+
+
अन्तर्वार्ता :

मलाई प्रतिस्पर्धा हुन्छ जस्तै लागेको छैन : केशव स्थापित

अब नेपाली कांग्रेसले के भनेर भोट माग्ने ? फलानाका बुहारी भन्ने ? उहाँ फलानाको श्रीमती भन्ने बाहेक राजधानी र मुलुकमा योगदान के छ ? कांग्रेसको घोषणापत्र हेरेँ, बकबास ! धारे हात लगाएर केपी ओलीलाई सराप्ने बाहेक केही पनि नभएपछि भोट कसरी आउँछ ?

केशव स्थापित, मेयर उम्मेदवार, काठमाडौं केशव स्थापित, मेयर उम्मेदवार, काठमाडौं
२०७९ वैशाख १४ गते २०:२४

१४ वैशाख, काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले पूर्वमेयर केशव स्थापितलाई उम्मेदवार बनाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका उम्मेदवार सिर्जना सिंहविरुद्ध एमालेले ०५४ का मेयर स्थापितलाई उम्मेदवार बनाएको हो ।

एमालेले ०५४ र ०७४ को स्थानीय चुनाव जितिसकेको छ र यसपटक जितेमा ह्याट्रिक हुनेछ । मेयरका उम्मेदवार स्थापित गठबन्धनका उम्मेदवार आफ्नो प्रतिस्पर्धी नै नभएको बताउँछन् ।

मेयर जितेर राजधानी उपत्यकालाई देशकै सांस्कृतिक प्रतीकका रुपमा चिनाउन लागि पर्ने बताउने स्थापितसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंशः

०७४ को चुनावमा विद्यासुन्दर शाक्यलाई मेयर जिताउन कृष्णको भूमिकामा उत्रिएँ भन्नुभएको थियो । यसपटक आफैं फेरि किन मैदानमा ?

अघिल्लो चुनावमा मेयरको आकांक्षीमा मेरो पनि नाम थियो । तर पार्टीले सारथी जस्तो काम गर्नू भन्यो । पार्टी अनुशासनमा त बस्नैपर्‍यो । मैले सुने अनुसार त्यसबेला मेरो क्षमता नभएर होइन, निरन्तरता नरहेकाले सारथीको भूमिकामा रहनुपरेको हो ।

यो बीचमा टुटेको कडी जोडियो होला । त्यसैले पार्टीको लिडरसीपले अगाडि बढ्नुपर्छ भनेर प्रोत्साहित गरेकै हो । मेरो अलिअलि इच्छा पलाएको पनि हो । मेरो स्वभाव, क्षमता, कार्यशैली नै फर्स्ट पर्सन भए काम गर्ने खालको छ । किनभने मैल्े गरेको कल्पनालाई व्यवहारमा उतार्न फर्स्ट पर्सन भएरै काम गर्नुपर्छ ।

मेरो यस्तो स्वभाव ठीक हो कि बेठीक ! थाहा छैन । तर अहिलेसम्म निर्मित मेरो व्यक्तित्व यही हो ।

एमाले नेतृत्वले सबै हिसाबले जित्ने व्यक्तिलाई टिकट दिएको भनेको छ । तपाईं कसरी सबै हिसाबले जित्ने व्यक्ति पर्नुभयो त ?

नयाँ नयाँ विचार ल्याउने भएर होला । म सामाजिक विषय उठाउने गर्छु । घोषणा गरेपछि त्यो प्राप्तिका लागि लागेको लाग्यै गर्ने मेरो शैली छ ।

केहीकेही मान्छे त मलाई नबोल भन्छन् । बोल्नै हुँदैन पनि भन्छन् । तर भन्छु– मसँग बोल्ने विषय यति धेरै छ कि त्यसलाई कम गर्ने हो ।

अहिले पार्टीले निकालेको घोषणापत्र कार्यान्वयन गर्न मैले अपनत्व लिनुपर्छ । त्यो कुनै हालतमा पूरा गर्ने हो । व्यवहारमा जाँदा केही काँटछाँट होला, तर घोषणा गरेपछि लागू गर्ने हो ।

तर पार्टीको घोषणापत्र कार्यान्वयन गर्न मेयरलाई अवरोध गर्ने काम त फेरि पार्टीबाटै होला । त्यस्तो अवस्थामा के गर्नु हुन्छ ?

त्यस्तो हुँदैन । घोषणा प्रमाणीकरण गर्नुपर्छ । जस्तो– मैले माइतीघर मण्डला बनाउने पहल सुरु गर्दा पार्टीभित्रैबाट विरोध भयो । सय वर्ष पुरानो घर भत्काउन हुन्न भन्ने मत पार्टीभित्रै देखियो ।

एफएमहरुले मलाई ध्वंशकारी मेयर भने । ६/७ करोड खर्च गरेर पार्क बनाउने भनेर प्रश्न पनि उठाए । तर आज माइतीघर मण्डला गौरवको विषय बन्यो, लोकतन्त्रको चोकजस्तो बन्यो । ब्रम्हले देखेपछि प्रयत्न गर्ने हो ।

तर पार्टीको सर्वोच्च लिडरसिपसँग कुरा गर्नुपर्छ । सबैतिर छलफल गर्नतिर लागियो भने छल गरेर फल खानेतिर लाग्छौं । समस्या कहाँ बसेर समाधान हुन्छ, त्यो बुझ्नुपर्छ ।

तर तपाईंबारे टिप्पणी गर्नेहरुले लगाएको आरोप चाहिँ भुइँ नटेक्ने योजना ल्याउनुहुन्छ भन्ने छ । त्यस्तो टिप्पणी गर्नेहरु नै सच्चिने कि तपाईं ?

केही केही मान्छे त मलाई नबोल भन्छन्, बोल्नै हुँदैन पनि भन्छन् । तर मसँग बोल्ने विषय यति धेरै छ कि त्यसलाई कम गर्नुपर्ने छ ।

मैले राजधानीमा सडक पार गर्न आकाशे पुल बनाएँ । माधव नेपालले आपत्ति जनाउनुभयो । पहिले प्लास्टिकको पुल बनाएर अभ्यास गराउनुपर्छ, अनि मात्रै आकाशेपुल बनाउनुपर्छ भन्नुभएको थियो ।

तर मैले पुल बनाएँ, पुल वरपर प्रहरी राखेँ । पुलमा चढेन भने कारबाही हुन्छ भनेपछि मान्छेहरु आकाशे पुलबाट हिँड्न थाले । ६ महिनासम्म प्लास्टिकको पुलमा, नक्साको पुलमा मान्छेलाई अभ्यास गराएर हुन्छ ?

गर्दै जाँदा गल्ती भयो भने सबैसँग माफ माग्ने हो । माफ मागेपछि नेपाली जनताले क्षमा दिन्छन् । आत्मालोचना गरेपद्धि शुद्धीकरणको बाटो खुल्छ ।

गरीबले बोल्न हुँदैन, दलितले बोल्न हुँदैन भन्ने संस्कृतिबाट हुर्किएका मान्छे पनि कम्युनिष्ट पार्टीमा छन् । तर लागेको कुरा बोल्न दिनुपर्छ ।

तपाईंका समकालीन नेताहरुले मुलुककै नेतृत्व गरिसके । तपाईं युवा संघको महासचिव हुँदा अध्यक्ष रहेका केपी शर्मा ओली तीनपटक प्रधानमन्त्री बनिसक्नुभयो । तपाइँलाई चाहिँ किन सधैं महानगर नेतृत्वको मृगतृष्णा ?

मृगतृष्णा नै छैन । म हिजो आन्दोलनमा नगएको भए त्यही बेला मलाई प्राप्ति थियो । म आदर्श विद्या मन्दिरको विद्यार्थी, मेरो पारिवारिक पृष्ठभूमि भव्य थियो । मेरो लागि सबै द्वार खुला थियो ।

तर मैले यो बाटो (राजनीति) रोजेँ । घोषणा गरेरै राजतन्त्र फ्याँक्ने भनेर आएको हो । यति चाँडै होला भन्ने लागेको थिएन, बीचैमा राजतन्त्र टुंगिहाल्यो ।

मैले जे अभिष्ट राखेँ, त्यो एकचरण त पूरा भयो । पूरा भएपछि अब आम मानिसको जिन्दगीमा हाँसो ल्याउनुर्यो, खुशी हुनुपर्यो । परिस्थितिवश म राजधानीको मानिस भएँ । यहाँको सिको र प्रभाव अरुतिर पनि पर्छ ।

गृहमन्त्री हुँदा पनि देशव्यापी प्रभाव त राख्न सकिन्थ्यो नि । परिस्थितिले साथ दिएन ?

०७४ सालमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ–६ बाट उठ्नू भन्नुभएको थियो ।

त्यसपछि मेरो राइट ह्याण्ड भएर काम गर्ने भन्नुभएको थियो । भौतिक पूर्वाधार वा सहरी विकास जस्ता मन्त्रालय लिएर अगाडि बढ्ने भन्ने थियो । त्यसो गरेको भए हुन्थ्यो पनि होला । तर मुख्य (मुख्यमन्त्री) भन्ने कुराले काम गर्‍यो ।

त्यसबेला दश पटक आग्रह गर्नुभयो । त्यही बेला मानेको भए रमाइलै हुन्थ्यो होला । तर म अलिक ज्याद्रो छु क्या ! मुख्यमन्त्री भएपछि ओभरअल काम गर्न सक्छु भन्ने लाग्यो । त्यसैले प्रदेशमै उम्मेदवार बन्न अडान लिएँ । त्यसलाई पनि बेठीक भन्नुभएन । किनभने अप्राप्त चिजलाई गुमाएको त भन्न मिलेन !

तपाईंले मेयर जितेमा काठमाडौंका मान्छेको जीवन कस्तो हुन्छ भन्ने कुनै आकृति बनेको छ ?

यो सबैलाई एकै ठाउँ ल्याउने भूमि हो । त्यसैले यहाँ सबैको संस्कृति विकास गर्ने हो । भाषा फरक छ, रक्त फरक छ, स्रोत फरक छ, यहाँ बसेका हामी कसैको पनि अनुहार मिल्दैन । यस्तो युनिकनेस संसारमा अरू कहिँ पनि छैन, मेयरले त्यसलाई प्रोत्साहन गर्ने हो ।

केहीले बोलेको सुन्छु– बाहिरको मान्छेलाई प्रतिबन्ध लगाउनुपर्छ, राजधानीमा मान्छे बढी भयो । तर राजधानी भएपछि सबै आउन पायो, राजधानी भनेको त सबैको हो नि ।

मेयरले गर्ने भनेको आउनेलाई आउनुहोस् भन्ने हो । खुला आह्वान गर्ने आँट गर्नुपर्छ । आउनेलाई स्वागत गरेपछि उसले पनि त पाहुनाको व्यवहार गर्ला । तर आउनु पाइदैन भनेपछि पर्खाल नाघेर आउँछ । अनि उसले अलि उद्दण्डता देखाउँछ ।

देशको चित्र राजधानीमै कोर्न चाहनुहुन्छ ?

हो । हामीले प्रेम रोप्यौं भने प्रेम फुल्छ । विषाक्त कुरा रोप्यो भने विषाक्त कुरा उत्पादन हुन्छ । त्यसैले हामी नम्र हुनुपर्छ । यति धेरै सेवा गर्ने कि यिनीहरु अति मानव भयो भन्ने तहको सेवा गर्ने हो ।

पहिले हामी कम्युनिष्टहरुलाई यहाँ (राजधानीमा) प्रवेश निषेध थियो । तर हामीले जित्यौं त । मिठो बोल्यौं, लामखुट्टे र उडुस मार्न पनि सघायौं । हाम्रो छोराभन्दा राम्रो छ भन्ने बनायौं । मेरो छोरा पनि कम्युनिष्ट भए भन्ने बनायौं । त्यसैले हामीले मनले जित्ने हो । त्यही जगमा हामी जित्छौं ।

तर यसपटक तपाईंको प्रतिस्पर्धी पाँच दलको साझा उम्मेदवार हुनुहुन्छ । यो प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?

मैले धेरै ठाउँ भनिसकेँ– मलाई प्रतिस्पर्धा नै लागिरहेको छैन । ग्रास रुटसम्म बनेको एमालेको संगठनको जग, जनसंगठन, मिडियामा रहेका साथीहरुको क्रियाशीलता, मजदुरहरुको काम, हाम्रो पुरानो मेयर साबले गरेको उपलब्धि, केन्द्र र प्रदेश सरकारले गरेको काम यो सबै लेखेर व्याख्या गर्ने हो भने १५ दिन लाग्छ । म त उपलब्धि र जगले खडा गरेको सामान्य पात्र न हो ।

अब नेपाली कांग्रेसले के भनेर भोट माग्ने ? फलानाका बुहारी भन्ने ? उहाँ फलानाको श्रीमती भन्ने बाहेक राजधानी र मुलुकमा योगदान के छ ? कांग्रेसको घोषणापत्र हेरेँ, बकबास ! धारे हात लगाएर केपी ओलीलाई सराप्ने बाहेक केही पनि नभएपछि भोट कसरी आउँछ ?

अन्यथा नलिनुहोला, मलाई प्रतिश्पर्धा जस्तै फिल हुन छोडिसक्यो । गठबन्धन भनेपछि त आगो बालेर आउनुपर्यो नि ! कार्यक्रम, विचार, दर्शनको प्रतिस्पर्धा हुनुपर्‍यो ।

तर पाँच दलीय गठबन्धन सजिलो होला र ?

पाँच दल भनेको त, एउटा लहरामा पाँच जनाले खुट्टा बाँधेर उफ्रिए जस्तो भइरहेको छ । खुट्टा बाँधिएकाले हिँड्न नसकेको हो कि ? तर प्रचार र विचारहरुमा प्रतिस्पर्धा नभएपछि षड्यन्त्र हुनसक्छ । मेरो त त्यता ध्यान छ ।

राजधानी उपत्यका रहेको शहर काठमाडौं महानगरको असर र प्रभाव अन्यत्र पनि पर्न सक्छ । एमालेको अवस्था कस्तो देखिदैछ ?

यहाँको प्रभाव झापा, इलाममा देखिरहेको छु, पोखरामा परिरहेको छ । लेखेर राख्नुहोस्– हामीले ललितपुर जित्यौं भने ललितपुरमा उभार आउनासाथ महालक्ष्मी नगरपालिकामा पर्ने रहेछ ।

त्यसपछि गोदावरीमा पर्ने रहेछ । अब तीन÷चार दिनभित्रै राष्ट्रिय माहोल बन्छ, तपाईंहरुले अनुभव गर्नुहुन्छ ।

तपाईं उम्मेदवार बनिरहँदा आफूमाथि लागेको यौन हिंसाको आरोपको जवाफ त दिनुपर्ला ?

त्यो आरोप होइन । तपाईं बाटोमा हिँडिरहँदा कसैले मेरो श्रीमान् भन्यो भने के गर्ने ? तपाईंले होइन भन्नुबाहेक अरु के हुन्छ र ! हो भन्नेले चाहिँ प्रमाण देखाउनुपर्यो । त्यसैले यस्तोतिर लाग्नु हुन्न ।

त्यतिखेर मैले एउटा मान्छेलाई जागिरबाट निकालेको हो । तीन दिनसम्म राजधानीको फोहोर नउठ्ने परिस्थिति बनेपछि मैले त्यो मान्छेलाई निकालिदिएकै हो ।

अहिले जसरी भनिँदैछ, त्यो इस्यू नै होइन । म माथि आक्रमण हो । तर म पद्यसम्भव भएर बस्ने हो । कमलको फूलसरी बस्ने हो । हिलोसँग खेल्ने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?