+
+

मूल्य बढ्ने हल्लाले व्यवसायीले लुकाउन थाले ग्याँस

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ वैशाख १८ गते १९:३०
फाइल तस्वीर

१८ वैशाख, काठमाडौं । पसलमा ग्याँस हुँदाहुँदै उपभोक्तालाई ग्याँस नदिने शंखमुलका एक बिक्रेतालाई १३ वैशाखमा वाणिज्य विभागको टोलीले २० हजार रुपैयाँ जरिवाना गर्‍यो ।

१४ वैशाखमा हाँडीगाउँको एक ग्याँस पसललाई पनि यस्तै आरोपमा विभागले ५ हजार रुपैयाँ जरिवाना गर्‍यो । वाणिज्य विभागका सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार ग्याँस भएर पनि उपभोक्तालाई नदिने १० भन्दा बढी बिक्रेता कारबाहीमा परेका छन् ।

केहीलाई नगद जरिवाना गरिएको र केहीलाई स्पष्टीकरणका लागि विभागमा बोलाइएको पौडेलले बताए । ‘पसलमा भरी सिलिण्डर ग्याँस भएर पनि बिक्री गर्न इन्कार गरेको पाइयो’ पौडेलले अनलाइनखबरसँग भने, ‘हामी तीब्र गतिमा कारबाही गर्दैछौं ।’

१४ वैशाखमा विभागले चन्द्रागिरी नगरपालिका वडा नम्बर १४ र १५ एक–एक वटा ग्याँस पसललाई पनि पाँच–पाँच हजार रुपैयाँ जरिवाना गरेको छ । १४ वैशाखमै ७ वटा ग्याँस पसलमा अनुगमन गरेर तीनवटालाई जरिवाना गरेको, तीनवटालाई विभागमा हाजिर हुन बोलाएको र एउटा पसललाई सामान्य निर्देशन दिइएको सूचना अधिकारी पौडेलको भनाइ छ ।

ग्याँसको भाउ बढ्ने हल्ला

भाउ बढ्ने हल्लाले बजारमा खाना पकाउने ग्याँस अभाव भएको वाणिज्य विभागका अधिकारी बताउँछन् । निगमले अहिले २५ सय ५२ रुपैयाँमा किनेको एक सिलिण्डर ग्याँस १६ सय रुपैयाँमा बिक्री गरिररहेको छ ।

तर, सरकारले परल मूल्यमै ग्याँस बिक्री गर्ने र भाउ बढेर २५ सय रुपैयाँ हाराहारी पुग्ने हल्ला चलेको पाइएको विभागका अधिकारीहरु बताउँछन् । ‘एकै सिलिण्डरमा ९ सय रुपैयाँँ नाफा हुने लोभमा व्यापारीहरुले ग्याँस लुकाएको पाइएको छ,’ अनुगमनमा खटिएका एक अधिकृतले भने ‘रिफिलिङ उद्योगहरुमा पनि यो समस्या हुन सक्छ अनुगमन बढाउनुपर्ने देखिएको छ ।’

नेपाल आयल निगमका एलपीजी विभाग प्रमुख नेत्र काफ्ले अहिले ग्याँस अभाव हुनुको कारण ब्यापारीले लुकाउने र उपभोक्ताले चाहिने भन्दा बढी मौज्दात गर्नु हो । ‘अफ सिजनमा पनि बजारमा ग्याँस अभाव हुनुको कारण व्यवसायीले लुकाउने वा उपभोक्ताले चाहिने भन्दा बढी मौज्दात गर्नाले हो’, काफ्लेले भने, ‘हामीले यस्ता कार्यविरुद्ध कारबाही गर्न वाणिज्य विभागलाई भनिसकेका छौं ।’

तत्कालै ग्याँसको भाउ बढ्ने सम्भावना नरहेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । ‘बाहिर धेरै हल्ला हामीले पनि सुनेका छौं । त्यसैलाई आधार बनाएर बजारमा आपूर्ति श्रृंखला बिग्रने सम्भावना पनि छ’, उनले थपे, ‘तत्काल परल मूल्यमै ग्याँस बिक्री गर्नेबारे कुनै निर्देशन वा तयारी हामीसंग छैन । ’

खपत भन्दा बढी आयात

नेपाल आयल निगमकाअनुसार अहिले ग्याँस कम खपत हुने सिजन हो । यो सिजनमा अघिल्ला वर्षहरुमा देशभर औसतमा दैनिक ७० देखि ८० बुलेट ग्याँस आवश्यक पथ्र्यो । तर, अहिले दैनिक १३० बुलेट ग्याँस नेपाल भित्रिरहेको आयल निगमको एलपीजी विभाग प्रमुख नेत्र काफ्ले बताउँछन् ।

‘ग्याँसको वितरणमा केही न केही समस्या छ,’ उनले भने ‘पहिले सकिनेबित्तिकै पाइन्थ्यो तर अहिले केही दिन लाइन लगाएर उपभोक्तालाई बल्ल तल्ल दिएको गुनासो आउने गरेको छ ।’

बजारमा ग्याँस बिक्रेताले मूल्यवृद्धिको हल्ला चलाएको निगम स्रोत बताउँछ । ‘पहिले ग्याँस अभाव हुन्छ भनेर उपभोक्तालाई बिक्री गरेर मौज्दात बढाए, अहिले मूल्य बढ्छ भन्ने हल्ला चलाए’ निगम स्रोत भन्छ ‘जसरी पनि उनीहरुले आफ्नो व्यापार बढाइरहेका छन् ।’ जसका कारण उपभोक्ताले सिलिण्डर खरीद गरेर ग्याँस सञ्चित गर्ने क्रम बढेको निगमको भनाइ छ ।

भन्सार बिन्दुमा सरकारी महशुल तिरेपछि ग्याँस व्यवसायी कुनै पनि सरकारी निकायको निगरानीमा नरहेको निगम स्रोत बताउँछ । कुन कम्पनीले कति बुलेट ग्याँस ल्याए र कहाँ कसरी बिक्री गरे भन्ने कुनै अभिलेख नरहेको निगमको भनाइ छ ।

‘बिक्रेता डिलर वा ग्याँस कम्पनी कसले कालोबजारी गरेको भन्ने नै नछुट्टिएको अवस्था छ’ निगम स्रोतले भन्यो ।

बिक्रेता भन्छन् : लुकाइएको छैन

नेपाल ग्याँस बिक्रेता महासंघले भने अनुगमनका क्रममा केही ठाउँमा ग्याँस वितरणमा समस्या भएको स्वीकार गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले ग्याँसमा कालोबजारी गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

अहिलेको ग्याँसको अभाव उद्योगीहरुले रोकेको ढुवानीका कारण भएको र कालोबजारी गर्ने कुनै मनसाय नभएको उनले दाबी गरे ।

‘बजारमा एउटा मात्रै सिलिण्डर भएका ग्राहकलाई ग्याँस पाउन समस्या भएको साँचो हो,’ थापाले भने, ‘सहज रुपमा बिक्री गर्न देशैभरका बिक्रेतालाई परिपत्र गरिसकेका छौं ।’ यो सातादेखि ग्याँसको आपूर्ति सहज हुने पनि उनले दाबी गरे ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?