+
+

दुई वर्षपछि विद्यालयमा वार्षिक परीक्षा, कस्तो होला सिकाइ उपलब्धि ?

नुनुता राई नुनुता राई
२०७९ वैशाख ८ गते २०:२८

५ वैशाख, काठमाडौं । चालु शैक्षिक सत्र २०७८ यही वैशाखमा सकिँदै छ । अहिले कतिपय विद्यालयमा कक्षा नौसम्मका विद्यार्थीको धमाधम परीक्षा चलिरहेको छ भने कतै भर्खरै सकिएको छ ।

कोरोना महामारीका कारण २०७६ सालदेखि विद्यालय शिक्षा प्रभावित हुँदै आएको छ । २०७६ सालयता विद्यार्थीले वार्षिक परीक्षा भौतिक उपस्थितिमा दिन पाएका थिएनन् ।

दुई वर्षसम्म राम्रोसँग पढ्न नपाएका विद्यार्थीको परीक्षा कस्तो होला ? शिक्षाविद्हरु नियमित कक्षा लिन नपाएका विद्यार्थीको पुरानै प्रद्धतिबाट मूल्यांकन गर्दा राम्रो नतिजा नदेखिने बताउँछन् ।

कोरोना संक्रमण रोकथामका लागि सरकारले पहिलो पटक २०७६ चैत ११ गतेदेखि देशभर लकडाउन गर्‍यो । त्यस वर्ष कक्षा ९ सम्मका विद्यार्थीले परीक्षा दिइसकेका थिए भने एसईई र कक्षा १२ को परीक्षा हुन सकेको थिएन ।

लकडाउनका कारण विद्यालय खुल्न नसकेपछि झण्डै ६ महिनापछि २०७७ कात्तिक–मंसिरमा मात्र विद्यालय खुले । पढाइ अवधि छोटो हुने भन्दै सरकारले वैशाखमा सकिने शैक्षिक सत्र पनि असारसम्म धकेल्यो । तर कोरोना महामारीको दोस्रो लहर आएपछि २०७७ को चैत १६ मा पुनः लकडाउन भयो र भौतिक उपस्थितिमा पठनपाठन बन्द गर्‍यो ।

कोरोना महामारीका कारण विद्यालय नखुल्दा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरण गर्ने भन्दै सरकारले २०७७ सालमा निर्देशिका जारी गर्‍यो । सहरी क्षेत्रमा अनलाइन प्रविधिबाट पढाइ भए पनि ग्रामीण क्षेत्रमा वैकल्पिक माध्यमबाट पठन पाठन हुन सकेन ।

केही पालिकाले रेडियो, टेलिभिजन, इन्टरनेट, मोवाइल आदि माध्यमबाट पनि पठन पाठन गराए । शैक्षिक सत्रको अन्त्यमा विद्यार्थीले परीक्षा पनि दिन पाएनन् आन्तरिक मूल्याङ्कनबाटै माथिल्लो कक्षामा पुगे ।

१ असारदेखि २०७८ सालको शैक्षिक शत्र सुरु भयो । विद्यालयहरु भने बन्द नै थिए । गत मंसिरदेखि मात्र भौतिक उपस्थितिमा पढाइ सुरु भयो । फेरि कोरोना संक्रमणको तेस्रो लहर देखिन थालेपछि माघ महिनाभर विद्यालय बन्द भयो । फागुन र चैतभर पढाइ सञ्चालन गरेर वैशाखमा परीक्षा गरिएको छ ।

पालिकाहरुले धेरै विद्यार्थी वैकल्पिक सिकाइको पहुँचमा नरहेकाले सिकाइ प्रभावकारी हुन नसकेको बताएको छ । यद्यपि विद्यार्थीको सिकाइ कस्तो रह्यो भन्ने बारेमा अहिले सञ्चालन हुने परीक्षाले केही देखाउने स्थानीय तहहरु बताउँछन् ।

सामान्य समयमा जस्तो नभए पनि विद्यार्थीको सिकाइ उपलब्धी औसतको देखिने काठमाडौं महानगरपालिकाका शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदी बताउँछन् । उनी भन्छन् ‘दुई वर्ष अघिजस्तो कोभिडको समयमा सिकाइ उपलब्धी भएन । तर, सिकाइ स्तर कस्तो रह्यो भन्ने चाहिं यो परीक्षाको नतिजापछि मात्रै भन्न सकिन्छ’ उनी भन्छन् ।

काठमाडौं महानगरपालिकाले पालिकाभित्रका करिब २० प्रतिशत विद्यार्थी अनलाइन माध्यमको पहुँचबाहिर रहेको जनाएको छ । यस्ता विद्यार्थीले विद्यालय बन्द हुँदासम्म घरमै बिना पढाइ समय बिताए ।

काठमाडौंको शारदा आधारभूत विद्यालयमा ७२ बालबालिका छन् । कक्षा ८ सम्म पढाइ हुने यो विद्यालयमा अध्ययनरत बालबालिका कोही पनि अनलाइनको पहुँचमा नभएको प्रधानाध्यापक महेन्द्रप्रसाद रिजाल बताउँछन् । उनले भने ‘हाम्रो विद्यालयमा पढ्ने अधिकांश सरसफाइमा काम गर्ने अभिभावकका बालबालिका छन् । त्यसैले अनलाइन सम्भव भएन ।’

उनीहरुलाई सजिलो पाठ आफैं पढ्न लगाएर अप्ठेरो पाठ भने विद्यालय खुलेपछि पढाएको उनी बताउँछन् । ‘हामीले सक्दो प्रयास गरेका छौं । समय नै अनुकुल नभएपछि सिकाइ पनि प्रभावकारी नहुने नै भयो’ प्रधानाध्यापक रिजाल भन्छन् ।

भक्तपुर नगरपालिकाले हरेक विद्यालयको नतिजाका आधारमा विद्यार्थीको मूल्यांकन गर्दै आएको छ । गत वर्ष अघिल्लो शैक्षिक वर्षभन्दा बढी शैक्षिक उपलब्धि देखिएको नगरपालिकाको शिक्षा शाखाको दावी छ ।

तर विद्यालयले आन्तरिक मूल्याङ्कनमा धेरै अंक दिएका हुन सक्ने भएकाले गत वर्षको नतिजामा विश्वस्त हुन नसकिने नगरपालिकाका शिक्षा शाखा प्रमुख डा.कृष्णप्रसाद कर्माचार्य बताउँछन् । यो वर्ष भौतिक रुपमा परीक्षा सञ्चालन हुने भएकाले उपलब्धिमा सत्यता आउने उनको भनाइ छ ।

वैशाख ७ गतेबाट नगरपालिकाले परीक्षा सञ्चालन गरेको छ । ‘विद्यालय नै नलागेपछि सिकाइ उपलब्धि त घट्ने नै भयो । तर, कत्ति घट्यो भन्ने चाहिँ नतिजा आएपछि नै भन्न सकिन्छ ।’

ललितपुर महानगरपालिका शिक्षा शाखा प्रमुख महेन्द्रप्रसाद क्षेत्री सिकाइ उपलब्धि घट्ने तर कति घट्यो भन्नेबारे नतिजा प्रकाशित भएपछि थाहा हुने बताउँछन् । ‘अहिले बढ्ने त कुरै भएन ।

किनभने विद्यालय नै मुश्किलले पाँच महिना खुल्यो होला । वैकल्पिक माध्यमबाट विद्यार्थीको सिकाइ विभिन्न समस्याको कारण प्रभावकारी रहेन । नतिजा नआएसम्म भन्न सकिने अवस्था छैन’ उनी भन्छन् ।

ललितपुरको हरिसिद्धि माविकी प्रधानाध्यापक आशादेवी महर्जन यो वर्षको सिकाइ स्तर धेरै घटेको अनुमान गर्छिन् । अनलाइन कक्षा सञ्चालन हुँदा सातदेखि माथिल्लो कक्षामा ८० प्रतिशत, ५ र ६ कक्षामा १५ प्रतिशत त्यो भन्दा पनि तल्लो कक्षामा १० प्रतिशत उपस्थिति भएको उनको भनाइ छ । ‘अनलाइनमा पहुँच नै नभएकाहरु धेरै छन् । त्यसले गर्दा आधा भन्दा बढी नै सिकाइ उपलब्धी कम भयो भन्ने मेरो अनुमान छ’ महर्जन भन्छिन् ।

आगामी शैक्षिक सत्रमा सिकाइ उपलब्धि बढाउन विद्यालय र शिक्षकले बढी मेहेनत गर्नुपर्ने बताउँछिन् ।

यथार्थ विवरण आउँदैन : शिक्षाविद

शिक्षाविदहरु भने अहिलेको परीक्षा र यसको नतिजाले नतिजाले सिकाइ उपलब्धि मापन गर्न नसकिने बताउँछन् । शिक्षाविद् प्रा. डा. सुशन आचार्य कोरोना महामारीका बेलामा बालबालिकाले धेरै समय घरमा बिताएकाले उनीहरुले के के सिके भन्ने कुरा किताबभित्रको विषय समेटिएको परीक्षाबाट थाहा हुन नसक्ने बताउँछन् ।

उनी भन्छिन् ‘अनलाइन पहुँचमा अधिकांश बालबालिका थिएनन् । जो थिए उनीहरुले अलि अलि सिके । छोटो समय (भौतिक उपस्थितिमा) कक्षा लिएको आधारमा गरिएको परीक्षाबाट सिकाइ उपलब्धी मापन गर्न सकिँदैन ।’

अहिलेको परीक्षाबाट विद्यार्थीहरुले घरमा हुँदा सिकेको सीप जाँच नसक्ने उनको बुझाइ छ । ‘विद्यार्थीले घरमा सिकेको व्यवहारिक सिकाइलाई पनि मापन गर्ने प्रणाली भएको भए हुन्थ्यो’ आचार्य भन्छिन् ।

शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला विद्यालयमा पढाइ नै नभएको र विद्यार्थीले घरमा सिकेको कुरा सिकाइसँग नजोडिएकाले परीक्षाबाट सिकाइ उपलब्धि नाप्न नसकिने बताउँछन् ।

उनी भन्छन् ‘निजी विद्यालयले जाँचमा के प्रश्न आउँछ भनेर घोकाउँछन् र परीक्षा लिन्छन् । पब्लिक स्कुलका शिक्षकले लेखिदिने र विद्यार्थीले सार्दा रहेछन् । त्यसरी लिइएको जाँचको आधारमा आएको नतिजालाई कसरी सिकाइ उपलब्धि मान्न सकिन्छ ?’

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?