+
+

विराटनगरमा कांग्रेस र जसपालाई घाटा, एमालेलाई फाइदा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १६:४५

७ जेठ, विराटनगर । स्थानीय तह निर्वाचनमा प्रदेश १ को राजधानी विराटनगरमा नेपाली कांग्रेस र जसपाले प्रभाव गुमाएका छन् ।

विराटनरगको दक्षिणी वडामा प्रभाव जमाएको जसपा र उत्तरी वडामा प्रभाव जमाएको नेपाली कांग्रेस कमजोर बनेका हुन् । सत्तारुढ दल कमजोर देखिँदा वडा तहमा नेकपा एमाले बलियो बनेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका १९ मध्ये मेयर उपमेयरसहित सात वटा वडा जितेको नेपाली कांग्रेसले यो पटक ६ वडामा खुम्चिएको छ ।

गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेसबाट मेयरमा नागेश कोइराला निर्वाचित भएका छन् । गठबन्धनका उपमेयर जसपा उम्मेदवार अमरेन्द्र यादव पराजित भएका छन् ।

गत चुनावमा मधेशी समुदायको बसोबास रहेको दिक्षणी क्षेत्रका ६ वटा वडा जितेको जसपा यो पटक दुई वडामा खुम्चिएको छ । एउटा वडा जितेको माओवादी केन्द्र शून्यमा झरेको छ ।

गत चुनावमा तीन वटा वडा जितेको नेकपा एमालेले ९ वटा वडा जितेको छ । एमालेले महानगरको मेयरमा पराजित भएपनि उपमेयरसहित एमालेले ९ वडा जितेको हो ।

नेपाली कांग्रेसको प्रभाव क्षेत्रमा एमालेले जित हासिल गरेको हो । एमालेबाट विराटनगर १ को अध्यक्षमा काजीबहादुर बस्नेत, २ मा कुमार पोखरेल, ३ मा बासुबहादुर बस्नेत, वडा नम्बर ४ मा जितन थापा, ८ मा राम पोखरेल, १० मा अर्जुन गिरी, ११ मा तिर्थेन्द्र न्यौपाने, १४ मा सुर्यनारायण महतो, १९ मा श्याम घिमिरे निर्वाचित भए । एमालेले यसअघि वडा नम्बर २, ५,११ नम्बर वडा जितेको थियो ।

नेपाली कांग्रेसबाट वडा नम्बर ५ मा सन्तोष न्यौपाने, ६ मा हरिशचन्द्र सहनी, ७ मा मधुवावु तिवारी, ९ मा विश्वनाथप्रसाद भगत, १५ मा प्रकाश साह, १६ मा उद्धवकुमार भुजेल निर्वाचित भएका छन् ।

विराटनगर– १२ मा जसपा उम्मेदवार हिरालाल कामत र १७ मा समिम कमर मिया निर्वाचित भएका छन् । १३ मा राप्रपा उम्मेदवार सूर्यलाल यादव निर्वाचित हुँदा वडा नम्बर १८ मा स्वतन्त्र उम्मेदवार जीतेन्द्रकुमार शाह विजयी भए ।

नेपाली कांग्रेस र जसपा भित्र रहेको आन्तरिक किचलोका कारण विराटनगरका वडाहरुमा एमालेले प्रभाव जमाएको गठबन्धन दलका नेताहरु बताउँछन् ।

जसपा मोरङ जिल्ला अध्यक्ष राजकुमार यादव वडाहरुमा प्राविधिक हार भएको बताउँछन् । विगतका तुलनामा वडामा पार्टीको मत बढेको बताउँदै उनले विराटनगरमा गठबन्धन असफल भएको बताए । ‘विराटनगरमा गठबन्धन असफल भयो,’ उनले भने, ‘बरु हामी एक्लै चुनावमा गएको भए जित्ने थियौं ।’

नेपाली कांग्रेस नगर सपभापति दीपक चापागाईं वडामा उम्मेदवार छनोटमा कमजोरी हुँदा नतिजा सोचे अनुसार नआएको बताउँछन् । ‘वडामा उम्मेदवार छनोटमा कमजोरी भयो’, उनले भने, ‘पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले पनि समस्या भयो ।’

वडा तहसम्म गठबन्धन नहुँदा मेयर उपमेयरमा राम्रो मत नआएको उनको भनाइ छ । नेकपा एमाले नगर अध्यक्ष तथा मेयरका उम्मेदवार सागर थापाले पार्टीले वडा तहमा राम्रो उपस्थिति बनाएको बताए ।

विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवार नागेश कोइराला र उपमेयरमा एमाले उम्मेदवार शिल्पा कार्की निर्वाचित भए । कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५, स्वतन्त्र उम्मेदवार उमेश यादवले आठ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५२१६ मत पाए ।

उपमेयरमा कार्कीले २५६८० मत पाइन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९, राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले पाँच हजार ११७ मत प्राए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?