+
+

शीर्ष नेताका पालिकामा आफ्नै उम्मेदवारको बिजोग

दिपेश शाही दिपेश शाही
२०७९ जेठ १ गते २२:३६

१ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनको सार्वजनिक भइरहेको प्रारम्भिक नतिजाअनुसार शीर्ष नेताहरूका पालिकामा आफ्नै राजनीतिक दलको मत कमजोर देखिएको छ ।

वर्तमान प्रधानमन्त्रीदेखि पूर्वमन्त्रीसम्मका पालिकामा नेताका निकट मानिने उम्मेदवारहरू नै पराजित भएका छन् । साथै, पूर्ण मतपरिणाम सार्वजनिक भइनसेका कतिपय पालिकामा पनि विपक्षी दलका उम्मेदवारले भारी मतको अग्रता लिइरहेका छन् । जसअन्तर्गत संसदका ठूला राजनीतिक दलका प्रमुखदेखि पटक-पटक मन्त्री हुने नेताहरूकै पालिका र वडासमेत छन् ।

 प्रधानमन्त्री देउवाको पार्टी गृह वडामा नै पराजित

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पार्टीका उम्मेदवार उनको गृह वडामा नै पराजित भएका छन् । कांग्रेसका उम्मेदवारलाई उनकै पार्टीमा विद्रोह गरेर कांग्रेस बीपीबाट उम्मेदवारी दिएका व्यक्तिले जित निकालेका छन् ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा कांग्रेसका उम्मेदवार चन्द्रबहादुर देउवालाई विऽोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारीले १२९ मतले पराजित गरे । उक्त वडाबाट कांग्रेस बीपीबाट विजयी भण्डारीले ६७३ मत ल्याएका छन् भने उनीसँग पराजित कांग्रेसका उम्मेदवार देउवाले ५४४ मत ल्याए । कांग्रेस बीपीले करुवा चुनाव चिहृनबाट निर्वाचनमा प्रतिस्पर्धा गरेको छ ।

कांग्रेस केन्द्रीय समिति सदस्य समेत रहेकी देउवा पत्नी आरजु राणा देउवाले चुनाव प्रचारमा दिएको अभिव्यक्ति विवादित बनेको थियो । उनले नेपाली कांग्रेसका उम्मेदवारले निर्वाचन नजिताए केन्द्रबाट बजेट नपठाउने धम्कीपूर्ण भाषा बोलेकी थिइन् । निर्वाचन आचारसंहिता विपरीत रााणाले अभिव्यक्ति दिँदासमेत कांग्रेसलाई देउवाकै वडामा पराजय भोग्नु परेको छ ।

गन्यापधुरा गाउँपालिका प्रमुख, उपप्रमुख र अधिकांश वडामा भने देउवाको पार्टी नेपाली कांग्रेसले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका ईन्द्रबहादुर कार्कीले १३ हजार ३८४ र उपाध्यक्षमा ज्ञानुकुमारी सेटीले ३ हजार १० मत ल्याएर विजयी भएका छन् । यो पालिकामा पनि ०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेसले जितेको थियो ।

पछिल्लो समय कांग्रेसको महाधिवेशनमा महाधिवेशन प्रतिनिधि चयनको विषयमा कांग्रेसका पूर्व जिल्ला सभापति कर्णबहादुर मल्ल पक्ष सभापति देउवासँग रुष्ट बनेको थियो । उक्त विवाद निर्वाचनको समयसम्म आइपुगेपछि मल्ल पक्षले जिल्लाभरी कांग्रेसविरुद्ध एमालेसँग सहकार्य गरेर उम्मेदवार उठाएको थियो ।

पूर्वसभामुख सुवास नेम्वाङको गृह वडामा पनि एमाले पराजित

पार्टी उपाध्यक्ष तथा संसदीय तलका उपनेतासमेत रहेका पूर्वसभामुख सुवास नेम्वाङको गृह वडामा नेकपा एमालेले पराजय भोग्नुपरेको छ । इलाम नगरपालिकाको वडा नम्बर १ को वडाध्यक्षमा एमाले उम्मेदवारलाई नेपाली कांग्रेसका उमेदवारले ५९ मतले पराजित गरे ।

कांग्रेसका तर्फबाट उमेदवार बनेका गायत्रीराम बस्नेतले एक हजार १८१ मत प्राप्त गर्दा पराजित एमालेका तर्फबाट वडाध्यक्षका उमेदवार बनेका अम्बिका गौतमले एक हजार २२ मत ल्याए ।

इलाम नगरपालिकाको मतगणनाको अन्तिम नतिजा आइसकेको छैन । जारी मतगणनाअनुसार प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार केदार थापाले निरन्तर अग्रता लिइरहेका छन् भने एमालेका उमेदवार धिरेनकुमार चेम्जोङले पछयाइरहेका छन् । यस्तै, उपप्रमुखतर्फ कांग्रेसकी विष्णुकुमारी लिम्बू दाहालले अग्रता लिँदै गर्दा एमालेकी सीतादेवी रिजाल पछयाइरहेकी छन् ।

यो पालिकामा ०७४ को स्थानीय तह निर्वाचनमा एमालेले प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसलाई पराजित गरेको थियो ।

 विष्णु पौडेलको उपमहानगरमा गठबन्धन दोब्बरले अगाडि

पूर्व अर्थमन्त्री तथा पार्टीका उपाध्यक्ष विष्णु पौडेलको पालिका बुटवल उपमहानगरमा पनि एमालेलाई गठबन्धन भारी भइरहेको छ । दुई वटा वडाको अन्तिम मतपरिणाम आइसक्दा र बाँकी तीनवटाको मतगणना जारी रहँदा एमालेको किल्ला भनेर चिनिएको बुटवलमा कांग्रेसका उम्मेदवारले झण्डै दोब्बरले अग्रता लिइरहेका छन् ।

मतगणनाको पछिल्लो विवरणअनुसार प्रमुख पदमा कांग्रेसका खेलराज पाण्डे एमालेका उम्मेदवार बाबुराम भट्टराईभन्दा करिब एक हजार मतले अगाडि छन् । त्यसपछि राप्रपाका उम्मेदवार मृगेन्ऽ शेरचनले एमालेका भट्टराईलाई पछयाइरहेका छन् ।

त्यस्तै, अन्तिम मतपरिणाम सार्वजनिक भएका दुईवटा वडामध्ये एउटा वडा नेपाली कांग्रेसका बागी उम्मेदवारले जित हात पारेका छन् भने अर्को वडा एकीकृत समाजवादीका उम्मेदवारले जितेका छन् ।

उपमहानगरपालिका १ मा नेपाली कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदारी दिएका नरेन्ऽ बस्नेत विजयी भएका छन् । उनले कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएर कांग्रेससँगै र एमालेका उम्मेदवारलाई समेत पराजित गरेका हुन् । विजयी बस्नेतले ६३६ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका महेन्ऽ लिगलले ५५१ र कांग्रेसका माधव प्रधानले ३४८ मत ल्याएका छन् । साथै, अरू सदस्यमा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

त्यस्तै उपमहानगरपालिका-२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् । शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शाक्यले ९०९  मत पाएका छन् भने नेपालले ८७५ मत ल्याए । पराजित भएका नेपाल यसअघि एमालेबाटै दुईपटक वडाध्यक्ष भइसकेका व्यक्ति हुन् । यो सामग्री तयार पार्ने बेलासम्म बुटवलका वडा नम्बर ३, १८ र १९ को मतगणना जारी रहेको छ ।

बुटवलमा मेयर, उपमेयरमा एकातिर पाँच दलीय गठबन्धन र अर्कातिर एमाले र जनमुक्ति पार्टीबीच तालमेल भएको छ । वडा तहमा भने दलहरूबीच एक्लाएक्लै प्रतिस्पर्धा भइरहेको छ ।

 पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान वडा सदस्यमा पराजित

पूर्वमन्त्रीसमेत रहेकी नेकपा एमाले सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल पनि उनकै गृह वडाको सदस्य पदमा पराजित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा पौडेल एमालेबाट खुला सदस्यका उम्मेदवार थिए । उनलाई कांग्रेसका सम्भव अर्यालले ४६७ मतले पराजित गरेका हुन् ।

विजयी कांग्रेसका उम्मेदवारल अर्यालले १ हजार ११२ मत ल्याए भने पराजित पौडेलले ६४५ मत ल्याए । वालिङ नगरपालिकाको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धामा छन् । कांग्रेस उम्मेदवार दिलीपप्रताप खाँण यसअघिको चुनावमा पनि मेयरमा विजयी भएका थिए । उनले एमालेका उम्मेदवारलाई पराजित गरेका थिए । यसपटक भने केही पालिकाको मतगणना जारी रहँदै गर्दा एमालेले अग्रता लिइरहेको छ ।

गोकुल बास्कोटाको वडामा ४ मतले जोगियो एमाले, नगरपालिकामा सकस

पूर्वमन्त्री तथा पार्टीका पोलिटब्यूरो सदस्य गोकुल बास्कोटाको पालिकामा नेकपा एमालेलाई जित निकाल्न सकस परिरहेको छ । काभ्रेपलाञ्चकको मण्डनदेउपुरमा एकीकृत समाजवादीले एमालेसँग भारी मतले अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका उम्मेदवार टोकबहादुर तामाङले १५३७ मत प्राप्त गरिरहँदा एमालेका विदुरप्रसाद सापकोटाले १०२५ मतले पछयाइरहेका छन् ।

अघिल्लो पटकको निर्वाचनमा टोकबहादुरले नै एमालेबाट मण्डनदेउको मेयर जितेका थिए । पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका उनी यसपटक पनि करिब जितको नजिक पुगेका छन् भने गोकुल बास्कोटाको पालिकामा एमालेलाई कडा चुनौती दिइरहेका छन् ।

एमालेले जित निकालेको उक्त पालिकाका वडामा पनि एमाले मस्किलले जोगिएको छ । बास्कोटाको मतदान केन्द्र रहेको वडा नम्बर १ मा एमाले उम्मेदवारले जम्मा ४ मतले जित निकालेका छन् ।

वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका बुद्धिमान तामाङलाई ४ मतले पराजित गर्दै एमालेका शिवप्रसाद ढकाल विजयी भएका छन् । तर, अन्तिम मतपरिणाम सार्वजनिक भएको वडा नम्बर २ मा भने कांग्रेसका उम्मेदवार राजकुमार मल्लको टिमले जित हात पारेको छ ।

 अधिकांश नेताका पालिकामा सकसपूर्ण अवस्था

स्थानीय तह निर्वाचनको मतगणना जारी रहेको अवस्थामा अधिकांश नेताका पालिकामा यस्तै अवस्था छ । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाको गृह पालिका गोरखाको पालुङटारमा पनि उनको पार्टीका उम्मेदवार दोस्रोमा छन् ।

पार्टी पाँच दलीय गठबन्धनमा आवद्ध भएपनि पालुङटारमा भने विपक्षी एमालेसँग जसपाको तालमेल छ । तर, पालुङटार नगरपालिका नेकपा माओवादी केन्ऽका उम्मेदवार विवश चिन्तनले अग्रता बनाएका छन् । जसपाका उम्मेदवार प्रेमबहादुर गुरूङ र कांग्रेसका उम्मेदवार दीपकबाबु कंडेल केही अंकको मतान्तरसहित उनलाई पछ्याउँदै छन् ।

उपमेयरले माओवादीका उम्मेदवार बन्दना पाण्डेले अग्रता कायम गरेकी छन् भने दोस्रोमा कांग्रेसकी उम्मेदवार चेत कुमारी श्रेष्ठ छिन् ।

अर्का नेता मुख्य नेता लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरको गृह पालिकामा पनि उस्तै अवस्था छ । सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र हावी बनेको छ भने ठाकुरको पार्टी लोसपा प्रतिस्पर्धी मात्रै छ ।

यहाँ नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार रामा शंकर प्रसाद कुशहवाले अग्रता कायम गरेका छन् । तर, लोसपाका उम्मेदवार अभयकुमार सिंह दोस्रोमा छन् भने उनीसँग केही मतको फरकमा नेपाली कांग्रेसका उम्मेदवार कौशल कुमार सिंह छन् ।

उपमेयरमा पनि माओवादी केन्द्रका  कोशिला देवीको अग्रता छ भने लोसपाकी उम्मेदवार रागनी देवीले पछयाउने कोशिस गरिरहेकी छन् । त्यसपछि नेपाली कांग्रेसकी उम्मेदवार किरण देवी र नेकपा एमालेकी उम्मेदवार रञ्जु कापड छिन ।

त्यस्तै, मोरङको विराटनगर महानगरपालिका जनता समादवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्रको मतदाता नामावली भएको स्थानीय तह हो । यही महानगरबाट उनका छोरा अमरेन्द्र यादव पाँच दलीय गठबन्धनका तर्फबाट उपमयेरका उम्मेदवार छन् । तर, उनीभन्दा विपक्षी एमालेकी उम्मेदवार शिल्पा कार्की झण्डै दोब्बर भन्दा बढी मतले अगाडि छिन् ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?