+
+

गण्डकीका आधाभन्दा बढी स्थानीय तहमा टिकेन गठबन्धन

प्रदेश ब्यूरो प्रदेश ब्यूरो
२०७९ वैशाख १३ गते १८:५४

१३ वैशाख, काठमाडौं । गण्डकी प्रदेशका आधाभन्दा कम स्थानीय तहमा मात्रै सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको शीर्ष नेताले गरेको तालेमलको निर्णय पनि पूर्ण रूपमा कार्यन्वयन हुन सकेन । वडास्तरमा सत्ता गठबन्धनकै दलले एक्लाएक्लै उम्मेदवारी दर्ता गरेका छन् ।

स्याङ्जाका ११ पालिकामध्ये ४ पालिकामा मात्रै गठबन्धन बन्यो भने मुस्ताङमा कतै पनि गठबन्धन कायम रहेन । त्यस्तै, तनहुँका १० मध्ये ३ पालिकामा मात्रै गठबन्धन भएको छ भने म्याग्दीका ६ मध्ये २ पालिकामा मात्रै गठबन्धन बनेको छ ।

कास्की

कास्कीमा पोखरा महानगरको प्रमुखबाहेक अन्य वडा तथा पालिकामा गठबन्धन भएन । ५ दलीय गठबन्धन भनिए पनि जनता समाजवादी पार्टी बाहिरिएको थियो । प्रमुखमा एकीकृत समाजवादीका धनराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दिएकी छन् । तर, बाँकी वडामा भने सबै दलले आ–आफ्नै उम्मेदवार उठाएका छन् । पोखरा महानगरपालिकामा ३३ वटा वडा छन् ।

कास्कीका रुपा, माछापुच्छ्रे, अन्नपूर्ण, मादी गाउँपालिकामा गठबन्धन भएन । पोखरा महानगरपालिका प्रमुखका लागि गठबन्धनबाट नेकपा एकीकृत समाजवादीबाट धनराज आचार्यले उम्मेदवारी दिएका छन् । उनको समर्थकमा नेपाली कांग्रेसका किशोरदत्त बराल र प्रस्तावकमा नेकपा माओवादीका बखानसिंह तमू छन् ।

पोखरामा कांग्रेसबाट ३ जनाले बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको विरोध गर्दै बागी उम्मेदवारी दिनेमा नन्दप्रसाद तिवारी, विमलबहादुर कार्की, ऋषि सापकोटा छन् ।

पोखराको उपप्रमुखमा कांग्रेसकी कोपिला रानाभाटले उम्मेदवारी दर्ता गरेकी छन् । उनको समर्थकमा माओवादीका विश्वप्रकाश लामिछाने र समर्थकमा नेपाली कांग्रेसकै किशोरदत्त बराल छन् ।

बागलुङ

बागलुङमा सबै पालिकामा गठबन्धन भएको छ । सोमबार सत्ता गठबन्धनले बागलुङका १० पालिकामध्ये बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिका गरी ५ पालिका प्रमुख नेपाली कांग्रेसले पाएको छ ।

माओवादी केन्द्रले ताराखोला गाउँपालिका, ढोरपाटन नगरपालिका गरी २ पालिका प्रमुख पाउने सहमति भएको थियो । राष्ट्रिय जनमोर्चाले बरेङ गाउँपालिका र जैमिनी नगरपालिका प्रमुख पाउने सहमति भएको थियो । नेकपा एकीकृत समाजवादीले तमानखोला गाउँपालिकाको उपप्रमुख पाउने गठबन्धनको सहमति भएको थियो ।

सोही सहमति अनुसार बागलुङ नगरपालिकामा नगरपालिकामा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ र उपप्रमुखमा माओवादी केन्द्रका राजु खड्काले उम्मेदवारी दिएका छन् ।

काठेखोला गाउँपालिकामा कांग्रेसका राजु थापा र उपाध्यक्षमा जनमोर्चाका तिलक थापाले उम्मेदवारी दिँदा कांग्रेसकै चित्रबहादुर कार्कीले उपाध्यक्षमा बागी उम्मेदवारी दिएका छन् ।
गलकोट नगरपालिका अध्यक्षमा निवर्तमान अध्यक्ष कांग्रेसका भरत शर्मा दोहोरिँदा उपप्रमुखमा माओवादीका फमलाल निउरेले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस नेतृ मञ्जु शर्माले उपाध्यक्षमा बागी उम्मेदवारी दिएकी छन् ।

ढोरपाटन नगरपालिकामा माओवादी केन्द्रका चन्द्र अर्यालले प्रमुखमा उम्मेदवारी दिँदा उपप्रमुखमा कांग्रेसका कल्याण कायतले उम्मेदवारी दर्ता गरेका छन् ।

ताराखोला गाउँपालिकामा माओवादी केन्द्रबाट धनबहादुर विक र उपाध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर रोकाले उम्मेदवारी दिएका छन् । निवर्तमान अध्यक्ष नेकपा माओवादीका प्रकाश घर्तीले बागी उम्मेदवारी दिएका छन् ।

तमानखोला गाउँपालिकामा नेपाली कांग्रेसका जोकलाल बुढाले अध्यक्ष र नेकपा एकीकृत समाजवादीका तारानाथ सिर्पालीले उम्मेदवारी दिएका छन् ।

निसीखोला गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका सूर्यमान घर्ती र उपाध्यक्षमा माओवादी केन्द्रका प्रेम घर्तीले उम्मेदवारी दर्ता गरे ।

बरेङ गाउँपालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण पौडेल र उपप्रमुखमा नेपाली कांग्रेसका दिलिप पुनले उम्मेदवारी घोषणा गरेका छन् ।

जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले उम्मेदवारी दिएका छन् भने उपप्रमुखमा नेपाली कांग्रेसका हरिहर शर्माले उम्मेदवारी दिएका छन् । उपप्रमुखमा भने जनमोर्चाकै रुद्रा क्षेत्रीले बागी उम्मेदवारी दिएकी छन् ।

नवलपरासी पूर्व

नवलपरासी पूर्वका ८ पालिकामध्ये ७ पालिकामामात्रै गठबन्धन दलले साझा उम्मेदवार मनोनयन गरेका छन् ।

नवलपरासीको कावासोती, देवचुली, बौदीकाली, गैंडाकोट, मध्यविन्दु, बुलिङटार र विनयी त्रिवेणीमा गठबन्धन भएको छ ।

तनहुँ

तनहुँका १० पालिकामध्ये ३ पालिकामा मात्रै गठबन्धन भएको छ । शुक्लागण्डकीमा कांग्रेस र माओवादी, घिरिङ गाउँपालिकामा र भिमाद नगरपालिमा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

शुक्लागण्डकी नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादी राजु विकले उम्मेदवारी दर्ता गरेका छन् ।

घिरिङ गाउँपालिकामा कांगेसबाट अध्यक्षमा गंगाराम कुमाल र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट पूर्णबहादुर थापाले मनोनयन दर्ता गरेका छन् ।

भिमाद नगरपालिकामा एकीकृत समाजवादीबाट काजीमान श्रेष्ठले प्रमुखमा र कांगेसबाट मिलन थापाले उम्मेदवारी दिएका छन् ।

पर्वत

पर्वतमा नेपाली कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । ७ पालिकामध्ये मोदी गाउँपालिका नेकपा माओवादी केन्द्रले लिने र बाँकी सबै पालिका कांग्रेसले लिने गरी गठबन्धन भएको थियो । महाशिलामा कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका छन् ।

मोदी गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा कांग्रेसका जीवन प्रसाइँको उम्मेदवारी दर्ता भएको छ ।

फलेवास नगरपालिका प्रमुखमा कांग्रेसका गंगाधर तिवारी, उपप्रमुखमा माओवादीका शोभा क्षेत्रीले उम्मेदवारी दर्ता गरेका छन् ।

जलजला गाउँपालिका अध्यक्षमा कांग्रेसका राजु आचार्य र उपाध्यक्षमा दीपक आचार्यले उम्मेदवारी दर्ता गरेका छन् ।

बिहादी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट प्रमुख प्रविण गुरुङ र उपाध्यक्षमा माओवादी केन्द्रका सविन गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।

महाशिला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोककुमार उचैं र उपाध्यक्षमा एकीकृत समाजवादीका विराज हमालले उम्मेदवारी दिएका छन् ।

कुश्मा नगरपालिकामा प्रमुखमा निवर्तमान मेयर रामचन्द्र जोशी र उपप्रमुखमा माओवादीका शंकर गिरीले उम्मेदवारी दिएका छन् ।

म्याग्दी

म्याग्दीका ६ स्थानीय तहमध्ये धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा गठबन्धन भएको छ ।

धवलागिरीमा एकीकृत समाजवादीलाई केही वडा दिने सहमति गर्दै अध्यक्षमा कांगेसका प्रेम पुन र उपाध्यक्षमा माओवादी केन्द्रका रेशम पुनले उम्मेदवारी दिएका छन् ।

अन्नपूर्ण गाउँपालिकामा माओवादीबाट जनप्रतिनिधिमा आकांक्षी टिम नै नेकपा एमालेमा प्रवेश गरेपछि गठबन्धन भएपनि दुवै पद नेपाली कांग्रेसले लिएको छ । अध्यक्षमा कांग्रेसका बलबहादुर तिलिजा, कांग्रेसबाटै ललिता तिलिजाले उम्मेदवारी दिएका छन् ।

बेनी नगरपालिकामा वडास्तरमा मात्रै माओवादी र कांग्रेसको तालमेल भएको छ ।

मुस्ताङ

मुस्ताङमा कतै गठबन्धनका दलहरू एक ठाउँमा रहन सकेनन् । सबै पालिकामा एक्लाएक्लै उम्मेदवारी दर्ता गराए पनि केही वडामा भने गठबन्धन साझा उम्मेदवारी दर्ता भएका छन् ।

लमजुङ

लमजुङ जिल्लामा भने ८ वटै पालिकामा सत्ता गठबन्धन भएको छ ।

स्याङ्जा

स्याङ्जाका ११ पालिकामध्ये ४ पालिकामा गठबन्धन भएको छ । हरिनाश गाउँपालिका, विरुवा गाउँपालिका, कालीगण्डकी गाउँपालिका र फेदीखोला गाउँपालिकामा गठबन्धन कायम नै छ । तर, कालीगण्डकीमा भने गठबन्धनमा जनमुक्ति पार्टीसमेत मिसिएको छ ।

कालीगण्डकी गाउँपालिका अध्यक्षमा कांग्रेसबाट माया राना र उपाध्यक्षमा जनमुक्ति पार्टीबाट बम लामिछानेले उम्मेदवारी दर्ता गरेका छन् ।

वालिङ नगरपालिकामा माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले तालमेल गरेका छन् । वालिङको मेयरमा माओवादीका नित्यनन्द तिवारी उपमेयरमा जसपाका कल्पना अर्यालले उम्मेदवारी दिएका छन् ।

विरुवा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका डोलराज पोखरेल र उपाध्यक्षमा माओवादीका थमन गुरुङले उम्मेदवारी दिएका छन् ।

हरिनाश गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका टोपबहादुर भुजेल र उपाध्यक्षमा माओवादी केन्द्रबाट मिथु लम्सालले उम्मेदवारी दिएका छन् ।

आँधीखोला गाउँपालिका अध्यक्षमा कांग्रेसबाट प्रेम पौडेल र उपाध्यक्षमा एकीकृत समाजवादीका रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् ।

फेदीखोला गाउँपालिका अध्यक्षमा कांग्रेसबाट लक्ष्मी बराल र उपाध्यक्षमा माओवादी केन्द्रका शिवप्रसाद पराजुलीको उम्मेदवारी परेको छ ।

चापाकोट नगरपालिका माओवादी र नेकपा एकीकृत समाजवादीले मात्रै गठबन्धन गरे । चापाकोटको मेयरमा माओवादीका मदन गोपाल र उपमेयरमा एकीकृत समाजवादीका राधाकुमारी डोटेलले उम्मेदवारी दर्ता गरेका छन् ।

गोरखा

गोरखाको कुनै पनि स्थानीय तहमा गठबन्धन भएन । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सबै स्थानीय तहमा छुट्टाछुट्टै उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । नेकपा एकीकृत समाजवादीले भने केही स्थानीय तहमा मात्र उम्मेदवारी दर्ता गराएको छ ।

नेकपा एमालेबाट गोरखा नगरपालिकाको मेयरमा केन्द्रीय सदस्य सम्झना देवकोटा र उपमेयरमा दिनेश तमुले उम्मेदवारी दिएका छन् । त्यस्तै नेपाली कांग्रेसबाट मेयरमा वर्तमान मेयर राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकर (सपना पुन) उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रबाट मेयरमा कृष्ण रानामगर र उपमेयरमा धना गुरुङ कोइराला उम्मेदवार बनेका छन् ।

जनता समाजवादी पार्टीबाट मेयरमा सञ्जु भट्ट नेपाली र उपमेयरमा नारायण खत्री उम्मेदवार बनेका छन् ।

पालुङटार नगरपालिकामा नेकपा एमालेबाट मेयरमा हरि भट्ट र उपमेयरमा पार्वती पाठक उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट वर्तमान मेयर दीपकबाबु कँडेल र उपमेयरमा चेतकुमारी श्रेष्ठ उम्मेदवार बनेका छन् ।

नेकपा माओवादी केन्द्रबाट मेयरमा विवश चिन्तन र उपमेयरमा बन्दना पाण्डे उम्मेदवार बनेका छन् । जनता समाजवादी पार्टीबाट मेयरमा प्रेमबहादुर गुरुङ र उपमेयरमा नारायणी अधिकारी उम्मेदवार बनेका छन् ।

जिल्लाका अरु ९ वटा गाउँपालिकामा पनि दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?