+
+

उम्मेदवारहरूलाई एक निर्वाचन अधिकृतको अनुरोध

बद्रीबहादुर पाठक बद्रीबहादुर पाठक
२०७९ वैशाख २६ गते ११:२३

स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनुभएका आदरणीय उम्मेदवारहरू

संविधान जारी भए पश्चात हामी दोस्रो स्थानीय तहको निर्वाचनको संघारमा छौं । निर्वाचन लोकतन्त्रको आधार स्तम्भ हो । निर्वाचनबाट जनताका प्रतिनिधि चुनिएर तोकिएको ऐन, कानुन अनुसार जनतालाई सेवा प्रवाह र विकास निर्माणका कार्यहरू अगाडि बढ्ने गर्दछन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार जनताको घरदैलोमा सेवा दिने स्थानीय तहको व्यवस्थापिका र कार्यपालिकाका लागि यही वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन सम्पन्न हँुदैछ ।

निर्वाचन आयोगले सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय २०७९ वैशाख ८ गतेबाट स्थापना गरी प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमार्फत वैशाख ११ र १२ गते मेयर/अध्यक्ष, उपमेयर/उपाध्यक्ष, प्रत्येक वडाका लागि वडा अध्यक्ष, दलित महिला सदस्य एक, महिला सदस्य एक र खुला सदस्य दुई जना पदका लागि उम्मेदवारी दर्ता गरी अन्तिम नामावली प्रकाशन र वैशाख १७ गते निर्वाचन चिह्न समेत प्रदान गरिसकेको छ । आ-आफ्ना राजनीतिक दलका घोषणा पत्र र प्रतिवद्धता सहित नागरिकको मन जित्न र निर्वाचनमा मत प्राप्त गर्न उम्मेदवारहरुको दौडधुप चलिरहेको छ । यस्तो अवस्थामा स्थानीय तहको प्रक्रिया र निर्वाचनमा उम्मेदवारले पालना गर्नुपर्ने आचार संहिताको बारेमा थोरै भए पनि जानकारी गराउन यहाँहरूलाई छोटो अनुरोध गर्ने जमर्को गरेको छु ।

आदरणीय उम्मेदवारज्यूहरू

स्थानीय तहको निर्वाचनमा पहिलो हुने वा खसेको सदर मतमध्ये सबैभन्दा बढी ल्याउने व्यक्ति निर्वाचित हुने निर्वाचन प्रणाली रहेको छ । निर्वाचनमा भाग लिन निर्वाचनका आधारभूत मान्यता र नियमहरू पालना गर्नुपर्ने हुन्छ । त्यस्तै गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने प्रत्येक उम्मेदवारले निर्वाचन सम्बन्धी ऐन, नियम र निर्देशिकाको परिपालना गर्नुपर्दछ । निर्वाचनमा सहभागी हुने राजनीतिक दल र उम्मेदवारहरूले नागरिकको चुन्न र चुनिन पाउने अधिकारको सम्मान गर्दै निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन आचार संहिता पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

निर्वाचन आयोगले गत चैत्र २५ गतेदेखि लागू हुने गरी निर्वाचन आचार संहिता २०७८ कार्यान्वयनमा ल्याइसकेको छ । उक्त आचार संहितामा सबैले पालना गर्नुपर्ने आचरण, पदाधिकारी, कर्मचारी तथा निकायले पालना गर्नुपर्ने आचरण, राजनीतिक दल, उम्मेदवार तथा दलको भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण, मतदाता र मतदान तथा मतगणना प्रतिनिधिले पालना गर्नुपर्ने आचरण, पर्यवेक्षण संस्था तथा पर्यवेक्षकले पालना गर्नुपर्ने आचरण, सञ्चार प्रतिष्ठान सम्वद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरणहरू वुँदागत रूपमा उल्लेख गरिएका छन् । विशेष गरी राजनीतिक दल, उम्मेदवारहरूले आचार संहिता पालना गर्दा ध्यान दिनुपर्ने बुँदाहरू निम्न रहेका छन् ।

· दल तथा उम्मेदवारको तर्फबाट आयोजित जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने ।

· अठार वर्ष उमेर पूरा नभएका वालवालिकालाई निर्वाचन प्रचार प्रसारमा प्रयोग गर्न वा गराउन नहुने ।

· जुलुस वा आमसभामा भाग लिने वा प्रचार प्रसार गर्ने व्यक्तिले दलको चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, व्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने ।

· अन्य दल,उम्मेदवार वा दलको भातृ सङ्गठनले आयोजना गरेका जुलुस, आमसभा, भेला वा बैठक वा अन्य कुनै कार्यक्रम बिथोल्न वा कुनै प्रकारको बाधा अवरोध पुर्याउन नहुने ।

· प्रचार प्रसारका क्रममा कुनै पनि व्यक्तिको अनुमति नलिई घर वा जग्गा तथा सार्वजनिक भवन, उद्यान र कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा वा उम्मेदवारको चिन्ह राख्न वा टाँस्न नहुने ।

· उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिह् राख्न, कुनै किसिमको डिजिटल वोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य दृश्य सामग्री बजाउन र श्रव्य दृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने । अनलाइन वेब पेज, टिभी, सपिङ मलमा डिस्प्ले, सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको प्रचार प्रसार गर्न गराउन नहुने ।

· दलको झण्डा वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक स्थानमा प्रदर्शन गर्न वा गराउन नहुने । कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, बलयगाडा,

· रिक्सा, टाँगा, ठेलागाडा लगायतका सबै प्रकारका सवारी साधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा गराउन नहुने ।

· कुनै उम्मेदवार वा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने साथै धर्मको नाममा र साम्प्रदायिक विद्धेष फैलाउने गरी निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

· कसैको चरित्र हत्या हुने, लाञ्छना लगाउने, कुनै व्यक्तिको प्रतिष्ठा, भावना र चरित्रमा आँच आउने गरी प्रचार प्रसार गर्न नहुने साथै कुनै घर परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न नहुने ।

· कुनै सरकारी कार्यालय वा सामुदायिक विद्यालय वा शैक्षिक संस्थाको क्षेत्र प्रयोग गरी निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न वा गराउन नहुने ।

· सामाजिक सञ्जालमा गलत भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न नहुने साथै अरूलाई होच्याउने, अपमान गर्ने र टिकाटिप्पणी गर्न नहुने ।

राजनीतिक दल तथा उम्मेदवारले स्थानीय प्रशासनको अनुमति लिएर मात्र सार्वजनिक स्थलमा जुलुस आमसभा कोणसभा बैठक एवम् भेला गर्नुपर्ने हुन्छ । उम्मेदवारले ए फोर साइजको कागजमा आफ्नो व्यक्तिगत पहिचान बायोडाटाको विवरण खुलाई वितरण गर्न र ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म आकारको एउटै रङ्ग र मुद्रकको नामसहितको पर्चा प्रयोग गर्न पाइने व्यवस्था छ ।

उम्मेदवारको कार्यालयमा तीन बाइ तीनको कपडामा बनाइएको दलको झण्डा र सोही नापको निर्वाचन चिह्न प्रयोग गर्न पाउने व्यवस्था छ । उम्मेदवारले प्रचार प्रसारको क्रममा तोकिएका सवारी साधन अनुमति लिएर मात्र प्रयोग गर्न पाउने व्यवस्था छ । यी माथि उल्लेख गरिएका बाहेक अन्य धेरै कुरामा उम्मेदवारले ध्यान दिनुपर्ने हुन्छ । नागरिकको मन जित्न आफ्नो योजना सहित आफूले विजय हासिल गर्दा सम्पादन गरिने कामको विवरण वा खाका जनमानसमा पस्कनु पर्ने हुन्छ ।

सरल प्रस्तुति, सबै मतदातासँगको भेटघाट र मतदातालाई दिलाइने विश्वासले नै निर्वाचनमा मत पाउन सकिने कुरा उम्मेदवारलाई राम्रैसँग थाहा भएकै हुनुपर्दछ । विशेष गरी मतदातालाई मतदान गर्ने प्रक्रियाको बारेमा उम्मेदवार तथा उम्मेदवारको प्रतिनिधिले बुझाउन चुक्नु हुदैन । यी विषयमा राजनीकि दल र उम्मेदवारले ध्यान दिनु जरुरी छ ।

अन्तमा

अबको एक हप्तापछि कुन उम्मेदवारले के कति मत पाउनुभयो भनी फैसला हुँदैछ । निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने सबै उम्मेदवारले निर्वाचन जित्छु भनी विश्वास गर्नुपर्दछ तर एक सिटमा एक जनामात्र निर्वाचित हुने भएकाले निर्वाचनको प्रचार प्रसार र मतदाताको मन जित्नु महत्वपूर्ण हुन्छ । उम्मेदवारले नागरिक माझ हिजो आफूले गरेका कार्य व्यवहार र समाजप्रति गरेका कामहरूलाई जनमानसमा राम्रोसँग लैजान र बुझाउन सकेमा सहज हुन जान्छ ।

विगतको स्थानीय तहको निर्वाचनमा अपनाइएको भड्किलो प्रचार शैली र अवस्था भन्दा दल र उम्मेदवारको तडकभडक यस निर्वाचनमा धेरै कम देखिएको छ । तैपनि एकअर्काप्रतिको गालिगलोज र अशोभनीय टिकाटिप्पणी केही मात्रामा सुनिएको अवस्था छ ।

विशेष गरी मतदातालाई मतदान कसरी गर्ने, कसरी मतपत्र बदर हुदैन र आफूले चाहेको चिन्हमा कसरी सहज तरिकारले मत दिने भन्ने कुरा सिकाउने पाटोमा दलहरू तथा उम्मेदवार चुकेका नै देखिएका छन् । उम्मेदवारले प्रचार प्रसारको क्रममा सहिष्णु व्यबहार गरेर र आफ्ना असल कुरा बताएर आफ्नो स्थानीय टोल, वडा र पालिकाका जनताको मन जित्न, सही मतदान गर्न सिकाउन र मतदानको दिन शान्तिपूर्ण वातावरण सिर्जना गर्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूको महत्वपूर्ण भूमिका रहन्छ । सबै उम्मेदवारलाई शुभकामना ।

(पाठक बर्दगोरिया कैलालीका निर्वाचन अधिकृत हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?