+
+

दीपक पौडेलको टिकट खोसियो, पोखराको मेयरमा एमाले उम्मेदवार कृष्ण थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ९:१६

१२ वैशाख, पोखरा । नेकपा एमालेले पोखराको मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंगो लगाएको छ ।

शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो । तर, उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नउठ्ने बताएकी थिइन् भने मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भएपछि एमालेले फेरि उम्मेदवारबारे छलफल थालेको थियो ।

एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापाको नाम टुंगो लगाएको हो । एमाले पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले केन्द्रीय नेताहरुले मेयरमा दीपक पौडेलको नाम सच्याएर कृष्ण थापा र उपमेयरमा मञ्जुदेवीकै नाम टुंगो लगाएको बताए । ‘केन्द्रले नाम सच्याएर थापालाई मेयरमा उठाउने निर्णय गरेको छ । केन्द्रीय नेताहरुले धेरै विचार र छलफल गरेरै टुंगोमा पुग्नुभएको होला,’ न्यौपानेले अनलाइनखबरसँग भने, ‘उपमेयरसँग पनि छलफल गरेरै उहाँको नाम कायम राखिएको हो ।’

एमाले यसअघि नाम टुंग्याएका दीपक पौडेलले भने आफ्नो चरित्र हत्या हुने गरी प्रचार गरिएको र आफ्नो राजनीतिक जीवनकै अवमूल्यन गरिएको बताएका छन् ।

यसअघि सांसदले मेयर लड्न नपाउने गरी केन्द्रले निर्णय गरेको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सार्वजनिक गरेका थिए । तर, संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले थापालाई मेयर हुनबाट रोक्नकै लागि यस्तो निर्णय गरेको आरोप लगाएको थियो । कास्कीमा पृथ्वीसुब्बा र खगराजको प्रतिष्ठाको लडाइँले पनि यहाँको एमाले राजनीतिलाई ध्रुवीकरण गरेको छ ।

२०५४ सालमा पनि पोखराको मेयर भएका थापालाई पोखरामा एमालेको बलियो उम्मेदवारको रुपमा हेरिएको थियो । तर, २ नेताबीचको टकरावका कारण पौडेललाई टिकट दिइएको भन्दै आलोचना भएको थियो । आइतबार मेयरका उम्मेदवार पौडेलले सुनको सिक्री चोरेको भन्दै भाइरल बनेपछि पोखराका सन्दर्भमा एमालेलाई झड्कै लागेको थियो ।

मेयरको नाम सच्याउँदै आफूलाई मेयरमा एमालेले टुंगो लगाएको थापाले जानकारी दिए । ‘अन्तत मैले नै पोखरामा फेरि एमालेको नेतृत्व गर्ने गरी पार्टीले निर्णय गरेको छ । १२ बजे मनोनयनमा जाने कार्यक्रम छ । ढिलै भए पनि पार्टीले निर्णय सच्यायो, न्याय दियो,’ थापाले भने, ‘उपमेयरमा भने मञ्जुदेवीकै नाम पक्का भएको छ ।’

दीपक पौडेलको गुनासो

एमाले यसअघि नाम टुंग्याएका दीपक पौडेलले भने आफ्नो चरित्र हत्या हुने गरी प्रचार गरिएको र आफ्नो राजनीतिक जीवनकै अवमूल्यन गरिएको बताएका छन् ।

कार्यवाहक मेयर भएरसमेत काम गरेकी मञ्जुदेवी पनि आफूभन्दा जुनियरलाई मेयर बनाएर आफूलाई उपमेयरको टिकट दिँदा खुसी थिइनन् । आकांक्षा नै नगरेको पदमा आफूलाई टिकट दिइएको भन्दै मञ्जुदेवीले आपत्ति जनाएकी थिइन् ।

अब भने २०५४ सालमै पोखराका मेयर बनिसकेका थापालाई टिकट दिएपछि मञ्जुदेवीले पनि चुनाव लड्ने मेयरका उम्मेदवार थापाले जानकारी दिए । ‘एक त उहाँलाई सल्लाह नै नगरी उपमेयरको टिकट दिइएको थियो भने अर्को प्रोटोकल पनि नमिलेकोमा उहाँको चित्त दुखाइ होला, मेरो सन्दर्भमा उहाँको आपत्ति हुँदैन,’ मेयरका आकांक्षी थापाले भने ।

यसबारे प्रतिक्रिया लिन खोज्दा उपमेयर मञ्जुदेवी भने सम्पर्कमा आइनन् ।

सत्ता गठबन्धनको तर्फबाट पोखरा एकीकृत समाजवादीको भागमा परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरका उम्मेदवार छन् ।

तर, पोखरामा जनता समाजवादीले आफूहरूले गठबन्धन छोडेको र आफूहरुले मेयरको उम्मेदवार उठाउने तयारी गरिरहेको गण्डकी उपाध्यक्ष किरण थापाले बताएका छन् ।

कास्कीमा पोखराको मेयरबाहेकमा मित्रवत प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेसले आइतबार निर्णय सुनाएको थियो । तर कांग्रेससहित गठबन्धनको बैठकले अन्तिम टुंगो लगाउने गरी छलफल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?