+
+

नेपालका हिमाल र सम्पदाको ब्रान्डिङ गर्दै ‘डक्टर स्ट्रेन्ज’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १२:५५

काठमाडौं । यतिबेला नेपालका सिनेमा हलहरुमा प्रदर्शन भइरहेको हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ हेर्नुभएको छ भने तपाईंले यसमा नेपालका दृश्य पनि देख्न सक्नुहुन्छ ।

मार्भल सिनेम्याटिक युनिभर्सको कथावस्तुमा राखिएको काल्पनिक थलो कमर-ताज नेपालको राजधानी काठमाडौं र यसको सेरोफेरो हो । मार्भलको अफिसियल वेबबाइटमा पनि कमर-ताज रहस्यमयी कलामा निपूर्ण मास्टरहरुको तालिम र बसोबास गर्ने थलो काठमाडौं रहेको उल्लेख छ ।

तपाईंले ‘डक्टर स्ट्रेन्ज’को अघिल्लो भाग हेर्नुभएको छ भने भने पक्कै पनि फिल्ममा काठमाडौं सहर र नेपालको हिमालयलाई कसरी चित्रण गरिएको छ भनेर बुझ्नुहुन्छ । जब स्टेफन स्ट्रेन्ज (बेनेडिक्ट कम्बरब्याच) पात्र गम्भीर कार दुर्घटनामा पर्छ र ऊ आफूभित्रको शक्तिको खोजी गर्दै काठमाडौंमा आउँछ ।

ऊ काठमाडौंको पशुपतिनाथ मन्दिरमा पुग्छ, पाटनको गल्ली घुम्छ र हिमालय पर्वत पुग्छ त्यहाँ उसको भेट बौद्ध भिक्षुणी बनेकी टिल्डा स्वीटनसँग हुन्छ । उसले उनीबाट ज्ञान सिक्छ र शक्ति हासिल गरेपछि पुनः फर्कन्छ । तर डक्टर स्ट्रेन्जमा अभिनेत्री टिल्डा छैनन्, तर उनको ज्ञानलाई पछ्याइरहेका पात्रहरु बेनेडिक्ट वोङ लगायत छन् ।

फिल्ममा एलिजाबेथ ओल्सन अर्थात् वान्डा म्याक्सिमोफको आक्रमणबाट काठमाडौं सहरमा रहेको कमर-ताज ध्वस्त हुन्छ । डक्टर स्ट्रेन्ज, जोचिटल गोमेज अर्थात् अमेरिका चोज र वोङ तथा वान्डाबीच भीषण लडाइँ हुन्छ र आकर्षक कमर-ताज ध्वस्त हुन्छ ।

तर फिल्मको अन्त्यमा उक्त कमर-ताज पुननिर्माण भएको र वान्डालाई हराएपछि मुख्य पात्रहरु तालिममा फर्किएको देखिन्छ । फिल्मकी मुख्य पात्र अमेरिका चाभेज पनि वोङसँगै काठमाडौंमा तालिम लिन आएको देखिन्छ ।

सो भूगोलको चित्रणसँगै फिल्म सकिन्छ । यसको अर्थ, डक्टर स्ट्रेन्जको आगामी सिक्वेलमा पनि काठमाडौं र नेपालका हिमाललाई पनि देख्न सकिनेछ । ‘डक्टर स्ट्रेन्ज’को अघिल्लो सिक्वेल पाटन र केही हिमाली क्षेत्रमा खिचिएकाले सोही ठाउँमा भीएफएक्स प्रस्तुत गरिएको छ ।

मार्भलको बिग बजेट फिल्म ‘डक्टर स्ट्रेन्ज’ले आफ्ना फिल्ममा नेपाली सम्पदा र भूृगोललाई ब्रान्डिङ गरिरहेको देखिन्छ । यसले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने आशा गर्न सकिन्छ । अर्कोतर्फ नेपाललाई जसरी रहस्यमयी कलाहरुको थलो भनिएको छ, जसले नेपालको संस्कृति र पूर्वीय दर्शनलाई पनि फाइदा पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?