+
+

पहिले जोसँग हारे, अहिले उसैलाई हराए

विकास रोकामगर विकास रोकामगर
२०७९ जेठ ७ गते १५:०३
गोरखाको भीमसेनथापा गाउँपालिकाका अध्यक्षमा निर्वाचित लोकप्रसाद बञ्जरा ।

७ जेठ, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा ०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसका युवराज कुँवर नेकपा एमालेका विष्णुबहादुर केसीलाई २६४ मतान्तरले पराजित गरे । कुँवरले निर्वाचनमात्रै जितेनन्, कास्कीका पाँच पालिकामध्ये नेपाली कांग्रेसबाट एकमात्र पालिका प्रमुख पनि बने ।

पाँच वर्षपछि अहिलेको निर्वाचनमा कुँवर फेरि पालिकामा दोहोरिने भन्दै उम्मेदवारी दिए भने यता, नेकपा एमालेले पनि अघिल्लो पटक पराजित केसीलाई नै उम्मेदवार बनायो ।

सुरुआती नतिजामा कांग्रेसका कुँवरले अग्रता लिएपनि पछि भने उक्त अग्रता कायम गर्न सकेनन् । अन्ततः उनी आफ्नो पुरानै प्रतिस्पर्धी एमालेका केसीसँग ७६३ मतान्तरले पराजित हुन पुगे ।

गण्डकी प्रदेशमा शनिबारसम्म ८३ वटा पालिकाको नतिजा आएको छ । आएका नतिजामध्ये केही नतिजा रोचक छन् । कुनैमा दोहोरिन चाहेका उम्मेदवार पराजित भएका छन् भने कतै ०७४ को निर्वाचनमा जोसँग हारे, अहिले उसैलाई हराएका छन् ।

गण्डकी प्रदेशका ८५ पालिकामध्ये ४२ पालिकामा पुरानै पालिका प्रमुख दोहोरिन उम्मेदवारी दिएका थिए । त्यसमध्ये अहिलेसम्म २१ वटा पालिकामा दोहोरिन चाहेका प्रत्याशीलाई मतदाताले फेरि स्वीकारेनन् । बदलामा १० पालिकामा प्रमुखमा अघिल्लो पटक हारेका उम्मेदवारलाई नै जिताइएका छन् ।

पालिका प्रमुखमा दोहोरिन चाहेकामध्ये पराजित हुनेमा गोरखा अग्रपंक्तिमा छ । गोरखाका ११ पालिकामध्ये ५ वटामा नेपाली कांग्रेसले उम्मेदवार दोहोर्‍याएको थियो । रोचक के भने, ती दोहोरिएका ५ प्रत्यासीलाई नेकपा माओवादी केन्द्रले हराउँदै गर्दा ४ जना अघिल्लै पटकका प्रतिस्पर्धी हुन् ।

गोरखाको गण्डकी गाउँपालिकामा होमबहादुर रानाले ०७४ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादीका दिपक तिमिल्सिनालाई पराजित गरेका थिए । तर, ५ वर्षपछि उनले बदला लिँदै एक हजार ६७१ मतान्तरले पराजित गरे । जबकी, अघिल्लो निर्वाचनमा तिमिल्सिना २७४ मतान्तरले पराजित भएका थिए ।

गोरखाकै धार्चे गाउँपालिकामा पनि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । अघिल्लो निर्वाचनमा नेकपा माओवादीका लक्ष्मण गुरुङ नेपाली कांग्रेसका सन्तबहादुर गुरुङसँग पराजित भएका थिए ।

तत्कालीन समयमा नयाँ शक्तिको प्रत्यासी रहेका लक्ष्मण पछि नेकपा माओवादीमा प्रवेश गरेर पालिका प्रमुखको टिकट पाए । उनले टिकटमात्रै पाएनन्, अघिल्लो पटक आफूलाई हराएका सन्तबहादुरलाई नै हराउँदै पालिका प्रमुखमा निर्वाचित भएका छन् ।

गोरखाकै गोरखा नगरपालिकामा पनि पुरानै अनुहारबीच प्रतिस्पर्धा भएको थियो । अघिल्लो पटक सँगै भिडेका नेकपा माओवादीका कृष्ण राना र नेपाली कांग्रेसका राजनराज पन्त यसपटक मुख्य स्पर्धामा थिए । रानालाई हराउँदै अघिल्लो पटक नगर प्रमुखमा पन्त निर्वाचित भए ।

तर, यसपटक रानाले पन्तलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित भएका हुन् । रानाले ८ हजार ९६४ मत ल्याउँदा पराजित पन्तले ७ हजार १०८ मतमात्रै पाए ।

गोखराकै पालुङटार नगरपालिका नेपाली कांग्रेसका दीपकबाबु कँडेललाई नेकपा माओवादीका विवश चिन्तनले पराजित गरे । दुवै पुरानै प्रतिस्पर्धी हुन् । अघिल्लो पटक पहिलो बनेका कँडेल यसपटक तेस्रो बन्न पुगे ।

तनहुँको म्याग्दे गाउँपालिकामा पनि निवर्तमान पालिका प्रमुख माया राना पराजित भएकी छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी रानालाई पुरानै प्रतिस्पर्धी नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठसँग पराजित हुन पुगिन् । उनीहरुबीच ७ सय १८ मतान्तर छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा पनि पुरानै उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । जसमा निर्वतमान नगर प्रमुख नेकपा एमालेकी सीमा क्षेत्रीले हार व्यहोरिन् । उनी पुरानै प्रतिस्पर्धी तुलसीराम रेग्मीसँग २ हजार ४०४ को मतान्तर थियो ।

त्यस्तै, पर्वतको फलेवासमा पनि पुरानै अनुहारबीच प्रतिस्पर्धा भएको थियो । अघिल्लो पटक नेकपा एमालेका पदमपाणि शर्मासँग नेपाली कांग्रेसका गंगाधर तिवारी पराजित भएका थिए । तर, यसपटक नै तिवारीले शर्मालाई एक हजार ३६२ मतान्तरले पराजित गरेका हुन् ।

म्याग्दीको मालिका गाउँपालिकामा नेकपा एमालेका वेगप्रसाद गर्बुजा निर्वाचित भए । उनले नेपाली कांग्रेसका श्रीप्रसाद रोकामगरलाई १२१ मतले पराजित गरेका हुन् । दुवै अघिल्लो पटकका प्रतिस्पर्धी हुन् ।

बागलुङको बागलुङ नगरपालिकामा पनि मतदाताले दोहोरिन चाहेका नेकपा एमालेका जनकराज पौडेललाई स्वीकारेनन् । बरु अघिल्लो पटक पराजित भएका नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठले जित हात पारे । उनीहरुबीच ५ हजार ८५७ मतान्तर छ ।

पहिले पराजय, अहिले विजय

पुरानै प्रतिस्पर्धीबाहेक अन्य ठाउँमा पनि अघिल्लो पटक पराजय व्यहोरेकाले पुनः उम्मेदवारी दिएर जित निकालेका छन् । यसरी अघिल्लो पटक पराजित भएर यसपटक जित निकाल्नेमध्येमा कास्कीको मादी गाउँपालिका प्रमुखमा देवीजंग गुरुङ एक हुन् । अघिल्लो पटक हार व्यहोरेर यसपटक जित निकाल्नेमा अधिकांश नेकपा एमालेका उम्मेदवार छन् ।

नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका गुरुङ अघिल्लो पटक नेकपा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’सँग पराजित भएका थिए । तर, यसपटक नेकपा माओवादी केन्द्रसँग तालमेल गरेर उनले नेकपा एमालेका अर्का उम्मेदवार शिवबहादुर गुरुङलाई पराजित गर्र्दै अघिल्लो हारको परिपूर्ति गरेका छन् ।

गोरखाको भीमसेन थापा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका लोकप्रसाद बञ्जारा, तनहुँको देवघाट गाउँपालिका तिलबहादुर थापा, लमजुङको दोर्दी गाउँपालिकामा नेकपा एमालेका युवराज अधिकारी, बागलुङको जैमिनी नगरपालिकाका राष्ट्रिय जनमोर्चाका नरबहादुर थापाले अघिल्लो पटकको हार यस पटकको निर्वाचनबाट परिपूर्ति गरे ।

त्यस्तै, नवलपुरको देवचुली नगरपालिकामा नेकपा एमालेका हरिप्रसाद न्यौपाने र मध्यविन्दु नगरपालिकामा नेकपा एमालेकै भीमलाल अधिकारीले अघिल्लो पटक हार व्यहोरे पनि यसपटक जित निकालेका छन् ।

गण्डकीमा कुन पार्टीको कति जित ?

नेपाली कांग्रेस
पालिका प्रमुख :  ३५, उपप्रमुखः ३०

नेकपा एमाले
पालिका प्रमुख : ३४, उपप्रमुखः ३२

नेकपा माओवादी केन्द्र
पालिका प्रमुख : ११, उपप्रमुखः १९

राष्ट्रिय जनमोर्चा
पालिका प्रमुखः २, उपप्रमुखः २

स्वतन्त्र
पालिका उपप्रमुख : १ (मनाङको डिस्याङ गाउँपालिका)

नतिजा आउन बाँकी पालिका :  २
तनहुँको व्यास नगरपालिका र पोखरा महानगरपलिका

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?