+
+

कांग्रेस-माओवादीले गठबन्धनको बलमा तोडे काभ्रेमा एमालेको दबदबा

०७४ मा एमालेले मेयर उपमेयर दुबै जितेका ७ वटा पालिकामध्ये ६ वटा पालिकाको प्रमुख र उपप्रमुख यसपटक गुमाइसकेको छ । ०७४ मा एमालेले बनेपा, पनौती, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकाको मेयर उपमेयर तथा खानीखोला र भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ ५ गते १९:४८
काभ्रेको खानीखोला गाउँपालिकामा अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा निर्वाचित कांग्रेसका दोर्जेमान जिम्बा ।

५ जेठ, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको अघिल्लो दिन नेकपा माओवादी केन्द्रका नेताहरु सहकार्यको प्रस्ताव लिएर नेकपा एमाले नेतासमक्ष पुगे । सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले सम्मानजनक भागवण्डा नगरेको भन्दै माओवादी नेताहरु चिढिएका थिए ।

तर एमाले नेताहरुले पनि पहिले कांग्रेससँग अलग भएको घोषणा गर्नुपर्ने शर्त राखे । माओवादीले कांग्रेससँग ४ वटा गाउँपालिकाको नेतृत्व लिने गरी सहमति गर्‍यो ।

अहिले काभ्रेका १३ मध्ये ६ पालिकाको नतिजा आएको छ । जसमा सबैभन्दा धेरै माओवादीले तीनवटा जितेको छ भने कांग्रेसले दुई र नेकपा एकीकृत समाजवादीले एउटा जितेको छ ।

एमालेले एउटा पालिकामा अग्रता लिएको छ । मतगणना जारी रहेको ७ वटा पालिकामध्ये पाँच पालिका प्रमुखमा कांग्रेसको अग्रता छ भने एउटा माओवादी केन्द्रको  ।

पाँच वर्षमा उल्टियो परिणाम

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले काभ्रेको सात वटा पालिकाको नेतृत्व जितेको थियो भने कांग्रेस चार र माओवादी केन्द्रले दुई पालिका । यसपटक परिणाम उल्टिएर कांग्रेस सात पालिका प्रमुख जित्ने सम्भावना देखिएको छ ।

०७४ मा एमालेले मेयर उपमेयर दुबै जितेका ७ वटा पालिकामध्ये ६ वटा पालिकाको प्रमुख र उपप्रमुख यसपटक गुमाइसकेको छ । ०७४ मा एमालेले बनेपा, पनौती, नमोबुद्ध, मण्डन देउपुर नगरपालिकाको मेयर उपमेयर तथा खानीखोला र भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको थियो ।

मत गणना रोकिनुअघिसम्म धुलिखेलको मेयरमा एमालेका उम्मेदवार अशोककुमार ब्याञ्जुले अग्रता लिएका थिए भने उपमेयरमा कांग्रेसका उम्मेदवार निराजन जंगमको अग्रता छ । अन्यत्र जितेका पालिका एमालेले यसपालि गुमाएको छ ।

गठबन्धनमा आवद्ध सबै दलले लाभ लिएका छन् । कांग्रेस र माओवादीले ०७४ मा जितेका पालिका जोगाएका मात्र छैनन्, एमालेले जितेका पालिकाको पनि नेतृत्व लिएका छन् ।

माओवादी केन्द्रले ०७४ मा जितेको चौंरी देउराली गाउँपालिका यस पटक पनि सुरक्षित गरेको छ । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रकी उम्मेदवार रेणुका चौलागाईं निर्वाचित भएकी छिन् । रेणुका ६ हजार २२८ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी एमालेका जितराम लामाले पाँच हजार ४६३ मत पाए । उपाध्यक्षमा कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित भए । लामाले सात हजार २१९ मत पाउँदा एमालेकी बविता खरेल गौतमले तीन हजार ५४९ मत पाइन् ।

माओवादी केन्द्रले ०७४ मा जितेको महाभारतको नतिजा यो समाचार लेख्दासम्म आइसकेको छैन । तर त्यहाँ माओवादी केन्द्रबाट मेयरका उम्मेदवार कान्छा लाल जिम्वाले दुई हजार ८९५ मत ल्याउँदा एमालेका उम्मेदवार पूर्णबहादुर वाइवाले एक हजार ८७७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा कांग्रेसका उम्मेदवार सागर मोक्तानले दुई हजार ५७७ मत ल्याएर अग्रता लिइरहँदा एमालेका उम्मेदवार शान्ति तितुङ रााना मगरले ७६७ मत ल्याएर पछ्याइरहेकी छन् ।

यस्तै खानीखोला र भुम्लु गाउँपालिकाको अध्यक्ष माओवादी र उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । अघिल्लो पटक दुबै पद एमाले जितेको थियो ।

खानीखोला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका इन्द्रबहादुर थिङ (छिन्ताङ) र उपाध्यक्षमा कांग्रेसका दोर्जेमान जिम्बा विजयी भए । थिङले चार हजार ४८५ मत र उनका निकटतम प्रतिस्पर्धी एमालेका शेखर लामाले तीन हजार १५६ मत पाए । जिम्बा चार हजार ३२७ मतका साथ उपाध्यक्षमा निर्वाचित हुँदा एमालेकी रुकमणि गुरुङले दुई हजार ९८७ मत प्राप्त गरिन् ।

यसैगरी, भुम्लु गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका प्रेम भुजेल पाँच हजार ७९२ मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेम लामाले चार हजार ५६८ मत पाए । उपाध्यक्ष पदमा कांग्रेसका जितेन्द्रमान तामाङ (दावा लामा) ६ हजार ९८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेकी कल्पना श्रेष्ठले चार हजार २९ मत प्राप्त गरिन् ।

नमोवुद्ध नगरपालिकाको प्रमुखमा कांग्रेसका कुन्साङ लामा र उपप्रमुखमा माओवादी केन्द्रका रत्नबहादुर लामा विजयी भएका छन् । प्रमुखमा विजयी लामाले निकटम प्रतिस्पर्धी एमालेका राजन भुर्तेललाई पाँच हजार ३८९ मतान्तरले पराजित गरे । लामाले ११ हजार २११ र भुर्तेलले पाँच हजार ८२२ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा निकटतम प्रतिस्पर्धीलाई एक हजार ६४४ मतले पछि पार्दै गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार रत्नबहादुर लामा विजयी भए । लामाले आठ हजार १८७ र एमालेकी सम्झना लामाले ६ हजार ५४३ मत प्राप्त गरिन् ।

बनेपा नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका उम्मेदवार शान्तिरत्न शाक्य विजयी भएका छन् । उनी १३ हजार ७९३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ मत प्राप्त गरे ।

उपप्रमुखमा भने एमालेकी उम्मेदवार विमला सापकोटा दाहाल विजयी भएकी छन् । दाहाल ११ हजार ९९२ मतका साथ मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका रगुवर चौ प्रधानले १० हजार ५१५ मत प्राप्त गरेका छन् ।

०७४ मा एमालेले मण्डनदेउपुर नगरपालिकाको प्रमुख पद यसपटक एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीले जितेको छ । मण्डनदेउपुर नगरपालिका एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाको गृहनगर हो । त्यहाँ एकीकृत समाजवादीका टोकबहादुर वाइवा विजयी भए ।

वाइवाले नौ हजार ४०६ मत ल्याउँदा एमालेका विदुर सापकोटाले आठ हजार ३५१ मत प्राप्त गरे । उपमेयरमा कांग्रेस उम्मेदवार विष्णुमणि नेपाल विजयी भए । एमालेकी उम्मेदवार सरिता ढकाललाई चार हजार ३८१ मत अन्तरले पराजित गरे ।

विजयी विष्णुमणि नेपालले ११ हजार ३०५ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत प्राप्त गरे । मतगणना जारी रहेको पनौती नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामशरण भण्डारीले अग्रता लिएका छन् ।

भण्डारीले १० हजार ५६९ मत पाउँदा एमालेका भीम न्यौपानेले नौ हजार २५९ मत ल्याएर पछ्याइरहेका छन् । उपमेयरमा भने एमालेका उम्मेदवार गीता बञ्जराले नौ हजार ६४२ मत ल्याएर अग्रता लिइरहेकी छन् । एकीकृत समाजवादीका छवीलाल हुमागाईंले सात हजार ८२६ मत ल्याएर पछ्याइरहेका छन् ।

अघिल्लो पटक कांग्रेसले जितेको पाँचखाल नगरपालिकाको मेयरमा कांग्रेसकै महेश खरेलले अग्रता लिइरहेका छन् । उनलाई एमालेका कञ्चन अधिकारीले पछ्याइरहेका छन् । उपमेयरमा माओवादी केन्द्रका चेतप्रसाद गौत्तमले अग्रता लिइरहेका छन् । उनलाई एमालेका सूर्य माया दनुवारले पछ्याइरहेकी छन् ।

बेथानचोक गाउँपालिकाको प्रमुखमा कांग्रेसका भगवान अधिकारीलाई एमालेका कमलप्रसाद तिमल्सिनाले पछ्याइरहेका छन् । उपप्रमुखमा माओवादी केन्द्रका तारा राना तिमल्सिनालाई एमालेकी सरला लामिछानेले पछ्याइरहेकी छन् ।

रोशी गाउँपालिकाको प्रमुखमा कांग्रेसका दिनेश लामाले अग्रता लिइरहेका छन् भने एमालेका देव सागर लामाले पछ्याइरहेका छन् । तेमाल गाउँपालिकाको प्रमुखमा कांग्रेसका चन्द्रबहादुर तामाङलाई एमालेका इन्द्र बहादुर तामाङ र उपप्रमुखमा माओवादीका दलमान थोकरलाई एमालेका सम्तेन थिङले पछ्याइरहेका छन् ।

यो पटक २०७४ को तुलनामा निकै उलटपुलट नतिजा आएको स्थानीय नेता÷कार्यकर्ताहरु बताउँछन् । काभ्रेका कांग्रेसका एक नेता भन्छन्, ‘हामीले गठबन्धन ग¥यौं, गठबन्धनको प्रयोग राम्रो भयो र परिणाममा एमालेको दबदवा तोड्न सकियो ।’ एमालेका नेताहरु भने काभ्रेमा पार्टी फुटको असर परेको बताउँछन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?