+
+
अन्तर्वार्ता :

राजनीतिबाट टाढा थिइनँ, पद नलिएकी मात्र हुँ : सिर्जना सिंह

महिलाको सशक्तिकरण, राजनीतिमा महिला सहभागिता र महिला उत्थानका लागि म निरन्तर खटिरहेको छु । राजनीति छाडेकी थिइनँ । पद मात्रै नलिएकी हुँ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते २०:३३

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार चयन गर्दै गर्दा सिर्जना सिंहको नाममा खासै छलफल गर्नुपरेन ।

नेता प्रकाशमान सिंहको इच्छालाई काठमाडौं महानगर समितिले अस्वीकार गर्ने अवस्था थिएन । सिंहलाई उम्मेदवार चयन गर्ने निर्णयप्रति आपत्ति जनाउने नेता कार्यकर्ता पनि देखिएनन् । त्यसैले फेरि सक्रिय राजनीतिमा फर्किने सिर्जनाको इच्छा सजिलै अनुमोदन भयो ।

३२ वर्ष सक्रिय राजनीतिबाट टाढा रहेकी सिंह काठमाडौं महानगरपालिकाको मेयर बन्ने दौडधुपमा छिन् । उम्मेदवारी दर्तासँगै उनको व्यस्तता बढेको छ । उनलाई गठबन्धनको उम्मेदवार मान्न तथा विजयी गराउन सत्ता घटकका अरु दल पनि लागेका छन् । बिहीबार संकल्प पत्र सार्वजनिक गरेकी सिंहसँग उनको उम्मेदवारी र उनका योजनाका प्राथमिकतामा केन्द्रित रहेर अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानी :

स्थानीय तह निर्वाचनमा पार्टीले उम्मेदवार छनोट गरिसकेपछि कतिपय ठाउँमा असन्तुष्टि र बागी उम्मेदवार बनेको पनि देखियो । तपाईंको उम्मेदवारीप्रति भने काठमाडौं महानगरमा कांग्रेसभित्र असन्तुष्टिका स्वर सुनिएनन् नि ! किन होला ?

मेरो स्वभावले पनि होला । मैले पार्टीका लागि धेरै काम गरेकी छु । तर, कहिले पनि पदको लोभ गरिन । पदको चाहना नगरी निरन्तर पार्टीमा लागिरहेँ । मेरो नेचर र निरन्तर पार्टीका लागि लोभ नगरी लागेकाले नै मेरो उम्मेदवारीमा सबै खुसी देखिनुभएको होला ।

२०४६ सालसम्म कांग्रेसमा तपाईंको राजनीतिक जीवन सक्रिय देखिन्छ । त्यसपछिका तीन दशक भने राजनीतिमा तपाईंको क्रियाशीलता कम देखिन्छ । यति धेरै समय राजनीतिबाट टाढा रहेर अहिले अकस्मात मेयरको उम्मेदवार बन्नुलाई कतिपयले आश्चर्यका रुपमा हेरेका छन् नि ?

२०४२ सालमा मेरो विहे भएको थियो । त्यसअघि म धेरै सक्रिय थिएँ । २०३६ सालमा नेपाल महिला संघको गोरखा अध्यक्ष भइसकेकी थिएँ । नेविसंघको इकाई सभापतिदेखि स्ववियुको कोषाध्यक्ष निर्वाचित भएँ । गोरखा–काठमाडौं प्रजातान्त्रिक समितिमा पनि काम गरें ।

विहे गरेपछि म राजनीतिमा कम सक्रिय हुनुको पनि कारण थियो । म विहे गरेर आएको घरमा सबै जना राजनीतिमा हुनुहुन्थ्यो । ससुरा गणेशमान सिंह, सासु मंगलादेवी सिंह, श्रीमान प्रकाशमान सिंह, पीएल दाइ सबै जना सक्रिय राजनीतिमा हुनुहुन्थ्यो ।

पुरुष मेयर धेरै हेर्‍यौं, महिला निर्वाचित भए परिवर्तन आउँछ भन्ने मेरो सोंच हो । कांग्रेसबाटै उपमेयरमा हरिप्रभा खड्गी हुनुहुन्थ्यो । उहाँ आएपनि राम्रो गर्न सक्नुहुन्छ भन्ने विचार थियो । घर सम्हाल्ने महिलाले काठमाडौं सम्हाल्न सक्छन् ।

सबै जना राजनीतिमा लाग्दा घर अस्तव्यस्त हुने अवस्थामा थियो । घर सम्हाल्न पर्छ कि भन्ने लाग्यो । घर सम्हाले पनि मैले राजनीति पूर्ण रुपमा छाडेकी थिइन । म २०४६ सालको आन्दोलनमा सरिक भएकी थिएँ । नजरबन्द पछि सासु र ससुरा अस्पतालमा भर्ना हुँदा आफैं सक्रिय भएर आन्दोलनमा लागें ।

जनआन्दोलन सफल भइसकेपछि महिला संघको माध्यमबाट धेरै ठाउँमा हेल्थ क्याम्प सञ्चालन गरें । महिला सशक्तिकरण, महिलालाई आत्मनिर्भर गराउन, प्रौढ कक्षा सञ्चालन गर्ने जस्ता थुप्रै काममा गरें । महिला संघको स्वास्थ्य संयोजक भएर २०५३ सालसम्म काम गरिरहें ।

सासु आमा मंगलादेवी सिंहको निधनपछि महिला संघ काठमाडौंले प्रमुख सल्लाहकार बनायो । निधन हुनुअघि सासु आमा संघको संरक्षक हुनुहन्थ्यो । त्यस बेलादेखि अहिलेसम्म त्यही पदमा छु ।

महिलाको सशक्तिकरण, राजनीतिमा महिला सहभागिता र महिला उत्थानका लागि म निरन्तर खटिरहेको छु । राजनीति छाडेकी थिइनँ । पद मात्रै नलिएकी हुँ ।

काठमाडौंको कांग्रेसको राजनीति मुख्यतः नेता प्रकाशमान सिंहको वरिपरि घुमेको हुन्छ । उहाँको परिवारको सदस्य भएकाले अघिल्लोपटक नै तपाईंले दाबी गरेको भए उम्मेदवार बन्न सक्नुहुने थियो होला । त्यतिखेर इच्छा नराखेर अहिले किन अघि सर्नुभएको ?

म उम्मेदवार हुन इच्छा राख्दा नेताको बुहारी, नेताको श्रीमती भएर आई भन्ने पनि छन् । मैले चाहेको भए अघिल्लो–अघिल्लो निर्वाचनमा पनि मेयरको उम्मेदवार हुन सक्थेँ ।

पार्टीहरु प्रतिबन्धित भएको बेलामा मैले थुप्रै कष्ट बेहोरेँ । अहिलेको जस्तो सजिलो समय थिएन, त्यो बेलाको आन्दोलन अर्कै किसिमको थियो । आन्दोलनमा लागेकै कारण हनुमान ढोकाको चिसो छिंडीमा पटक पटक समय बिताउनुपरेको थियो ।

मेयरका लागि त अरु साथीहरुले प्रस्ताव गर्नुभएको हो । काठमाडौंमा महिला मेयर हुनुपर्ने धारणा राखेर मैले ट्वीट गरेकी थिएँ । काठमाडौंको बासिन्दा भएकाले यो महानगरलाई त मैले नजिकबाट नियालिरहेकी छु । पीएल सिंह काठमाडौंको मेयर भएको पनि मैले नजिकबाट हेरेकी थिएँ । उहाँको समयमा काठमाडौंमा केही सुधार भएको थियो । राजनीतिकर्मी र राजनीतिक परिवारमा बसेका कारणले यहाँको समस्या धेरै बुझेकी छु ।

घरबाट निस्कन पाएको हुँदैन, फोहोरको थुप्रो हुन्छ । धुलो प्रदूषण कति छ कति । खाल्डाखुल्डी कम हुनुको साटो झन् बढेको छ । काठमाडौंको नदीनाला हेरौं त । गणेशमान बाले भन्नुहु्न्थ्यो, ‘हामी विष्णुमतीमा पौडी खेल्थ्यौं । छुट्टीको समय पौडी खेल्न जान्थ्यौं ।’ अहिले, १०० मिटर परैबाट विष्णुमतीको दुर्गन्ध आएर नजिक जान सकिन्न । विष्णुमती, बागमती अरु साना साना नदीनालामा दुर्गन्ध त कति कति ।

महिलाले पनि यी समस्या समाधान गर्न सक्छन् । महिला पनि सशक्त भएका छन् । महिला ल्याएर गर्न सक्छन् भनेर मैले ट्विट गरेको हो । म आफू हुनुपर्छ भन्ने सोंचले लेखेको थिइन । पुरुष मेयर धेरै हेर्‍यौं, महिला निर्वाचित भए परिवर्तन आउँछ भन्ने मेरो सोंच हो । कांग्रेसबाटै उपमेयरमा हरिप्रभा खड्गी हुनुहुन्थ्यो । उहाँ आएपनि राम्रो गर्न सक्नुहुन्छ भन्ने विचार थियो । घर सम्हाल्ने महिलाले काठमाडौं सम्हाल्न सक्छन् ।

राजनीति एउटा कुरा हो तर समाजसेवा प्रमुख हो । समाजसेवाको भावना भित्रदेखि भएको व्यक्तिले मात्रै काठमाडौं सुधार्न सक्छ । राजनीति गर्ने व्यक्तिले मात्रै हुँदैन, समाजसेवाको भावना भित्री तबरबाटै आउनुपर्दछ । महिला हुनुपर्छ कि भन्ने आशयसहित लेखेको टिव्टले मेरो जीवनको मोड नै अर्को तिर ल्याइदियो ।

काठमाडौंमा विकासले गति लिएको छैन । धुलो धुँवा, प्रदूषण छ भन्ने त पाँच वर्षअघि पनि तपाईंलाई थाहै थियो । त्यसबेला इच्छा नहुनु अहिले चाहिं किन अघि सर्नुभएको ?

त्यसबेला म किन अघि सरिन मलाई पनि थाहा छैन । महिला संघको दिदीबहिनी यहाँ (चाक्सिबारी) आइरहनुहुन्छ । म मेयरको उम्मेदवार हुने सोंचेको पनि थिइन । एक दिन उहाँहरु आउनुभयो । काठमाडौंको मेयरमा महिला उम्मेदवार बनाउने र त्यसमा पनि मलाई उठाउनुपर्ने निर्णय उहाँहरुको बैठकले गरेको रहेछ ।

त्यो कुरा मलाई भन्न आउनुभयो । त्यसपछि म नै उम्मेदवार बन्नुपर्ने भन्दै धेरैतिरबाट प्रेसर आयो । २०४६ सालमा सँगै आन्दोलन गरेका महिला साथीहरुले पनि मलाई मेयरमा उठ्न प्रेसर दिए । समकालीन साथीहरुले पछि नहट, अघि बढ भन्ने सल्लाह दिए ।

नेविसंघको काठमाडौं कार्यसमितिका भाइहरु पनि आएर उठ्न दबाव दिए । तरुण दलका भाइहरु पनि आए । महानगर कार्यसमितिले एकपटक पनि नसोधी मेरो नाम सिफारिस गरेको थियो । नाम सिफारिस गर्न उहाँहरु कसरी–कसरी बाध्य जस्तो हुनुभएछ ।

ठूलो ठूलो काम गर्छु भनेर आश्वासन दिन्न । राजनीति नछाडी घर पनि सम्हालिरहेको व्यक्ति हुँ म । महानगरभित्र मैले सुशासन ल्याउँछु । नगरवासी सबैलाई सहज हुने गरी सुशासनका काम गर्ने मेरो पहिलो काम हुनेछ ।

केन्द्रमा मेरो विषयमा जब बहस चल्यो । प्रकाशमानले बैठकमा भएको कुरा भन्नुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘तिम्रो बारेमा मैले केही भन्नै परेन ।’ सबै नेताहरुले एकमुख भएर मेरो पक्षमा बोलेको उहाँले सुनाउनुभएको थियो ।

नेताहरु गगन थापा, डिना उपाध्याय, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशशरण महत, किशोर सिंह राठौर, महेन्द्र यादव, उमाकान्त चौधरी लगायतका धेरै नेताले मेरो बारेमा बोलेको उहाँले सुनाउनुभएको थियो । नेताहरु वीच मेरो नाम सर्वसम्मत जस्तै भएछ । म त उठ्नै पर्ने गरी वाध्यजस्तो भएँ ।

कतिपयले तपाईंको इच्छालाई आफ्नो मुखबाट ननिकालेर भित्रभित्रै तयारी गर्नुभएको र वातावरण बनाइरहनुभएको भन्छन् । यसमा पनि सत्यताको अंश होला नि ?
त्यस्तो बिल्कुलै होइन । यो घरमा विहे गरेर आएको ३६ वर्ष भयो । त्यस्तो भित्र भित्र इच्छा राखेको भए त म सांसद मन्त्री सबै भइसक्थे । त्यतिमात्रै होइन, नेविसंघ र पार्टीको केन्द्रीय समितिमा पनि पुगिसक्थें ।

प्रकाशमान सिंह सभापतिको प्रतिस्पर्धामा असफल हुुनुभयो । त्यसपछि, तपाईंलाई राजनीतिमा ल्याउन काठमाडौंको मेयरबाट उपयुक्त हुने ठानेर अघि सारिएको भन्ने बुझाई पनि छ नि ?

यो झनै झुठो कुरा हो । मलाई मेयरमा उठाउन अरुले गरेको तयारी मलाई त थाहा थिएन, उहाँलाई कसरी थाहा हुन्छ ? महिला संघका दिदी बहिनीलाई पनि मैले सोधेंकी थिएँ,‘ कतै कसैले भनेर मलाई उठ्न भन्नुभएको त होइन ?’ उहाँहरुले कसैले भनेर निर्णय नगरेको मसँग बताए ।

काठमाडौंको मुहार तपाई आएपछि फेरिन्छ भन्दै मलाई उठ्न दिदीबहिनीहरुले कर गर्नुभएको थियो । काठमाडौंको मुहार फेर्न उहाँहरुले मलाई उपयुक्त पात्र देख्नुभयो । त्यसपछि मलाई पनि लाग्यो, म सक्षम छु । आँट हौसला मलाई आयो ।

आकांक्षी अरु पनि थिए । पार्टीले तपाईंलाई नै योग्य देख्नुको कारण चाहिं के रहेछ ?

सबैजना उपयुक्त र योग्य हुनुहुन्छ । सबै जना आन्दोलनमार्फत अघि बढ्दै कांग्रेसको राजनीतिमा हुनुहुन्छ । तीर्थराम डंगोल दाइ सिनियर नेता हुनुहुन्छ । हरिप्रभा खड्गी उस्तै सक्षम व्यक्ति हो । निलकाजी शाक्य, सुशन वैद्य, प्रगतिमान रञ्जित, इन्द्रलाल सिंह सबै योग्य हुनुहन्छ ।

इच्छा राख्नेहरुमध्ये मलाई उठाए राम्रो हुन्छ भन्ने केन्द्रीय नेताहरुलाई लाग्यो होला । महिला संघ र नेविसंघ काठमाडौं समितिले त मलाई उठ्न दबाव दिएको थियो ।
योग्यता अरुको भन्दा मेरो बढी हो भन्दिनँ । नेताहरुले मूल्यांकन गरेर मलाई अघि सार्दा बेस हुन्छ भन्ने लाग्यो होला ।

तपाई निर्वाचित हुनुभयो भने प्राथमिकताका कामहरु के के छन् ?

ठूलो ठूलो काम गर्छु भनेर आश्वासन दिन्न । राजनीति नछाडी घर पनि सम्हालिरहेको व्यक्ति हुँ म । महानगरभित्र मैले सुशासन ल्याउँछु । नगरवासी सबैलाई सहज हुने गरी सुशासनका काम गर्ने मेरो पहिलो काम हुनेछ ।

दोस्रो प्राथमिकता महिलाहरुलाई दिनेछु । महिला सुरक्षा, अधिकार, सशक्तिकरण, आत्मनिर्भर लगायतका काममा म लाग्नेछु । सामाजिक सुरक्षामा जोड दिन्छु ।

काठमाडौंको गल्ली गल्ली, टोल टोलमा बत्तीको राम्रो व्यवस्था गर्नेछु । सीसीटीभी ठाउँ ठाउँमा राख्ने व्यवस्था मिलाउने छु । त्यसले गर्दा महिला सुरक्षित भएको महसुस गर्नेछन् ।

युवाका लागि पनि विशेष कार्यक्रम ल्याउनेछु । प्रजातन्त्रका लागि युवाले देशका लागि धेरै योगदान दिएका छन् । युवाले साथ नदिएको भए कुनै पनि आन्दोलन सफल हुने थिएन । अहिलेसम्म युवाले राज्यलाई दिने काम मात्रै गरे म मेयरमा विजयी भएँ भने युवालाई महानगरले दिने बनाउँछु ।

दलमा आवद्ध नभएका सर्वसाधारण मतदाताले तपाईंलाई नै मत किन दिनुपर्ने ?

म गणेशमान र मंगलादेवी सिंहको बुहारी । राजनीतिक परिवारबाट आएको शिक्षित महिला हुुँ । बहुदलीय व्यवस्था ल्याउनका लागि हाम्रो परिवारको ठूलो योगदान थियो । रैतीलाई नागरिक बनाउन भनेर अग्रसर भएको परिवारको सदस्य हुँ ।

प्रधानमन्त्री बन्न आएको प्रस्ताव मेरो ससुराले त्याग्नुभएको थियो । सासुको सम्पूर्ण जीवन महिला हक अधिकारका लागि खर्च भएको थियो । मेरो परिवारले अहिलेसम्म देशको लागि केही नराम्रो काम गरेको छैन । देशका लागि अग्रपङ्तिमा रहेर योगदान गरेको परिवारको उम्मेदवार भएकाले सबैले मतदान गर्नुहुन्छ भन्ने लाग्छ ।

काठमाडौंमा सामाजिक विचलन आउन नदिन हाम्रो परिवारको मुख्य भूमिका रह्यो । यहाँको संस्कृति, परम्परा, धर्म, रितिरिवाज सबैलाई संरक्षण गर्दै आएको परिवारको सदस्य हुँ ।

एक भोट मलाई दिनुस्, यहाँहरुले सोचेको, खोजेको जस्तै काठमाडौं म बनाउँछु । स्वच्छ हराभरा काठमाडौं बनाउँछु, सामाजिक सुरक्षा दिन्छु । मेरो नाम आफ्नो कर्मले देखाउँछु/चिनाउँछु ।

विश्व सम्पदा सूचिमा परेको यस सहरलाई पर्यटकीय गन्तव्यको स्थल बनाउने छु ।

तपाईं निर्वाचित हुनुभयो भने देशभरका अन्य पालिका भन्दा भिन्न विकास काठमाडौंमा पाँच वर्षमा के के देख्न सकिन्छ ?

अहिले नै मैले भनेर सबै कुरा हुने त होइन । निर्वाचित भएँ भने काम गरेर देखाउँछु । एयरपोर्टबाट शहर छिर्नेवित्तिकै आहा काठमाडौं भन्ने गराउँछु ।

बाहिरी नाकाबाट जिल्ला भित्रने नेपाली सबैलाई काठमाडौं त कस्तो फरक भएछ भन्ने देखाउन चाहन्छु ।

तस्वीर र भिडियो : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?