+
+
Shares

काभ्रेमा सरकारी कार्यालय र व्यक्तिका घरमा भएको क्षति विवरण संकलन गरिँदै

कपिल कोइराला कपिल कोइराला
२०८२ भदौ २८ गते १६:१५

२८ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोक जिल्लामा रहेका सरकारी तथा निजी संरचनामा ठुलो क्षति पुगेको छ ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाललगायतका क्षेत्रमा सरकारी कार्यालयदेखि स्थानीय जनप्रतिनिधिहरूको निजी आवाससम्ममा तोडफोड, आगजनी र लुटपाट भएको विवरण सार्वजनिक भएको हो ।

मंलबार भएको प्रदर्शनकारीहरुको आगजनीका कारण काभ्रेका दर्जनौ सरकारी तथा व्यक्तीका घरहरु तोडफोड र जलेका हुन् ।

आगलागीका कारण बनेपा नगरपालिका भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

इलाका प्रहरी कार्यालय बनेपा, ट्राफिक प्रहरी कार्यालय बनेपा, प्रहरी चौकी पाँचखाल, प्रहरी चौकी कुन्ताबेशी लगायतका संरचना जलेर पूर्ण रूपमा नष्ट भएको छ । ती कार्यालयका कागजपत्र, फर्नीचरसहित भवन नष्ट भएको छ ।

त्यस्तै प्रहरी चौकी पाँचखाल र प्रहरी चौकी हिगुवापाटीमा आगजनी, तोडफोड र लुटपाट तथा प्रहरी बिट चारदोबाटो, प्रहरी बिट पनौती बसपार्कमा समेत आगजनी र तोडफोड भएको छ ।

कुशादेवीलगायत स्थानमा रहेका प्रहरी बिटहरूमा तोडफोड भएको स्थानीय प्रशासनले जनाएको छ । कैदीहरूको आगजनीको कारण जिल्ला कारागार धुलिखेलमा सामान्य क्षति पुगेको छ ।

आगजनी गर्ने सागर मैनाली लगायत ४ जनालाई कारागार भीत्र असुरक्षा भएपछी बाहिर निकाले आगो निभाएपछी क्षति कम भएको थियो ।

त्यस्तै नेपाली काँग्रेसको पार्टी कार्यालय, नेकपा एमालेको पार्टी कार्यालय, प्रहरी चौकी पाँचखाल र प्रहरी चौकी हिगुवापाटीमा आगजनी, तोडफोड र लुटपाट भएको छ ।

पाँचखाल नगरपालिका र पनौती नगरपालिकाको भवन, पाँचखाल बृहत खानेपानी आयोजनाको कार्यालय तोडफोड मात्र भएको छ ।

सरकारी संरचनासँगै राजनीतिक नेतृत्व र जनप्रतिनिधिहरूका निजी घरसमेत आक्रमणको निशानामा परेका छन् । पूर्व सांसद शिवप्रसाद हुमागाईँको पनौतीस्थित घरमा तोडफोड हुनुका साथै नीजि सवारीसाधनमा आगजनी भएको छ।

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको घर जलेर पूर्ण रूपमा ध्वस्त पारिएको छ भने पनौतीका पूर्व मेयर भिम न्यौपानेको घर, क्याप्टेन रामेश्वर थापाको घर, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गिता बञ्जाराको घर तथा बनेपा नगरपालिका-४ मा रहेको युलेन्स स्कुल जलाएका छन् ।

पनौतीका पूर्व नगरप्रमुख न्यौपानेको २ वटा घर ध्वस्त बनाइएको छ ।

न्यौपानेको घरमा लुटपाट सहित आगजनी भएको हो । उनको परिवार छिमेकीको शरणमा छ । त्यस्तै पनौती २ का वडा अध्यक्ष पुरुषोत्तम अधिकारीको घरमा लुटपाट र तोडफोड भएको छ ।

स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूको पहिचान, नियन्त्रण तथा क्षतिको मुल्याङ्कन गर्ने कार्य अघि बढाएको जनाएको छ। तोडफोड र क्षतिबारे थप विवरण सङ्कलन भइरहेको छ ।

लेखक
कपिल कोइराला

कोइराला काभ्रेमा रहेर पत्रकारिता गर्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?