+
+

बैतडीमा सत्ता गठबन्धन दलहरूबीच सहमति जुटेन 

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १०:५०
८ वैशाख, डोटी । स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिंदै गर्दा पनि बैतडी जिल्लामा सत्ता गठबन्धन दलहरूभित्र सहमति जुट्न सकेको छैन ।
सत्ता गठबन्धनका मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेलका लागि पटक-पटक छलफल हुँदा पनि टुङ्गो लाग्न नसकेको एकीकृत समाजवादीका बैतडी जिल्ला अध्यक्ष महादेव भट्ट बताउँछन् । ‘पहिलो चरणमा पञ्चेश्वर, दोगडाकेदार र डिलासैनी गाउँपालिकाबीच चुनावी तालमेल गर्ने गरि छलफल भयो’ भट्ट भन्छन् ‘गाउँपालिका अध्यक्ष/उपाध्यक्षमा भागबन्डा मिल्यो तर वडाध्यक्षमा नमिल्दा रोकियो ।’
उनले एकीकृत समाजवादीले तीन पालिकामध्ये एउटामा उपाध्यक्ष पाउने गरी सहमति गरेको तर वडामा आफ्नो सम्मानजनक स्थान हुनु पर्ने माग राखेको वताए । उनी थप्छन् ‘कांग्रेसमा एक्लै जित्न सकिन्छ भन्ने दम्भ देखियो, त्यसैले कुरा मिलिरहेको छैन ।’
तीन पालिकामा वडा समेत टुङ्गो नलागेसम्म अन्य पालिकाको विषयमा छलफल नहुने भट्टले बताए । उनले अपमान हुने गरी आफूहरू चुनावी तालमेल नगर्नेसमेत जानकारी दिए । उनी भन्छन्, ‘अस्तित्वनै स्वीकार नगर्ने हो भने हामी एक्लै चुनाव लड्छौं ।’
कांग्रेसले जिल्लाका १० पालिकामध्ये सातमा दाबी गरिरहेकोले पनि तालमेल हुन समस्या भइरहेको अध्यक्ष भट्टको भनाइ छ । उनले भने, ‘यो ढंगले त कुरा मिल्ने जस्तो छैन ।’
तीनवटा पालिकामा सहमति भइसकेको बताउँछन् नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द । ‘तीन पालिकामध्ये पञ्चेश्वर र दोगडाकेदारको अध्यक्ष कांग्रेसले पाएको छ’ चन्द भन्छन् ‘डिलासैनीको अध्यक्ष माओवादी केन्द्रले पाएको छ ।’
उनले डिलासैनीमा कांग्रेस, दोगडाकेदारमा माओवादी र पञ्चेश्वरमा एकीकृत समाजवादीले सत्ता गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार उठाउने गरी सहमति भएको जानकारी दिए । ‘वडाहरूमा केही विवाद देखिएको हो’ चन्द भन्छन् ‘त्यो स्थानीयस्तरमा छलफल गरी मिलाउने कुरा भएको छ, मिल्छ ।’ ०७४ सालको स्थानीय तहको निर्वाचनमा पञ्चेश्वर, दोगडाकेदार र डिलासैनी गाउँपालिकामा नेकपा एमालेले जितेको थियो ।
अन्य पालिकाहरूमा पालिकास्तरमै छलफल भएर सहमति भए तालमेत गर्ने नभए सत्ता गठबन्धन दलहरुबीच मित्रवत् प्रतिस्पर्धा गरेर जाने कुरा भएको चन्दले जानकारी दिए ।
तीनवटा पालिका भागवण्डा टुङ्गो लागिसकेको नेकपा माओवादी केन्द्रका बैतडी जिल्ला संयोजक शंकर भण्डारीको दाबी छ । उनले भने, ‘तीनवटा पालिकाको पालिकास्तरमा कुनै विवाद छैन, वडास्तरमा सामान्य विवाद हो, त्यो मिल्छ, आज या भोलिसम्म मिलाउछौं ।’
अन्य सातवटा पालिकाहरुमा द्विपक्षीय, त्रिपक्षीय रुपमा छलफल चलिरहेको भण्डारी बताउँछन् । ‘भरसक राष्ट्रिय रुपमा सबै ठाउँमा सत्ता गठवन्धनबीचमै चुनावी तालमेल गरेर जाने भन्ने भएको हुँदा हामी पनि त्यसरीनै जाने कुरा भएको छ’ भण्डारीले भने ‘यदि त्यसो हुन सकेन् भने कतै कांग्रेस-माओवादी, कतै समाजवादी-माओवादी, कतै कांग्रेस समाजवादीबीच पनि तालमेल हुन सक्छ ।’ त्यस्तो पनि नभएको खण्डमा स्वच्छ प्रतिस्पर्धा गरेर जाने सहमति दलहरूबीच भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?