+
+

हिमाल आरोहण र चुनावले हेलिकप्टरको व्यवसायमा रौनक

अच्युत पुरी अच्युत पुरी
२०७९ वैशाख २५ गते १६:०३

२५ वैशाख, काठमाडौं । आरोहण सिजन र स्थानीय तहको निर्वाचनका कारण हेलिकप्टरको ‘बिजनेस’ मा सुधार देखिएको छ । व्यवसायीहरु अनुसार मुख्य रुपमा हिमाल आरोहणमा पर्यटकको आकर्षणका कारण बिजेनसमा सुधार भएको हो ।

हेलिकप्टरको दैनिक उपयोगका दृष्टिकोणबाट बिजनेस कोभिडकाल भन्दा अगाडिको अवस्थामा पुगेको वायुसेवा सञ्चालक संघका सचिव तथा मनाङ एयरका प्रवन्धक राजु न्यौपानले जानकारी दिए ।

‘नेपालमा रहेका सबैजसो कम्पनीका हेलिकप्टर अहिले दैनिक ६/७ घण्टा औसतमा उडिरहेका छन्,’ उनले भने, ‘यो करिब कोभिड महामारी सुरु हुनुभन्दा अगाडिकै हाराहारी हो ।’

हेलिकप्टरमा उडान संख्या भन्दा उडान अवधिका आधारमा हेर्ने गरिन्छ । न्यौपानेका अनुसार निर्वाचनमा हेलिकप्टरको प्रयोग तुलनात्मक रुपमा कम छ । तर, हिमालमा भने हेलिकप्टरको प्रयोग बढी छ । केही हेलिकप्टर लुक्ला र केही पोखरामा राखेर उडान भइरहेको उनले जानकारी दिए ।

नेपाली आकासमा ११ वटा हेलिकप्टर कम्पनीका साढे दुई दर्जन हेलिकप्टर उड्छन् । दैनिक झण्डै ३० वटा हेलिकप्टरले नियमित जसो सेवा दिने कम्पनीहरुले जनाएका छन् ।

कुनै दिन कुनै हेलिकप्टर टेक्निकल कारणले रोकिनु परेपनि औसत ३० वटा हेलिकप्टर दैनिक ६/७ घण्टा उड्ने गरेको न्यौपानेले जानकारी दिए । उनका अनुसार अपि्रलपछि हेलिकप्टरको बिजनेस पुरानै अवस्थामा र्फकन थालेको हो । यो अवस्था आरोहीहरु काठमाडौं र्फकने समयसम्म रहने अनुमान छ । त्यसपछि भने वर्षायाम सुरु हुने हुँदा हेलिकप्टरको बिजनेश घट्ने उनको भनाइ छ ।

पर्यटन विभागको पछिल्लो तथ्यांकअनुसार यो सिजनमा हिमाल चढ्न ९१८ जना आरोहीले अनुमति लिएका छन् । यी आरोहीको साथमा जाने गाइड, सम्पर्क अधिकृत तथा सहयोगीसमेत हजारौं मानिस हिमालको आधार शिविरसम्म पुगेका छन् ।

उनीहरुलाई उडान सेवामा खटिँदा हेलिकप्टर सञ्चालकहरुमा उत्साह थपिएको हो । यो सिजन सगरमाथामा मात्र ३९ समूहका ३१६ जनाले अनुमति लिएका छन् । उनीहरु सबैजसो आधार शिविरमा पुगेको विभागका निर्देशक सुर्य प्रसाद उपाध्यायले जानकारी दिए ।

हेलिकप्टर कम्पनी सञ्चालकहरुका अनुसार इन्धनको मूल्य बढेपनि हेलिकप्टरको दर भने कोभिड अगाडिको तुलनामा बढेको छैन । जसले गर्दा आम्दानीमा भने असर परेको सचिव न्यौपानेले बताए । ‘इन्धनको मूल्य धेरै नै बढेको छ,’ उनले भने, ‘त्यसअनुसार भाडा दर नबढेका कारण आम्दानी उत्साहजनक छैन ।’

आधा पाइलट विदेशी

हेलिकप्टरको बढ्दो प्रयोगसँगै सञ्चालकहरुले पाइलट भने विदेशबाट मगाउनु परेको छ । सामान्यतया एउटा हेलिकप्टरपूर्ण क्षमतामा उडाउन दैनिक औसत २.६ जना पाइलट आवश्यक पर्छ । यसको तुलनामा नेपालमा स्वदेशी पाइलट उपलब्ध नहुँदा विदेशबाट पाइलट मगाउनु पर्ने आवश्यता छ । पर्वतारोहणको मौसम शुरु भएपछि नेपाली कम्पनीमा १५-२० जना विदेशी पाइलटले सेवा दिइरहेको बताइएको छ । नेपाली पाइलटको संख्या ३०-३५ हाराहारीमा छ । आवश्यकताको तुलनामा उत्पादन कम हुँदा नेपालमा हेलिकप्टर उडान विदेशी पाइलट भित्राउनु पर्ने बाध्यता रहेको संचालकहरुको भनाई छ ।

यसैबीच आगामी स्थानीय तह निर्वाचन हुने दिन ३० वैशाखमा आन्तरिक तर्फ कुनै पनि नियमित उडान नहुने भएको छ । हेलिकप्टरले समेत उद्धार उडानका लागि मात्र उडान गर्न पाउने छन् । वायुसेवा संचालक संघले आइतबार एक विज्ञप्ति निकाल्दै ३० वैशाखमा मानवीय उद्धार, सहायता उडान र सरकारको निर्देशनमा हुने उडानबाहेक अरु उडान भने बन्द रहने बताएको हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?