+
+

गिरीश गिरी : विगतलाई आगत बनाउने चुनौती

सुरेश बिडारी सुरेश बिडारी
२०७९ वैशाख २४ गते २०:४६

२४ वैशाख, वीरगञ्ज । गिरीश गिरी वीरगञ्जका भएपनि काठमाडौंमा बढी परिचित छन्, त्यो पनि पत्रकार एवं लेखकका रुपमा । राजनीतिकर्मीको परिचय नबनाएका उनै गिरी यसपटक एकाएक वीरगञ्ज महानगरको मेयरको प्रत्यासीको अवतारमा चुनावी मैदानमा छन्, दक्षिणपन्थी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ।

उनका बाबु स्व. गोपाल गिरी दुइपटक वीरगञ्ज– १२ को वडाध्यक्ष र एक पटक मेयर भएका थिए । मेयरको कार्यकालमा सुधारका काम अगाडि बढाएका गोपाललाई चन्दा नदिएको आरोपमा तत्कालिन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले १ माघ ०६० मा गोली हानेर हत्या गरेको थियो ।

राजनीतिमा बाबुको ‘स्पेस’ बनाउन खोजेका ४८ वर्षीय गिरीश गिरीले वीरगञ्जबाट पत्रकारिता सुरु गरेर काठमाडौंमा कान्तिपुर, सेतोपाटी, देशसञ्चार लगायत संचार गृहमा काम गरे ।  पत्रकारितासँगै उनले ‘वीरगञ्ज : मेरो सहरको कथा’ र ‘सत्य मोहन जोशी’ पुस्तक लेखेका छन् । उनले पर्साकै एउटा फुटबल क्लबबारे डकुमेन्ट्री समेत बनाएका छन् ।

अप्ठ्यारा–सप्ठ्यारा

अलि ढिलोगरी चुनावी मैदानमा उत्रिएका गिरी लामो समय वीरगञ्ज बाहिर रहे । वीरगञ्जका एक–एक मतदाताका लागि नौलो हुनु नै उनका लागि पहिलो चुनौती भएको छ ।

बौद्धिक छविका गिरी विजयकुमार सरावगी र राजेशमान सिंहको विकल्प खोज्नेहरुका लागि उपयुक्त पात्र हुन सक्छन् । तर, वीरगञ्जमा चुनाव यसैपनि अरु ठाउँको तुलनामा बढी खर्चिलो छ । दल बदलमा माहिर निवर्तमान मेयर सरावगी र सिंह दुवै चुनाव खर्च परिचालनमा पनि सक्षम मानिन्छन् ।

फेरि, गिरीले रोजेको राप्रपा मन पराउने पनि कमै छन् । राप्रपाको कमजोर जनाधारबाट विजय हासिल गर्नु आफैंमा चुनौतीपूर्ण छ । संघीयता र गणतन्त्रका लागि लडेको पुस्ताबाट राजतन्त्र र एकात्मक व्यवस्थावादीले भोट पाउन यसैपनि गाह्रो छ ।

गिरीको शालीन व्यक्तित्व र मिलनसार शैलीलाई भने धेरैले मन पराएका छन् । उनले पनि ‘यो निर्वाचन राजतन्त्र र संघीयतासँग केही लिनु दिनु छैन’ भन्दै मतदातालाई आश्वस्त पार्न खोजिरहेका छन् ।

योजनाको खाका छैन

हतारमा चुनावी मैदानमा उत्रिएका गिरीले विकासको स्पष्ट खाका प्रस्तुत गर्न सकेका छैनन् । बुवा गोपाल गिरीको अधुरा सपना पूरा गर्ने भावनात्मक नारा उनले लगाइरहेका छन् ।

गिरीले वीरगञ्जका बासिन्दालाई ‘ग्लोबल सिटिजन’ बनाउने भन्दैछन् । ‘अबको वीरगञ्ज भनेको ग्लोबल वीरगञ्ज हो, संसारभित्रको एउटा महानगर हो । विश्व दृष्टिकोण राखेर ग्लोबल सिटिजन बन्न सक्नुपर्छ’, उनी भन्छन् ।

निकै छोटो अवधिको घरदैलो कार्यक्रमा आफुले सोचेको ‘स्याटेलाइट सिटी’को अवधारणासंगै भुईं तहका मानिसका आधारभूत समस्या समाधानबारे बुझाउन कति सफल हुन्छन् ? यसैमा उनले पाउने मतको आधार निर्धारण हुनेछ ।

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?