+
+

इवा जित्दा गठबन्धनमा केपी ओली हराएको खुसी !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १३:४६

३ जेठ, तेह्रथुम । तेह्रथुममा सत्ता गठबन्धन र नेकपा एमालेले तीन/तीन वटा स्थानीय तह जितेको छ । एमालेविरुद्ध गठबन्धन गरेको सत्ता गठबन्धनका दलहरूले लालीगुराँस नगरपालिका, आठराई गाउँपालिका र फदाम गाउँपालिका जितेको हो । यी मध्ये आठराई र फेदाममा ०७४ को नतिजा उल्ट्याउँदै गठबन्धनले जित्यो ।

फेदाममा एमाले हराउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारले एउटै चुनाव चिन्ह लिएका थिए । मत बदर रोक्न माओवादी केन्द्रका उम्मेदवारले पनि रुख चिन्हबाट चुनाव लडेका थिए ।

एउटै चिन्हबाट उम्मेदवारी दिएपछि भने अध्यक्षमा कांग्रेसका केवशप्रसाद भेटवाल र उपाध्यक्षमा माओवादी केन्द्रकी सुनिता पहीप निर्वाचित भइन् । भेटवालले ४,०४१ मत ल्याएर एमालेका हरिप्रसाद चोङवाङलाई पराजित गरे । ०७४ मा भेटवाललाई नै हराएर अध्यक्ष जितेका चोङवाङले भने ३,८७९ मत मात्रै ल्याए ।

अघिल्लो चुनावमा चोङवाङले ३,४३९ मत ल्याउँदा भेटवालले ३,२२० मत ल्याएका थिए । उपाध्यक्षमा पनि त्यसबेला एमालेकै गीतादेवी थापा निर्वाचित भएकी थिइन् । ३,४३४ मत ल्याएर थापाले जित्दा माओवादी केन्द्रका गंगाप्रसाद लिम्बमुले १,७०१ मत पाएका थिए ।

यसपटक रुख चिन्हबाट उम्मेदवार बनेका माओवादी केन्द्रकी सुनिताले ३,९८५ मत पाउँदा एमालेकी गीतादेवीले ३,७२५ मत पाइन् । ०७४ कै उम्मेदवार र तिनै गठबन्धनले यसपटक जित्नुमा एमाले विभाजनले असर गरेको नेताहरुको अनुमान छ ।

तेह्रथुमबाट लगातार चुनाव जित्दै आएका भुवानीप्रसाद खापुङले अहिले संघीय राज्यमन्त्री छन् । ०७४ को चुनाव जितेका खापुङ एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर गएका छन् । फेदाम गाउँपालिका भन्दा पनि आठराई गाउँपालिका जितेकोमा गठबन्धनका नेता–कार्यकर्ता बढी उत्साहित छन् ।

‘केपी ओली सरकारले गरेको गलत कदम सच्याउन बनेको लोकतान्त्रिक गठबन्धनले आठराईसहित अधिकांश पालिका जित्नुले स्वभाविक रुपमा उत्साहित छौं’, माओवादी केन्द्रका नेता दीपक कट्टेल भन्छन् । आठराई गाउँपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्म पालिका हो ।

इवामा ६९औ जन्मदिन मनाउँदै केपी शर्मा ओली। फाइल तस्वीर : अनलाइनखबर

यसपटक आठराईमा कांग्रेसका दिलकुमार पाहीम निर्वाचित भए । ४,६९२ मत ल्याएर पाहीमले एमालेका रामचन्द्र थपलियालाई पराजित गरे । थपलियाले भने ४,००८ मत मात्रै ल्याए । आठराई जितेपछि तेह्रथुममा गठबन्धनका नेताहरुले ‘लाल किल्ला’ भत्काएको नारा लगाएका छन् ।

अझ आठराई–४ इवाको जितलाई त गठबन्धनका दलहरुले उत्सवकै रुपमा लिए । ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गर्नु र एमाले हराउनकै निम्ति गठबन्धन बनेकाले पनि इवाको जितलाई प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ ।

केपी ओली प्रधानमन्त्री हुँदा ११ फागुन ०७६ मा आफ्नो ६९औं जन्मदिवस मनाउन इवा पुगेका थिए । जन्म उत्सव मनाउने क्रममा ओलीले बृद्धाहरुलाई सारी र पछ्यौरी, पुरुषहरुलाई भादगाउँले टोपी र ज्याकेट, बालबालिकालाई डायरी बाँडेका थिए ।

तिनै इवामा यसपटक कांग्रेसका खगेन्द्र गुरुङले वडाध्यक्ष जिते । पहिलोपटक इवा जितेपछि गठबन्धनका कार्यकर्ताले ‘लाल किल्ला तोडियो, गठबन्धन जोडियो’ जस्ता नारा लगाए ।

आठराइको उपाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार बली राज ईङनाम निर्वाचित भए । ४,०८० मत ल्याएर उनी निर्वाचित हुँदा एमालेकी रुपादेवी कन्दङवाले ४,०७० मत ल्याइन् । ०७४ मा रुपादेवीले माओवादी केन्द्रका रमिला खनाललाई पराजित गरेकी थिइन् ।

म्याङलुङ नगरपालिका, छथर गाउँपालिका र मेन्छयायेम गाउँपालिकामा भने एमालेले आफ्नो विरासत जोगाएको छ । छथरमा एमालेका सन्तवीर लिम्बुले ३,९१५ मत ल्याएर माओवादी केन्द्रका इन्द्रबहादुर इम्सङलाई पराजित गरे ।

अघिल्लोपटक पनि अध्यक्ष जितेका सन्तवीरविरुद्ध इन्द्रबहादुरले ३,३०६ मत मात्रै पाए । उपाध्यक्षमा एमालेकी तारा खरेल दोस्रोपटक उपाध्यक्ष जितिन् । उनले ३,७६२ मत ल्याएर उपाध्यक्ष जित्दा कांग्रेसका तेकराज लिम्बुले ३,६०२ मत मात्रै पाए ।

मेन्छयायेममा पनि एमालेका यादवबहादुर खापुङ दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भए । उनले २,०५५ मत ल्याउँदा कांग्रेसका धन कुमार लिम्बूले २,०२१ मत पाएका थिए । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिनाले जितिन् । ०७४ मा पनि उपाध्यक्ष जितेकी गीतादेवीले १,९८६ मत ल्याएर एमालेकी प्रेमलता घिमिरेलाई १२ मतको झिनो अन्तरले हराइन् ।

गठबन्धनले एमाले हराउन नसकेको अर्को नगरपालिका भने म्याङलुङ हो । यो नगरपालिकामा एमालेका सञ्जयकुमार तुम्बाहाङफेले ५,११७ मत ल्याएर दोस्रोपटक मेयर जिते । कांग्रेसका अर्जुनबहादुर तुम्बाहाङफे भने ४,४७८ मतमै सीमित भए । उपमेयरमा पनि एमालेकै जमूनादेवी सुवेदी निर्वाचित भइन् । उनले ५,२१० मत पाउँदा कांग्रेसकी पार्वती सानु डाँगीले ४,४१४ मत पाइन् ।

अर्को नगरपालिका लालीगुँरासमा भने यसपटक पनि कांग्रेसले नै जितेको छ । एमालेका गणेशकुमार लिम्बुसँग प्रतिपश्र्धा गरेका अर्जुन मावोहाङले ५,१३९ मत ल्याएर मेयर जिते ।

लिम्बुले भने ३,३४४ मत मात्रै ल्याए । उपमेयरमा पनि कांग्रेसकै जमुना मगर कार्की निर्वाचित भइन् । उनले ४,८८७ मत ल्याउँदा एमालेकी छविमाया तिम्सिनाले ३,५९४ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?