+
+

भरतपुरमा विद्रोहको झण्डा नछाडेका जगन्नाथ पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते २३:३६

२७ वैशाख, चितवन । पार्टी निर्णय विरुद्ध विद्रोह गरेर चर्चामा आएका चितवन कांग्रेस नेता जगन्नाथ पौडेल उमेरले ७१ वर्षका भए । भरतपुर–७ कृष्णपुरवासी उनी २०४९ को स्थानीय निकाय निर्वाचनबाट तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख र २०५४ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए ।

२०४६ सालको जनआन्दोलनमा जेल परेका पौडेल पेशाले वरिष्ठ अधिवक्ता हुन् । २०३६ सालमै सर्वोच्च अदालत बार एशोसिएसनको महासचिव बनेका उनी कानुनी क्षेत्रसँगै राजनीतिमा सक्रिय रहे ।

२०४३ सालमा चितवन जिल्ला अदालत बार एशोसिएसन अध्यक्ष निर्वाचित भएका पौडेल नारायणगढको बालकुमारी कलेज स्थापनाकर्तामध्ये एक हुन् । हाल उनी कलेज सञ्चालक समितिका अध्यक्ष छन् ।

दर्जनौं सामाजिक संघ–संस्थामा आवद्ध उनी चितवनको राजनीतिमा भिजेका नेता मानिन्छन् । नेपाली कांग्रेसको आठौं राष्ट्रिय महाधिवेशनयता निरन्तर महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि बनेका उनी अहिले भने पार्टीभित्र कमजोर बनेका छन् ।

चितवन कांग्रेसको १४औं अधिवेशनमा सभापतिको आकांक्षा राखे पनि उनले अवसर पाएनन् ।

राजनीतिको रस्साकस्सी

भरतपुर महानगरपालिकाको मेयर भागबन्डामा माओवादीलाई परेपछि चितवन कांग्रेसभित्रको एउटा समूहले विद्रोह गर्‍यो । यसको नेतृत्व पूर्व सांसदसमेत रहेका जगन्नाथ पौडेलले गरे ।

निवर्तमान मेयर रेनु दाहाललाई कांग्रेसले मेयरमा समर्थन गर्ने केन्द्रको निर्णयपछि पौडेलले बागी उम्मेदवारी हाले । उम्मेदवारी दर्ताको दिन भरतपुरका कांग्रेस कार्यकर्ताले जनाएको समर्थनबाट हौसिएका पौडेललाई त्यसबाट पछाडि हटाउन राज्यशक्ति नै लाग्यो । तर, उनी गलेनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवादेखि पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीसम्मले उम्मेदवारी फिर्ता लिन दबाव दिए पनि पौडेल ‘कांग्रेस जोगाउने अभियान’ भन्दै अडिग रहे । ‘म लोभमा फस्ने व्यक्ति होइन’ उनले भन्दै आएका छन्, ‘मैले मोलमोलाइका लागि उम्मेदवारी दिएकै होइन, त्यसैले फिर्ता गर्ने कुरै छैन ।’

पौडेलका पछाडि चितवन कांग्रेसका पूर्व सभापतिद्वय कृष्णलाल सापकोटा र टीकाराम न्यौपाने, पूर्वसांसद भीमबहादुर श्रेष्ठ, नेतृ मीना खरेल, तरुण दलका पूर्वअध्यक्ष शम्भु अर्याल लगायतको टिम छ । ८४ वर्षीय पूर्व सभापति सापकोटाले हरेक दिनको कार्यक्रममा पुगेर भुइँकटहर चुनाव चिह्न पाएका पौडेललाई उत्साही बनाउने गरेका छन् ।

उनलाई सुरुमा विद्रोह गर्न उक्साउने केन्द्रीय सदस्यहरू दिनेश कोइराला, टेकप्रसाद गुरुङ, निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, सभापति राजेश्वर खनाल लगायत भने गठबन्धन गर्ने पार्टी निर्णयमा फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?