+
+

फिल्म ‘एक मुठी बादल’ लिएर कान्स मार्केटमा पुगे सहारा र अभिमन्यू

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १५:०५

काठमाडौं । नेपाली फिल्म ‘एक मुठी बादल ( माइ सेयर अफ स्काइ)’ प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको फिल्मी बजारमा छानिएको छ । शुक्रबार कान्स मार्केटमा फिल्मको ‘स्क्रिप्ट पिचिङ’ हुँदैछ ।

निर्देशक लेखक तथा लेखक सहारा शर्मा र निर्माण कम्पनी गौंथली फिल्मका तर्फबाट अभिमन्यु दीक्षित फेस्टिभलमा पुगेका छन् । दुबैजनाले शुक्रबारको पिचिङमा अन्तर्राष्ट्रिय संयुक्त लगानीका लागि निर्माता खोज्न पहल गर्नेछन् ।

भारतको नेसनल फिल्म डेभलपमेन्ट कर्पोरेसन (एनएफडीसी)ले यो नेपाली फिल्मलाई कान्स बजारको लागि छानेको हो । निर्माता दीक्षितले कान्सको प्रोडक्सन नेटवर्कमा सहभागिता जनाउनेछन् ।

कान्स मार्केट अन्तर्गत नेपाली समयानुसार शुक्रबार राती हुने को-प्रोडक्सन नाइटमा फिल्म प्रस्तुत हुनेछ । यसका लागि संसारभरबाट करिब दुई दर्जनभन्दा फिल्मले स्क्रिप्ट प्रस्तुत गरेका छन् ।

‘हामी उत्साहित छौं पिचिङको लागि’ कान्स फेस्टिभबाट अनलाइनखबरसँग भर्चुअल कुरा गर्दै सहारा र अभिमन्यूले भने, ‘यसले अन्य नेपाली फिल्मलाई पनि प्रोत्साहन मिल्नेछ ।’

यसअघि ९० मिनेट लामो फिल्म ‘चेजिङ रेम्बो’ निर्देशन गरेकी सहाराले यो फिल्ममा महिला सशक्तीकरणको विषयवस्तु उठाएकी छन् । ‘पितृसत्तात्मक समाजमा केटी मान्छेले आफ्नो भाग पाउँछु कि पाउँदैन भनेर गरिएको प्रश्न हो फिल्म’ शर्माले भनिन्, ‘केटा मान्छेलाई सजिलो हुने गरेर संसार डिजाइन भएको छ । नारीले आफ्नो हक खोज्नुपर्ने सन्देश यसले दिन्छ ।’

मंगलबार बेलुकादेखि सुरु भएको कान्स १२ दिन चल्नेछ । पहिलोपटक नेपाली फिल्मले पनि कान्स प्रतिस्पर्धामा भाग लिएको छ । अविनाशविक्रम शाहको लोरी प्रतिस्पर्धामा समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?