+
+

मतदाता अघिअघि, दलहरू पछिपछि

यो पार्टीलाई होइन, उम्मेदवारलाई अस्वीकार गरिएको हो। यसबीचमा दलहरूले आफूलाई सच्याएनन् भने दल नै अस्वीकार गर्ने अवस्थासम्म पुग्न सक्छ। पार्टीकै संगठित कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारलाई मत दिएको देखियो।

डा. मीना पौडेल डा. मीना पौडेल
२०७९ जेठ ८ गते ८:१०

नाम जे दिए पनि हामी बहुदलीय लोकतन्त्रको अभ्यासमा छौं। स्वतन्त्र उम्मेदवारी संवैधानिक अधिकारसँगै यही व्यवस्थाले उपलब्ध गराउने सुविधा पनि हो। हिजो पञ्चायती व्यवस्था र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्थामा पनि स्वतन्त्र उम्मेदवार आउँथे। बहुदलीय गणतान्त्रिक शासन व्यवस्थामा आउने स्वतन्त्र उम्मेदवारी यही राजनीतिक प्रक्रियाभित्रकै एउटा सुन्दर अभ्यास हो। संविधानले हामीलाई यति स्वतन्त्र बनाइदिएको छ कि कुनै पनि नागरिकले चुनावी प्रक्रियामा सहभागी हुन पाउँछ। भोट हाल्न र उम्मेदवार बन्ने हरेक नागरिकलाई अधिकार छ।

दललाई दबाब

यसबाट तत्कालै विद्रोह भइहाल्छ, स्वतन्त्रले पार्टीहरूलाई तहसनहस पारिहाल्छन् भने जसरी संवाद अगाडि बढाउन आवश्यक छैन। यद्यपि, जनताले अभिव्यक्त गरेको मतले पार्टीहरूले गरिरहेको कामबाट नागरिक सन्तुष्ट छैनन् भन्ने बलियो गरी संकेत गरेको छ। अहिलेको नेतृत्वले सुशासन सुदृढ गराउनेभन्दा बेथिति संस्थागत भइरहेको छ। त्यसको प्रतिरोधमा स्वतन्त्रको लहर आएको हो।

नागरिकले आफ्नो असन्तुष्टि पोख्दैमा दलहरू कमजोर भइहाल्दैनन्। दलले आफूलाई सुधार्ने मौका पाउँछ। सुधार्न नसक्दा भने स्वतन्त्रको पक्षमा देखिएको जनमत दलका लागि चुनौती बन्न सक्छ। दल र शक्तिशाली गठबन्धनका साझा र औपचारिक उम्मेदवारले हार्ने तर स्वतन्त्र रूपमा उठेका उम्मेदवारहरूले जित्ने स्थिति देखापरेको छ। यसले दलीय क्रियाकलाप, घोषणापत्र र उद्देश्यका साथै दलकै औचित्यमाथि प्रश्नचिन्ह खडा हुन्छ।

यसरी प्रश्न उठ्नु एउटा लोकतान्त्रिक प्रक्रियाभित्रकै स्वाभाविक गतिविधि हो। यो एकप्रकारको प्रतिरोध, विरोध र समाजमा विद्यमान उकुसमुकुस र असन्तुष्टिको अभिव्यक्ति हो। तर यो हाम्रो पद्धतिको विकल्प भने होइन। स्वतन्त्र उम्मेदवारहरूले पाएको जनमत दलहरूलाई सुध्रनको लागि दबाव हो। यो दबाव अब दलीय निर्णयहरूमा प्रतिबिम्बित हुनुपर्ने हो। तर, हाम्रो दलहरूमा एकप्रकारको ढीठपना र अरुलाई नसुन्ने प्रवृत्ति छ। दलहरूले यसलाई अहिले नै गम्भीरतापूर्वक लिइहाल्छन् भन्ने लाग्दैन।

स्वतन्त्र उम्मेदवारीको लर्को 

तीनै तहको निर्वाचन सम्पन्न भइसकेपछि त्यहाँ स्वतन्त्र उम्मेदवारहरूको आकार र उनीहरूको नीति तथा कार्यक्रम हेर्नुपर्छ। त्यहाँ उनीहरूले चुनावताका व्यक्त प्रतिबद्धताअनुसार काम गर्न सक्छन् कि सक्दैनन् ? उनीहरूको प्रतिबद्धताको व्यावहारिक कार्यान्वयनको अवस्था नहेरिकन अहिले नै सबै कुरा भन्न सकिंदैन।

दलहरूले गर्न नसकेको काम गर्छौं र हामी विकल्प दिन्छौं भन्न सक्नु पनि एउटा आँट हो। यसरी स्वतन्त्र उम्मेदवारी दलहरूलाई खबरदारी हो। उम्मेदवारको खबरदारीमा मतदाताले पनि आफ्नो मतमार्फत ऐक्यबद्धता व्यक्त गरेका हुन्। यसलाई दलहरूले कम आँक्नुहुँदैन। तर, दल चलाउने शीर्ष नेतृत्वमा अहम् छ। मलाई कसैले पनि प्रश्न गर्नुहुँदैन भन्ने अहम् बोकेर बसेका छन्।

यो अवस्थामा स्थानीय तहमा देखिएको प्रतिरोध प्रदेश र संघको चुनावमा पनि बढ्दै गयो भने नटेरी सुखै छैन। आफूलाई नसच्याई सुख पाउने अवस्था छैन। सँगसँगै दलहरू सुध्रिएलान् भन्ने नागरिकको विश्वास कमजोर भइसकेको छ। यसबीचमा स्वतन्त्र जनप्रतिनिधिले गज्जब काम गर्न सके भने अब हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारको लर्को लाग्न सक्छ।

स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारका पक्षमा व्यक्त अभिमतले दलहरूलाई नैतिक दबाव सिर्जना गर्छ। एकजना स्वतन्त्र उम्मेदवारले हजारौं मतदाताको प्रतिनिधित्व गरेको हुन्छ। देशभरिका स्वतन्त्र जनप्रतिनिधिले लाखौं मतदाताको प्रतिनिधित्व गरेका हुन्छन्। योभन्दा राम्रो नैतिक दबाव अरु केही हुनसक्दैन। आगामी चुनावमा सापेक्षित राम्रा, असल र लोकप्रिय उम्मेदवार उठाउनै पर्ने बाध्यता आइलाग्छ। लाखौं जनमतको कदर गर्दै दबाव महसुस गरेर सुध्रिने अवसर दलहरूले सदुपयोग गर्नुपर्छ।

दलले अवसर गुमाउन सक्छन्

हाम्रा दलहरूमा बजारिया दलाल र ठगहरूको पहुँच र प्रभाव धेरै भइसकेको छ। नैतिकवान र इमानदारभन्दा लाभको सिट किन्न सक्ने वर्गको पहुँच बढेको छ। दलहरू पनि बाध्यात्मक अवस्थामा होलान्। यो समय आफूलाई फर्केर हेर्ने, चिन्तन मनन गर्ने, आलोचनात्मक रूपले विश्लेषण गर्ने र सुधार गर्ने राम्रो अवसर हो। ईर्ष्या, रिस, डाह, आक्रोश र प्रतिशोधभन्दा पनि स्वतन्त्र उम्मेदवारप्रति उनीहरूले सौहार्दपूर्ण व्यवहार गर्न जरुरी छ।

स्वतन्त्र उम्मेदवारसँग साझेदारी गर्दै सँगसँगै योजना अगाडि बढाएर गए भने राम्रो नतिजा आउँछ। स्वतन्त्र र दलीय उम्मेदवारबीचको राजनीतिक साझेदारीले सुशासनलाई सदृढ गर्न सहयोग पुग्छ। स्थानीय विकास निर्माणका कामहरूलाई सन्तुलित रूपमा अगाडि बढाउन सर्वपक्षीय साझेदारी महत्वपूर्ण पक्ष हो। यसैलाई बुझेर हाम्रो स्थानीय तहमा अल्पमत, बहुमतको कल्पना गरिएको छैन। साझेदारी र सहकार्यलाई जोड दिइएको छ।

यसबीचमा नेकपा एमालेले केही दबाव महसुस गरेको देखिन्छ। प्रमुख प्रतिपक्षी दलले संसदबाटै परिस्थिति बदलिएको छ, हामी सहयोग गरेर जान्छौं भनेको छ। संसद सुचारू गर्ने निर्णय यसको परिणाम हुनसक्छ। आफूलाई समीक्षा गरेर जानुपर्छ भन्ने महसुस हुनु राम्रो संकेत हो। सच्चिन ढिलो भइसकेको छैन। गल्तीका सामाजिक, राजनीतिक, सांस्कृतिक लगायत अनेक कारण हुन्छन्। सामन्ती संस्कारमा हुर्किएकाले हाम्रा व्यक्तिगत अहंले पनि काम गरेको हुनसक्छ। यी सबैका बावजुद गल्ती सुधारेर जानु राम्रो पक्ष हो। एमालेले अन्त पनि यस्तो संकेत दिंदै अगाडि आउनेछ भन्ने आशा गरौं।

दलबाहिरबाट विकल्प मुश्किल

नेपाली समाज दलीय रूपमा विभाजित छ। त्यसैले स्वतन्त्र जनप्रतिनिधिहरू एक ठाउँमा आएर संगठित हुने सम्भावना कम छ। महत्वपूर्ण मुद्दाहरूमा सहमति बनाउँदै ऐक्यबद्धता जनाउने गरी स्वतन्त्रहरू संगठित हुन्छन् जस्तो लाग्दैन। विचार र स्वार्थमा ध्रुवीकृत हुँदै चिरा परेको समाजमा स्वतन्त्रहरू एक ठाउँमा आउने र संगठित हुने सम्भावना कमजोर हुन्छ। नेपाली समाजका केही महत्वपूर्ण मुद्दाहरूमा प्रतिरोध गर्ने गरी विकल्प दिने सम्भावना त अहिले तत्कालका लागि देख्दिनँ। यो अवस्थामा राजनीतिक दलभन्दा बाहिरबाट राजनीतिक विकल्प अहिले भर्खर आइहाल्छ भन्ने कुरा मान्न मुश्किल छ।

नेपालमा नयाँ संविधान जारी भएपछिकै अवस्था हेरौं। बितेको डेढ दशकमा विकल्प दिन्छौं भनेर धेरै पार्टीहरू आए। उनीहरूले विकल्प दिन सकेनन्। पानी फेरियो, बोत्तल त उही नै रह्यो। नेपालमा ४/५ वटा प्रमुख दलभन्दा अरुको हालत देखेकै छौं।

यो अवस्थामा स्वतन्त्र जनप्रतिनिधिहरूले कम्तीमा एलाइन्सहरू बनाएर काम गर्न सक्छन्। स्वतन्त्र जितको औचित्य पुष्टि गर्न र चुनावमा गरिएका प्रतिबद्धता लागु गराउनका निम्ति पनि ऐक्यबद्धता चाहिन्छ। यसैको खोजीमा कुनै फराकिलो एलाइन्सको अभ्यास स्वतन्त्र जनप्रतिनिधिले गरेर जानसक्ने सम्भावना भने छ।

यी प्रतिकूलताका बावजुद पनि हजारौं पाइला हिंड्न सुरुवात त एकपाइलाबाटै गर्ने हो। समाजमा परिवर्तन आवश्यक छ भन्ने जनमतको संकेत र सन्देशलाई सबै पक्षले ध्यान दिनुपर्छ। तर, दलहरूले चेतेनन् र सच्चिने तदारुकता देखाएनन् भने स्वतन्त्रको लहर चल्ने र उनीहरू एकठाउँमा आउने वातावरण बन्न सक्छ। यसले दलीय व्यवस्थाविरुद्ध जबरजस्त प्रश्नचिन्ह खडा हुनसक्छ।

विशेषतः दलभन्दा पनि त्यसका नेतृत्व ठिक छैनन्। पुराना दलभित्र वैकल्पिक नेतृत्व खोज्नका लागि पनि यो दबाव हो। यो दबावले दलभित्रका असल नेतृत्वलाई पार्टी रुपान्तरणको पहलकदमी लिन सहज वातावरण सिर्जना हुन्छ।

विकल्पहीन सहकार्य

प्रदेश र संघीय निर्वाचन भइसकेपछि तीन तहबाट विजयी स्वतन्त्र उम्मेदवारहरूले दलभित्रका प्रगतिशील, क्रान्तिकारी र इमानदार कार्यकर्तासँग संवाद बढाउनुपर्छ। साथसाथै, दलभित्रका अलि इमानदार र प्रतिबद्ध नेता कार्यकर्ताले स्वतन्त्र जनप्रतिनिधिसँग छलफल चलाउनुपर्छ। यसरी द्विपक्षीय संवाद अगाडि बढ्न सक्छ।

दलीय व्यवस्थामा चुनाव जितेपछि प्रतिनिधिले दलको घोषणापत्र तथा नीति तथा कार्यक्रम अगाडि बढाउने हो। व्यक्तिको प्राथमिकता गौण हुन्छ। यस्तो अवस्थामा स्वतन्त्रलाई आफ्नो प्रतिबद्धता पूरा गर्न दलको सहयोग, ऐक्यबद्धता र समन्वय चाहिन्छ। मिश्रित परिणाम आएकोले दलबाट जित्नेहरूलाई पनि स्वतन्त्रको सहयोग चाहिन्छ।

यही बाध्यताले पनि एकले अर्को पक्षसँग साझेदारी र समन्वय गरेर जानुपर्ने हुन्छ। मूल नेतृत्वले नचाहे पनि तेस्रो-चौथो पुस्ता र स्थानीय तहमा समन्वय हुने सम्भावना प्रबल छ। दलहरूले स्वतन्त्र शक्तिसँग समन्वय गरेनन् भने उनीहरू झन् फैलन्छन्।

यो विद्रोह नै होइन

स्वतन्त्र उम्मेदवारी र उनीहरूको पक्षमा खसेको मतलाई विद्रोह भनिहाल्नु हुँदैन। विद्रोहको एउटा आधार हुन्छ। यो त केवल नेपालका मूल धारका दल चलाउने नेताहरूको प्रवृत्तिलाई हानिएको झापड हो। राजनीतिक बेथितिले हैरान भएको सामाजिक मनोविज्ञानको प्रतिबिम्व पनि हो। राजनीतिक बेथितिले हैरान नेपाली समाज विभाजित छ। नागरिकले आफ्नो हैरानी र उकुसमुकुस पोख्ने क्रम यसपटक स्वतन्त्र उम्मेदवारलाई मत हालेर अभिव्यक्त भएको हो।

जनताले नचाहेका, नरुचाएका, नपत्याएका उम्मेदवार दलहरूले अगाडि सारे। यसलाई नागरिकले अस्वीकार गरेका हुन्। यो पार्टीलाई होइन, उम्मेदवारलाई अस्वीकार गरिएको हो। यसबीचमा दलहरूले आफूलाई सच्याएनन् भने दल नै अस्वीकार गर्ने अवस्थासम्म पुग्न सक्छ। पार्टीकै संगठित कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारलाई मत दिएको देखियो। दलका केही हर्ताकर्ताले जनतामाथि थोपरेको केही उम्मेदवारलाई मतदाताको रूपमा कार्यकर्ताले नै अस्वीकार गरेको देखियो। किनकि पार्टीको तल्ला कमिटीबाट भएको सिफारिस अनुसार उम्मेदवार उठाइएन।

नेतृत्वको आफ्नो स्वार्थअनुसार उम्मेदवार उठायो। जनस्तरमा नभिजेको, पार्टी बनाउन योगदान नगरेको उम्मेदवारभन्दा नागरिकले स्थानीय आवश्यकताअनुसारको पात्रलाई चुने। नेतृत्वसँग केही पैसावाल मानिसले सिट किन्ने अभ्यास फस्टाइरहेको छ। यसको प्रतिक्रिया के हुन्छ ? विवेक बाँकी रहेका कार्यकर्ताले आँखा चिम्लिएर भोट हाल्न सकेनन्। यो स्वतन्त्र जनमतको मात्रै होइन, संगठित कार्यकर्ता पंक्तिले पनि यसपटक स्वतन्त्रलाई मत दिएका छन्।

(कुराकानीमा आधारित)

लेखकको बारेमा
डा. मीना पौडेल

डा. पौडेल समाजशास्त्री हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?