+
+
उम्मेदवार प्रोफाइल :

भीमप्रसाद ढुंगाना : गठबन्धनको बलमा दोहोरिने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १६:०४

२०२३ सालमा धादिङको मुरलीभञ्ज्याङ गाउँ पञ्चायतमा जन्मिएका भीमप्रसाद ढुंगाना २०३६ सालमा निर्दलीय पञ्चायत विरुद्धको विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएका हुन् ।

२०३९ सालमा नेपाल विद्यार्थी संघको धादिङ जिल्ला अध्यक्ष बनेका उनी २०४२ मा माउ पार्टी नेपाली कांग्रेसको सत्याग्रहमा संलग्न हुँदा पक्राउ परेर केही महिना जेल परे ।

२०४८ र २०५४ सालमा मुरलीभञ्ज्याङ्ग गाविस अध्यक्ष चुनिएका ढुंगाना २०७२ मा कांग्रेस धादिङको सभापतिमा पराजित भए । देउवा समूहबाट उठेका उनी केवल २६ मतले हारेका थिए ।

२०७४ सालमा नीलकण्ठ नगरपालिका प्रमुखमा निर्वाचित भएका उनी यसबीचमा कांग्रेस पार्टीको क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य र क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहे ।

प्रथम मेयर भएर नीलकण्ठ नगरपालिकालाई दुई पटक सर्वोत्कृष्ट नगरको रूपमा पुरस्कृत गराएका ढुंगाना यहीबीचमा गाउँ विकास समिति राष्ट्रिय महासंघको महासचिव पनि रहे ।

उनी भौतिक विकासलाई जनस्तरमा पुर्‍याउने, चक्रपथ निर्माण गर्दै करिडोर र रिङरोडलाई व्यवस्थित गर्ने, बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र हरियाली बनाउने एजेन्डासहित पुनः मेयरको चुनावी मैदानमा छन् ।

गत निर्वाचनमा १३ हजार १६६ मतका साथ ढुंगाना विजयी हुँदा नेकपा (एमाले)का प्रत्यासी अर्जुनकुमार श्रेष्ठले ६ हजार ९९० मत ल्याएका थिए । ढुंगानाले गत निर्वाचनमा जस्तै यसपटक पनि माओवादी केन्द्रको साथ पाएका छन् ।

एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पनि यसपटक ढुंगानाको साथमा छ । गत चुनावको अंकगणित र हालको गठबन्धनले नीलकण्ठ नगरपालिकाको मेयरमा भीमप्रसाद ढुंगानाको उम्मेदवारीलाई बलियो बनाएको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?