
काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा फिल्म ‘हनीबनी’को छायांकन आजदेखि लडनमा सुरु भएको छ । मध्यलन्डनको नेपाली बसोबास बहुल क्षेत्र रिडिङमा मुहूर्तसँगै सुटिङ सुरु भएको हो ।
सुटिङ सेटबाट जारी तस्बिरमा कलाकारहरु जसिता गुरुङ, सलोन बस्नेत, अर्जुन श्रेष्ठ, सूर्यमाला खनाललाई देख्न सकिन्छ । नायक अभिमन्यू तोमार लन्डनमै पुगेपनि सुटिङको पहिलो दिन सेटमा देखिएनन् ।
निर्देशक भट्टराईले आफ्नो भागको सुटिङ नभएकाले नायक तोमार सेटमा नदेखिएको बताए । ३५ दिनसम्म लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा फिल्म छायांकन हुनेछ ।
लन्डनमा बसोबास गर्ने दुई नेपाली पात्रहरुको रोमान्टिक कथावस्तुमा बन्न लागेको फिल्मलाई अमित बस्नेत र परी रानाले निर्माण गर्न लागेका हुन् । अजितकुमार थापाको सह-निर्माण छ ।
सात करोड रुपैयाँ बजेट रहने बताइएको फिल्मको रिलिज मितिबारे निर्देशक भट्टराईले केही बताएनन् । सुटिङमा जानु ठीकअघि अनमोल केसी र सारा श्रीपाइली प्रोजेक्टबाट बाहिरिएपछि हनीबनी चर्चामा थिए ।
प्रतिक्रिया 4