+
+
ब्लग :

सधैं भोलिको पछि किन लाग्ने ?

ई. प्रभात पौडेल ई. प्रभात पौडेल
२०७९ वैशाख १५ गते १२:५०
प्रतीकात्मक तस्वीर

समय कति बलवान् छ । हिजो, आज र भोलि । हेर्दा उस्तै लाग्ने, तर हिजो गइसक्यो जुन बितेका पल, न मेट्न सकिने न त सुध्रार्न नै सकिने, वर्तमान हुँदैछ र भोलि कसलाई के थाहा छ र ?

समय र खोला उस्तै हो जुन हामीले कदापि पनि पछाडि लैजान सक्दैनौं । त्यसैले हामी समयको भेलमा बग्नुपर्छ । समय भन्दा बलवान् भएर हामी कदापि अगाडि पुग्नै सक्दैनौं । यदि अटेर गर्‍यौं भने यसले हामीलाई नै कुल्चेर अगाडि बढ्छ ।

हामी बितेका पललाई सम्झन्छौं र भोलिलाई सोच्न थाल्छौं जुन हाम्रो सामर्थ्यमा नै छैन । कसलाई थाहा छ र भोलि । न कोही मान्छेलाई भोलि कति खेर सुरु हुन्छ थाहा छ, न त कुनै व्यक्तिलाई आफूले खोजे अनुरूपको भोलि पत्ता लगाउनै सक्छन् ।

सामान्यत: हामी कसैलाई, हजुरको आगामी दिनको योजना के छ भनेर सोध्यो भने धेरै जनाको जवाफ हुन्छ, म यस्तो पढ्छु, म उस्तो जागिर खान्छु, जग्गा जमिन किनेर घर बनाउँछु वा आफ्नो व्यवसायलाई अगाडि बढाउँछु आदि ।

कोही कसैको जवाफ हुन्न कि म मेरो जिन्दगी यसरी बिताउँछु, यसरी मेरो समय मेरो परिवारलाई दिन्छु, खुसी हुन आफ्नो पूर्ण सामर्थ्यका साथ लाग्छु । आफूले अहिलेको समय पूर्ण रूपमा प्रयोग गर्छु । समय अनुसार जिउँछु र समयको भेलमा बग्छु ।

प्रभात पौडेल

मैले कहीं कतै पढेको मान्छेले ९० प्रतिशत भन्दा बढी आजभन्दा भोलिलाई सोच्ने काम गर्छ र आफूले कमाएको सम्पूर्ण सम्पत्तिको ३० प्रतिशत पनि प्रयोग नगरी प्राण जाने गर्छ । भनेपछि यो आफ्नो समय कसका लागि रहेछ त ?

जुन आज हामीसँग छ, त्यो अहिले हामीसँगै छैन, हामी त भोलिको पछि लागेर बसेका छौं, जुन हाम्रो सामर्थ्य नै छैन । जसले गर्दा अहिलेका मानिस खुसीभन्दा दु:खी बढी छन् । खुसी भनेको आजमा छ, भोलिमा होइन ।

समयलाई हामीले एकैछिन आफ्नै ढङ्गले सोच्यौं भने के हामीसँग हामीले सोचे जस्तै प्रशस्त समय छ र ? जस्तो कि हामीले विशेषगरी प्रयोग गर्ने भोलि शब्दको लागि । के सधैं भोलि, भोलि होला त ? जुन विश्वास छ हामीमा भोलिप्रति, के त्यो पनि पूर्ण रूपमा बफादार होला ?

कसैले भगवान् बुद्धलाई सोधे- हामीले गरेको सबैभन्दा ठूलो गल्ती के हो ?

बुद्ध भन्छन्- ‘हामी सोच्छौं कि हामीसँग समय छ । समय निःशुल्क छ, यसको लागि कुनै पैसा लाग्दैन । हामी समयलाई किन्न सक्दैनौं तर हामी यसलाई प्रयोग गर्न सक्छौं । समयलाई हामी रोक्न सक्दैनौं तर यसलाई प्रयोग गर्न सक्छौं । यदि समय बित्यो भने कदापि हामी यसलाई फेरि त्यही स्थितिमा ल्याउन सक्दैनौं ।’

यो हामीलाई थाहा छ कि ६० सेकेण्डमा १ मिनेट हुन्छ र ६० मिनेटमा १ घण्टा र यसरी नै चल्छ घडीको सुई । न कोहीले रोक्न सक्छ र न कोहीले अगाडि बढाउन वा पछाडि पार्न । केवल हामी कठपुतली जसरी घडीको सुईसँगै हिंड्ने । तर हामीलाई उत्ति नै समय कहिले थोरै र कहिले कम अनुभव हुनेगर्छ । प्रेमी-प्रेमिकाको साथको दुई-तीन घण्टा दुई मिनेट जस्तो गरी बित्नु, परीक्षामा विद्यार्थीलाई तीन घण्टाको समय केही मिनेट जस्तो लाग्नु, तर कोही व्यक्तिलाई १ घण्टा कुर्दा तीन-चार घण्टा जस्तो लाग्ने, तातो चुलोमाथि दुई मिनेट राख्दा घण्टा जस्तो अनुभव हुनु ।

समय आफ्नै रफ्तारमा बहिरहन्छ। त्यसैले कुनै पनि कुरा एकैपटक हुन सक्दैन । एकैपटक तपाईं पूर्व र पश्चिम फर्किन सक्नुहुन्न। एकैपटक दौडिन र बस्न सक्न हुन्न । सबै कुरा एक–एक गरेर गर्नुपर्छ । र, त्यसो गर्दा समयको जुन हिस्सा छुट्छ, त्यो फेरि कहिल्यै फर्केर आउँदैन । त्यसैले जीवनमा जे गर्दा पनि एक किसिमको हैरानी, बेचैनी र कुनै केही ननिख्रिएजस्तो भावले मनलाई चिमोटिरहन्छ मान्छेलाई । किनभने एउटा गर्दा अर्को छुटेको हुन्छ जीवनमा । पाएको भन्दा छुटेको कुराले लोभ्याउने सामर्थ्य ज्यादा राख्छ । तपाईं सबै पाउन सक्नुहुन्न, तर सबै एकैपटक छोड्न भने सक्नुहुन्छ । पाउन कुद्नेहरू सांसारिक हुन्, जो सदा असफल प्रतीत हुन्छन्, त्यसैले ती दुःखी छन् । छाड्नेहरू योगी हुन्, जो सदा सफल हुन्छन्, त्यसैले ती आनन्दित रहन्छन् ।

समय भन्नु नै स्थान हो र स्थान भन्नु नै समय हो । यो एकै तत्वका अलग-अलग तरिका हो बुझ्ने, अलग-अलग नाम हो बोलाउने । न त यो एकअर्काबाट अलग छन् न त अलग हुन सक्छन् । स्थान भनेको त्यो ठाउँ हो, जसमाथि घटना हुन्छन् र समय त्यो तत्व हो जहाँ घटना हुन्छन् । हामीले यिनीहरूलाई एकै सिक्काका दुई पाटा हुन् भन्न कुनै दुविधा हुन्छ जस्तो लाग्दैन किनभने हरेक घटनाको समय छ र हरेक समयका घटना छन् । कुनै समयमा त्यही स्थानमा त्यही मात्र घटना सम्भव रहन्छ । जस्तो कि कुनै समयमा तपाईं आफ्नो कार्यालयमा काम गर्दै हुनुहुन्छ भने त्यो स्थान र समयमा त्यो सम्भव भयो, तर त्यही समय र स्थानमा न त तपाईं कतै अर्को स्थानमा भेटिनुहुन्छ ।

स्थान र समयअनुसार नै मान्छेले आफ्नो गन्तव्य तयार गर्छ । हाम्रै मुलुकमा ठूलठूला राजनैतिक घटनाक्रम, परिवर्तन र प्राकृतिक प्रकोपका घटना भए । के यस्ता घटना हुनुअघि कोही हामी पूर्व तयारीमा थियौं र ? कदापि पनि हुने कुरै आउँदैन, किनभने यी हाम्रो बसमा हुने कुरै भएन । समय बलवान् छ, यसले कहिले हसाउँछ, कहिले रुवाउँछ । अनि कहिले आँशु र हाँसोको संगम गराउँछ, तर पनि हामी सधैं भोलिको पछि लाग्ने, वर्तमानमा किन नजिउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?