+
+

निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा पूरा गराउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १६:०४

२६ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आसन्न स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा पूरा गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका छन् ।

उनले निर्वाचन सुरक्षामा खटिएका राष्ट्रसेवकहरुले कार्यक्षेत्रमा देखाएको उत्साहपूर्ण परिचालनको प्रशंसा गर्दै निर्वाचनमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुको बन्दोवस्ती एवं राशन व्यवस्थापन, स्वास्थ्य, अनुशासन, पेशागत दक्षता प्रदर्शन, सीमा सुरक्षामा परिचालन, चोरीतस्करी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा परिचालितभई सम्पादन गरेका कार्यहरुको सुक्ष्म रुपमा अनुगमन गर्ने गरी प्रधान कार्यालयबाट अनुगमन टोली समेत परिचालन गरिएको बताए ।

महानिरीक्षक अर्यालले निर्वाचन सुरक्षा प्रयोजनको लागी उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी नेपाल सरकारबाट प्राप्त नीति निर्देशनलाई पालना गर्दै विभिन्न निकायहरुसँग समन्वय र सहकार्य गरी आर्थिक अनुशासनमा रहेर मानवअधिकारको सम्मान गर्दै जिम्मेवारी निर्वाहमा क्रियाशिल रहन पनि निर्देशन दिए । अर्यालले लैगिंक हिंसा र गैह्र व्यवसायिक कार्यमा संलग्न रहने सशस्त्र प्रहरी कर्मचारीहरुलाई कारबाही गरिने समेत बताए ।

उनले निर्वाचन क्षेत्रमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुलार्इ निर्वाचन सुरक्षा, आचारणसंहिता र पदीय आचरणमा रही अनुशासन, इमान्दारिता र लगनशिल भइ कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिए । सुरक्षा क्षेत्रमा परिचालन हुँदा सशस्त्र प्रहरी कर्मचारीहरुले आफूले गरेका गतिविधिहरुलाई सामाजिक सञ्जालमा सेयर तथा पोष्ट गर्न नहुने पनि उनले बताए ।

कमाण्डर तहका अधिकृतहरुलाई उनले विभिन्न सुरक्षा निकायका प्रमुखहरुसँग समन्वय र सहकार्य गरी सबै निर्वाचन क्षेत्रहरुमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन निर्देशनको उनको सचिवालयले जनाएको छ । अर्यालले भनेका छन्, ‘जस्तोसुकै चुनौतीभित्र अवसर पनि अवश्य लुकेको हुन्छ सामना गर्न सक्नुपर्छ ।’

यसैबीच, आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई भयरहित वातावरणमा शान्तिपूर्वक सम्पन्न गराउन देशभर परिचालित भएका सशस्त्र प्रहरीहरुको स्थलगत अनुगमन तथा निरीक्षण गरी व्यावसायिक र चुस्त दुरुस्त रुपमा जिम्मेवारी निर्वाहमा क्रियासिल गराउन सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक र सशस्त्र प्रहरी उपरीक्षकहरुको नेतृत्वमा हरेक प्रदेशमा टोली परिचालन गरेको छ ।

जसअनुसार कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु कमलप्रसाद तिउसिना गण्डकी प्रदेश, किरण बस्नेत नं. १ प्रदेश, उद्धवबहादुर न्यौपाने मधेश प्रदेश, राजेन्द्र खड्का सुदूरपश्चिम प्रदेश, युवराज अर्याल लुम्बिनी प्रदेश, त्यसैगरी सशस्त्र प्रहरी उपरीक्षकहरु टोपबहादुर खनाल बाग्मती प्रदेश र अच्युत कुमार मजगैयाँ कर्णाली प्रदेशमा विशेष जिम्मेवारीका साथ निर्वाचन लक्षित सुरक्षाका लागि खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?