीमाथि अंकुश लाएर वीर्य मात्र थोपर्न अभिशप्त पुरुषवादी चिन्तन कहिले फेरिने ? र योनीको संवेदनशीलतालाई हतियार बनाएर घटना गुपचुप राखेर कहिलेसम्म नारीमाथि दमन गरिराख्ने ?

महाभारतकै सभापर्व अन्तर्गत रहेको द्रौपदी चीरहरण घटनाबाट समेत नारीको कुमारीत्व कसरी बिक्री गरिन्थ्यो भनेर जानकारी लिन सकिन्छ । युधिष्ठिरले जब आफ्नो सर्वस्व जुवामा हारेपछि द्रौपदीलाई समेत दाउमा लगाउनु र हारेपछि दुर्योधनले दासी बनाएर द्रौपदी लैजान पाउनु जस्ता पौराणिक इतिहास पढ्दा पनि आङ नै सिरिंग हुन्छ । पत्नी भनेको एउटा साधन हो भन्ने बुझाइलाई चरितार्थ गर्न मात्र खोजिएको बुझिन्छ । पाँच पाण्डवको नै साझा पत्नी रहेकी सुन्दरी द्रौपदीलाई जुवामा हारेपछि रजस्वला भएको बेलामा समेत लछारीपछारी दुर्वाच्य बोल्दै मान्यजनहरु रहेको सभामा लगेर तिरस्कार गरिनु कदापि पठनीय पनि छैन । नारीको अस्तित्व र अस्मितामाथि नै विरोधाभास सिर्जना गरेर ‘वेश्या’ जस्तै पाँच पतिको एक पत्नी हुनु नै आफैंमा घोर आपत्तिजनक देखिन्छ ।

धन्न कृष्ण आएर द्रौपदीलाई निवस्त्र हुनबाट जोगाए, नत्र त्यत्रो सभामा दुुर्योधनले सारी तानेर द्रौपदीलाई नाङ्गो बनाउन खोज्दा निरीह भएर बसेका नीति नियमका वरिष्ठ पालकहरुलाई हेर्दा पनि थाहा हुन्छ नारीहरुलाई सहनकर्ताको रुपमा नै इतिहासले वर्णन गरेको छ । नत्र द्रौपदीका ती पुकार, रोदन र याचनाहरुको मूल्यांकन अवश्य त्यस सभाले गर्ने नै थियो । तर लज्जित भावमा शिर निहुराएर पत्नीको अस्तित्व संकटमा पर्दा समेत केही नबोल्ने पाँच पाण्डवकै कारण इतिहासले नारीको कुमारित्वलाई न्याय गरेको छैन भन्ने कुरा स्पष्ट देखिन्छ ।

पौराणिक ग्रन्थ रामायणमा भगवान रामले पनि पत्नी सीताको अग्निपरीक्षा लिएको कुरा पढ्दा पनि आदर्श भनिएका व्यक्तिले नै नारीको कुमारित्वमाथि शंका गर्ने विषयलाई बढावा दिएको पाइन्छ । के सीताले रामको त्यसरी अग्निपरीक्षा लिएको भए राम पास हुन्थे कि फेल ? अनि नारी मात्र पतिव्रता धर्म मानेर बसी राख्ने अनि पुरुषहरु चाहिं जहाँ जे मन लाग्यो त्यही गर्दै हिंड्न पाउने ?

आजको समाजमा पनि के पुरुषहरुले चाहिं विवाहअघि जे गरे नि हुने अनि नारीहरु चाहिं ‘ओहो मेरो बिहे भा’को छैन’ भन्दै डर मानेर बस्नुपर्ने हो र ? भर्जिनिटी पुरुष र महिला दुवैका लागि एउटै परिभाषा भएपनि विवाहअघि केटा कति जनासँग यौन सम्बन्धमा थियो भन्दा पनि केटी चाहिं कति जनासँग यौन सम्बन्धमा थिई भन्ने कुरामा किन समाज जिज्ञासु बन्ने गर्छ ? पुरुषको जीवनमा यौनलाई सामान्यकरण गरिनु र नारीको सवालमा त्यही यौनलाई इज्जत, प्रतिष्ठा र धर्मसँग जबरजस्ती जोडिनु जायज छैन ।

हिजोआजका ‘सो कल्ड’ हुनेखाने केटालाई पनि केटी जे पढोस् जतिसुकै सम्पत्तिको हकदार होस्, तर भर्जिन चाहिं चाहिन्छ । केटीहरुको कर्म र योग्यतामा जेसुकै दाग होस् तर कुमारीत्वमा दाग नहोस् भन्ने चाहन्छन् । आफू जस्तोसुकै होस् मतलब भएन, तर अरुले टिपेको फूल उनीहरु चढाउन चाहन्नन् । आफूले क्षणिक सम्बन्ध बनाउँदै सेक्स गर्दै छाडेका नारीहरुको चाहिं उनीहरुलाई गन्ती हुँदैन, त्यसप्रति हीनताभाव हुँदैन । यसले पनि पुरुष र नारीको सम्बन्ध बीचको खाडल गहिरो बनाउँछ ।

बलात्कार जस्तो जघन्य अपराध पनि यही भर्जिनिटीको वरिपरि घुमेको छ । हाम्रो समुदाय शिक्षित छ, तर घरघरमा हिंसाका नौला स्वरुप उद्घाटित हुँदैछन् । आदर्शवादी भएर भलाद्मी बन्नेहरु नै पर्दापछाडि नेपथ्यमा सिकार खोजिरहेका हुन्छन् । नारीले हाँस्न पाउने, नाच्न पाउने, स्वतन्त्रतामाथि जित हासिल गर्न पाउने, सशक्तीकरणका कुरा सतहमा धेरै छन् । त्यो मात्र होइन, मर्यादित महिनावारीदेखि सुरक्षित मातृत्वसम्मका कुरा बहसमा छन् ।

लेट नाइट पार्टीमा जान केटीहरु किन नपाउने ? मन परेको मिनीस्कट लगाएर डुल्न किन नपाउने ? मन परेको केटासँग प्रेम र सेक्स गर्न किन नपाउने ? समाजले किन नारीलाई मात्र समय र पहिरनको सीमा तोक्छ ? आफूलाई मन नपरेको कुरामा ‘नो’ भन्न किन नारीले पाउँदैनन् ? यी प्रश्नहरु काठमाडौंका ठूलाठूला सेमिनारमा उठ्छन् अनि दूरदराजमा नपुग्दै बिलाउँछन् ।

कहिलेसम्म समाजले बलात्कारलाई बदनामीको स्वरुप दिएर महिला अंगलाई त्रासको भूमरी बनाइराख्ने ? कति नारीहरु आफंै सडकमा नारा लगाउने अनि घरमा चाहिं सहेर बस्ने ? कति चाहिं ओछ्यानमा अधिकार भुल्ने ? बिहेअघि भएका यौन सम्बन्धका कारण कति चाहिं पछुताएर बस्ने ? बिहेका लागि केटा हेर्न जाँदा केटाले सोध्न भन्दा अगावै आर यु भर्जिन ? भनेर उल्टै केटालाई नै सोध्न किन डराउने ? आखिर कहिलेसम्म ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?