+
+
६७ बुँदे भर्सेस ४२ बुँदे :

एजेण्डा बिर्सेर जुहारी खेल्दै कांग्रेस–एमाले

ओलीसँग जुहारी खेलेर कांग्रेसले छायाँमा पार्‍यो आफ्नै घोषणापत्र

देशका सबभन्दा ठूला र प्रभावशाली भनिएका दल तथा तिनका नेताहरू स्थानीय निर्वाचनको मुखमा एजेन्डाभन्दा बढी आरोप–प्रत्यारोपमा व्यस्त देखिएका छन् ।

दिपेश शाही दिपेश शाही
२०७९ वैशाख २६ गते २१:१३

२६ वैशाख, काठमाडौं । स्थानीय तहको निर्वाचन सत्ता राजनीतिभन्दा बढी नागरिकको जनजीवन र व्यक्तिगत तथा सामाजिक सम्बन्धहरूसँग जोडिएर आउने घटना हो, जहाँ नागरिकले आफ्नो दैनिक व्यवहार र आवश्यक सुविधालाई केन्द्रमा राखेर मत व्यक्त गर्न पाउँछन् ।

मतदाताको त्यही मनोभावलाई आकर्षण गर्न नेकपा एमाले र नेपाली कांग्रेस लगायत प्रायः सबै राजनीतिक दलहरूले आ–आफ्नो हैसियत अनुसारका घोषणापत्र सार्वजनिक गरेकै छन् । यतिबेला आम मतदातादेखि सार्वजनिक वृत्तसम्ममा ती घोषणापत्र र एजेण्डामाथि चर्चा तथा बहस भइरहेको हुनुपर्ने हो ।

तर, नागरिकको भविष्य बनाउने योजना बुनिएका ती घोषणापत्र दलका शीर्ष नेताहरूका व्यक्तिगत संकृणता र आचरणको शिकार भइरहेका छन् । परिणामतः देशका सबभन्दा ठूला र प्रभावशाली भनिएका दल तथा तिनका नेताहरू स्थानीय निर्वाचनको मुखमा एजेन्डाभन्दा बढी अरोपप्रत्यारोपमा व्यस्त देखिएका छन् ।

छायाँमा कांग्रेस घोषणापत्र

स्थानीय तह निर्वाचनमा तुलनात्मक हिसाबले उत्कृष्ट चुनावी घोषणापत्र ल्याएको भनेर कांग्रेसले प्रशंसा बटुल्ने क्रम अझै जारी छ । भीमकाय विकासका रुमानी सपनाबाट नागरिकको जनजीवनमा फर्किएको भन्दै कांग्रेस घोषणापत्रले अरू दलको तुलनामा केही संशय र आलोचनात्मक वाहवाही बटुलिरहेकै छ । तर त्यसको कार्यान्वयन टाढाकै विषय, चुनावी उपदेयतासमेत नसकिँदै कांग्रेसले सोमबार ४२ बुँदे विज्ञप्ति जारी गरेर आफ्नै घोषणापत्रलाई छायाँमा पारेको छ ।

एउटा कहावत छ, ‘कस्तूरी आफ्नै नाभिमा भएको बिनाबाट छरिने सुगन्ध चिन्न नसकेर प्रकृतिमा खोजी हिंड्छ ।’ कांग्रेस पनि सोमबार ४२ बुँदे विज्ञप्ति जारी गरेपछि त्यही कस्तूरीजस्तो देखिएको छ । जसले, आफ्नै घोषणापत्रमा भएका एजेण्डालाई नचिनेर एमाले अध्यक्ष केपी ओलीले दर्जनौं आरोप थुपारेर आइतबार जारी गरेको ६७ बुँदे अपिलमा आफ्नो अस्तित्व खोजी हिंडेको छ ।

एजेन्डामा छलफल छैन, जुहारी खेल्ने प्रतिस्पर्धा

एमाले र कांग्रेस दुवैले चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । आ–आफ्ना योजना र दृष्टिकोण पनि त्यसमा सकेसम्म समेटेकै छन् । तर न त सार्वजनिक वौद्धिक वृत्तमा न राजनीतिक बजारमै दलहरूका एजेन्डामाथि छलफल र बहस छ ।

बरु त्यसभन्दा पर पुगेर दलहरू एकपछि अर्को लिखित आरोपप्रत्यारोपमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसले ११ वैशाखमा सार्वजनिक गरेको घोषणापत्रमा ओली नेतृत्वको सरकारमाथि पर्याप्त आलोचनात्मक समीक्षा गरिसकेको छ । अधिकांशले प्रशंसा गर्दा गर्दै पनि घोषणापत्रमा त्यही आलोचना धेरै भएको भनेर पनि केहीको चित्त बुझेको छैन ।

एमाले अध्यक्ष ओलीले त आफैंमाथि गरिएको चर्को आलोचनालाई झन् सहने कुरै भएन । उनले त्यसलाई ‘पागलहरूको प्रलय’ भनेर रुखो प्रतिक्रिया नै जनाएका थिए । कांग्रेस घोषणापत्र लेखनको नेतृत्व गरेका महामन्त्री गगन थापाले पनि ओलीको उक्त अभिव्यक्तिलाई ‘पढ्न नजानेको’ भनेर नरम शब्दमा कडा जवाफ दिइसकेका थिए ।

ओलीलाई भने आफूमाथि कांग्रेसले छरपष्ट गरेको आलोचनाको जवाफ दिएर पुगेकै थिएन । उनी आफूले बोल्न पाएसम्मका चुनावी सभा लगायत ठाउँमा कांग्रेस घोषणापत्रमाथि कडा रूपमा खनिँदै आएका थिए । तर, घोषणापत्रबाटै जवाफ दिनका लागि भने उनका लागि समय घर्की सकेको थियो ।

कांग्रेसभन्दा दुई दिनअघि नै ९ वैशाखमा सार्वजनिक गरेको आफ्नो घोषणापत्रमा एमालेले अरू दलमाथि खासै आलोचना गरेको थिएन । कांग्रेसप्रति पनि माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिलेर गठबन्धन सरकार बनाएको भन्ने बाहेक बढी दुखेसो एमालेको घोषणापत्रमा छैन । अर्थात्, बिर्सेको थियो भन्दा पनि हुन्छ ।

किनभने, त्यसको रहलपहल एमालेले ६७ बुँदे अपिलमार्फत आइतबार मात्रै सार्वजनिक गर्‍यो । ‘नेकपा एमाले को आम मतदातालाई अपिल’ शीर्षक दिएपनि कांग्रेस केन्द्रित आलोचना र त्यसमाथि अध्यक्ष ओलीको प्रस्तुतिले त्यसलाई कांग्रेस घोषणापत्रमा गरिएको आफ्नो आलोचनाको रिस फेर्ने बहाना बनाएको प्रष्टै थियो ।

लोकतान्त्रिक पद्धतिको हिमायती दाबी गर्ने कांग्रेसलाई एमालेको ६७ बुँदे उक्त अपिल र ओलीको प्रस्तुतिमा पोखिएको आलोचना सह्य हुन सकेन । त्यसैले २४ घण्टा पनि नबित्दै कांग्रेसले पर्याप्त तयारीसमेत नगरी ४२ बुँदे विज्ञप्ति सार्वजनिक गरेको छ ।

तर कांग्रेसले यसअघि नै घोषणापत्रमा समेटेका योजना र आलोचनाभन्दा कमजोर विषय विज्ञप्तिमा उठाएको छ । त्यसैमाथि नरम स्वभावका मानिने कांग्रेस प्रवक्ता प्रकाशशरण महतको आक्रामक प्रस्तुति ठ्याक्कै ओलीले आइतबारको पत्रकार सम्मेलनमा गरेको भाषणको नक्कन जस्तै देखिन्छ ।

कांग्रेसमाथि ६७ बुँदे प्रहार

यसअघि सिंगो पाँच दलीय गठबन्धनको खरो आलोचना गरिरहेका एमाले अध्यक्ष ओली आइतबार भने कांग्रेसमाथि बढी खनिए । त्यसमा पनि कांग्रेसको चुनावी घोषणापत्रमा आफूमाथि गरिएको आलोचनालाई निशानामा राखे ।

एमाले अध्यक्ष ओलीले यसअघि नै कांग्रेस घोषणापत्रमाथि पर्याप्त टिप्पणी गरिसकेका थिए । तर त्यतिले पनि चित्त नबुझेर मतदातालाई ‘अपिल’ सार्वजनिक गर्ने बहानामा घोषणापत्रमा छुटेको कांग्रेसको आलोचनालाई थपथाप गरे । उनले सार्वजनिक गरेको अपिल र पत्रकार सम्मेलन दुवै कांग्रेसको घोषणापत्रको जवाफ थियो भन्ने पुष्टि आफ्नै शब्दमा गरे । ‘हालै जारी भएको घोषणापत्रले पनि कांग्रेसले विकास नचाहने कुराको पुष्टि गर्छ,’ ओलीले स्पष्ट शब्दमा भनेका थिए, ‘अचम्म त के लाग्छ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठान्छ ।’

ओलीले आफूलाई राजनीतिक र ग्रहदशा हेर्ने दुवैथरी ज्योतिषले भनेको भन्दै उनले गठबन्धनभित्र ठूलो संकट आउने भनेर भविष्यवाणी गरे । ‘ज्योतिषहरूको भनाइमा गठबन्धनका लागि सबभन्दा ठूलो खट्को त यही वैशाख ३० नै हो । यसैमा गठबन्धनलाई साह्रै ठूलो मर्का पर्नेवाला छ,’ ओलीले दाबी गरे, ‘कस्तो दिन छानेर उहाँहरूले राख्नुभएछ ? यो वैशाख ३० मा त उहाँहरूलाई हुनसम्म हुन्छ क्या ! ढाडै भाँचिने गरी ।’ उनले आफूले भनेको कुरामा विश्वास नभए प्रधानमन्त्री देउवाका ज्योतिषलाई बोलाएर सोध्न चुनौती दिए ।

तर अरू दलहरूलाई होच्याउन पनि उनले छाडेनन् । कांग्रेस बाहेकका पार्टी केही होइनन् भन्ने आशयमा महाभारतका पात्रहरूको उदाहरण पेश गरे । माओवादी केन्द्रलाई दूधभात खोजी हिँड्ने बिरालोको उपमा दिए । ‘बिरालो किन्नु पर्दैन भन्ने तपाईंलाई थाहा छैन ? जसले ठूलो कचौरामा दूधभात दिन्छ, उस कहाँ जान्छ’, उनले सञ्चारकर्मीलाई प्रतिपश्न गर्ने क्रममा भने ।

निर्वाचन आयोग र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि केही आक्रामक देखिएका ओली एकीकृत समाजवादी र त्यसका अध्यक्ष माधव नेपालमाथि भने त्यत्ति खुलेनन् । उनले आफूले चाहेको खण्डमा एक हप्तामा गठबन्धनलाई टुटाउन सक्ने दाबी पेश गरे । त्यसका लागि एमालेले माओवादीलाई कांग्रेसले भन्दा राम्रो प्रलोभन दिनसक्ने उनको भनाइ थियो । ‘बिरालोको हकमा हाम्रो क्रयशक्ति कांग्रेसको भन्दा बढी छ,’ उनले भने ।

ओलीले पत्रकार सम्मेलनमा करिब सवा घण्टा समय दिए । तर त्यसको अधिकांश समय ६७ पृष्ठको ‘अपिल’ वाचन गर्न खर्चिएका उनले सञ्चारकर्मीसँग करिब २० मिनेट अन्तर्क्रिया गरे । अन्तर्क्रियाका क्रममा सञ्चारकर्मीका प्रश्नको उत्तर दिँदा ओलीले उल्टै ‘तपाईं माओवादी हो ?’ भनेर समेत प्रतिप्रश्न गरे ।

कांग्रेसको ‘४२ बुँदे’ जवाफ

कांग्रेसले आफ्नो घोषणापत्रमा केपी ओली र उनी नेतृत्वको तत्कालीन नेकपा सरकारबारे भरपुर आलोचना गरिसकेको थियो । त्यसैको जवाफमा ओली आक्रामक बनिरहेको कांग्रेसलाई थाहा थियो । त्यसले पर्याप्त प्रहार गरेको बुझेकै थियो । तर कांग्रेसको चित्त त्यतिमा बुझेन । एमालेकै ‘नक्कल’ गरेर भोलिपल्टै पत्रकार सम्मेलन गर्‍यो, जहाँ प्रवक्ता महतले सम्बोधन गरे ।

प्रवक्ता महतले यति आक्रामक प्रस्तुति भए कि अघिल्लो दिन ओलीले गरेको पत्रकार सम्मेलनको दुरुस्तै नक्कल गरेको प्रतित हुन्थ्यो । ‘स्थानीय जनताका आवश्यकता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहीत नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकै उत्तेजित र आक्रोशित भएर हामीप्रति निकै निम्नस्तरको गाली गलौजमा उत्रिनुभएको थियो,’ उनले आयोजित पत्रकार सम्मेलनको औचित्यबारे स्पष्ट पार्ने कोशिस गरे ।

ओलीको प्रतिवाद गर्न पत्रकार सम्मेलन आयोजना गरेको भनेका महतले सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै जाँदा निर्वाचन आचारसंहिता विपरित कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको बचाउ गरे ।

प्रधानमन्त्री पत्नी आरजुले डडेलधुरामा आयोजित एक कार्यक्रममा आफ्नो पार्टीले नजितेको ठाउँमा बजेट पठाउँदैनौं भनेका थिए, जसको चर्को आलोचना भयो । ‘कांग्रेसले जित्यो भने बजेट सुनिश्चित हुन्छ भन्नुभएको हो । तपाईंहरूको विकास सुनिश्चित गर्नुभएको होला,’ उनले पनि ओली शैलीमा सञ्चारकर्मीतर्फै आरोप तेर्स्याए, ‘अहिले बोलेको अलिकति टिपेर हाल्ने प्रचलन छ ।’ दोस्रो दर्जाको सरकार जसरी कांग्रेसले जितेको ठाउँमा बजेट विनियोजन गर्ने काम पूर्व सरकारले गरेको आरोप लगाउँदै उनले कांग्रेसले भेदभाव नगर्ने बताए ।

त्यस्तै चितवनको भरतपुरमा सत्ता गठबन्धनले गरेको संयुक्त चुनावी सभामा बोल्ने क्रममा माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिको पनि उनले बचाउ गरे । भरतपुरको सभालाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धनलाई मत नदिए देश दुर्घटनामा पर्ने बताएका थिए ।

तर महतले धम्की नदिएको भन्दै प्रचण्डको बचाउ गरे । गठबन्धन टुटेर एमालेकै सरकार आएमा अवस्था खराब हुने आशयमा प्रचण्डले विचार व्यक्त गरेको जिकिर उनले गरे । ‘ओलीको सरकार आएर खराब हुन्छ भन्न त मिल्छ नि । त्यो सोच्नुस् भन्नुभएको हो,’ प्रचण्डको बचाउमा कांग्रेस प्रवक्ता डा. महतले भने ।

घोषणापत्रमा जोगाएको आत्मरति विज्ञप्तिमा छताछुल्ल

त्यसपछि उनले आफूले सक्ने जति एमाले र त्यसका अध्यक्ष ओलीको आलोचना गरे । ओलीले अघिल्लो दिनको पत्रकार सम्मेलनमा लगाएका आरोपलाई खण्डन गर्ने प्रयास गरे ।

कांग्रेसले यसपटकको घोषणापत्रमा जानेरै नराखेको विगतमा के गरेको थियो भन्ने पट्यार लाग्दो इतिहास भट्याए । त्यसभन्दा बढी विज्ञप्तिमा नै छ । कांग्रेसबाट ०७४ को स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिले उत्कृष्ट काम गरेको जिकिर गरे ।

‘उत्कृष्ट १० मध्ये ६ वटा नेपाली कांग्रेसका प्रतिनिधिहरुले नेतृत्व गरेका पालिका परेको देखिएको छ । कमजोर १० मा आधा नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिले नेतृत्व गरेका पालिकाहरु परेका छन्’ उनले दाबी गरे ।

कांग्रेसको नेतृत्वमा सरकार हुँदा २०४८ सालसम्म रहेको झण्डै ४९ प्रतिशत गरिबी घटाएर १७.५ प्रतिशत पुर्‍याएको, त्यसलाई एमालेले बढाएर २२ प्रतिशतमा पुर्‍याएको, कोभिड संक्रमणको बेला तत्कालीन ओली सरकारले जनताको समस्या बेवास्ता गर्दा गरिबी बढेको कांग्रेस दलिल कांग्रेसले प्रवक्ता महतमार्फत पेश गर्‍यो ।

प्रजातन्त्र स्थापना पछिका ३२ बर्षमा कांग्रेसले २७ बर्ष शासन गरेको ओलीको दाबीलाई कांग्रेसले खण्डन गरेर कूल २१ बर्ष सत्ता सम्हालेको भन्दै एमालेले संयुक्त सरकार समेत गरी १६ वर्ष राज्य सञ्चालन गरेको बताए ।

त्यसमा पनि आफ्नो नेतृत्वको सरकारले सडक विस्तार गरेको, कालोपत्रे गरेको आदि विषय उनले सगर्व प्रस्तुत गरे । तर ओली नेतृत्वको सरकारले मूलुकलाई आर्थिक ऋणमा डुबाउने प्रयत्न गरेको भन्दै मूलुक श्रीलंकाको बाटोमा जाने जोखिमबाट जोगाउने कार्य कांग्रेसबाट सम्भव भएको दाबी गरे ।

ओली सरकारको समयमा छिमेकी मित्र राष्ट्रसँगको सम्बन्ध असन्तुलित बनाएको र कांग्रेस सत्तामा आएपछि नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गुमाउदै गएको साखः पुनर्स्थापित गरिएको दाबी कांग्रेसको छ ।

संसदलाई बन्धक बनाउने कार्य एमालेबाट भएको भन्दै कांग्रेसले दोष आफूलाई नथोपर्न समेत चेतावनी दियो । कांग्रेसले ओली सरकार संघीयताविरोधी रहेको आरोपसमेत ४२ बुँदेमार्फत लगाएको छ । ओलीले संवैधानिक निकायलाई कब्जामा पार्ने दुष्प्रयास गरेको र राज्य कब्जाको नियतले संवैधानिक निकायलाई आफ्ना मान्छेहरु भर्ती केन्द्र बनाएको कांग्रेसको टिप्पणी छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?