+
+

नेपाल बास्केटबल लिगमाथि संघको हस्तक्षेप, अनुमति बिना अन्य लिग गर्न नदिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते १६:०५

१३ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) झण्डै तीन वर्ष निष्कृय रहँदा नेपाल बास्केटबल लिग (एनबीएल) आयोजना गर्दै निजी संस्था प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले खेलाडीलाई व्यस्त राखेको थियो ।

पीडीसीएनले दुई पटक पुरुष र एक पटक महिलाको लिग आयोजना गर्‍यो । पुरुष प्रतियोगिता नेपालमै पहिलोपल्ट होम एण्ड अवे आधारमा भएको थियो । तेस्रो पटक एनबीएल आयोजना गर्ने तयारीमा रहेको आयोजकलाई नेबाले मान्यता नदिने संकेत गरेको छ ।

यस पटक नेपाल बास्केटबल लिग प्राली नामबाट प्रतियोगिता आयोजनाको तयारी भइरहेको थियो । आयोजकले पुरुषको जेठ ७ र महिलाको जेठ १८ गतेदेखि प्रतियोगिता आयोजना गर्ने घोषणा गरिसकेका थिए ।

नेपाल बास्केटबल लिग प्रालीले स्वीकृतिका लागि पत्राचारसमेत गरेको अवस्थामा संघले वेवास्ता गर्दै आफ्नो अनुमति बिना अन्य प्रतियोगिता गर्न नदिने जनाएको छ ।

गत पुसमा संघले आफै फ्रेन्चाइज लिग गर्ने गरी नेशनल बास्केटबल लिग (एनबीएल) घोषणा गरेको थियो । नयाँ वर्षको वैशाखमा उक्त लिग गर्ने संघले जनाएको थियो । तर, अहिलेसम्म सो प्रतियोगिताको मिति निर्धारण गरिएको छैन ।

नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले मंगलबार विज्ञप्ती जारी गर्दै संघले आफ्नो अनुमतिबिना खुल्लास्तरको बास्केटबल प्रतियोगिता गर्न नदिने जनाएका छन् ।

जेठमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भएकोले पनि तत्काल नेबाको लिग र अर्को लिग दुवै हुने सम्भावना कम छ ।

तर, बास्केटबलको विकासको लागि भन्दै आयोजना हुन लागेको प्रतियोगिताले नेबाबाट अनुमति नपाउँदा यसले अन्ततः खेल र खेलाडीलाई नै हानी हुने देखिन्छ ।

नेपाल बास्केटबल प्रालीले नवौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै आफूहरु प्रतियोगिता सार्न तयार रहेको जनाएको छ । तर, उनीहरुले नेबाबाट यसका लागि स्वीकृति र सहयोगको अपेक्षा गरेका छन् ।

यसअघि नेपाल बास्केटबल लिगको लागि आयोजकले नेबासँग दुई वर्षको सम्झौता गरेको थियो । पूर्वअध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएपछि अहिले भीमसिंह गुरुङ कार्यवाहक अध्यक्ष छन् । नेबाले लिगका लागि सम्झौता नवीकरण गरेको छैन ।

बरु नेबाले आफ्नो अनुमिति बिना कुनै बास्केटबल गतिविधिलाई मान्यता नदिने जनाएको छ । कार्यवाहक अध्यक्ष गुरुङले नेपाल बास्केटबल संघको सरोकारवालाहरुको केही जिज्ञासाको जवाफमा जारी गरेको विज्ञप्तीमा नेबाले आफ्नो अनुमतिबिना कुनै पनि ढाँचामा खुला स्तरका प्रतियोगिता गर्न नदिने बताएका छन् ।

‘केही आयोजकले नेबाको स्वीकृति बिना खुल्ला स्तरको प्रतियोगिता गर्न खोजेको सुनिएको छ र यसको अर्थ नेबाको जिम्मेवारी र आधिकारिकतासँगै यसको भुमिकालाई कमजोर बनाउन खोजिएको छ । त्यसैले यस्ता प्रतियोगिता आयोजना गर्ने कुनै पनि संस्थाले राष्ट्रिय खेलाडी, प्रशिक्षक, प्राविधिक अधिकारी (रेफ्रीरटेबल अफिसियल), उपकरण आदि प्रयोग गर्न नेबाको अख्तियारी खोज्नुपर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘सबै टोलीहरू (क्लब, संस्थाहरूको प्रतिनिधित्व गर्ने टोली)ले त्यस्ता कार्यक्रमहरूको आयोजकहरूबाट नेबा सम्बद्धता र अधिकार लिनुपर्छ । नेबाले आफ्ना खेलाडीहरूलाई नेबाको अनुमति बिना त्यस्ता प्रतियोगिताहरूमा भाग लिन अनुमति दिँदैन ।’

नेबाले नवौं राष्ट्रिय खेलकुदले पनि खेलाडीहरुलाई कुनै पनि प्रतियोगितामा सहभागी हुन अनुमति नदिने जनाएको छ । ‘आसन्न नवौं राष्ट्रिय खेलकुद अघि कुनै पनि प्रकारका प्रतियोगितामा सहभागी हुन खेलाडीलाई अनुमति नदिने भएको छ । यसलाई मध्यनजर गर्दै नेबाको अनुमति बिना आयोजना हुने कुनै पनि प्रतियोगितामा सहभागी नहुन सबै क्लब, टोलीलाई अनुरोध गरिन्छ,’ वक्तव्यमा भनिएको छ ।

नेपाल बास्केटबल लिग (एनबीएल)को आयोजक अरुण कार्कीले राष्ट्रिय खेलकुद हुँदा प्रतियोगिता सार्न आफूहरु तयार रहेको बताए । तर नेबालाई पत्र पठाएर एउटा निश्चित मितिका लागि आग्रह गरेको र तोकिएको मितिमा गर्न तयार रहेको बताए । आफूहरु खेल र खेलाडीको विकासका लागि लचक रहेको बताए । तर नेबाले एउटा निश्चित मिति भने तोक्नुपर्ने उनको भनाई छ ।

नेबाले आफै फ्रेन्चाइज लिग गर्ने तयारी गरिरहँदा अर्को लिगलाई भने अनुमति दिन्न भन्नु दुई पक्षको इगोको कारण उत्पन्न नतिजा मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?