+
+

आईपीएलका १० कप्तान, कसको प्रदर्शन कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १४:१९

१३ वैशाख, काठमाडौं । यस वर्षको इण्डियन प्रिमियर लिग (आईपीएल)का १० फ्रेन्चाइज टिममा १० कप्तानहरुको क्षमता र शैली फरक फरक छ ।

क्रिकेटमा कप्तान भनेको टिमको प्रमुख खेलाडीका अलावा समग्र अभियानको नेतृत्वकर्ता पनि हो । आईपीएलको १५औं संस्करणमा सहभागी टिम संख्या बढेका छन् । १० टिमका कप्तानमध्ये कतिले आफ्नो टिमलाई सही मार्गदर्शन गरिरहेका छन् भने कतिपय सफल भनिएका कप्तानहरुको प्रदर्शन यसपल्ट टिठलाग्दो छ ।

आईपीएलका १० कप्तानहरुको व्यक्तिगत प्रदर्शन यस्तो छः

हार्दिक पाण्ड्या (गुजरात टाइटन्स)

पछिल्लो समय फिटनेस र प्रदर्शनमा लापरबाही गरेको भन्दै आलोचना खेपेका पाण्ड्या अहिले लयमा फर्किएका छन् ।

यस सिजनको आइपीएलमा उनले एक राम्रो अल राउन्डरको भूमिकामा पुनरागमन गरेका छन् । उनले यस सिजनमा आफ्नो टिमका लागि सुरुवाती सातमध्ये ६ जित दिलाएका छन् । गुजरातको जितमा २८ वर्षीय कप्तान पाण्डेको महत्वपूर्ण भूमिका छ । टिम गुजरात १२ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

हार्दिकले यस सिजन ३ अर्धशतकसहित २९५ रन जोडेका छन् । उनको टिमले खेलेको सात खेलमध्ये उनले एक खेल गुमाए । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा ग्रोइन समस्याका कारण उनी खेल्न सकेनन् ।

उनको व्याक्तिगत प्रदर्शन हेर्ने हो भने बलिङ र ब्याटिङ दुवैमा राम्रो सुधार भएको देखिन्छ । पार्ट टाइम बलरका रुपमा उनले ४ विकेट लिएका छन् । बलिङका साथसाथै उनको रनिङ पेसमा पनि सुधार भएको छ । यसले उनले भारतीय राष्ट्रिय टिममा अलराउन्डरको भूमिकामा पुनरागमन गर्ने संकेत पनि देखाएका छन् ।

रोहित शर्मा (मुम्बई इन्डियन्स्)

आईपीएलको सबैभन्दा सफल टोलीको कप्तानका रुपमा रोहित शर्माले पाँचपल्ट प्रतियोगिताको ट्रफी उचालेका छन् । यसपल्ट मुम्बईले आफ्नो पहिचानविपरीत निकै नै खराव प्रदर्शन गरिरहेको छ ।

सुरुवाती ८ खेल हारेर मुम्बईले खराव कीर्तिमानसमेत बनाउँदा कप्तान रोहितको खुवै आलोचना भइरहेको छ । टिमलाई जिताउन रणनीतिक रुपमा अब्बल हुन नसकेको र आफ्नै प्रदर्शन पनि कमजोर भएको आरोप उनलाई लाग्न थालेको छ ।

रोहितले हालसम्म ८ खेलमा १५३ रन जोडेका छन् । मुम्बईका ओपनरका रुपमा उनको साझेदारी पनि राम्रो रहन सकेको छैन । यो सिजनका सबैभन्दा महंगा खेलाडी इशान किसानसँग उनको जोडी जमिरहेको छैन ।

रोहितले राम्रो रन बनाउन नसक्नु नै मुम्बईको ठूलो समस्याका रुपमा देखा परेको छ ।

सञ्जु सामसन( राजस्थान रोयल्स्)

अंक तालिकाको तेस्रो स्थानमा रहेको राजस्थान रोयल्स्ले यस बर्ष उत्कृष्ट प्रदर्शन गरेको छ । टिमको कप्तान हुन्, सञ्जु सामसन । उनको टिम प्रतियोगिताको ७ खेलमा ५ जित सहित १० अंकको साथमा उपाधिको बलियो दाबेदारका रुपमा देखिएको छ ।

कप्तानको रुपमा सञ्जुको सालीन नेतृत्व क्षमता, बलिङ र ब्याटिङ सन्तुलनताले राजस्थान यसपल्ट राम्रो टिमको उदाहरणका रुपमा छ ।

आईपीएलको १५औं सिजनमा इंग्लिस ओपनर जस वटलरले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ४९१ रन बनाएका छन् । बलिङतर्फ युजवेन्द्र चहलले ७ खेलमा १८ विकेट लिएका छन् ।

कप्तान तथा विकेट किपर ब्याट्सम्यान सामसनले भने ७ खेलमा एक अर्धशतकसहित २०१ रन बनाएका छन् ।

केएल राहुल (लखनउ सुपर जाइन्ट्स)

आईपीएलको नवप्रवेशी टोली लखनउले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । यसको सम्पूर्ण श्रेय कप्तान केएल राहुललाई जानुपर्छ । व्यक्तिगत रुपमा शानदार र टिमका लागि उनको नेतृत्वदायी भूमिका भविष्यमा भारतीय टिमकै लागि उपयोगी हुनसक्ने आँकलन गर्न थालिएको छ ।

उनको टिम अहिले आईपीएलको चौथो स्थानमा छ । राहुल यस सिजनमा सर्वाधिक रन बनाउने ब्याटरको सूचीमा दोस्रो स्थानमा छन् । ३१ वर्षीय राहुलले एक अर्धशतक तथा दुई शतक सहित ८ खेलमा ३६८ रन जोडेका छन् ।

फाफ डू प्लेसिस (रोयल च्यालेन्जर्स बैंग्लोर)

सुपरस्टार विराट कोहलीले यसपल्ट बैंग्लोरको कप्तानी दक्षिण अफ्रिकी ब्याटर फाफ डू प्लेसिसको काँधमा सुम्पिए । आफ्नो भूमिकालाई न्याय गर्दै उनी टिमका लागि सर्वमान्य नेताका रुपमा देखिएका छन् । टिममा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई व्यक्तिगत रुपमा धन्यवाद ज्ञापन गर्ने उनको बानीले खेलाडीमाझ सम्मानजनक स्थान दिलाएको छ ।

प्लेसिसको व्यक्तिगत प्रदर्शन पनि उच्च छ । उनले ८ खेलमा २ अर्धशतकसहित २५५ रन जोडेका छन् । ३ हार र ५ जितसहित १० अंक जोडेको बैंग्लोर अंकतालिकाको पाँचौं स्थानमा छ ।

श्रेयस अयर (कोलकाता नाइट राइडर्स)

दुईपल्टको उपाधि विजेता कोलकाता नाइट राइडर्सको यो सिजन सन्तोषजनक छैन । सुरुवाती ८ खेलमा तीन खेलमात्र जितेको यो टिम अंकतालिकाको आठौं स्थानमा छ ।

दिल्लीबाट कोलकाता पुगेका कप्तान श्रेयसको व्यक्तिगत प्रदर्शन पनि टिमलाई जित दिलाउन पर्याप्त भइरहेको छैन । उनले ८ खेलमा २ अर्धशतकसहित २४८ रन जोडेका छन् । २७ वर्षीय श्रेयसको कप्तानी क्षमतामा प्रश्न गर्न थालिएको छ । टिमलाई एकतावद्ध बनाउन नसकेको आरोप उनलाई लागेको छ ।

मयंक अग्रवाल( पञ्जाब किंग्स)

प्रतियोगिताअघि यो सिजन उपाधिको मुख्य दावेदारका रुपमा पञ्जाव किंग्सलाई मानिएको थियो । कप्तान मयंक अग्रवाललगायत ‘हार्ड हिटर’हरुको बाहुल्य रहेको टिम कागजी रुपमा जति बलियो आंकलन गरिएको थियो त्यसअनुसार आफूलाई प्रमाणित गर्न बाँकी नै छ । सुरुवाती ८ मध्ये ४ जितसहित पञ्जाव अंकतालिकाको छैठौं स्थानमा छ ।

पञ्जाबलाई अगाडी बढाउने नेतृत्व पाएका मयंकले पनि व्यक्तिगत रुपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले हालसम्म १ अर्धशतकसहित १३६ रन बनाएका छन् । उनले हैदरवादसँगको खेलमा खुट्टाको औंलाको समस्याले गर्दा खेल्न सकेनन् ।

पञ्जाबलाई खेलमा फर्काउन कप्तान मयंकले ब्याटिङमा सुधार गर्नुपर्ने देखिन्छ । उनको ब्याटिङ सुधारिएको अवस्थामा टिमको हौसला बढ्नेछ ।

रविन्द्र जडेजा (चेन्नाइ सुपर किङ्स)

चारपटक आईपीएल उपाधि दिलाएका भेट्रान क्रिकेटर महेन्द्रसिंह धोनीले यसपल्ट चेन्नाईको कप्तानी रविन्द्र जडेजालाई सुम्पिए । जडेजालाई धोनीको विरासत धान्न कठिन भइरहेको देखिन्छ । धोनीले विश्वास गरेर अनुवभी खेलाडीका रुपमा ३३ वर्षीय जडेजालाई कप्तानी दिए पनि उनले नयाँ भूमिकामा सकस महशुस गरिरहेको बुझिन्छ ।

स्पिन बलिङ अलराउण्डरका रुपमा जडेजाको प्रदर्शन कप्तान बनेपछि खस्किएको छ । उत्कृष्ट खेलाडी जडेजाले अहिले आफूसँगै टिमलाई पनि राम्रो गति दिन सकेका छैनन् । उनले ८ खेलमा ११२ रन र ५ विकेट लिएका छन् । अलराउन्डर जडेजाले सोचेअनुरुप प्रदर्शन गर्न नसक्नुले टिमलाई अतिरिक्त भार थपिएको छ । सुरुवाती पाँच खेल हारेको चेन्नाईले ८ मध्ये २ खेलमात्र जितेको छ ।

आधा प्रतियोगिता सकिँदा चेन्नाइलाई भने केही अद्भुत प्रदर्शनको आवश्यकता छ ।

ऋसब पन्त (दिल्ली क्यापिटल्स)

यस सिजन दिल्ली यस्तो टिम हो जसको कप्तान र समग्र टिम दुवैको प्रदर्शन सन्तोषजनक छैन । दिल्लीले ७ खेलमा ३ जितसहित सातौं स्थानमा छ ।

ऋसबले हालसम्म एउटा अर्धशतकसमेत बनाउन सकेका छैनन् । ६ खेलमा १७७ रन बनाएका उनको प्रदर्शन दिल्लीका लागि दुःखद पक्ष हो ।

दिल्लीका केही खेलाडीलाई कोभिडको संक्रमण देखिनु पनि अर्को नराम्रो पक्ष हो ।

दिल्लीले यो सिजनमा पञ्जावसँग सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको थियो । त्यस खेलमा उसले पञ्जावलाई ५४ बल अगावै ९ विकेटले पराजित गरेको थियो । त्यसपछिको अर्को खेलमा बैंग्लोरसँग १५ रनले पराजित हुनु उसको अनियमित प्रदर्शनको संकेत हो ।

ऋसबको कमजोर प्रदर्शन राजस्थान रोयल्ससँगको खेलमा पनि देखियो । त्यस खेलमा उनको कप्तानीमा पनि आलोचना भइरहेको छ । अभद्र व्यवहारका कारण उनले शतप्रतिशत म्याच फी गुमाउनुपरेको थियो ।

२४ वर्षीय कप्तानका लागि आफू र टिमलाई लयमा फर्काउन निकै कष्टकर देखिएको छ । उनी राम्रो ब्याटर हुन्, उनको क्षमतामा भने कुनै शंका छैन । उनले मानसिक रुपमा बलियो हुँदै कप्तान र ब्याटर दुवैको भूमिकामा खरो उत्रिनु जरुरी छ ।

केन विलियमसन (सनराइजर्स हैदरावाद)

व्यक्तिगत रुपमा सन्तुष्ट हुने प्रदर्शन नरहे पनि कप्तान र टोली नेताको रुपमा सनराइजर्सका कप्तान केन विलियमसनको चौतर्फी प्रशंसा भइरहेको छ । सुरुवाती दुई खेल हारेको हैदराबाद त्यसयता लगातार पाँच जितसहित अंकतालिकाको दोस्रो स्थानमा छ ।

केनले ब्याटिङमा खासै राम्रो गर्न नसक्दा पनि उनको टिमको अन्य खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरिदिँदा हैदरवाद आफ्नो लयमा यथावत छ ।

मुख्यतः बलिङपक्ष निकै बलियो देखिएको छ । युवा तीव्र बलर उर्मान मलिकले आईपीएल हेर्ने सबैको ध्यान आकर्षित गरेका छन् । केनले सात खेलमा १ अर्धसतकसहित १४३ रन बनाएका छन् ।

२०१६ को च्याम्पियन टिम हैदरवादले यस वर्ष पनि त्यहि लय कायम राखेमा उपाधी दाबेदार बन्न सक्ने प्रबल सम्भावना छ ।

(टाइम्स अफ इन्डियाको सहयोगमा)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?