+
+

५ रुपैयाँमा पनि बिक्दैन नेपाली काँक्रो, भारतबाट ल्याइयो ५२ हजार किलो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ वैशाख ७ गते १९:३०

७ वैशाख, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१८ की धनु अधिकारीले गत आइतबार आफ्नो फेसबुक पेजमा रुँदै गरेको इमोजी राख्दै स्टाटस् सहित केही फोटो पोष्ट गरिन् । उक्त पोष्टमा उनी केही कृषकका साथमा काँक्रोको थुप्रोमाथि बसेको देखिन्छन् ।

रेसुङ्गा कृषि फार्मकी सञ्चालिका समेत रहेकी अधिकारीले फेसबुकमा लेखेकी छन्, ‘समाज र राष्ट्रलाई टेवा पुर्‍याउँछु, आफ्नो जीवनयापन गर्छु, केही थोरै कमाउँछु र समाज सेवा गर्छु भन्ने उदेश्य बोकेर विगत ३ बर्षदेखि कृषि क्षेत्रमा आवद्ध म एक युवा, तर राष्ट्रको लापरबाहीका कारण आज म जस्ता हजारौं किसानले उत्पादन गरेर बजार नपाउँदा बारीमै फाल्नु परेको छ । यो जस्तो बिडम्बना के हुन सक्छ ? तपाईंहरु अनुमान लगाउन सक्नुहुन्छ ? झण्डै ३५ सय किलो काँक्रो बारीमै कुहिँदैछ । पाँच रुपैयाँमा पनि बिक्री भएन ।’

फेसबुक पोष्ट पछ्याउँदै अधिकारीको सम्पर्कमा पुग्दा बुधबार उनले अनलाइनखबरसँग काँक्रो खेतीबाट आफूले ठूलो क्षति बेहोर्नुपरेको गुनासो गरिन् ।

ऋण धन गरेर ५ बिगाहमा लगाएको हजारौं किलो काँक्रो ५ रुपैयाँ प्रतिकिलोमा पनि नबिके पछि आफ्नो गुनासो फेसबुकमा सार्वजनिक गरेको अधिकारीको भनाई छ । ‘बारीमा दुई दिन बिराएर २० क्विन्टल काँक्रो फल्छ । सधैं झैं काँक्रो बेच्न चितवनको तरकारी मण्डी जाँदा व्यँपारीले ३ रुपैयाँ किलो पाए लैजाने भने,’ अधिकारी गुनासो गर्छिन्, ‘तीन रुपैयाँमा बेच्नु भन्दा नबेच्ने भनेर काँक्रो छोडेर आएँ । अहिले बारीमा फलेको काँक्रो बारीमै कुहिन थालेको छ ।’

धनुकाअनुसार उनले फलाएको काँक्रो एमसीएच २ हाइब्रिड जातको हो । तरकारी तथा फलफूल मण्डीमा बिक्रीमा लगिएको काँक्रोलाई ब्यापारीले पानी काँक्रो भनेर होच्याउने गरेका छन् । ‘तीन रुपैयाँ किलोमा दिए मात्रै किन्छौं नत्र बिक्दैन भन्छन्,’ अधिकारी भन्छिन, ‘हामी आफैं बजार पठाउन सक्दैनौं । कुहिन दिनुको उपाय देखिएन ।’

खेतीमा गरेको लगानीअनुसार प्रतिकिलो १० रुपैयाँमा बेच्दा मात्रै काँक्रोमा नाफा बस्ने धनुले बताइन् । यसअघि पोखरा, वुटबल र काठमाडौंमा बिक्रीका लागि जाने काँक्रो यसपटक कतै पनि बिक्रीमा नगएको उनको दुखेसो छ । ब्यापारीले बाहिरबाट काँक्रो आयात गरेर हाम्रो काँक्रोको मूल्य अवमूल्ययन गरिदिएको भन्दै अधिकारीले सहयोगका लागि सरकार गुहारिन् ।

‘मलाई मात्रै १० लाख रुपैयाँ काँक्रोमा घाटा हुनेवाला छ, अरु किसानको अवस्था पनि उस्तै छ अब यो रोग गोलभेडामा पनि देखिंदैछ ।’ भरतपुर–१८ कै अर्का किसान तिलकुमार श्रेष्ठकाअनुसार उनको बारीमा पनि मूल्य नपाएर काँक्रो कुहिएको छ ।

आफूहरु काँक्रो लिएर बजार जान नसक्ने कमजोरीको फाइदा ब्यापारीले उठाएको उनले बताए । श्रेष्ठले आग्रह गर्दै भने, ‘एक सय रुपैयाँमा बोक्न सक्ने लैजाउ भन्दा पनि काँक्रो बिकेको छैन । बरु पत्रकारले काँक्रो बिक्ने अवस्था बनाई दिनुपर्‍यो ।’

आफ्नो बारीमा नबिकेर कुहिएको काँक्रोको कुनै हिसाव किताव नै नभएको पनि उनले बताए । भारतबाट आयात हुने तरकारी र फलफूलका कारण किसानहरुको उत्पादन नबिकेको उनीहरुको गुनासो छ ।

भरतपुरकै कृषि फर्म सञ्चालन गर्ने कृषक लेखनाथ भुसालले पनि बारीमा उत्पादन भएको काँक्रोले बजार नपाएको सामाजिक सञ्जालमै उल्लेख गरेका छन् । ‘खर्च नै नउठ्ने गरी मूल्य घटेको काँक्रो टिप्दै, उत्पादन भएपछि टिपेर बजार पठाउनु किसानको बाध्यता हो’ भुसाललेसामाजिक सञ्जालमा लेखेका छन् ।

गोलभेंडाले पनि पाएन बजार

कृषक धनु अधिकारीको फर्मबाट अबको केही दिनमा दैनिक १० हजार किलो गोलभेंडा उत्पादन हुँदैछ । एक साता अघिसम्म प्रतिक्रेट ८ सय रुपैयाँ रहेको गोलभेंडाको मूल्य अहिले हरेक दिन घटिरहेको धनुले सुनाइन् । फर्मबाट आफ्नो गोलभेंडा बजार जानै लाग्दा आधीले भाउ घटेको भन्दै उनले अब कृषि गर्नै नसकिने अवस्था बनेको बताइन् ।

‘प्रतिक्रेट ५ सय रुपैयाँमा बिक्री गर्दा मात्रै गोलभेंडामा खर्च बल्ल उठ्छ तर भाउ ४ सय रुपैयाँमा झरिसकेको छ,’ अधिकारीले भनिन्, ‘बिचौलिया ब्यापारीहरुको स्वार्थअनुसार किसानको उत्पादनले बजार नपाउँदा कृषि प्रतिको बिर्तष्णा बढेको बताइन् ।’

‘पत्रकारितामा डिग्री पढेर पनि कृषि पेशामा रमाएको छु तर, राज्यले संरक्षणको नीति नलिने हो भने म जस्ता मान्छे यो पेशामा किन बस्ने ?’ उनले सरकारसँग प्रश्न गरिन् ।

काठमाडौंमा काँक्रोको बजार भाउ ९० देखि १०० रुपैयाँसम्म

चितवनमा ५ रुपैयाँमा नबिकेको काँक्राको खुद्रा बिक्री मूल्य काठमाडौंको खुद्रा बजारमा भने ९० रुपैयाँसम्म छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितीले हाइब्रिड र लोकल भनेर दुई थरी काँक्रोको थोक मूल्य तोकेको छ ।

जसअनुसार हाइब्रिड काँक्रोको थोक प्रतिकिलो औसत मूल्य १७ रुपैयाँ छ भने लोकलको थोक मूल्य ५५ रुपैयाँ छ । बजार विकास समितिकाअनुसार बजारमा कुन हाइब्रिड र कुन लोकल भन्ने छुट्याउने र त्यसैअनुसार मूल्य तोक्ने प्रणाली भने छैन । स्थानीय खुद्रा किराना व्यापारीहरुका अनुसार बजारमा अहिले ९० देखि एक सय रुपैयाँसम्ममा काँक्रो बिक्री भइरहेको छ ।

गत आर्थिक वर्ष नेपालमा भारतबाट झण्डै ११ लाख २७ हजार रुपैयाँको ९८ हजार ४५१ किलो काँक्रो आयात भएको थियो ।

चालु आवको ८ महिनामा ११ लाख २० हजार रुपैयाँ बराबरको ५२ हजार ३०७ किलो काँक्रो नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । नेपालमा भारतबाट मात्रै काँक्रो भित्रिने गरेको छ ।

गैरजिम्मेवार कृषि मन्त्रालय

किसानले फसलको बजार नपाएर बारीमै उत्पादन कुहाएको विषय समाधानमा सरकारी धारणा बुझ्न हामीले संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई पटक पटक सम्पर्क प्रयास गर्‍यौं । फोन र एसएमएसबाट गर्न खोजिएको कुनै पनि सम्वादमा मन्त्री महेन्द्रराय यादवले चासो देखाएनन् ।

कृषिमन्त्री महेन्द्रराय यादव/फाइल तस्वीर

त्यसो त कृषि मन्त्रालयका सचिव डा. गोविन्द शर्मा पनि अनलाइनखबरको सम्पर्कमा आएनन् । मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले पनि फोन उठाएनन् ।

बागमती प्रदेशका कृषि सचिव डा.शरणकुमार पाण्डेले भने कृषिको प्रादेशिक च्यानलबाट आफूलाई कुनै गुनासो नभएको बताए । किसानको उत्पादन खेर जान नदिन आफूहरुले तत्काल कोल्ड स्टोरको व्यवस्था गर्ने भन्दै पीडित किसानलाई तुरुन्त मन्त्रालयमा सम्पर्क गर्न उनले आग्रह गरे ।

‘किसानको उत्पादन बारीमा कुहिएर जाने कुरा राम्रो होइन, हामी त्यसो हुन दिन्नौं,’ पाण्डेले भने, ‘किसानलाई सम्पर्क गरेर उत्पादनको कोल्ड स्टोरमा भण्डारण वा बजारसम्म पुर्‍याउन हामी अहिल्यै काम गर्छौं ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?