+
+

युद्धमा आफ्नै राष्ट्रको विपक्षमा उभिएका रूसीहरू

आन्द्रेई कोलेन्स्निकोभ आन्द्रेई कोलेन्स्निकोभ
२०७९ वैशाख १३ गते १४:५०

यही अप्रिल महिनाको सुरुवाततिर ७५ वर्षीय भ्लादिमिर झिरिनोभस्कीको शव भएको बाकस मस्कोको केन्द्रभागको ‘हल अफ कोलम्स’ मा जनसाधारणका तर्फबाट श्रद्धासम्मान व्यक्त गर्न राखिएको थियो । उनी रूसी राज्यका लागि विगत दुई दशकदेखि उग्रराष्ट्रवाद र लोकरिझ्याइँका पेचिला आधारस्तम्भ थिए ।

६९ वर्षअघि सोभियत तानाशाह स्टालिनलाई अन्तिम बिदाइ गर्न राज्यले यहाँ लाइन लगाएको थियो, जसको अन्तिम एक लहरका मानिस विशाल भीडले कुल्चिएर मारिएका थिए । झिरिनोभस्कीलाई हेर्र्न चाहने त्यत्रो भीडभाड थिएन । तर, उनको अन्त्येष्टिले सोभियत कालको भन्दा एक भिन्नै क्षणको सम्झना गराउँथ्यो ।

झिरिनोभस्कीको शव ‘औरूस लफेट’ मा राखेर ‘हल अफ कोलम्स’ मा ल्याइएको थियो । ‘औरूस लफेट’ रूसको अतिप्रशंसित कार निर्माता औरूस मोटर्सले बनाएको पछाडि सीमित खुला भाग हुने कारको एक संस्करण हो । रूसमा ‘लफेट’ को अर्थ– अन्त्येष्टिको शववाहन हुन्छ ।

म जस्ता सन् १९८० को दशकलाई सम्झना गर्न सक्ने उमेरमा पुगेका रूसीहरूको लागि कारको नामले एक गहिरो हास्यपरक मजाक उत्पन्न गर्दछ । जब बुढा सोभियत नेताहरू लियोनिद ब्रेझनेभ, युरी आन्द्रोपोभ र कोस्टान्टिन चेर्नेन्को छोटो उत्तराधिकारमा छिटोछिटो बितेका थिए– यसलाई ‘लफेट दौड’ भनिन्थ्यो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको अन्तरंग वृत्तले अब फेरि अर्को ‘लफेट दौड’ सामना गर्न लाग्या त हैन ? निश्चय नै क्रेमलिनका व्यक्तित्वहरू अन्तिम सोभियतकालका उनीहरूका समकक्षीहरू झैं समान उमेरका छन् ।

पुटिन आउने अक्टोबरमा ७० वर्षमा पुग्नेछन् । उनको सुरक्षा परिषदका सेक्रेटरी निकोलाई पेत्रुशेभ र एफएसबीका प्रमुख अलेक्जेन्डर ब्रोतनिकोभ अहिल्यै ७० पुगिसके । पुटिनका विदेशमन्त्री सेर्गेइ लाभारोभ ७२ वर्षका छन् ।

ब्रेझनेभकालीन पोलिटब्यूरोका बुढाहरूले अफगानिस्तानमा आक्रमण गरी रूसी साम्राज्यको नैतिक जगलाई भत्काउने निर्णय लिए जस्तै अहिलेको वृद्धतन्त्रले युक्रेनमाथि युद्ध गर्ने निर्णय गरेर रूस र विशेषतः रूसी युवाहरूका लागि छिट्टै एक विपत्ति ल्याउँदैछ ।

अहिलेका लागि पुटिन शासनको पक्षमा रूसी जनमत छ । तर, जनतालाई भ्रमित पार्दापार्दै अन्ततः रूसी राज्य आफैं अरू राष्ट्रमाथि रूसी सर्वोच्चता लाद्ने सोचमा आधारित स्वावलम्बनवादी, स्व–अगलाववादी, विस्तारवादी दुष्ट राज्यमा परिणत हुन सक्दछ । पुटिनले भन्ने गरेको यो ‘विशेष सैन्य परिचालन’ ले दीर्घ वा मध्यकालीन तबरले रूसका आर्थिक, राजनीतिक, नैतिक सबै आधारलाई कमजोर बनाउला जस्तो देखिन्छ ।

पुटिन शासन रूसी जनताप्रति युक्रेनी समकक्षीजस्तै बेपरवाह देखिन्छन् । रूसमा अहिले फरक तरिकाले सोच्ने मानिसमाथि जुन प्रकारले सार्वजनिक तथा प्रहरी दबाव बढाइँदैछ, स्वतन्त्र सञ्चारमाध्यम तथा अनुसन्धान संस्थाहरू बन्द तथा कडा नियमन गरिंदैछ, राष्ट्रवादको ‘मास हिष्टेरिया’ मा बग्न असहमत हुनेहरूलाई सताउने वा असुरक्षित अनुभूति गराउने गरिंदैछ, त्यो त्यसैको प्रमाण हो ।

दोष कसको हो ? भन्ने प्रश्नको सहज उत्तर अमेरिका र युरोप हुनेछ । अहिले युक्रेनले बाँकी विश्वसँगै यसको दुष्परिणाम भोग्दैछ तर दीर्घकालमा यो रूसी जनताका लागि समेत ठूलो बर्बादी बन्न सक्दछ ।

पुटिनका प्रोपोगाण्डा संयन्त्रहरू खुलेआम यो भन्छन् कि उनीहरू युक्रेनमा विनाजीकरण गर्दैछन्, प्रकारान्तरले त्यो वि–युक्रेनीकरण हो । युक्रेनीहरूलाई क्रेमलिनले दमन गर्न मिल्ने परिचयहीन एक समरूप मानव आकृतिका रूपमा चित्रण गरिंदैछ ।

तर, युक्रेनीहरूलाई मात्र हैन, रूसीहरूलाई पनि कुनै विचार नभएका, आफ्ना नेतालाई पछ्याउने र अन्ध समर्थन गर्ने जनताका रूपमा सोचिंदैछ । त्यसो गर्न नमान्दा उनीहरूले प्रशासनिक तथा आपराधिक दमन र सामाजिक बहिष्करण सामना गर्नुपर्ने हुन्छ ।

रूसी सेनामा भर्ती हुन चाहने समर्पित सैन्य समूह मात्र हैन, दशौं हजार युवा अनिवार्य राष्ट्रिय सेवा अन्तर्गतसमेत काम गरिरहेका छन् । तिनीहरू तोपका चराजस्तै भएका छन्, मर्न पठाएजस्तो भइरहेको छ । पुटिनका मूर्ख विचारहरूको लागि रूसी किशोर–किशोरीले आफ्नो जीवनको मूल्य चुकाउनु परेको छ ।

विगत केही हप्ताका आफ्ना केही भाषणमा पुटिनले ‘राष्ट्रिय गद्दार’ र ‘विदेशीका टट्टु’ विरुद्ध खुल्ला प्रहार गर्दै त्यस्ता मानिसले राष्ट्रिय एकतालाई नजरअन्दाज गरेको बताए । यस्ता कुतत्वलाई निर्मूल पार्न ‘समाजको स्व–शुद्धीकरण’ गर्नुपर्ने तर्क गरे । भाषणको लगत्तै रूसीहरूबाट यसको तीव्र निन्दा भयो । विद्यार्थीले आफ्ना साथी र शिक्षकहरूलाई फोन गर्दै त्यसको समाचार दिए ।

रूसी राष्ट्रपतिले आफू विरुद्धका आलोचनाप्रति बर्बरतापूर्ण कार्यलाई प्रोत्साहित गरे । अलेक्सेइ भेनेडिटकोचको एक स्वतन्त्र रेडियो स्टेशन ‘इगो अफ मस्को’ पुटिन सरकारद्वारा बन्द गराइयो ।

गत वर्ष नोबेल शान्ति पुरस्कार जितेको नोभाया गजेताका प्रधान सम्पादक दिमित्री मुरातोभलाई मस्को रेलभित्र विषालु रसायन मिसाइएको रातो रंगले एक व्यक्तिले आक्रमण गर्‍यो । पुटिनको स्व–शुद्धीकरण आह्वानपछि रूसीहरू एकअर्को विरुद्ध जाइलाग्न थाले । एकअर्कालाई निन्दा र भत्र्सना गर्न थाले ।

पुटिनले राष्ट्रलाई विभाजित गर्दिए । रूसी नेताहरूका समर्थक र विरोधी दुवै अझ उग्र भए । निःसन्देह जो युक्रेन युद्धको विरोध गर्दैछन्, ती पुटिनका आलोचक र युवाहरू छन् । केही सेनाले युक्रेन युद्ध लड्न अस्वीकार गरेका छन् । युद्धमा मारिएकाहरूका आफन्त पुटिनसँग क्रुद्ध छन् । युवा विश्वविद्यालय र जागिरबाट बर्खास्तीका बाबजुद युद्ध विरोधी प्रदर्शनमा सडकमा उत्रिएका छन् ।

यति हुँदाहुँदै पनि अझै रूसीहरूको प्रष्ट बहुमत पुटिनकै वरिपरि छ । गत वर्ष गरिएको एक स्वतन्त्र मत सर्वेक्षण अनुसार अधिकांश रूसी युद्धसँग डराएका थिए । यस्तो होला भनेर उनीहरूले चिताएकै थिएनन् । तर, अहिले विस्तारै रूसी सर्वसाधारणहरू युद्धको मूडमा देखिन थालेका छन् ।

कुनै एउटा ठिङ्ग नेता भएको र स्वतन्त्र सञ्चारमाध्यम नभएको देशमा मानिसको अवधारणा बुझ्न निःसन्देह गाह्रो हुन्छ । तर, एउटा कुरा भने प्रष्टै छ– रूसीहरू आफूलाई चारैतिरबाट घेराबन्दी गर्न थालिएको महसुस गर्दैछन् । कतिपय त राष्ट्रपति पुटिनझैं क्रोधित र आक्रोशित हुँदैछन् । एक स्वतन्त्र संस्था लेभडा सेन्टरले भर्खरै गरेको एक मत सर्वेक्षणको तथ्यांकलाई एकक्षण विचार गरौं ।

सर्वेक्षणको नतिजाले भन्छ– ८१ प्रतिशत उत्तरदाताले यो विशेष सैन्य कारबाहीलाई समर्थन गर्दछन् । त्यसमध्ये ५३ प्रतिशतले पूर्ण र २८ प्रतिशतले आंशिक समर्थन गर्दछन् । अर्को एक सर्वेक्षण अनुसार ५१ प्रतिशत उत्तरदाता रूसी हुनुमा गौरव गर्दछन् भने जो यो युद्धलाई समर्थन गर्दैनन् तीमध्ये अधिकांश युुवा छन् । उनीहरूमा चिन्ता, डर, उद्विग्नता र स्तब्धता छ ।

ठीक यसैगरी, लेभडा सेन्टरकै अर्को तथ्यांक अनुसार मार्चमा पुटिनको स्वीकार्यता गत महिनामा भन्दा १२ प्रतिशतले वृद्धि भई ८३ प्रतिशत पुगेको छ । सन् १९१४ को क्रिमिया विलयनको बेला यस्तै गरी जनसमर्थन बढेको थियो, जो पछि घटेको थियो ।

रूसीहरू आफूलाई चारैतिरबाट घेराबन्दी गर्न थालिएको महसुस गर्दैछन् । कतिपय त राष्ट्रपति पुटिनझैं क्रोधित र आक्रोशित हुँदैछन् ।

युक्रेनमाथिको युद्धभन्दा उल्टो क्रिमियाको विलयलाई क्रेमलिनले भनेजस्तै रूसको पुनः एकीकरण मानिन्थ्यो र त्यो काम विना ठूलो रक्तपात भएको थियो । आज अधिकांश रूसीको धारणा युद्ध आक्रामकता हो भन्ने छ ।

पुटिन अहिले किनारामा परेका छन्, तर उनी मात्र हैन रूसी राष्ट्र नै किनारामा परेको छ । रूसीहरू ‘स्टकहोल्म सिन्ड्रम’ को एक सामूहिक संस्करण भोग्दैछन् । आफैंलाई कैदी बनाउनेप्रति आफैं सहानुभूतिशील हुँदैछन् र पीडित भएका एकअर्कालाई सम्झाई–बुझाई गर्दैछन् । यसबीच अधिकांश रूसी राजनीतिज्ञ आफैं क्रेमलिनको धारणासँग गाँसिएजस्तो ठान्दछन् र अब के गर्ने भन्ने प्रश्नमा विभाजित हुन पुग्दछन् ।

केही जस्तो कि पुटिनका मुख्य वार्ताकार भ्लादिमिर मेदिन्स्की र क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने कि उनीहरू शान्ति सम्झौताका पक्षमा छन् । अर्कोतिर चेचेन नेता रमजान कादिरोभजस्ता पैरवी गर्छन् कि उनी यसको अन्त्य भएको हेर्न चाहन्छन्, तर कस्तो अन्त्य ? र, कुनै प्रकारको वार्तालाई धोका सम्झिन्छन् । समाजमा यस्ता दृष्टिकोणको व्यापक प्रतिबिम्ब देखिन्छ ।

कसैका लागि जितको अर्थ शान्ति सम्झौतामार्फत रूसले थप महत्वपूर्ण भूभाग प्राप्त गर्नु हो भने अर्को खालेका लागि जित भनेको पूरै युक्रेनलाई विजय गर्नु हो । यसको अर्थ निःसन्देह युद्धको निरन्तरता हो ।

देशभक्तिको नशाले चूर भएका पुटिनका समर्थकहरू युद्धको आलोचना गर्ने जोकसैलाई आक्रमण गर्छन् । उनीहरूको दाबी छ कि युद्धको विरुद्धमा किन प्रदर्शन गरिएका हुन्, बुझिनसक्नु छ ।

लेभडा सेन्टरकै अर्को एक सर्वेक्षणमा ३२ प्रतिशत उत्तरदाता ठान्दछन्– युद्ध विरोधी प्रदर्शनमा भाग लिइरहेकालाई कसैले त्यसो गर्न पैसा दिएको हुनुपर्दछ । तर कसैले यो भन्दैन कि आफ्नो स्वतन्त्रता र जीविकालाई जोखिममा हालेर युद्ध र नरसंहारको विरोधमा सडकमा आउने हजारौं मानिसलाई कसले पैसा भुक्तान गरिरहेको छ ? तर, यस्ता अतार्किक कुरा कुनै नयाँ भने हैनन् । रूसमा भर्खरै भएका विपक्षीका राजनीतिक प्रदर्शनहरूबारे पनि यसै भनिएको थियो ।

रूसीहरूका लागि ‘फाँसीवाद’ लामो समयदेखि खराबीको लेवल लगाउने सुविधाजनक शब्द हो । सोभियत शासन अवधिमै ‘फाँसीवादी र प्रतिआक्रमणकारी तत्वले जर्मनीदेखि अमेरिकासम्म विश्वभरि टाउको उठाउन खोज्दैछन्’ भन्नु सामान्य कुरा थियो । कहिलेकाहीं झनै कडा शब्द ‘नाजीहरू’ प्रयोग गरिन्थ्यो ।

सोभियत प्रोपोगाण्डामा यो शब्द पहिलोपटक इजरायलको सन्दर्भमा प्रयोग गरिएको थियो । सन् १९६७ को ६ दिने युद्धपछि जब सोभियत संघले इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्यो, इजरायललाई नाजीहरू भन्न थालियो ।

पुटिनलाई ‘नाजीको भूत’ ले रूसी राष्ट्रलाई ‘युक्रेनलाई बाँच्ने अधिकार छैन’ भन्ने सैद्धान्तीकरण गर्ने बाटो उपलब्ध गराउँछ । पुटिनको शासनलाई वैधानिकीकरण गर्न दोस्रो विश्वयुद्धको इतिहास आवश्यक पर्छ, जसलाई रूसीहरू ‘महान् देशभक्तिपूर्ण युद्ध’ भन्दछन् । तर, रूसीहरूले यो बुझ्न जरूरी छ कि यसो गरेर उनी उत्तर सोभियतकालीन राज्यको जगलाई ध्वस्त बनाउँदैछन् ।

युक्रेनीहरूको र बाँकी विश्वको आँखामा पनि रूसीहरू यतिखेर फासिष्ट जस्तो व्यवहार गर्दैछन् । आफ्नो क्रूर सैन्यवादलाई पुष्टि गर्न रूसीहरूले हिटलरसँग लडेको आफ्नो देशको अनुभवलाई पटक्कै उपयोग गर्न सक्ने छैनन् । यसको ठीक विपरीत, दोस्रो विश्वयुद्धपछि रूसीहरू आफ्नो छवि जर्मनहरूको जस्तो बनाइरहेका छन् । रूस यतिखेर महान् देशभक्तिपूर्ण युद्धको विजेता पक्षमा छैन । इतिहासको सही पक्षमा छैन ।

अझ गहिरो कुरा– रूसीहरू यो बुझ्न थालेका छन् कि यसबाट भाग्न पनि असम्भव छ । तर, रूसीहरूको ठूलो जनसंख्याले अझै यो कुरा महसुस गर्न सकेन ।सन् १९४५ को मे ९ मा दोस्रो विश्वयुद्धमा सोभियत विजय हासिल भएको थियो । युद्ध अन्त्यको सम्झनामा मे ९ अझै पनि रूसमा सबैभन्दा महत्वपूर्ण सार्वजनिक विदाको दिन मानिन्छ ।

कुनै शंका छैन– पुटिन मे ९ सम्म युक्रेन विजय गरी विजय दिवसको अपरिमित सादृश्यता कायम गर्न चाहन्छन् । तर त्यसका लागि पुटिनले सोभियत विजय जस्तै आफ्नै विजयलाई व्यक्त गर्ने शब्द युक्रेन युद्धबाट प्राप्त गर्नुपर्नेछ । अनि मात्र रूसीहरू यो सन् १९४५ को सादृश्य विजय हो भनेर विश्वस्त होलान् । तर, रूसीहरूले यो अगाडि नै देखिसके कि यसपटक रूस हिटलरको पराजयसँग समकक्षता निर्धारण गर्दैछ ।

यथार्थमा अधिकांश मान्छेमा पासोमा फसेको अनुभूति छ । पश्चिमाहरू रूसीप्रति झनै शत्रुतापूर्ण भएका छन् तर रूसमा उनीहरूका लागि बाँकी केही छैन । आफ्नो ख्यातिनाम सेनाको सर्वोच्च कमाण्डरका रूपमा रूसी पुटिनको समर्थन गर्छन् तर गहिराइमा गएर हेर्दा उनीहरू यो बुझ्न थालेका छन् कि राष्ट्रपतिले उनीहरूलाई एउटा यस्तो ठाउँमा पुर्‍याइदिएको छ, जहाँबाट उम्किन असम्भव छ ।

रूसीहरूका लागि यो एउटा पुरानो अनुभूति हो । सन् १८६३ तिरको कुरा हो प्रतिभाशाली क्रान्तिकारी चिन्तक अलेक्जेन्डर हर्जनले रूसी तनावलाई यसरी भनेका थिए– रूसीहरूको अडान एकदमै कठिन हुँदै गइरहेको छ । उनले इटालीबाट लेखेका थिए– पश्चिममा उनी झनै परदेशी अनुभूति गर्दछन् तर, देशमा जे भइरहेको छ, त्यो कामप्रतिको घृणा झन्झन् गहिरो हुँदै जान्छ ।

ठीक यतिखेर घृणा खुल्लाभन्दा बढी गुप्त छ तर, रूसीहरू आफैं यो यथार्थ स्वीकार गर्न सक्दैनन् । अन्तसंस्करण, आत्म–सजकता र पेशा– यी चिज भएका वा हुनसक्ने थुप्रै रूसीहरू आफ्नो खुट्टामा विश्वास गर्दै देश छोडेर हिंडेका छन् ।

भन्नलाई ती अस्थायी हो, युद्धपछि फेरि रूस फर्किने हो, विदेशमै स्थायी बसोबास गर्ने मनसाय छैन, युद्ध छल्न मात्र हो भन्छन् । तसर्थ कतिले रूस छाडेका हुन् ठ्याक्कै संख्यामा भन्न नसकिएला । यसरी देश छोड्न प्रेरित गर्ने मुख्य कारण उत्पीडनको डर कम र शासनको घृणित रूप बढी जिम्मेवार छ ।

परिणामस्वरूप रूसको पेशागत वर्ग विक्षिप्त जस्तो भएको छ । आधुनिक विविधीकृत अर्थतन्त्रको चाहना त्यसै अलपत्र परेको छ । यदि देश छोड्ने यो प्रवृत्ति लामो समयसम्म कायम रह्यो भने देशको मानवीय पुँजीमा आधारभूत क्षति पुग्नेछ । देशमा बाँकी बचेको जनसंख्या पश्चिमी उदार विचारधारा र मूल्यमान्यताप्रति अझ कम खुल्ला र सहिष्णु हुनेछ ।

सामुन्ने आउन लागेको आर्थिक विपत्ति सामना गर्न राज्यले शासनले भरोसा गर्न सक्ने रूसीहरूलाई नगद र अन्य प्रोत्साहनहरू उपलब्ध गराउनुपर्ने लक्ष्यतर्फ प्रयास बढाउनुपर्ने देखिन्छ । यहाँ त्यस्तो व्यापक जनसमुदाय छ जसको निष्ठा राज्य–आश्रित क्षेत्रहरूको तलब र सामाजिक भुक्तानीले खरिद गर्नुपर्ने हुन्छ र यसका लागि लाइनमा बस्न प्रोपोगाण्डा पिलाउँदै गर्नुपर्ने हुन्छ ।

अहिले आर्थिक प्रतिबन्ध र व्यवधानहरूको बढ्दो प्रभावले यस्ता परियोजनाहरू झनै महँगो भएका छन् । यस्ता मानिसलाई सहयोग गर्न चाहिने स्रोतहरू सुक्न थालेका छन् । विशेषतः रूसले तेल र ग्याँस बेच्ने क्षमता समेत गुमायो भने यो कुरा व्यवहारमै साँचो सावित हुनेछ ।

युद्धको प्रभाव लामो समयसम्म सञ्चित हुँदै जाँदा पुटिनप्रतिको जनविश्वास समाप्त हुन सक्दछ । सैन्य अभियान र यससँग जोडिएका अपार प्रोपोगाण्डा संयन्त्रहरू पूर्ण क्षमतास्तरमा प्रयोग हुँदै जाँदा सामाजिक सहकार्यहरू टुट्न थाल्नेछन् र अर्थतन्त्रको दिगोपनलाई जोगाउने परम्परागत तत्वहरूले काम गर्न छोड्नेछन् । तर, अहिलेसम्म चाहिं रूसीहरू आफ्ना शत्रुप्रति असन्तुष्टि व्यक्त गर्ने कार्यबाटै सन्तुष्ट छन् ।

दोष कसको हो ? भन्ने प्रश्नको सहज उत्तर अमेरिका र युरोप हुनेछ । अहिले युक्रेनले बाँकी विश्वसँगै यसको दुष्परिणाम भोग्दैछ तर दीर्घकालमा यो रूसी जनताका लागि समेत ठूलो बर्बादी बन्न सक्दछ ।

विश्व संस्कृतिका लागि यति धेरै योगदान गरेको राष्ट्र, जसले यति धेरै महान् उपन्यासकार, विचारक र तीन जना नोबल शान्ति पुरस्कार विजेता जन्मायो, अहिले पनि अझै लामो समयसम्म पुटिनको साथमा हुन सक्नेछ । सुन्दा सामान्यजस्तो लाग्ने पश्चिमले बुझ्नुपर्ने कुरा के भने पुटिनको प्रणाली र रूसी राष्ट्र एउटै र उही हैन ।

अन्यथा यो देशले विश्वबाट पाखा पारेर शत्रुतापूर्ण घेराबन्दी गरेको रूपमा लिइरहनेछ । तर, अन्ततः रूसीहरूले पनि आफैं आफ्ना कर्महरूद्वारा यो सिद्ध गर्नुपर्दछ कि राष्ट्र पुटिन र पुटिनले खनेको खाडलभन्दा धेरै ठूलो चिज हो ।

(भावानुवादः फरेन अफेयर्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?