+
+

आमाबुवाको माया पाउनुपर्ने बेला टाढा बनाइँदैछ बालबालिकालाई

सम्झना विक सम्झना विक
२०७९ वैशाख २८ गते १४:३३
प्रतीकात्मक तस्वीर

काठमाडौं । हुम्ला घर भएका शुभराज रोकाया २४ वर्षका भए । चार वर्ष पूरा गरी पाँच वर्षमा टेक्दै गर्दा उनलाई हुम्लाबाट अध्ययनका लागि काठमाडौं ल्याइयो ।

सानैदेखि उनी होस्टलमा बसे । उनको शैक्षिक जीवन त राम्रो नै भयो, तर परिवारबाट टाढा हुनुपर्दा पारिवारिक सम्बन्ध भने सुमधुर हुन सकेन । आमाबुवाबाट सानो उमेरमा पाउनुपर्ने आत्मीय माया उनले पाउन सकेनन् । जसका कारण आज पनि उनी आमाबुवासँग नजिक हुन त्यति खोज्दैनन् ।

काठमाडौं बालाजुकी एक महिला आफ्नो अढाइ वर्षीय छोरालाई छाडेर वैदेशिक रोजगारीमा जाने तयारी गर्दैछिन् । कोरिया जाने सपना बोकेकी उनी कोरियन भाषा सिक्दैछिन् । श्रीमानसँग बस्दै आएकी उनी बिहानको काम सकेर छोरालाई मन्टेश्वरी स्कुल पठाएपछि कोरियन भाषा पढ्न इन्स्टिच्युट पुग्छिन् । भाषा परीक्षा पास गरेर कोरिया उडिहाल्न चाहेकी उनी छोराको व्यवस्थापनका लागि होस्टल खोजिसकेकी छन् । छोराकै भविष्यका लागि विदेश उड्न लागेको भन्ने उनी सानै उमेरमा आमाको मायाबाट छोरा बञ्चित हुने कुरामा भने गम्भीर छैनन् ।

बच्चामा आमाबुवाले समय दिन नसक्दा बुढेसकालमा पनि बच्चाले समय नदिन सक्छन् । आत्मीय सम्बन्ध सँगै बस्दा जस्तो हुन्छ, त्यो अलग भएपछि कम हुन्छ ।

यी त प्रतिनिधि उदाहरण मात्र हुन् । आजभोलि सानो उमेरका बालबालिकालाई आमाबुवाबाट टाढा राख्ने प्रचलन बढ्दै गइरहेको छ । आधुनिक जीवनशैली र बढ्दो महंगीका कारण परिवारका अधिकांश सदस्य काममा व्यस्त हुन्छन् । एकल परिवारका लागि त झन् बालबच्चाको व्यवस्थापन गरेर काममा निस्किनु निकै गाह्रो हुन्छ ।

तर कामकाजी भएकै कारण सानै उमेरमा आफ्ना सन्तानलाई आमाबुवाको मायाबाट बञ्चित गराउनु कदापि ठीक होइन । यसले बच्चामा एक्लोपनको समस्या निम्त्याउने मनोचिकित्सक डा. विजय ज्ञवाली बताउँछन् । ‘बच्चा र आमाबाबाको सम्बन्ध विशेष हुन्छ । बालबालिका आमाबुवासँग जस्तो खुसी र आनन्दित अरुसँग हुन सक्दैनन् । अहिले त बच्चालाई दुई वर्षको उमेरदेखि नै प्लेगुप्रमा राख्ने, मन्टेश्वरी पठाउने गरिन्छ,’ उनी भन्छन्, ‘यसले बच्चामा एक्लोपन र डिप्रेसनको समस्या निम्त्याउने जोखिम बढिरहेको छ ।’

सन् २०१५ मा ‘लेफ्ट विहाइन्ड चिल्ड्रेन’बारे चीनमा अनुसन्धान र्गिरएको थियो । अध्ययनले  आमाबुवादेखि टाढा रहेका बच्चामा अन्य बच्चाभन्दा  चारदेखि ६ गुणासम्म एन्जाइटी र चार गुणासम्म डिप्रेसन देखिएको थियो । त्यस्तै २५ प्रतिशत बालबालिकामा गम्भीर किसिमको एक्लोपनको समस्या थियो । आमाबाट टाढा छाडिएका बालबालिकाको संख्या चीनमा विश्वमै धेरै छ ।

आमाबुवाबाट टाढा राखिएका बच्चाले मेरो परिचय नै के हो भनेर थाहा नपाउने अवस्था सिर्जना हुनसक्ने डा. ज्ञवाली बताउँछन् । आफ्ना आमावुवाबाट नै बच्चाले धेरै कुरा सिक्ने हो, तर व्यस्त जीवनशैलीले उनीहरुले ती कुरा सिक्न पाएका छैनन् । आमाबुवा काममा बढी व्यस्त हुँदा पैसा र सुविधा त बच्चाले पाउलान्, तर माया र स्नेह गुमाउँदै गएका हुन्छन् ।

डा. ज्ञवाली थप्छन्, ‘यसबाट बच्चा र अभिभावकको सम्बन्ध प्रगाढ बन्न सक्दैन । अभिभावकदेखि अलग भएका बच्चाको आत्मविश्वास अन्य बालबालिकाको तुलनामा कमजोर हुनसक्छ भने किशोर अवस्थामा लागूपदार्थको प्रयोगमा पनि अग्रसर हुनसक्ने जोखिम रहन्छ ।’

भौतिक आवश्यकताका वस्तु सहज रुपमा पाउने बानी बनाएको हुनाले बच्चाहरु जिद्दी र एकलकाँटे स्वभावका हुने उनी बताउँछन् ।

समाजशास्त्री डा. मीना उप्रेती बच्चालाई टाढा राख्दा आमाबुवालाई नै बिर्सने पनि देखिएको बताउँछिन् । बच्चाले आफूलाई सबैभन्दा सुरक्षित नै आफ्ना आमाबुवाको साथमा महसुस गर्छ । पढाइको नाममा वा आमाबुवा वैदेशिक रोजगारीमा जाँदा बच्चालाई परिवारबाट टाढा राख्दा उसको मानसिक र शारीरिक वृत्तिविकास पनि प्रभावित हुन्छ ।

डा. उप्रेती भन्छिन्, ‘बच्चालाई कम्तीमा पनि आठ वर्षको उमेरसम्म सँगै राख्नुपर्छ । उसलाई आमाबुवाबाट विमुख गर्नुहुँदैन । खेल्ने, रमाउने र माग गर्न पाउने उसको अधिकार हो, तर बच्चालाई टाढा राखेर हामीले बच्चा हुन रोकिराखेका छौं ।’

बच्चामा आमाबुवाले समय दिन नसक्दा बुढेसकालमा पनि बच्चाले समय नदिन सक्छन् । आत्मीय सम्बन्ध सँगै बस्दा जस्तो हुन्छ, त्यो अलग भएपछि कम हुन्छ । यसले बच्चालाई जिम्मेवार हुनबाट पनि रोक्छ ।

हुम्लाका शुभराजलाई अहिले आमाबुवाको खासै वास्ता लाग्दैन । उनका आमाबुवा नजिक हुन खोज्छन्, तर उनी टाढा भइदिन्छन् । उनी भन्छन्, ‘सानैमा होस्टलमा छाडेकाले होला, परिवारको माया र स्याहार नपाइ हुर्किएँ, घरसँगको मेरो नाता नै छैन भन्दा पनि हुन्छ ।’

समाजशास्त्री डा. उप्रेती भन्छिन्, ‘जब बच्चा र आमाबुवाको बीचमा सम्बन्ध प्रगाढ बन्ने बेलामा अलग भएपछि पछि सँगै बसे पनि आत्मीयता हुँदैन । बच्चासँग जति समय बिताइयो बच्चा अनुशासित र नैतिकवान् हुन्छ ।’

दुर्गम भेगबाट पढाउनका लागि सहर पठाउने, व्यस्त दैनिकीले समय दिन नपाउँदा होस्टेलमा राख्ने, वैदेशिक रोजगारी लगायतका कारणले बालबालिका आमाबुवाबाट टाढा हुँदै आएका छन् । कतिपय बच्चा आमासँग मात्रै त कति बाबुसँगै मात्र पनि बसेका छन् भने कोही दूध खाने उमेरदेखि नै डे केयरमा राखिएका छन् ।

डा. उप्रेती भन्छिन्, ‘आफ्नो सन्तानले कुनै दुःख भोग्न परोस् भनेर उज्ज्वल भविष्य भन्दै आफूबाट टाढा राख्नु ठूलो गल्ती हो । बच्चालाई टाढा राख्दा उनीहरु घमण्डी र स्वार्थी बन्न पुग्छन् । त्यसले भविष्यमा ठूलो असर पुर्‍याउँछ ।’

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?