+
+

कलिलो ढाडमा पुस्तकको भारी, मेरुदण्ड र मस्तिष्कलाई बोझ !

सुमित्रा लुइटेल सुमित्रा लुइटेल
२०७९ जेठ ४ गते १०:४२

सरुना कोइराला कक्षा–४ मा पढ्छिन् । घरबाट पाँच मिनेटको पैदल यात्रामा नै स्कुल पुगिन्छ । यति नजिक स्कुल हुँदा पनि सधैं अभिभावकले नै ब्याग बोकेर स्कुल पु¥याउनुपर्छ । सरुना आफैं ब्याग बोकेर स्कुल जानै सक्दिनन् ।

१२ वटा पुस्तक, कापी, पानीको बोतल, खाजा सबै कुरा ब्यागमा राख्दा उनलाई त्यो ब्याग यति धेरै गह्रुँगो हुन्छ कि राम्ररी उचाल्न पनि गाह्रो पर्छ । ‘मलाई त त्यो ब्याग बोक्न गाह्रो हुन्छ, नानीलाई झन् किन गाह्रो नहोस्’ सरुनाकी आमा सुनाउँछिन्, ‘कहिलेकाहीं आफैं बोकेर घर आई भने पनि मम्मी कस्तो काँध दुख्यो भन्छे !’

कक्षा–३ मा पढ्ने सुजल श्रेष्ठको समस्या पनि उस्तै छ । नयाँ सेसन सुरु हुँदै गर्दा विद्यालयले ११ वटा पुस्तक किन्ने निर्देशन दिएको छ । पुस्तक जहाँतहीं सजिलै पाइँदैन । स्कुलले तोकिएको निश्चित ठाउँमा मात्र किन्नुपर्छ ।

विद्यालयले जति पुस्तक किन्न भनेको छ, त्यो सबै जरूरी छ जस्तो अभिभावकलाई लाग्दैन; तर के गर्नु स्कुलले किन्नु भनेपछि किन्नै प¥यो ! ‘बाबुलाई पुस्तकको झोला बोक्नै गाह्रो छ, बल्ल–बल्ल बोकेर जान्छ’, सुजलकी आमा सुनाउँछिन् ।

‘कक्षा–३ मा पढ्ने बच्चालाई यति धेरै पुस्तक किन चाहियो भनेर विद्यालय व्यवस्थापन वा शिक्षकसँग सोध्न मन भए पनि एक दुई जनाले बोलेर मात्र केही हुँदैन भनेर चुप लागेर बसेकी छु’, उनी भन्छिन् ।

स्कुलको दाबीः ‘बालबालिकालाई आवश्यकता भन्दा बढी पुस्तक दिइएको छैन’

अहिले प्राथमिक तहका विद्यार्थीका लागि कम्तीमा ६ वटा पुस्तक पढाइन्छ । ती पुस्तक सबै पाठ्यक्रम विकास केन्द्रको अनुमतिप्राप्त भएकोले सबै पुस्तक बाल मनोविज्ञान अनुरूप नै तयार पारेको हुनुपर्ने जेभियर इन्टरनेशनल स्कुलका संस्थापक लोकबहादुर भण्डारी बताउँछन् ।

सरकारले नै पाठ्यक्रम बनाउन र उत्पादन गर्नका लागि जनक शिक्षा सामग्री केन्द्रको स्थापना गरेको छ, तर फेरि पाठ्यक्रम विकास केन्द्रले नै विभिन्न पब्लिकेसनहरूलाई पुस्तक उत्पादन गर्न अनुमति दिएको छ । जसले गर्दा जुन पब्लिकेसनको पुस्तक बढी गुणस्तरीय छ त्यो नै रोजाइमा पर्ने भण्डारीको तर्क छ । ‘सबै विद्यालयले बच्चाको लागि फरक–फरक पब्लिकेसन्सको पुस्तक पाठ्यक्रममा राख्छन् । तर फलानो पुस्तक पसलबाट मात्र लिनु भनेर बाध्य भने बनाइँदैन । केहीले बनाएका पनि होलान्, तर हाम्रो विद्यालयमा भने त्यस्तो छैन’, उनी भन्छन् ।

बालबालिकालाई पुस्तकमा मात्र सीमित राख्नु भन्दा उनीहरूलाई अतिरिक्त क्रियाकलापमा बढी संलग्न गराउनुपर्छ । विद्यालयले आफ्नो स्वार्थको लागि बच्चालाई पुस्तकको भारी बोकाएको छैन । हामीले उनीहरूलाई अत्यावश्यक पुस्तक मात्र पढाएका छौं ।

पुस्तकको भारीले गर्दा बच्चामा मेरुदण्डको समस्या खासगरी ढाड, गर्दन र पिठ्यूँ दुख्ने समस्या नहोस् भन्नकै लागि होमवर्क नभएका पुस्तक स्कुलमा नै राख्ने भण्डारीको दाबी छ । ‘प्राथमिक तहमा जति पनि पुस्तक पढाइन्छ, त्यो सबै बच्चाले छिचोल्न सकोस् भनेर लेसन प्लान बनाएर, सेलेबस तयार गरेर हामी बच्चालाई पढाउँछौं’, उनी भन्छन् ।

किताबको भारः बालबालिकाको स्वास्थ्यमा समेत असर

सानाभन्दा पनि १० वर्षभन्दा माथिका बालबालिकामा मेरुदण्डको समस्या देखिने गरेको छ । अहिले प्रायजसो साना बच्चाहरूको ढाड, गर्दन र पिठ्यूँ दुख्ने जस्ता समस्या लिएर अभिभावक अस्पताल आउने गरेको एक्युपंचर विशेषज्ञ सुदर्शन बस्नेत बताउँछन् । ‘अहिले विद्यालयमा बच्चालाई जसरी पुस्तकको भारी बोकाइन्छ यसको असर बालबालिकाको मेरुदण्डमा समेत पर्न थालेको छ’, बस्नेत भन्छन् ।

किताबको भारी बोकाइ सँगसँगै अहिलेका बालबालिका जति मोबाइल र कम्प्युटरको प्रयोग गर्छन् त्यसले पनि उनीहरूको मांसपेशी र मेरुदण्डमा समस्या देखिएको छ । यो विषयमा धेरै अध्ययन त भएको छैन तर, किताबको भारी बोक्दा उनीहरूमा मानसिक तनाव बढ्ने र हिंडाइको पोजिसन बिग्रने हुन्छ । जसले गर्दा घुँडा, ढाड दुखाइको समस्या देखिन सक्छ । ‘धेरै भारी बोकेर हिंड्ने बच्चामा कुप्रिने समस्या पनि देखिन सक्छ’ बस्नेत भन्छन्, ‘किताबको भारी बोकाइले मेरुदण्ड मात्र हैन त्यस वरपरको मांसपेशीमा पनि असर गर्छ ।’

बालबालिकाले क्षमता भन्दा बढी भारी बोक्दा उनीहरूको विकास राम्ररी हुन नपाउने र अहिले देखा परेको ढाड, गर्दन र पिठ्यूँ दुख्ने समस्या दीर्घकालीन पनि हुनसक्ने उनले बताए ।

अर्थोपेडिक सर्जन डा. अशोकरत्न बज्राचार्यका अनुसार वयस्क र वृद्धको तुलनामा बालबालिकामा मेरुदण्डको समस्या एकदमै कम हुन्छ । पढ्नको लागि बस्ने पोजिसन नमिलेर र धेरै निहुरेर मोबाइल चलाएको कारण भने केही बालबालिकामा ढाड, गर्दन र पिठ्यूँ दुख्ने समस्या पनि देखिने गरेको छ । क्षमताभन्दा बढी किताब बोकेको कारणले पनि बालबालिकामा यस्ता समस्या देखिएका छन् । ‘किताबको भारीले बालबालिकाको मेरुदण्डमा असर त गर्ने नै भयो त्यसको साथै एक साइडबाट मात्र भारी ब्याग बोक्ने बच्चाको ढाड नै बाङ्गिने समस्या पनि हुनसक्छ ।’

विषयको बोझ सिकाउने कि सिक्ने कला ?

दुनियाँमा कुनै पनि पाठ व्यावहारिक हुँदैन । त्यो पाठ्यक्रमलाई व्यावहारिक बनाउने जिम्मा शिक्षकको हो । पाठ्यपुस्तकले धेरै कुरा समेट्न सकेन, लेखकहरू बाहिर पनि राम्रा छन् र बहु पाठ्यपुस्तक हुने बित्तिकै एउटामा मात्र भर पर्नुपरेन, किताब नपाउने समस्या नहोस् भन्ने कारणले सरकारले बहुपुस्तक प्रणालीको चिन्तन धेरै अगाडिदेखि ल्याएको हो । यो चिन्तन ठिक हो भन्ने दृष्टिकोण शिक्षाविद् विद्यानाथ कोइरालाको छ ।

प्राथमिक तहका साना केटाकेटीलाई यति धेरै किताब चाहिने हैन, दुई तीन वटा किताब भए पुग्छ । तर, हाम्रो संस्कृति नै विषयगत पढाइको छ । एकीकृत पुस्तकको चिन्तन आएको छ तर यो कसरी अघि बढ्छ भन्ने थाहै छैन । यदि एकीकृत ढङ्गबाट लैजाने हो भने दुई तीन वटा किताबले नै पुग्ने कोइराला बताउँछन् । ‘निजी विद्यालयहरूले किन यसरी धेरै पुस्तक दिन्छन् भन्दा कमिसन र धेरै किताब भयो भने मेरो बच्चाले धेरै पढ्छ भन्ने अभिभावकको मान्यताले पनि हो’, उनी भन्छन् ।

बहु पाठ्यपुस्तकको चिन्तन भनेको शिक्षकले एउटै विषयमा पनि छुट्टाछुट्टै पुस्तक पढाउन सक्छन् । यो चिन्तन राम्रो पनि हो तर स्तरीय परीक्षा प्रणाली नभएकोले यो त्यति प्रभावकारी हुन नसकेको कोइरालाको तर्क छ । भन्छन्, ‘विद्यार्थीलाई जति पाठ्यपुस्तक किन्न लगाइन्छ, ती सबै कलिला बच्चाहरूले छिचोल्न सक्दैनन्, यो सब साहुजीहरूको व्यवसाय हो ।’

स्कुल चलाउने मान्छेले के बुझे भने किताब किनाउँदा र किताब राख्दा पनि कमिसन पाइँदोरहेछ । यो प्रक्रियाले गर्दा नै विद्यार्थी र अभिभावकले दुःख पाएका छन् ।

विषयको बोझ सिकाउने कि सिक्ने कला सिकाउने भन्ने कुरामा विद्यालयले ध्यान दिनैपर्छ । बालबालिकालाई अहिले विषयको बोझ सिकाउनै पर्दैन किनकि अहिलेका बालबालिका इन्टरनेटमा खोज्न सक्छन् । त्यो प्रक्रिया विद्यालय र शिक्षकले बुझ्ने हो भने बच्चाहरूलाई यत्रो किताबको भारी बोकाउनु नपर्ने शिक्षाविद् कोइरालाको तर्क छ ।

केही विषय त सिकाउनु नै पर्ने हुन्छ । भाषा, विज्ञान, गणित र सामाजिक यी चार विषयको ज्ञान त उनीहरूलाई चाहिन्छ नै अरू चाहिं उनीहरूको इच्छा र रुचि अनुसार रोज्नुपर्छ । निजी विद्यालयले विद्यार्थीलाई यसरी धेरै पुस्तक दिनु गलत भए पनि यसलाई नियमन गर्नेतिर कसैको ध्यान नगएकोमा भने कोइरालाको गुनासो छ ।

लेखकको बारेमा
सुमित्रा लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?