९ मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई आग्रह गरेका छन् । अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको जिकिर गरे ।
उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि नेता कार्यकर्तालाई आग्रह गरे ।
‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टीको गठन गरेका छौँ । म तपाईंहरूलाई फेरि पनि भन्न चाहन्छु, अब यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महशुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यक्ता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईंहरूको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो संगठन मेरो, अर्को संगठन अरुको भन्ने भ्रममुक्त हुनुपर्छ,’ उनले भने ।
इतिहासको चर्चा गर्दा पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई उनले आग्रह गरे । नेकपा एमालेका कार्यकर्ताहरुले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै उनले पार्टी भित्र ‘बा’ प्रवृत्ति हावी हुन दिन नहुने बताए ।
‘अब एउटै पार्टी बनाएका छौँ । सबै जनसंगठनहरुलाई पनि एकताबद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखीको मात्रै होइन २००६ सालदेखिको चर्चा हुनुपर्छ,’ नेपालले भने, ‘२०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरुले खेलेको महत्वपूर्ण भूमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृति हावी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी ।’
प्रतिक्रिया 4