
१ जेठ, काठमाडौं । शनिबारदेखि काठमाडौं महानगरपालिकाको वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा यी वडाको वडाध्यक्ष नेकपा एमालेले जितेको थियो ।
त्यस हिसाबले एमालेको प्रभाव क्षेत्र मानिएको यी वडाबाट यस पटक मेयरमा एमालेका उम्मेदवार केशव स्थापितले भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले बढी मत पाएका छन् ।
६ हजार ४७३ मत गन्दा बालेनले २ हजार ४५७ मत प्राप्त गरेका छन् । बालेनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितको १ हजार ४२७ र कांग्रेसकी सिर्जना सिंहको १ हजार १६८ मत छ ।
यी वडाहरुको करिब आधा मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नक्साल क्षेत्र पर्ने वडा नं. १ बाट बालेनले ५१५ मत पाउँदा सिंहले ३३२ र स्थापितले २६१ मत पाएका छन् ।
वडा नं. १ को अध्यक्षमा एमालेबाट भरतलाल श्रेष्ठ उम्मेदवार छन् । कांग्रेसबाट किरण श्रेष्ठ, माओवादी केन्द्रबाट अर्जुन महर्जन र नेकपा एकीकृत समाजवादीबाट पुष्पकाजी श्रेष्ठ उम्मेदवार छन् ।
लाजिम्पाट क्षेत्र पर्ने वडा नं. २ मा बालेनले ५३० मत पाउँदा स्थापितले ३१३ र सिंहले १७७ मत पाएकी छन् । वडा २ को १४ सय मत गणना भएको छ ।
वडा नं. २ मा राजेन्द्र श्रेष्ठ एमालेबाछट वडाध्यक्षको उम्मेदवार छन् । श्रेष्ठ २०५४ सालको स्थानीय निर्वाचनमा यही वडाबाट सदस्यमा विजयी भएका थिए । कांग्रेसबाट सुर्य लाल महर्जन र नेकपा माओवादीबाट रमेश डंगोल वडाध्यक्षको उम्मेदवार छन् ।
महाराजगञ्ज क्षेत्र पर्ने वडा नम्बर ३ बाट बालेनले ३०५ मत पाउँदा स्थापितले २९२ र सिंहले १६८ मत पाएकी छन् । वडा नं. ३ मा ९ हजार ३९० मतदाता छन् ।
यो वडामा एमालेले प्रेम थापा, कांग्रेसले राजेश अधिकारी र नेकपा एकीकृत समाजवादीले दीपक केसीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ ।
बालुवाटार क्षेत्र पर्ने वडा नं. ४ मा बालेनले ५३० मत पाउँदा स्थापितले २६२ र सिंहले २३८ मत पाएकी छन् । वडा नं. ४ को अध्यक्षका लागि एमालेबाट दिनेश महर्जन, कांग्रेसबाट रामप्रसाद न्यौपाने र माओवादी केन्द्रबाट रमेशकुमार राई उम्मेदवार छन् ।
कोटेश्वर क्षेत्र पर्ने वडा नं. ३२ मा बालेनले ५७७ मत पाउँदा स्थापितले २९९ र सिंहले २५३ मत पाएकी छन् । कोटेश्वर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पकड क्षेत्र मानिन्छ ।
यो वडामा नेकपा एकीकृत समाजवादीले सीता कँडेललाई कांग्रेसको समर्थनमा वडाध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले नवराज पराजुली, माओवादी केन्द्रले राम भारतीलाई अध्यक्षको उम्मेदवार बनाएको छ ।
रैथाने मतमा ध्यान
मतगणनास्थलमा भेटिएका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता भने चार वटा वडाको प्रारम्भिक मत गणनाको नतिजाले जित हारको अनुमान गर्न नसकिने बताउँछन् ।
उनीहरु काठमाडौंको मतदातालाई भित्री शहर (कोर सिटी) र बाहिरी शहरका मतदाताका रुपमा विभाजन गर्न सकिने बताउँछन् ।
काठमाडौंको भित्री शहरका वासिन्दाको मत करिब ६६ हजार हाराहारीमा रहेको र त्यसको आधा मात्रै मत यसपटक खसेको नेताहरुको अनुमान छ । एमालेका एक नेताका अनुसार ‘कोर सिटी’को मत आधा भन्दा कम अर्थात ३० हजार हाराहारी मात्रै खसेको छ र बाहिरको मत ९० प्रतिशत भन्दा बढी खसेको छ ।
काठमाडौं महानगरपालिकाका ३२ वटामध्ये १२ वटा वडा भित्री शहरमा पर्छन् । जसमा १० वटा वडा पुरै र दुई वटाको आधा भाग पर्छ । वडा नम्बर १२, १८, १९, २०, २१, २२, २३, २४, २५, २७ वडा भित्री शहरमा पर्छन् । यी १० वटा वडामा ५३ हजार ९ सय ६२ मतदाता छन् । जसमा धेरैजसो नेवार मतदाता छन् ।
१३ र १७ नम्बर वडाको आधा भाग भित्री सहरमा पर्छ । १३ नम्बर वडामा १२ हजार १५९ मत र १७ नम्बर वडामा ८ हजार १९९ मत छ । बाहिरी शहरको प्रारम्भिक मत परिणामले अन्तिम मत परिणाको संकेत नदिने नेताहरु बताउँछन् ।
प्रतिक्रिया 4