+
+

धरहरा उद्घाटनको एक वर्ष : आगामी दशैंसम्म पनि निर्माण नसकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ११:२३

१२ वैशाख, काठमाडौं । उद्घाटनको एक वर्षपछि धरहराको पुनर्निर्माण म्याद करिब एक वर्ष थपिने भएको छ । धरहराको निर्माण अवधिको म्याद चैत मसान्तमा सकिएकाले ठेकदार कम्पनीले आगामी धरहरा बनाउने थप म्याद पाउन लागेको हो ।
गत मंसिरमै म्याद सकिए पनि सरकारले महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो ।

११ वैशाख २०७८मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले करिब आधा मात्रै काम सकिंदा धरहराको उदघाटन गरेका थिए । त्यसपछि सरकारले खासै चासो नदिएपछि पुनर्निर्माणको गति सुस्ताएको थियो । १२ वैशाख २०७२मा गएको भूकम्पले क्षतिग्रस्त भएको धरहरा पुननिर्माणको गति पछिल्लो समयमा केही बढेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागकाका अनुसार करिब ७५ प्रतिशत काम सकिएको छ । शहरी विकास विभागका सिनियर डिभिजन इन्जिनियर कोषनाथ अधिकारीका अनुसार धरहराको संग्राहलयबाहेकका संरचनाको निर्माणको काम आगामी दशैं (असोज)सम्म काम सकाउने गरी म्याद थपको तयारी भइरहेको छ ।

‘राष्ट्र बैंकको भवन हट्न समय लागेकाले संग्राहलयतर्फको काम दशैंसम्म सकिंदैन,’ अधिकारीले भने,’संग्राहलय बन्न समय लाग्ने भएपनि बाँकी काम दशैं अघि नै सक्ने गरी म्याद थप्दैंछौं ।’

के-के काम बाँकी छ ?

काम नसकिंदै हतार-हतार लिफ्ट जोडेर उद्घाटन गर्दा धरहराको भर्‍याङ नै बनिसकेको थिएन । अहिले पनि रंगरोगन, लाइटिङ र सूचना प्रविधिसम्बन्धी काम चलिरहेको छ ।

धरहराको टावरमुनि बनिरहेको तीन तले भूमिगत पार्किङको काम सकिएको छैन । संग्रहालयको काम सबैभन्दा चुनौतीपूर्ण छ । प्रशासनिक भवन तयार भइसकेको छैन । खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक पनि बन्न बाँकी छ ।

बीचमा पुल बनाउनुपर्नेछ । सुन्धारालाई सजाउने काम पनि गर्नुपर्ने छ । बगैंचा निर्माण गरेर पार्क पनि बनाउन बाँकी नै छ । त्यस्तै भूकम्पमा भत्किएको पुरानो धरहराको बाँकी भागलाई सिसाभित्र राख्नेसहित सजावटका अनेक कार्यहरु पनि गर्नुपर्नेछ ।

कहिलेबाट धरहरा चढ्न पाउँछन् भन्ने यकीनका भइसकेको छैन । कुनै पनि काम निर्माण सम्पन्न गरेर ठेकदारले हस्तान्तरण गरिसकेपछि मात्रै उदघाटन गर्ने प्रचलन विपरीत तत्कालीन प्रधानमन्त्री ओलीले हतार-हतार धरहराको उदघाटन गरेका थिए ।

पुस ९ गतेबाट विघटन भएको पुनर्निर्माण प्राधिकरणले यो धरहरा पुनर्निर्माणको जिम्मा शहरी विकास तथा भवन निर्माण विभागलाई सारेको थियो । विभागले तयार गरेपछि सम्पूर्ण संरचना काठमाडौं महानगरपालिकाको जिम्मा लगाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?