 
																			१३ वैशाख, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकहरुको आधार दर बढेको छ । अघिल्लो आर्थिक वर्षको ९ महिनाको तुलनामा चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुको औसत आधारदर (बेस रेट) ६ बाट ९ प्रतिशत नाघेको छ ।
गत वर्षको चैत मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेसरेट ६ दशमलव ९० प्रतिशत रहेकोमा यस वर्षको चैत मसान्तसम्म यो बढेर ९ दशमलव ०९ प्रतिशतमा पुगेको छ । अर्थात् ऋणको ब्याजदर महँगएको छ ।
कर्जाको व्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिस्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौदि्रक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागू गर्ने उल्लेख गरिएको थियो ।
आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागू भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागू गरिएको थियो । जसमा कर्जाको जोखिम प्रिमियम अर्थात् जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागू हुन्छ ।
तर, आधार दर कर्जाको वास्तविक व्याजदर होइन । यो व्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई व्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर व्याजदर तोक्नु पर्छ ।
अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् । आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत प्रिमियम थप्न सक्छन् ।
रावा बैंकमा सस्तो, सनराइजमा महँगो
चालु आर्थिक वर्षकेा तेस्रो त्रैमासमा सबैभन्दा कम बेस रेट हुने पहिलो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । यो बैंकको २०७७ चैतसम्म ५.५० प्रतिशत रहेको बेस रेट बढेर २०७८ चैतमा ७.३१ प्रतिशत पुगेपनि सबैभन्दा कम हो ।
सबैभन्दा धेरै बेस रेट हुनेमा सनराइज बैंक देखिएको छ । सनराइजको ७.२३ प्रतिशतबाट बढेर १०.११ प्रतिशत पुगेको छ ।
हेर्नुस्, अरु बैंकको बेस रेट :
| बैंकको नाम | २०७८ चैत (प्रतिशतमा) | २०७७ चैत (प्रतिशतमा) | 
| राष्ट्रिय वाणिज्य बेंक | ७.३१ | ५.५० | 
| स्टाण्डर्ड चार्टर्ड बैंक | ७.५५ | ५.३३ | 
| नेपाल इन्भेष्टमेन्ट बैंक | ८.०६ | ५.९५ | 
| नेपाल बैंक | ८.१९ | ५.९८ | 
| नबिल बैंक | ८.२२ | ६.१८ | 
| कृषि विकास बैंक | ८.२८ | ७.४८ | 
| एभरेष्ट बैंक | ८.३६ | ६.१० | 
| ग्लाृबल आइएमई बैंक | ८-९५ | ६.४० | 
| बैंक अफ काठमाण्डू | ८.९६ | ७.६० | 
| एनएमबबि बैंक | ८.९६ | ७.१९ | 
| सानिमा बैंक | ९.०० | ६.२३ | 
| नेपाल बंगलादेश बैंक | ९.१० | ७.५६ | 
| नेपाल एसबीआई बैंक | ९.२६ | ७.४६ | 
| एनसीसी बैंक | ९.२८ | ७.४१ | 
| प्रभु बैंक | ९.२९ | ७.०६ | 
| एनआईशी एशिया बैंक | ९.३९ | ६.७७ | 
| हिमालयन बैंक | ९.५० | ६.७५ | 
| सिद्धार्थ बैंक | ९.५३ | ६.९९ | 
| माछापुच्छ्र बैंक | ९.६३ | ७.०९ | 
| सेञ्चुरी कमर्सीयल बैंक | ९.६३ | ७.७७ | 
| लक्ष्मी बैंक | ९.६४ | ६.७९ | 
| प्राइम कमर्सीयल बैंक | ९.६८ | ७.१४ | 
| सिटिजन्स बैंक | ९.८१ | ७.४४ | 
| कुमारी बेंक | ९.८५ | ७.६३ | 
| सिभिल बैंक | ९.९४ | ७.८२ | 
| मेगा बैंक | १०.१० | ७.५९ | 
| सनराइज बैंक | १०.११ | ७.२३ | 
| औसत बेस रेट | ९.०९ | ६.९० | 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4