+
+

मेरो प्रतिस्पर्धी कोही छ जस्तो लाग्दैन : मुकुन्दश्याम गिरी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ९:३५

२५ वैशाख, सुर्खेत । राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्दश्याम गिरीले वीरेन्द्रनगर नगरपालिकाको नेतृत्वका लागि १८ वर्षपछि पुनः उम्मेदवारी दिएका छन् । २०६१ सालमा वीरेन्द्रनगरको मेयर भएका गिरी नगरवासीका लागि आफू जति विकासप्रेमी पात्र अर्को नभएको बताउँछन् ।

१८ वर्ष पहिले आफूले बसालेको जगमा वीरेन्द्रनगर उभिएको र जनअपेक्षा अनुसार कुनैपनि नेताहरुले काम गर्न नसकेको उनको ठहर छ । राजा वीरेन्द्रले प्लानिङ गरेर व्यवस्थित बनाइदिएको वीरेन्द्रनगरलाई अन्य दलका नेता कार्यकर्ताले क्षतविच्छेद पारेको गिरीको आरोप छ ।

आसन्न स्थानीय तह निर्वाचन, चुनावी एजेण्डा लगायत विषयमा गिरीसँग अनलानखबरकर्मी यज्ञ खत्रीले गरेको कुराकानी :

१८ वर्षपछि वीरेन्द्रनगरको नेतृत्वका लागि पुनः उम्मेदवारी दिनुभएको छ । यो अवधिमा तपाईलाई यहाँका जनताले सम्झिएका होलान् ?

पछिल्लो राजनीतिक परिवर्तनपछि विभिन्न निकायका निर्वाचन भए । विभिन्न पार्टीहरुले सत्ताको उपभोग गरे । त्यसबाट आनन्द लिए । तर जनताको समस्या जहाँको त्यहीँ छ । कुनैपनि परिवर्तन भएको देखिएन ।

एउटा उदाहरण, नगरपालिकाको कार्यलय अगाडि घण्टाघर छ । त्यो घडीको सुई विगत १० वर्ष देखि ११ः३५ मा रोकिएको छ । नगरको स्वामित्वमा रहेको घण्टाघरको सुई १० वर्षसम्म चल्न सक्दैन । यसबाट प्रमाणित हुन्छ । हाम्रा नेताहरुमा समयको ख्याल कत्तिको छ ?

चुनाव लड्नुमा मेरो व्यक्तिगत आकांक्षा र स्वार्थ छैन । मेरा लागि अन्य थुप्रै अवसरहरु थिए, छन् पनि । जनताको सेवा, नगरको विकास र यो ठाउँको उन्नती, प्रगतिका लागि उम्मेदवारी दिएको हुँ ।

तपाई राप्रपाको केन्द्रीय उपाध्यक्ष । राष्ट्रिय राजनीतिमा राम्रो प्रभाव पार्न सक्ने व्यक्ति । तर पनि नगरको मेयरमा उठ्नुभयो किन ?

पदको पछाडि म कहिल्यै हिँडिन् । र, पार्टीमा अन्य उम्मेदवार नभएको पनि होइन । २०४३ सालमा तत्कालिन लाटिकोइली गाविसको प्रधान बनेँ । ०६१ मा पनि राजनीतिक नियुक्तिबाट मेयर पदमा आए । त्यो बेला ७ महिना काम गरेको थिएँ ।

राजनीतिमा लागेपछि जनताको सेवा गर्ने इच्छा हुँदोरहेछ मान्छेमा । त्यो इच्छालाई परिपूर्ति गर्न अवसर पाएको छैन । जनताको सेवा गर्नलाई ठुलै पद चाहिन्छ भन्ने पनि होइन । मेरा केही योजना छन् । केही स्कीमहरु छन् । त्यसलाई जनतासम्म पुर्‍याउनु छ ।

म त केन्द्रीय उपाध्यक्ष भएँ भन्दैमा आफू सुपेरियर बएर बस्नुभन्दा जहाँनेर आवश्यकता छ त्यहीँनेर लाग्नुपर्छ भन्ने मान्यता राख्छु । त्यसैले चुनावी मैदानमा होमिएको हुँ ।

तपाईं निर्वाचित भएमा प्रमुख प्राथमिकता के हो ?

पहिलो प्राथमिकता भनेको सुर्खेत– काठमाडौं हवाइ उडान हो । सुर्खेत एयपोर्ट विवादित छ । जनताले चाहिदैन भनिरहेका छन् । आवश्यकता उत्तिकै टड्कारो छ । हाइवेलाई अन्डरपासबाट निकालेर विस्तार गर्छु । त्यसो गरिए माथिको विद्यालय र बस्ती हटाउनुपर्दैन । एयरपोर्ट विस्तार भए ठूला जहाज आउँछन् । भाडा स्वतः सस्तो हुन्छ ।

गर्मी समयमा चार दिनमा एकपटक धारामा पानी आउँछ । नेताहरुले पानीमाथि राजनीति गर्न थालेको दुई दशक भयो तर निकास दिन सकेका छैनन् । पानीको दीर्घकालीन समस्या समाधान गर्छु । त्यसको प्रष्ट योजना म संग छ ।

म प्रधानपञ्च हुँदा २०४३ सालमा नापी गराएका जग्गाहरु सेतो पुर्जा प्राप्त गरेका छन् । ३१ वर्षदेखि त्यसलाई लालपूर्जा बनाउन कसैले पहल गरेनन् । भोट कार्ड मात्रै बनाइयो । सुकुम्बासी समस्या समाधान गर्छु । १८ वर्ष पहिले मेयर हुँदा तीन महिना लगाएर नगर सफाइ गरेको थिएँ । ठूलो अभियान नै चलाएको थिएँ । अहिले वीरेन्द्रनगरमा १७ वर्षको फोहोर थुप्रिएको छ । त्यसलाई पूर्ण रुपमा सफाइ गर्नु छ ।

राजा वीरेन्द्रले २०२९ सालमा बनाएको गुरुयोजना दलहरुले क्षतविच्छेद बनाएका छन् । हाइवेदेखि तलको क्षेत्र कृषि क्षेत्र हो । गुरुयोजना अनुसार त्यहाँ घर बनाउन मिल्दैन । बहुदल आएपछि जुन पार्टी सरकारमा आयो त्यही पार्टीका नेता नगर विकास समितिको अध्यक्ष हुन थाले ।

अनि उनीहरुले स्वेच्छाले जग्गा बाँड्न थाले । प्लानिङ अनुसारको जग्गा घडेरीका रुपमा बाँडे, पैसा उठाएर भत्ता खाए । सार्वजनिक क्षेत्र पार्टी र संघ संस्थाका कार्यालयले भरिएका छन् ।

त्यसलाई सुधार्नु छ । बजार व्यवस्थापन गरी हरियाली बनाउने, ट्राफिक व्यवस्थापन गर्ने, रिक्सा चालकहरुको समस्या समाधान गर्ने लगायतका थुप्रै योजना छन् । विज्ञको सल्लाह, सुझाव अनुसार यहाँको आवश्यकता अनुसार काम गर्नेछु ।

कांग्रेस र माओवादीको गठबन्धन छ । एमालेका पनि बलिया उम्मेदवार छन् । ठुला दलहरुको ठूलै प्रतिस्पर्धा छ । यसको बीचमा तपाईको जित कसरी सम्भव छ ?

कांग्रेस, एमाले, माओवादी यी सबै टेस्टेड भईसके । माओवादीको मेयरको उम्मेदवार छैन । कांग्रेसको उपमेयरको उम्मेदवार छैन । दुई पार्टी दुईतिर फर्किएका छन् । केन्द्रमा नेताहरुले गठबन्धन गरेपनि कार्यकर्ता भोट दिने पक्षमा छैनन् ।

एमाले टुटफुटले थलिएको छ । मलाई लाग्छ मेरो प्रतिस्पर्धी नै छैन । सात महिना मेयर हुँदा मैले सुरु गरेका योजना अहिलेसम्म चलेका छन् । तत्कालिन क्षेत्रीय अस्पताल (हालको प्रदेश अस्पताल) मैले स्थापना गरेको हुँ । ठुलो संघर्ष गरेर नेपालगंञ्जबाट खोसेर ल्याएको थिएँ ।

मेरो घर माओवादीले जलाइदिए । म घरको आगो निभाउन नगई जनताको सेवामा खटिएको थिएँ । नगरवासी मेरो काम र मैले दिनसक्ने परिणामबारे जानकार छन् । त्यसको मुल्यकंन गरेका छन् । घरदैलोमा हिँड्दै गर्दा जनता उत्साहित छन् । पार्टी जेसुकै होस भोट तिमीलाई दिन्छौं भनेका छन् । जनता जनार्दन हुन् । त्यसैले पनि म अत्याधिक मतले चुनाव जित्छु ।

२०७४ को मतपरिणाम हेर्दा राप्रपा पाँचौ स्थानमा छ नि ?

पञ्चायत पछि कांग्रेसको आँकडा कति थियो । जम्मा १४ जना मान्छे कांग्रेस थिए सुर्खेतमा । बहुदलको पुनस्र्थापना भएपछि कांग्रेसले दुईवटै क्षेत्र जित्यो । अर्को पटक १० वर्षे जनयूद्ध गरेर आएको माओवादीको आँकडा कहाँ थियो ? पहिलो पार्टी बनेको माओवादी अहिले तेस्रो स्थानमा छ ।

जनताले गलत गर्ने मान्छेलाई छोड्छन् । अहिले कांग्रेस, एमाले र माओवादीलाई जनताले छोड्न चाहिरहेका छन् । यिनीहरुका क्रियाकलाप र गतिविधिदेखि जनता आजित भइसके । भ्रष्ट्राचार, दुराचार सबै हेरिरहेका छन् । तीनै पार्टीका तल्लो तहका नेताहरु पनि निराश छन्, दुखी छन् । ती सबैले विकल्प खोजिरहेका छन् । राप्रपा नै ती सबैको एकमात्र विकल्प हो ।

पछिल्लो समाय राप्रपाप्रति जनलहर बढेको छ । मौरी पुरानो घारमा फर्किदैछ । राप्रपा त्यही पुरानो घार हो ।

वीरेन्द्रनगरका मतदाताले तपाईंलाई नै किन मत दिने त ?

मुकुन्दश्याम एउटा निश्कलंकित, सबैप्रति समान व्यवहार राख्ने मान्छे हो । यो जनतालाई थाहा नै छ । मसँग प्रष्ट भिजन छ, योजना छ, सपना छ । विगतमा छोटो समयमा गरेका उत्कृष्ट काम त्यसको प्रमाण हो । वीरेन्द्रनगरबासी हुँ, चुनाव जितौं वा हारौं नगरबासीप्रति सधैंभर माया र सद्भाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?