
१३ वैशाख, काठमाडौं । डडेलधुरामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रदेशसभा सदस्य कर्ण मल्ल पक्षको विवाद उत्कर्षमा पुगेको छ ।
नेपाली कांग्रेस, बीपीको नाममा नेकपा एमालेसँग तालेमल गरेको भन्दै देउवाले मल्ललाई पार्टीको साधारण सदस्यबाटै निष्कासन गरेका छन् । विधान विपरीत गतिविधि गरेको कारण कांग्रेसको सदस्य समेत नरहने गरी उनलाई निष्कासन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
मल्ल भने पार्टीले गरेको कारबाही आफ्नो जीवनमा अप्रत्यासित नभएको बताउँछन् ।
देउवालाई झस्काउने तालमेल
पार्टीभित्र चर्को विरोध हुँदा पनि गठबन्धन सरकारको प्रधानमन्त्री समेत रहेका देउवाले स्थानीय चुनावमा सत्तारुढ दलहरुसँग तालमेलको निर्णय गराएका थिए । तर उनकै जिल्लामा सत्तारुढ दलहरु एक ठाउँमा उभिन त सकेनन् नै, कांग्रेसको एउटा समूहले एमालेसँग तालमेल गर्यो । जसको नेतृत्व मल्ल स्वयंले गरेका थिए ।
नेताहरुका अनुसार मल्ल पक्षले सात पालिकामध्ये कम्तीमा एकको प्रमुख आफूहरुले पाउनुपर्ने माग राखेको थियो । तर संस्थापन पक्षले सुनुवाइ नगरेपछि एमालेसँग तालमेल गर्न पुग्यो । ‘जिल्ला अधिवेशन धाँधलीपूर्वक गरिएको थियो, यसले असन्तुष्टि बनाएकै थियो,’ शेखर कोइराला पक्षका पक्षीय एक नेता भन्छन्, ‘अहिले पनि कम्तीमा एक पालिकाको प्रमुख भएपनि दिनुस् भनेका थियौं । त्यसलाई नमान्न यो विद्रोह हुनपुग्यो ।’
मल्ल पक्षले दुई नगरपालिका र पाँच वटा गाउँपालिकामा एमालेसँग तालेमल गरेको छ । सहमति अनुसार कांग्रेस (बीपी)को चुनाव चिह्न करुवाबाट उम्मेदवारी दिएको मल्ल पक्षले तीन पालिकाको प्रमुखमा एमालेलाई सघाउने छ भने तीन पालिकामा एमालेले मल्ल पक्षको प्रमुखका उम्मेदवारलाई ।

कांग्रेस बीपी (मल्ल पक्ष) बाट टेकबहादुर खड्काले आलिताल गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका छन् । यहाँ कांग्रेसले बलबहादुर गुरुङलाई मेयरको उम्मेदवार बनाएको छ भने उपमेयरमा जला बोगटी उम्मेदवार बनेकी छन् ।
सदरमुकाममा समेत रहेको अमरगढी नगरपालिकामा मल्ल पक्षबाट हरिप्रसाद भट्टले प्रमुखमा उम्मेदवारी दिएका छन् भने उपमेयरमा एमालेबाट यज्ञराज अवस्थीले । अमरगढीमा कांग्रेसले डिल्लीराज जोशीलाई मेयर र पार्वती झुकाललाई उपमेयरको उम्मेदवार बनाएको छ ।
परशुराम नगरपालिकामा मेयरमा मल्ल पक्षले एमालेका केशव बोहरालाई सघाउने छ भने उपमेयरमा मल्ल पक्षबाट गोपा थापाले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट भने मेयरमा भरत जोशी र उप मेयरमा कलावती बोहरा उम्मेदवार छन् ।
अजयमेरु गाउँपालिकाको अध्यक्षमा एमालेका पदम पाल र उपाध्यक्षमा मल्ल पक्षका रामचन्द्र ऐर उम्मेदवार छन् । कांग्रेसबाट टेकराज पाण्डेयले अध्यक्ष र पूर्णिमा धामीले नेकपा विप्लवबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी छन् ।
नवदुर्गा गाउँपालिकाको अध्यक्षमा मल्ल पक्षबाट गोकुल शाही र उपाध्यक्षमा एमालेका वीरबहादुर विष्टले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला विष्ट उम्मेदवार बनेका छन् ।
प्रधानमन्त्री देउवाको गृह पालिका समेत रहेको गन्यापधुरामा पनि मल्ल पक्षले एमालेसँग तालमेल गरेको छ । मल्ल पक्षले अध्यक्षको उम्मेदवार लिएर एमालेलाई उपाध्यक्ष छोडेको छ । अध्यक्षमा सुरेन्द्र माली र उपाध्यक्षमा इन्द्र महरा उम्मेदवार बनेका छन् । कांग्रेसले इन्द्र कार्कीलाई अध्यक्ष र ज्ञानु सेटीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
भागेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका रामबहादुर शाही र उपाध्यक्षमा मल्ल पक्षका नरबहादुर ठकुरानीले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट अध्यक्षमा हेमराज चटौत र उपाध्यक्षको उम्मेदवार पुष्पा ठकुराठी बनेकी छन् ।
सभापति देउवाले निरंकुश व्यवहारले यो अवस्था आएको मल्ल पक्षका नेताहरु बताउँछन् । सभापति देउवा आफ्नै कार्यकर्तालाई रगतको आँशु पिलाएको भन्दै मल्ल पक्षीय जिल्ला नेता गुणाकर भट्ट भन्छन्, ‘हाम्रो सम्मानजनक उपस्थिति भए कतिपय ठाउँमा उम्मेदवारी फिर्ता लिनसक्छौं । हामीलाई पेलेर निरंकुश प्रवृत्ति देखाए उम्मेदवारी फिर्ता हुँदैन ।’
मल्ल समूह र एमालेको तालमेलले गठबन्धन गर्ने प्रयासमा त धक्का लाग्यो नै, नजिता पनि प्रतिकुल आउनसक्ने भएकाले देउवाले कारबाहीको कदम चालेका छन् । मल्ल पक्षको दाबी छ, आफ्नो समूहसँग एमालेले गरेको तालमेल भएका सबै स्थानमा चुनाव जित्छौं ।
लामो दोस्ती र दुस्मनीको श्रृङ्खला
डडेलधुराको राजनीतिमा देउवा र मल्लको सहकार्य र विवादको श्रृङ्खला लामै छ । अहिले कारबाहीको क्रममा त्यसको पटाक्षेप मात्र भएको हो ।
मल्लका अनुसार २०४७ सालमा बेलायतमा अध्ययन सकेर डडेलधुरा आएका देउवासँग उनको एउटा गाउँमा भेट भएको थियो, जतिबेला उनी नेविसंघको जिल्ला उपाध्यक्ष थिए । त्यहाँबाट सुरु भएको सहकार्य देउवा प्रधानमन्त्री हुँँदा सचिवालयमा बसेर काम गर्ने तहसम्म पुग्यो ।
२०५९ मा कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाएका बेला भने देउवाले महाधिवेशन प्रतिनिधि मल्ललाई कारबाही गराए । डेढ वर्षसम्म कायम रहेको मल्लमाथिको कारबाही कांग्रेस, प्रजातान्त्रिकले कांग्रेसमा एकता गर्नुअघि नै फिर्ता भयो । मल्ल फेरि देउवाको समूहमै सक्रिय भए ।
देउवाको साथ सहयोगमै मल्ल २०६७ मा कांग्रेस, डडेलधुराको सभापति पनि भए । डडेलधुरा कांग्रेसका नेताहरुका अनुसार देउवा र मल्लको विवाद २०७१ सालमा सुरु भयो, आरजु राणा देउवाले चाह अनुसार मनकुमार थापालाई महिला संघको जिल्ला अध्यक्ष बनाउन मल्ल सहमत भएनन् ।
डडेलधुराको राजनीतिमा आफूलाई अवरोध गर्न खोजेको ठानेपछि देउवाले १३औं महाधिवेशनमा मल्ललाई जिल्ला सभापतिमै रोक्न खोजेका थिए । देउवा समूहले अघि सारेका रघुराज भट्टलाई हराएर मल्ल सभापति मात्र चुनिएनन्, केन्द्रीय महाधिवेशनमा देउवा सभापति लड्दा प्रस्तावक नै बसे । तर दुई नेताको सम्बन्ध सुमधुर हुन सकेन ।
१४ औं महाधिवेशन झन बढ्यो । जिल्लाबाट पठाइएका नामहरु हटाएर केन्द्रबाट आफुखुसी क्रियाशील सदस्यता थपिएको भन्दै मल्ल पक्षधरले जिल्ला र केन्द्रीय कार्यालयमा अनसन बसेको थियो । तर निर्वाचन समितिले अधिवेशन बदर गर्ने उजुरीको पक्षमा निर्णय गरेन । मल्ल पक्षले अधिवेशन बहिस्कार गर्दा पार्टी संस्थापन पक्षले डडेलधुरामा ‘एकतर्फी’ जिल्ला अधिवेशन गर्दै भीमबहादुर साउदलाई अध्यक्ष चुन्यो ।
त्यसयता समानान्तर गतिविधि गर्दै आएका उनीमाथि मंगलबार भने थप कारबाही भएको छ ।
‘जहिले जहिले देउवा पार्टीको सभापति हुनुभएको छ, उहाँले मलाई निकाल्ने काम गर्नु भएको छ,’ मल्लले टेलिफोनमा भने, ‘कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा पनि जिल्ला अधिवेशन अघि निकाल्नुभएको थियो । अहिले झण्डै २० वर्षपछि निकाल्नुभएको छ ।’
प्रतिक्रिया 4